आसेपासे र नातेदारलाई व्यवस्थापनमै नेतृत्व केन्द्रित छन् : लोसपा नेता राय

रामजी राय, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

अन्तर्वार्ता

० लोसपाको प्रदेश र जिल्ला अध्यक्ष मनोनयनप्रति तपाइँहरुले किन असन्तुष्टि जनाउनु भएको छ  ?

— मधेशमा विभेदका विरुद्ध विद्रोह भएको थियो । मधेशीसँग यहाँका शासनसत्ताले जुन विभेद गर्दै आएका थिए त्यसको विरुद्ध मधेश विद्रोह भएको थियो र हामी त्यसमा निःस्वार्थ भावले लागेका थियौं । त्यो संघर्षमा हजारौं घाइते भए, सयौंको बलिदानी भयो र कैयौं अहिले पनि अंगभंगको अवस्थामा छन् । ती सबै उपज आज मधेशका लागि राजनीतिक दलहरु निर्माण भएका छन् । तर, दुर्भाग्य । हामी जुन विभेदका विरुद्ध शासनसत्तासँग लड्यौं आज त्यहीं विभेद हाम्रो पार्टीभित्र रहेको छ । 

० लोसपाभित्र तपाइँहरुसँग कसरी विभेद भयो त ?

— हाम्रा नेताहरुले मधेश आन्दोलनको उपलब्धिलाई आफ्नो व्यक्तिगत लाभबाहेक मधेशलाई केही दिन सकेनन् । जस्तै, उपेन्द्र यादवलाई मधेश आन्दोलनले राजनीतिक उचाइँमा पु¥यायो तर उहाँले अहिले आफ्नो पार्टीमा मधेश र मधेशीको चर्चा पनि गर्नुहुन्न । मत लिनका लागि मात्रै उहाँ मधेशी कुरा गर्नुहुन्छ । त्यस्तै हाम्रो पार्टीमा पनि यस्तै कुरा भइरहेका छन् । कुनै पनि पार्टी पद्धति र सिद्धान्तअनुसार चल्छ । तर पार्टीभित्र नेतृत्वले आफ्नो आसेपासे र नातेदारलाई नै व्यवस्थापन गर्नमै केन्द्रित देखियो । 

० प्रदेश र जिल्लामा अध्यक्ष महन्थ ठाकुरले आफ्ना मान्छेलाई मात्रै राख्नुभएको छ त ?

— जसपाबाट लोसपा बन्दै गर्दा हाम्रा ग्रासरुटका नेता कार्यकर्ताहरु यही पार्टीलाई साथ दिए । हाम्रा नेताको मनोवल नटुटोस् भनेर मधेशमा जाँदा भरपूर स्वागत ग¥यौं । सिद्धान्त र नीतिका पछाडि मान्छे कुनै पार्टीमा लाग्ने हो । लोसपासँगै माधव नेपालको पार्टी गठन भएको थियो, त्यो पार्टीको वार्ड कमिटीसम्म गठन भइसक्यो तर हाम्रो पार्टीमा केही पनि भएन । त्यसको कारण के हो भने हाम्रा चार जना शीर्ष नेताहरुबीच सहमति जुटिरहेको थिएन । हाम्रा सबै नेता कार्यकर्ताहरुको एउटै माग छ कि सामूहिक निर्णय होस् एकल नेतृत्व होइन । किनभने विगतमा राजपा हुँदा ६ जना अध्यक्षहरुले गुटबन्दीमै लाग्नुभएको थियो । अहिले पनि चार जना शीर्ष नेताहरुले गुटबन्दीमै भागवण्डा खोजिरहनुभएको छ । पार्टीका लागि सहादत दिने, सडकमा संघर्ष गर्ने आम कार्यकर्ता तथा त्यसको उपलब्धि शीर्ष नेताहरुले आफूमै भागवण्डा मिलाउने गर्दै आएका छन् । मधेशका वफादार सिपाहीहरु अवसरबाट वञ्चित भइरहेका छन् । 

० कसले अवसर पाइरहेका छन् त ?

— जो शीर्ष नेताहरुको आसेपासे हुन्, जसले अध्यक्षको परिक्रमा गर्ने, सेवा गर्नेहरुले मात्रै अवसर पाइरहेका छन् । जसले शीर्ष नेताको चाकडी गर्दैन, उसले जीवनभर जतिसुकै इमान्दारीका साथ काम गरेपनि कहिल्यै अगाडि बढ्दैन । हामीजस्ता इमान्दार नेता कार्यकर्ताहरु पैसा वा लाभ खोजेको होइनौं, हामी पार्टीभित्र मान, सम्मान र प्रतिष्ठा खोजेका छौं । जुन सम्मानका लागि हामीले राज्यसँग लडाइँ गरेका थियौं, त्यो लडाइँ आज हामी पार्टीभित्रै गर्नुपर्ने अवस्था आएको छ । पार्टीका चार जना नेताले गर्ने निर्णय हामीलाई स्वीकार्य हुँदैन । 

० तर सबैको सहमतिमै प्रदेश र जिल्ला अध्यक्षहरु मनोनयन भएको हो नि ?

— बिल्कुलै भएको छैन । अध्यक्षले आफ्नो गोजीका मान्छेहरुलाई जिम्मेवारी तोक्नुभएको छ । हामीले भनेका थियौं कि प्रदेशको अध्यक्ष मनोनयन गर्दा पहिला त्यहाँका नेता कार्यकर्ताहरुबीच छलफल गर्नुस्, त्यहाँबाट आएका नाममध्ये जसको नाममा बहुमत हुन्छ, उसलाई जिम्मेवारी दिनुस् । जिल्ला अध्यक्षको सन्दर्भमा पनि हामीले जिल्लाका नेताहरुसँग सल्लाह गरेर तोक्नुस् भन्यौं । हाम्रा नेताज्यूहरु विगतका तमलोपा, सद्भावना, रामसपाकै गुटमा रमाइरहनुभएको छ । चार जना नेताले आफ्ना निर्णय हामीमाथि थोपर्ने काम गर्नुभएको छ । उहाँहरु सबै नेता कार्यकर्ताहरुलाई गुलाम ठान्नुभएको छ । यो मानसिकताबाट माथि उठ्नुपर्छ । हामीले सामूहिक निर्णय, एकल नेतृत्वको कुरा गरिरहेका छौं । एउटै व्यक्तिलाई सबै जिम्मेवारी दिने हो भने बाँकी नेताहरु मतदाता मात्रै हुन् त ? हामी पार्टी बनाउनका लागि आग्रह गरिरहेका छौं । जसले वार्डमा पनि जित्ने हैसियत राख्दैन त्यस्ताले अध्यक्ष महन्थ ठाकुरलाई गाइड गरिरहेका छन् । आजसम्म मधेशको जुन दुर्दशा छ, त्यसका कारण यी कुडाहरु हुन् ।

० प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनललाई मनोनयन गर्दा तपाइँहरुको चित्त दुखेको हो त ?

— जीतेन्द्र सोनल मन्त्री हुँदा पार्टीका एउटा पनि नेता कार्यकर्तासँग सम्मानजनक व्यवहार गर्नुभएन, उहाँले कसैको मन जित्न सक्नुभएको छैन । उहाँले केवल आफ्नो तिजोरी मात्रै भर्नुभएको छ । आफ्नो क्षेत्रमा पैसा लग्नुभएको होला तर जनकपुरका लागि केही पनि गर्नुभएन । उहाँलाई संसदीय दलको नेतामा पनि सांसदहरुले स्वीकार गरेका थिएनन् । आफ्नै प्रदेशबाट अस्वीकृत भइसकेका व्यक्तिलाई केन्द्रीय कार्यकारिणी समितिमा राख्ने, प्रदेश २ को संसदीय दलको नेता बनाउने, उसैलाई मन्त्री बनाउने र प्रदेशको अध्यक्ष पनि बनाइनुपर्ने बाध्यता के छ त ? प्रदेशको अध्यक्ष अर्को व्यक्तिलाई दिँदा हुन्थ्यो नि त । हाम्रो माग थियो कि प्रदेशको अध्यक्षको जिम्मेवारी नयाँ फ्रेस मान्छेले पाउनुपर्छ । सबै जिम्मेवारी एउटै व्यक्तिलाई दिने हो भने अन्य नेता कार्यकर्ताहरु केका लागि छन् त ? यी कुराहरु बिल्कुल गैरलोकतान्त्रिक हो । 

० अध्यक्ष महन्थ ठाकुरले त यो निर्णय पुनरावलोकन हुँदैन भनेर तपाइँहरुलाई भनिसक्नुभएको छ नि ?

— अध्यक्ष ठाकुरले हामीलाई भन्नुभयो कि चार जना शीर्ष नेताबीच छलफल भएर मैले एकल निर्णय गरें । उहाँले तत्काल पुनरावलोकन हुन सक्दैन भन्नुभएको छ । हामीले उहाँसँग भन्यौं कि पार्टीलाई जोगाइदिनुस् अध्यक्षज्यू, पार्टीलाई सवल बनाइदिनुस् । पार्टीको विधानअनुरुप संगठनहरु निर्माण हुनुपर्ने र एक व्यक्ति एक पदअनुसार चल्नुपर्ने हाम्रो माग हो । चार जना व्यक्तिले गरेको निर्णय हामीले मान्दैनौं । जुन अध्यक्षमण्डलीय प्रणालीलाई फालेका थियौं, त्यहीं अहिले देखा परिरहेको छ । प्रदेश, जिल्ला र अन्य मनोनयनहरु केन्द्रीय कार्यकारिणी समितिबाट निर्णय हुनुपर्ने थियो । यदि यी कुराहरु सच्चिएन भने हामी पार्टीभित्र रहेर संघर्ष गर्छौं । पार्टीको शक्ति हामीसँग छ । उहाँका आसेपासेसँग अब दम्भ छैन । ग्रासरुटका कार्यकर्ता हाम्रो पुँजी हो । 

० पार्टीभित्र कस्तो संघर्ष गर्नुहुन्छ ?

— हामी आफ्नो जीवनको यत्रो समय पार्टी निर्माणका लागि दियौं । हामीले आफ्नो व्यक्ति लाभ नसोचेर मधेशको मुक्ति होस् भनेर हामी राज्यसत्तासँग लड्यौं । तर उपलब्धि के त ? उपलब्धि भनेको आफ्ना आसेपासेलाई प्राथमिकता दिने, जातीयरुपमा उन्माद फैलाउने, गुटबन्दी गर्ने र सिट बेचबिखन गर्ने जस्ता कुराहरुका विरुद्ध हामी संघर्ष गर्नैपर्छ । पार्टीको यस्ता निर्णयविरुद्धमा हामी संघर्ष गर्छौं । यो निर्णय सच्चिएन भने हामी प्रदेश र जिल्लामा पार्टीको कार्यालय खोल्न दिँदैनौं । 

० पार्टीकै विरुद्ध आन्दोलन गर्दा कारबाहीमा पर्नुहुन्छ नि ?

— पार्टी कसैले एकलौटीरुपमा होइन नि । चार जना नेताका मात्रै पार्टी हो र ? हामीले उठाएका एउटा पनि माग पार्टीविरुद्ध छैन । हामीले झन् पार्टीलाई नेता, कार्यकर्ता र जनताबीच लोकप्रिय बनाउनका लागि आवाज उठाइरहेका छौं । हामीले पार्टीलाई लोकतान्त्रिक विधि र पद्धतिबाट चलाउनुस् भनिरहेका छौं । पार्टीको हितविपरीत कार्यहरु भइरहेका छन्, आमनेता कार्यकर्ताहरु नेतृत्वको निर्णयबाट निराश भइरहेका छन् । हामी पार्टीलाई सुदृढ र बलियो बनाउन आवाज उठाउँदा उल्टै हामी नै कारबाही भोग्नुपर्ने हो र ? एक व्यक्ति एक पदको कुरा गर्दा हामी पार्टीको हितमा कुरा हो । 

० भनेपछि प्रदेश र जिल्ला अध्यक्ष मनोनयनको निर्णय नसच्चिएसम्म संघर्ष जारी रहन्छ ?

— नेतृत्वले गरेका सबै नियुक्तिहरु त्रुटिपूर्ण र अलोकतान्त्रिक हो । वास्तवमा यदि हाम्रा नेताहरु मधेशको मुक्ति चाहनुहुन्छ भने पहिला आफ्नोभित्र सुधार गर्नुस् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ