जसपा र लोपसा अहिलेकै अवस्थामा चुनावमा गए गम्भीर क्षति व्यहोर्छन् : जयप्रकाश गुप्ता

जयप्रकाश गुप्ता, पूर्वमन्त्री तथा तराई मधेश राष्ट्रिय अभियानका संयोजक

अन्तर्वार्ता

० मधेशमा अहिले राजनीतिक दलहरूले दिनहुँ विभिन्न कार्यक्रमहरू गर्दै छन्, सबै दलहरू अहिले मधेशमा केन्द्रित भएको देखिन्छ । तपाइँ यसलाई हेरिरहनुभएको छ ?

— अहिले प्रमुख पार्टीहरूमा नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशनको तयारीमा लागेको छ । नेकपा एमाले आफ्नो १०औं महाधिवेशनमा लागेको छ । साथसाथै नेकपा (माओवादी केन्द्र) पनि आफ्नो अधिवेशनहरूको तयारीमा लागेको छ । मुख्यरूपले यी पार्टीहरूको अहिले घमाशान संगठनात्मक निर्वाचनहरू सुरू भएको छ । यी तीनटा पार्टीहरूको गतिविधिहरू देशव्यापीरूपमा सबै जिल्लामा अहिले सञ्चालित छन् । यसको साथै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आफ्नो अधिवेशनको तयारीमा अगाडि बढेको छ । मधेशमा खासगरी उपेन्द्र यादवजीको पार्टी जसपा अहिले सुज अभियान चलाइरहेको छ । जसपाको अधिवेशन नभएपनि सबैतिर कार्यक्रमहरू भइरहेको देखिन्छ । यस्तै महन्थ ठाकुर र राजेन्द्र महतोजीको पार्टी लोसपा पनि आफ्नो संगठनलाई सुदृढ गर्नका लागि विभिन्न प्रकारका संगठनात्मक क्रियाकलापहरू गरिरहेको देखिन्छ । यसो हेर्दा नेपालका मूलधारका पार्टीहरू धरातलीयस्तरमा आफ्नो कार्यक्रम गरिरहेका छन् । यसले गर्दा आमजनता परिचालित नभएपनि कार्यकर्ताहरू बृहत्रूपमा परिचालित भएको देखिन्छन् । मधेशका चिया पसल, खाजा पसल, चौक चौराहाहरूमा अहिले यिनै कुराहरूको चर्चा भइरहेको छ ।

राजनीतिक माहौल गरम छ । कांग्रेसभित्र जुन प्रकारको गुटबन्दी देखिएको छ, यसमा कुन गुटले अर्को गुटलाई उछिन्ने । एमालेमा त त्यस्तो अवस्था छैन । तथापि ओली एमालेमा कति शक्तिशाली भएर आउने हुन् । माओवादीको संगठन धरातलीय यथार्थ धेरै कमजोर भएको छ । त्यसकारण उनीहरू पनि आफ्ना कार्यकर्ताहरूलाई कसरी बचाउने हुन् भन्नेमा लागेको देखिएको छ । यस्तै मधेशका दुईटा पार्टीहरू जसपा र लोसपा आफ्ना कार्यकर्ताहरूलाई कसरी बचाउने, अर्को कार्यकर्तालाई कसरी प्रभावित गरी आफ्नो तर्फ ल्याउने । ती सबै कारणले गर्दा मधेशमा एकदमै जताततै राजनीतिका कुराहरू भइरहेका छन् । अहिले यस्तो लाग्छ कि यदि कोही व्यक्ति यसमा सरोकार राखेको छैन भने त्यो एउटा असामाजिक व्यक्ति हो वा त्यसको राजनीतिक हाँगाबिँगा केही होइन भन्ने देखिन्छ । यी महाअधिवेशनहरूपछि पार्टीहरूले मूल्यांकन गर्नेछन् कि यो महाअधिवेशनले गर्दा हामी बलियो भयौं कि हामीलाई अझ कमजोर ग¥यो । 

० मधेशमा राजनीतिक दलहरूको गतिविधिले चुनावी अभियान सुरू भएको हो भन्ने लाग्दैन ?

— मैले मधेशमा बसेर अनुभव गरेको कुरा के हो भने वर्तमान स्थितिमा सरकारले डिलेभरी दिन सक्दैन अर्थात् सरकारले जनअपेक्षाहरूलाई पूरा गर्न सक्दैन भन्ने स्थिति छैन । यी राजनीतिक पार्टीहरू आफ्नो संगठनात्मक महाधिवेशन सम्पन्न गरेपछि देशले निर्वाचनको बाटोमा हामफाल्छ अर्थात् निर्वाचनको बाटोमा देश अगाडि बढ्छ भन्ने आममानिसको बुझाइ छ । फेरि दुईटा कुराले यसलाई पुष्टि पनि गरेको छ । जस्तै, स्थानीय तहको पदावधि लगभग समाप्त हुन लागिसक्यो र निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचन तयारी थालेको समाचारहरू आइरहेका छन् । मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनलगायत कार्यले गर्दा आममानिसको बुझाइले पुष्टि पाएको छ कि देश अब निर्वाचनको बाटोमा अघि बढिसक्यो । 

मधेशमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि आफ्नो गतिविधिहरू बढाएको छ । उनीहरूले आफ्नो चुनाव चिन्हलाई नै लिएर आममानिसले रूचाउँछन् कि भन्ने खालका मुद्दाहरू जस्तो भ्रष्टाचारका कुराहरू अथवा भ्रष्टाचार गर्ने कर्मचारीहरूलाई जनकारबाही गर्नेजस्ता कुराहरू लिएर अगाडि बढेको छ । त्यसैले गर्दा पहिलो चरणमा यी महाअधिवेशनहरू सम्पन्न भएपछि मुलुक चुनावको दिशामा अगाडि बढ्छ । आममानिसको अपेक्षा पनि हो कि अहिलेको सरकारले कुनै डेलिभरी दिन सक्दैन, त्यसकारणले योभन्दा राम्रो चुनाव नै होस्, अर्लि इलेक्सन होस् भन्ने आममानिसको बुझाइ छ । यसले मुलुकले एउटा बाटो समाउँछ भन्ने धारणा पनि बन्दै गएको छ । 

० गत निर्वाचन ताका तपाइँले मधेशवाणीसँग अन्तर्वातामा खासगरी मधेशकेन्द्रित दलहरूबारे जुन आँकलन गर्नुभएको थियो, त्यो लगभग मिलेको थियो । अब आगामी निर्वाचनमा मधेशकेन्द्रित दलहरूबारे कस्तो अवस्था आउने देख्नुहुन्छ ?

— खासगरी महन्थ ठाकुर र राजेन्द्र महतोको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादवजीको जनता समाजवादी पार्टी नेपालले तीनवटै समीकरणको अभ्यास गरिसकेको छ । तीनवटा समीकरण भनेको एउटा त मधेशमा छुट्टाछुट्टै निर्वाचन लड्ने । संविधानसभामा छुट्टाछुट्टै चुनाव लडे । त्यसपछि यिनीहरू सिट एडजस्टमेन्ट गरे । आपसमा मधेशका विभिन्न जिल्ला, विभिन्न निर्वाचन क्षेत्रमा सिटको बाँडफाँड गरेर चुनाव लडे । त्यसले गर्दा सन्तोषजनक परिणाम हासिल गरे पनि पछिल्लो समयमा संस्थापनको रूपमा दुवै पार्टी एक ठाउँमा रहन सकेन । त्यसपछि तेस्रो अभ्यास गरे पार्टी एकीकरण गरेर । यी दुइटै पार्टी एउटै पार्टीमा परिणत भए । तर हामी परिणाम के देख्यौं भने वर्ष दिन नबित्दै यिनीहरू सँगै बस्न सकेनन् । मैले के देखे भने महन्थ ठाकुर र राजेन्द्र महतोजीको पार्टी लोसपा र उपेन्द्रजीको पार्टी जसपा कुनै पनि ठाउँमा पार्टीहरूले गर्ने तीन प्रकारको कार्य गरेर अहिले फेरि छुट्टाछुट्टै अवस्था रहेका छन् ।

मलाई लाग्छ कि अहिले जुन प्रकारको तिक्तता, एक आपसमा आरोप–प्रत्यारोप र कुटाता यिनीहरूमा देखिएका छन्, यदि कुनै अदृष्य, दैविक शक्तिको प्रभाव रहेन भने यिनीहरू छुट्टाछुट्टै रूपमा निर्वाचनमा जाने देखिन्छ । यसमा म स्पष्टरूपले नलुकाइकन भन्छु कि एक त आन्दोलनको बाटो यिनीहरू बिर्सिसके, दोस्रो कुरा आन्दोलन भनेको जनतालाई भ्रमित गर्नका लागि गरिरहेको हुन्छ भन्ने कुरा आममानिसले महसुस गरिसके । त्यसको बाबजुद पनि यिनीहरू एक भएर मधेशका मतदातालाई ध्रुवीकृत गर्ने सम्भावना थियो तर अहिलेको विभाजनले छिन्नभिन्न अवस्थामा यिनीहरूले पु¥याइदिएका छन् । तसर्थ, यही अवस्थामा यिनीहरू चुनावमा गए भने जसपा र लोपसाले गम्भीर क्षति व्यहोर्नुपर्ने देखिन्छ । यसअघि निर्वाचनमा मैले १३ जना सांसदको हाराहारी भनेको थिएँ । आगामी निर्वाचनको परिणामबारे अहिले नै यसको अनुमान गर्नु अलि छिटो हुन्छ जस्तो मलाई लाग्छ । तर म यति मात्रै भन्छु कि राष्ट्रियस्तरको पार्टीको पहिचान मात्रै यिनीहरू पाउनेछन् । संसद संख्याको आधारमा यिनीहरूको राष्ट्रिय राजनीतिमा प्रभावकारी रहँदैन । अहिलेको भन्दा पनि यिनीहरूको अवस्था तल खस्किन्छ । 

० डा.सीके राउतको जनमत पार्टीको कस्तो अवस्था देख्नुहुन्छ ?

— सीके राउतको होल कन्सल्ट्रेशन दुई÷तीनटा कुरामा म देख्दछु । एउटा त त्यो पार्टी अहिलेसम्म बहुनेतृत्वको रूपमा देखिँदैन । त्यो पार्टीले सीके राउतजीको मात्रै महिमामण्डन गरिरहेको छ । सीके राउतजीको व्यक्तित्व नै तिलस्मी व्यक्तित्व हो, प्रभावकारी व्यक्तित्व हो, उहाँ धेरै ठूलो विद्वान, मुक्तिदाता हो भनेर पूरा संगठन उहाँको महिमालाई बढाउने गरी अगाडि बढिरहेको देखिन्छ । अर्को कुरा, उहाँहरूले संगठन निर्माणका लागि चर्चित मुद्दाहरूलाई समात्न खोजेको देखिन्छ । जस्तै, एक जमानामा माओवादीहरूले ठाउँ–ठाउँमा, गाउँमा आराम गर्नका लागि पनि तास खेल्दा भाठा कारबाही गर्ने, होटलमा जाँडरक्सी बन्द गराउने अथवा आफूखुशी कसैलाई भ्रष्टाचारी भनेर प्रताडित गर्ने, जनकारबाही गर्ने लगायतका कुराहरू त्यो समयमा लोकप्रिय भएको थियो, त्यस्ता खालका मानिसहरू अरूलाई कुट्न पाइन्छ, त्यस्ता मानिसहरू समाजमा सिको गरेर सीके राउतले अहिले जनकारबाहीलाई अगाडि बढाउनुभएको देखिन्छ ।

चुनावी राजनीतिमा उहाँहरूलाई राम्रो परिणाम दिँदैन । यस्ता क्रियाकलाप गरेर जब उहाँ जनताको बीच मत माग्न जानुहुन्छ, अहिले आफूले लोकप्रिय ठहराएको कदमको बारेमा भोलि उहाँलाई धेरै ठूलो स्पष्टीकरण दिनुपर्ने हुन्छ, शायद स्पष्टीकरण दिन सक्नुहुने पनि छैन । अर्को कुरा मधेशको चुनावका केही यथार्थताहरू छन् । मधेशमा कुनै पनि पार्टीका नेताको देवत्वकरण गरेर, प्रादेशिक, स्थानीय वा आमउम्मेदवार गुमनाम प्रकारका व्यक्तिहरूलाई अगाडि सारेर उपलब्धि हासिल गर्न सकिँदैन । मधेशले मात्रै होइन, पहाडले पनि आफ्नो अगाडि उम्मेद्वारको रूपमा रहेको पर्सानालिटीहरूलाई हेरेर मतदान गर्छन् । जस्तो, कांग्रेससँग अहिले देशव्यापीरूपमा सयौं यस्ता व्यक्तिहरू छन् जो चुनावी राजनीतिमा प्रभावशाली देखिएका छन् । एमालेमा पनि त्यहीं छन्, यहाँसम्म राप्रपामा पनि त्यस्तै छन् । मोरङमा बद्री मण्डल जति नै कमजोर पार्टीबाट उम्मेद्वार भएपनि चर्चामा आइहाल्छन् । मैले के देखेको हो भने जनमत पार्टीसँग यो सोच देखिएको छैन । जनमत पार्टी अहिले सीके राउतजीलाई देवत्वकरण गरेर उहाँको विद्वता, गुणगान गरेर संगठनलाई अगाडि बढाएको छ । यो त अन्य समयका लागि ठिक हो, तर खासगरेर चुनावी राजनीतिमा सयौं सीके राउत चाहिन्छ हरेक निर्वाचन क्षेत्रका लागि । प्रभावशाली मान्छेहरू चाहिन्छ ।

० सीके राउतको जनमत पार्टीका चुनातीहरू के–के छन् जस्तो लाग्छ ?

— मैले इमान्दारीपूर्वक भन्नुपर्दा अहिले सीके राउतले युवाहरूलाई राम्रो संख्यामा संगठित गरिरहेको देखिन्छ । मैले आफ्नै आँखाले हेरेको, हाम्रै गाउँ–ठाउँमा वा अरू जिल्लाहरूमा जुन क्रियाकलापहरू भइरहेका छन्, त्यसलाई कमजोर पनि भन्न मिल्दैन । राम्रो उपस्थिति छ, खासगरेर युवाहरू, तन्नेरीहरूको राम्रो मोविलाइजेशन उहाँहरूको पक्षमा छ । यही युवा र तन्नेरीहरू हिजोको दिनमा फोरम अथवा सद्भावना पार्टीका लागि चुनावमा राम्रो प्रदर्शन गरेका थिए । यिनीहरूको शक्तिको आधारमा पनि उपेन्द्रजी उपेन्द्रजी हुनुभएको हो अथवा मधेशका अन्य नेताहरू राम्रो पोजिशन पाए ।

अहिले के देखिन्छ भने एउटा खास उमेर समूह ३०–३५ वर्षसम्मका युवाहरू जसको सम्पूर्ण मतदातामा राम्रो प्रतिशत सीके राउतसँग बढी जोडिएका छन् । यसका बाबजुद मतदाताको राम्रो संख्या बनाएपनि हरेक निर्वाचन क्षेत्रमा अन्य पार्टीसँग मुकाबिना गर्ने नेतृत्वको विकास गर्न सकेन भने त्यो जनमतलाई भोटमा रूपान्तरित गर्न गाह्रो हुन्छ । यसका साथसाथै मधेशकै पार्टीहरू पनि केही खास जातीय जनाधारलाई उपयोग गर्न खोजेको देखिन्छ, जुन गलत हो । जस्तो उपेन्द्र यादवजी एउटा–दुई जातिको समीकरण बनाएर आफूलाई शुभचिन्तक देखाएर लामो समयदेखि राजनीति गरिरहनुभएको छ । त्यसको विकल्पमा महन्थ ठाकुर र राजेन्द्र महतोजीहरू पनि अर्को प्रतिस्पर्धी जातिलाई आफ्नो संगठनमा हुल्ने कामहरू गरिरहनुभएको छ । यो पनि एउटा मुख्य मुद्दा हो जसले पार्टीको जनाधारलाई प्रयोग गर्छ । यदि सीके राउतजी निरपेक्ष राजनीतिक मुद्दामा मात्रै अगाडि जानुभएको छ भने यी कुराहरूलाई बिर्सिन हुँदैन जस्तो लाग्छ । 

० सीके राउतले जसपा र लोसपाका लागि कतिको चुनौति खडा गर्छ ?

— समग्रमा हेर्दा पहिले कांग्रेसको कुरा गरौं । कांग्रेसको ठूलो जनाधार मधेशी पार्टीहरूले आफ्नो पक्षमा पार्न सफल भएका थिए । अहिले के देखिन्छ भने कांग्रेसले आफ्नो जनाधारलाई तान्न सफल भएको देखिन्छ । तर कांग्रेसका लागि उपयोगी त्यतिखेर हुन सक्छ, जतिखेर यो १४औं महाधिवेशन धेरै झैझण्झट नगरेर सम्पन्न गर्दछ । यो महाधिवेशनमा यति धेरै ठूलो रडाको अथवा तनाव भयो भने प्राप्त गरेको जनाधारलाई फेरि गुमाउन सक्छ । 

अब कुरा गरौं नेकपा एमालेको । नेकपा एमाले पहिलेभन्दा अहिले मधेशमा बलियो भएको छ र बढी चर्चा रहेको छ भन्दा अतिश्योक्ति नहोला । संविधानसभाको निर्वाचनपछि मधेशी पार्टीहरूले ओलीको पार्टीलाई जसरी टारगेट गरे, प्रहारको लक्ष्य बनाए, अहिलेको त्यो अवस्था छैन । उपेन्द्रजीले जति नै प्रतिगमनकारी ओली भने पनि हिजो त्यहीं ओलीको क्याबिनेटमा पटक–पटक मन्त्री हुनुभयो र मन्त्री हुन चाहनुभयो, मनपर्दो मन्त्रालय खोज्नुभयो भन्ने कुरा मान्छेले बिर्सेका छैनन् ।

अहिले एमालेको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा हामी कुराकानी गरिरहँदा सयौं गाडीहरूमा मोरङ, सुनसरीमा मानिसहरू जाँदैछन् । यी सबै पहाडबाट आएका होइनन् । मधेशका गाउँ–गाउँबाट सयौं संख्यामा गाडीहरू गइरहेका छन् । केही समय पहिला ओलीको विभिन्न ठाउँमा आमसभाहरू हुँदा दिनभरि गाडीहरू पर्खिबस्थ्यो तर मन्छेहरू त्यसमा चढ्न आउँदैनथ्यो । तर अहिले भरिभराउ गाडीहरू गइरहेका छन् । यसले मधेशी पार्टीहरूले ओलीजी वा ओलीजीको पार्टीलाई जसरी टारगेट बनाएका थिए, अहिले त्यो अवस्थामा कमी आएको छ । उहाँहरू पनि अब स्वतन्त्रतापूर्वक मुभ गर्न पाइराख्नुभएको छ । यसले पनि मधेशमा मधेशी पार्टीहरूको जनाधारलाई नै प्रभाव पार्छ । उपेन्द्रजीका धेरै खास साथीहरू जो एमाले वा माओवादीका थिए, उनीहरू आफ्नै पार्टीमा फर्केको स्थिति देखिन्छ । यसको पनि प्रभाव मधेशी पार्टीहरूमै पर्छ । 

अब कुरा गरौं सीके राउतजीको । सीके राउतजीले १० भोट लिए पनि वा १० हजार भोट लिएपनि यस कुरामा दुईमत छैन कि त्यो भोटको ९० प्रतिशत मधेशी पार्टीहरूकै जनाधार आफूतिर तान्ने हो । समग्रमा यसपालि सबैको प्रहारको केन्द्र अथवा शक्ति घट्ने भनेको मूलधारका मधेशी पार्टीहरूकै हो । 

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ