‘कुनै जमानामा एमाले मधेशविरोधी थियो होला तर अहिले छैन’

पशुपति दयाल मिश्र, नेता, नेकपा (एमाले)

अन्तर्वार्ता

० हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छोडेर नेकपा (एमाले)मा किन प्रवेश गर्नुभयो ?

— स्वतन्त्र राजनीतिक समूहलाई पार्टीको रुपमा गठन गर्ने कुरा धेरै दिनदेखि भइरहेको थियो । स्थानीय निर्वाचन नजिकिएसँगै साथीहरुको आआफ्नो कुराहरु जोडिएका छन् । सबैको दबाब पनि भयो कि एउटा निर्णय गरेर अगाडि बढ्नुपर्छ । यता, त्यो समूहलाई पार्टीको रुपमा गठन गर्ने कुरामा धेरै समय लाग्ने भएकोले यहाँ (बाँके)का साथीहरुले एमालेसँगै सहकार्य भइरहेको थियो, एमालेमै जाउँ भन्ने कुराहरु गर्नुभयो । त्यो हिसावले हामी एमालेमा प्रवेश गरेका हौं ।

० स्वतन्त्र राजनीतिक समूहलाई पार्टी बनाउने वा एमालेमा प्रवेश गर्ने कुरामा हृदयेश त्रिपाठी अलमलमै रहेकोले स्थानीय चुनावलाई मध्यनजर गर्दै एमालेमै प्रवेश गर्नुभएको हो ?

— पार्टी गठन गर्ने कुरा धेरै दिनदेखि भइरहेको छ । तर एउटा निष्कर्षमा पुग्न सकिरहेको छैन । पार्टी गठनमा ढिलाइ भइरहेकोले हामी एमाले रोज्न बाध्य भयौं । स्थानीय चुनाव नजिकिँदै छ । हामीलाई बाध्यता पनि भयो कि हामीसँग पार्टी पनि नहुने अनि चुनावको तयारी कसरी गर्ने भन्ने कुराहरु साथीहरुबाट आउन थाल्यो । त्यसपछि एमालेमा प्रवेश गर्न बाध्य भयौं । एमाले मधेशविरोधी भन्ने प्रचार गरिएको थियो, तर हामी सहकार्य गर्दैजाँदा त्यस्ता कुराहरु छैन भन्ने महसुस गरियो । केही भागमा एमाले मजबुत छ, केही भागमा हामी मजबुत छौं, दुइटै एक भयो भने अलि बलियो शक्ति पनि हुन्छ । गत निर्वाचनजस्तै सहकार्य गरेर जाँदा पनि त्यसैमा प्रवेश गरेर जाँदा बलियो अवस्था हुन्छ भन्ने कुराहरु पनि हो । त्यो हिसावले यहाँका साथीहरुबीच सामूहिक निर्णय भएको हो । अहिले पनि स्वतन्त्र राजनीतिक समूह र एमालेबीच सहकार्य छँदैछ । हामीसँगसँगै छौं । 

० स्वतन्त्र राजनीतिक समूह एमालेमा प्रवेश गर्ने तपाइँहरुले पहिला नै निर्णय गर्नुभएको थियो, तपाइँहरु मात्रै एमाले प्रवेश गर्नुभयो, समूह किन गएन ?

— मुख्य कुरा उहाँ (हृदयेश त्रिपाठीजीहरु) एउटा निष्कर्षमा पुग्न सक्नुभएको छैन । पार्टी नै गठन गर्ने हो भने त्यसमा पनि ढिलाइ हुँदै गयो । बाँके जिल्लाको परिस्थिति अलि भिन्न छ । यहाँका साथीहरुले अलि दबाब दिन थाल्नुभयो । स्थानीय निर्वाचन नजिक आइसक्यो, अब तीन चार महिना मात्रै बाँकी छ । अहिलेदेखि नै तयारी गरिएन भने गाह्रो हुन्छ, त्यो परिस्थितिले गर्दा हामी छिटो निर्णय लिन बाध्य भयौं ।

० स्वतन्त्र राजनीतिक समूह पनि एमालेमा प्रवेश गर्नेछ ?

— धेरै साथीहरु छिट्टै पार्टी प्रवेश गर्नुहुन्छ । यदि उहाँहरुले पार्टी पनि बनाउनुभयो भने सहकार्य एमालेसँगै हुन्छ । 

० केपी ओलीले भनेजस्तै बाँके जिल्ला एमालेको किल्ला भएकै हो त ?

— नेकपा एमालेमा हाम्रो प्रवेशले संगठन झन् मजबुत हुन्छ । पहाडी समुदायमा एमाले पहिलादेखि स्थापित थियो तर मधेशी समुदायमा स्थापित हुन सकेको थिएन । अहिले दुईटै समुदायको मिलन भएको छ । हामीसँग मिलेर जाने निर्णय गरेका छौं । त्यसकारणले अब बाँके जिल्लामा एमाले सबभन्दा बढी मजबुत हुने हो । बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा हामी सोचेभन्दा बढी करिब पाँच हजार प्रवेश गरेका छन् । अझै यो संख्या बढ्दै जाने हो । खासगरी बाँकेमा एमाले सबभन्दा बढी बलियो पार्टीको रुपमा स्थापित हुन्छ । दिनप्रति दिन मधेशमा एमालेप्रति झुकाव बढ्दै गएको छ । 

० एमाले मधेशविरोधी पार्टी हो नि ?

— एमाले मधेशविरोधी पार्टी होइन भन्ने कुरा त प्रष्ट हुँदैआएको छ नि । विगतमा एउटा भ्रम फैलाइएको थियो । एमालेको सरकारमा महन्थ ठाकुरजीको समूह सरकारमा सहभागी हुँदा धेरै मागहरु सम्बोधन गरेको थियो । एमाले नागरिकता विधेयकविरोधी हो भन्ने गरिन्थ्यो तर एमालेले नै लिएर आयो । मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा र बन्दीहरुको रिहाइ एमालेकै सरकारले गरेको थियो । संविधान संशोधनका लागि पनि एउटा समिति बनाएर अगाडि बढिरहेको अवस्था थियो । अहिले विकास निर्माणका कुराहरु हेर्ने हो भने मधेशका धेरै योजनाहरु केपी ओली नेतृत्वकै सरकारले अगाडि बढाएको हो । मधेशको विकासलाई केपी ओलीको सरकारले तीव्रता दियो र मधेशको मुद्दा सम्बोधन गर्नेतर्फ लाग्यो भने कसरी मधेशविरोधी भयो ? कुनै जमानामा एमाले मधेशविरोधी थियो होला । तर अहिले त परिवर्तन भइसकेको छ नि । गत निर्वाचनमा हामी स्वतन्त्र राजनीतिक समूहले एमालेसँग सहकार्य गर्ने बेलामा दुईबुँदे सहमति गरेका थियौं, त्योअनुसार कामहरु पनि भइरहेको थियो । पहिलाभन्दा अहिले त मधेशप्रति एमालेको दृष्टिकोण धेरै फरक भइसक्यो । पार्टी प्रवेश कार्यक्रममा पनि अध्यक्ष केपी शर्मा ओलीले हामी मधेशविरोधी होइनौं, सबैलाई साथ लिएर हिंड्ने भन्ने अभिव्यक्ति दिनुभएको छ । उहाँले पहिलादेखि नै यो कुरा बताउँदै आउनुभएको छ । 

० भाषणमा त सबैले आफूलाई मधेशको हितैषी भनेर भन्छन्, तर व्यवहारमा देखिँदैन नि ?

— कुरा गर्नका लागि सबैले आफूलाई मधेशको हितैषी भन्छन् तर एमालेले व्यवहारमा गरेर देखाएको छ । एमालेका विरुद्धमा विभिन्न कुप्रचारहरु गरिएको छ । हामी पनि विगतमा मधेशकेन्द्रित दलमा हुँदा त्यस्ता भ्रमहरु थियो । हामीले उठाउँदै आएका मुद्दाहरु सम्बोधन गराउनका लागि राष्ट्रिय पार्टीसँग नै मिलेर जानुपर्छ । मधेशकेन्द्रित दलहरुलाई हेर्ने हो भने सत्तालिप्ता र टुटफुटमा मात्रै लागेको देखिन्छ । सत्ताका लागि जहिले पनि विभाजन हुँदै आएको इतिहास छ । त्यो परिस्थितिले मधेशको मुद्दा सम्बोधन गराउन सकिँदैन । आफ्नो मुद्दालाई सम्बोधन गराउन राष्ट्रिय पार्टीमै लाग्नुपर्छ । हामी एमालेमा आउँदा आफ्नो मुद्दा छोडेका छैनौं, यहाँ सशक्तरुपले मुद्दा उठाइयो भने सम्बोधन हुनसक्छ । 

० केपी ओलीको करिब दुई तिहाइको सरकार हुँदा राम्ररी सत्ता सञ्चालन गर्न सक्नुभएन, दुई–दुई पटक संसद विघटन गर्नुभयो । त्यो पार्टीमा किन जानुभयो ?

— केपी ओलीले दुई तिहाइको सरकार चलाउन सक्नुभएन वा दुई–दुई पटक संसद विघटन किन भयो, यसका कारकहरु को–को छन् भन्ने कुरा त सबैलाई थाहा नै छ । अहिले केपी ओलीबाट छुटेर गएकाहरुको सत्तालिप्सा र भागवण्डाका कारण त्यस्तो परिस्थिति सिर्जना भयो । एउटै पार्टीमा भएर पनि आफ्नो पार्टीको सरकारविरुद्ध जहिले पनि षड्यन्त्र गर्ने, काम गर्न नदिने भएपछि के गर्ने ? जब सरकारलाई काम गर्न अवरोध हुन्छ, जनताका पक्षमा केही गर्न दिँदै भने त्यस्तो संसदलाई के गर्ने ? बरु ताजा जनादेशका लागि जनतामा जाने उचित निर्णय हो । त्यसैले संसद विघटनमा केपी ओलीभन्दा प्रचण्ड र माधव नेपाल बढी दोषी हुन् ।

० तर जेसुकै भएपनि आन्तरिक कलहका कारण संसदलाई समाप्त पार्नु गलत थियो नि ?

— संसद विघटन सही थियो भन्ने कुरा अहिले प्रमाणित हुँदै गएको छ नि । संसद पुनस्र्थापना भएर पनि अहिलेसम्म के काम भएको छ । सांसदहरुलाई तलब भत्ता खुलाउने बाहेक अन्य कुनै पनि काम गर्न सकेकै छैन । सांसदरुलाई तलब भत्ता र सुखसुविधा दिनका लागि मात्रै उपयोग भइरहेको छ । अहिले विभिन्न पक्षहरुले पनि भनिरहेको छ कि अर्लि इलेक्शनमा जानुपर्छ भनेर । संसदको कुनै काम नै भइरहेको छैन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ