सीकेले किसानको नाममा राजनीतिक रोटी सेक्ने काम बन्द गर्नुपर्छ : राज्यमन्त्री यादव

अन्तर्वार्ता

योगेन्द्र राय यादव, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी, प्रदेश नं. २, तथा केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल

० अहिले किसानहरू आन्दोलित छन्, प्रदेश सरकार के गर्दैछ ?

— किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने पात्रहरू अहिले सक्रिय भएका छन् । यो कुनै किसान आन्दोलन होइन । किसानका समस्या आजका होइनन् र आन्दोलन पनि पहिलोपटक होइन । अस्ति उखु किसानहरू आफ्नो भुक्तानीका लागि त्यत्रो आन्दोलन गर्दा तिनीहरू कहाँ थिए ? कहिलेसम्म जनतालाई ठग्ने हो ? हिजो स्वतन्त्र मधेशको कुरा गर्ने, मधेश स्वराज भन्नेहरू आज ठूलो क्रान्तिकारी भएका छन् । हिजो पनि स्वतन्त्र मधेशको नाममा मधेशका युवाहरू दिग्भ्रमित गरेका थिए । त्यो मुद्दा उठाएर स्थापित हुन नसकेपछि अहिले किसानको नाममा उच्छृंखल गतिविधि गर्दैछन् । किसानको नाममा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने जुन हर्कत छ, त्यसलाई आमजनताले बुझिरहेका छन् । त्यसैले किसानजस्तो पवित्र शब्दलाई अपमान नगरौं । जनकारबाही जस्तो महत्वपूर्ण शब्दलाई दुरूपयोग नगरौं । एउटा विद्वानले विद्वता प्राप्त गरेका हुन् कि विद्वताको नाममा उच्छृंखल गतिविधि अगाडि बढेको हो, त्यो पनि जनताले हेरिरहेका छन् । 

० त्यत्रो बन्द हडताल, जुलुस भइरहेको छ, किसान आन्दोलन होइन ?

— कहीं बन्द हडताल छैन । म आफ्नै गृहजिल्ला रौतहटभरि घुमें, मैले एक जना पनि आन्दोलनकारी भेटिन । सामाजिक सञ्जालमा हल्ला मात्रै गरेका छन्, तर यथार्थमा बन्द हडताल केही पनि छैन । बन्द कहाँ छ भनेर त हामी खोजिरहेका छौं । यो बकवास हो, काठमाडौं र बाहिरियालाई देखाउने र त्यसबाट केही पाउने स्वार्थका निम्ति त्यस्तो भइरहेको छ । 

० कैयौं ठाउँमा प्रहरीसँग झडप पनि भयो, प्रहरीले गोली पनि चलायो, त्यो हेर्नुभएन ?

— राज्यले शान्ति सुरक्षा व्यवस्था स्थापना, जनताको मौलिक हकअधिकारका लागि, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि राज्यको दायित्व हो, आफ्नो तन्त्रलाई प्रयोग गर्नु । हिजोसम्म सीके राउतलाई तराई मधेशका जनताको गाउँ कहाँ छ भन्ने थाहा थिएन । म एउटा जनताबाट निर्वाचित प्रतिनिधि हुँ, तर मलाई अहिलेसम्म कोट, पाइन्ट, टाइ लगाउने हैसियत भएको छैन । हामी मधेशका पिछडिएका, आर्थिकरूपमा विपन्नहरूका लागि मुक्तिको आन्दोलन गािररहेका छौं । जहाँ मधेशका जनताको खुट्टा नाङ्गो छ, यो जाडोमा न्यानो लुगा लगाउन सकेको छैन तर सीके राउतको जीवन शैली हेर्दा उसले किसानका लागि आन्दोलन गरिरहेको छ भन्ने कसरी विश्वास गर्ने । सोझा किसानको नाममा राजनीतिक रोटी सेक्नु हुँदैन । किसानका मुख्य समस्याहरू धेरै छन्, त्यो आजको नयाँ होइन । 

किसानका मूलभूत समस्याहरू मलखाद्य, बीउ बिजन र सिंचाइ हो । यो देशमा मलखाद्यको कारखाना छैन, सरकार टु सरकार खरिद गर्ने भनेर संघीय सरकारका कृषिमन्त्रीले निर्णय गर्नुभएको छ । अबको केही दिनमै मलखादको सहज उपलब्धता हुन्छ भनेर सरकार लागिपरेको छ । हामी प्रदेश नं. २ सरकारलो बीउबिजन प्रयोगशालामार्फत् किसानलाई उपलब्ध गराउनेतिर हामी लागेका छौं । सिंचाइका लागि पनि हामी विभिन्न योजनाहरू बनाइरहेका छौं । यो आज एक दिनमा आएको समस्या होइन । वर्षौंदेखिको समस्यालाई दीर्घकालीन समाधानका लागि समय लाग्छ । भनेपछि आफूलाई राजनीतिमा स्थापित हुनका लागि गर्ने नाटकलाई सबैले बुझेका छन् । त्यसैले यो कुनै किसान आन्दोलन होइन । 

० यो किसान आन्दोलन होइन कसरी भन्नुहुन्छ ?

— यो बिल्कुलै किसान होइन, नाटक हो । नेपालको राजनीतिक वृत्तमा स्थापित हुनका लागि विगतदेखि नै विभिन्न किसिमका गरेको नाटक हो । सीके राउतको नाटकलाई हामीले बडो राम्रोसँग बुझेका छौं । हिजो आममधेशी युवालाई स्वतन्त्र मधेश र मधेश स्वराजको नाममा दिग्भ्रमित गरे, त्यसमा सफल हुन सकेन । उसको अलग देश, स्वराज मधेश, गान्धी, नेल्शन मण्डेला, बुद्धको सिद्धान्त कहाँ गए ? गान्धी, मण्डेला जस्ता महान व्यक्तित्वको नाममा उच्छृंखल गतिविधि गर्न सीके राउतलाई लाज लागेन ? यो कानून राज हो, यस्ता उच्छृंखल गतिविधि गर्नेलाई कारबाही गर्ने पनि राज्यका अंगहरू छन् । 

० तर जनमत पार्टीले किसानका लागि उठाएका मुद्दाहरू सही हो नि ?

— सीके राउतले किसानका कुन मुद्दा नयाँ उठान गर्नुभएको छ ? किसानको समस्या आजको हो ? वर्षौंदेखिको समस्यालाई हामी दीर्घकालीन समाधान गर्न चाहिरेका छौं । यसरी उच्छृंखल भएर मुद्दाहरू समाधान हुँदैन । किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने जुन दाउ छ, त्यसको हामी विरोधी छौं । आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको नाटक मात्रै हो । किसानको समस्याप्रति राज्या गम्भीर छ र सम्बोधनको दिशा अग्रसर छ । राज्यको सामथ्र्यले भ्याउँछ भने यहाँ मलखाद्य कारखाना पनि स्थापना हुन्छ । तर अहिले गरिएको आन्दोलनको कुनै तुक छैन । यो किसानको आन्दोलन नै होइन । किसान जस्तो पवित्र शब्दलाई कुनै व्यक्तिले आफ्नो स्वार्थ पूर्तिका भजाउने काम गर्नु हुँदैन । 

० किसान आन्दोलनमा सीके राउतका कार्यकर्ताहरू मात्रै छन् त ?

— सीके राउतको आन्दोलनमा जनताको कुनै उपस्थिति नै छैन । सामाजिक सञ्जालमा मच्चाइएको हल्लालाई हामी जनताको आन्दोलन मान्दैनौं । किसानलाई भजाएर किसानको नाममा आफ्नो स्वार्थ पूरा गर्ने एक प्रकारको प्रपञ्च हो । सुटबुटबाट बाहिर आएर जनताको बीचमा गएर राजनीति गर्न सीके राउतलाई मेरो सल्लाह ।

० आगामी चुनावबाट सीके राउतले प्रदेश नं. २ मा क्लिनस्वीप गर्ने दाबी गर्नुभएको छ । भनेपछि तपाइँहरूको प्रमुख प्रतिद्वन्द्वी सीके राउतकै पार्टी होला नि ?

— भो । पहिला पनि हामीले हेरिसकेका छौं । गत चुनावमा सीके राउतले कोठली बाहर मतदान भनेर अभियानै चलाउनुभएको थियो । कतिको परिणाम आयो, उहाँलाई राम्ररी थाहा छ । अस्ति उपनिर्वाचनमा पनि उहाँको शक्ति देखियो । कतिपय ठाउँमा त आफ्नो जमानत पनि जोगाउन सक्नुभएन । त्यसैले हामी हेरौंला नि प्रदेश २ मा क्लिनस्वीप गर्नु हुन्छ, आफै हुनुहुन्छ । त्यो त आगामी दिनले देखाउनेछ । 

० आगामी चुनावमा जसपाले पाँच दलीय गठबन्धनमा चुनाव लड्दा मधेशलाई घाटा हुँदैन ?

— मधेशलाई कुनै घाटा हुँदैन बरू हामी समग्र नेपालमा आफ्नो उपस्थिति दर्ज गराउँछौं । उपेन्द्र यादवजी आफैमा एउटा आदर्शवादी र वैचारिकरूपमा सवल पात्र हुनुहुन्छ । उहाँले यो देशमा मधेशी, दलित, थारू, मुस्लिम, महिला, हिमाल पहाडका उतपीडितको मुक्तिका निम्ति वैकल्पिक राजनीतिक धारको विकास गरिसक्नुभएको छ । एउटा प्लेटफर्म निर्माण भइसकेको छ । आज जसपा नेपाल केन्द्रको सरकारमा पनि छ र लगभग सबै प्रदेशमा प्रतिनिधित्व गरिरहेको छ । अब हामी हिमाल–पहाडमा उक्लिरहेका छौं । परिवर्तनकारी शक्तिसँग हामीले गठबन्धनको अभ्यास गरेका छौं । जसले संघीयतालाई स्वीकार गरे, लोकतन्त्र, गणतन्त्रलाई जसले स्वीकार गरे । यो अतिवादी र संघीयताविरोधीहरू बीचको गठबन्धन होइन । जसपाले आगामी निर्वाचनमा अहिलेको भन्दा बढी सिट ल्याउँछ । 

० लोतान्त्रिक समाजवादी पार्टीसँगा जसपाको सहकार्य वा गठबन्धनको सम्भावना अझै छ कि छैन ?

— गठबन्धन र सहकार्यको न्यूनतम् साझा बिन्दूहरू छन् । पार्टीको रूपमा हामी सहकार्य गर्ने हो । लोसपाको विचारधारा के हो त्यो हामी बुझ्न सकेका छैनौं । लोसपा भनेको कुनै पार्टी नै होइन । अहिलेसम्म लोसपाको केन्द्रीय समितिको बैठक बसेको छैन, कुनै वर्गीय संगठन छैन, जिल्लामा पनि संगठन छैन । सदस्यता वितरण तथा संगठन निर्माणका केही पनि भएको छैन । त्यो एउटा क्लब हो, त्यसमा सेयरहोल्डरहरू छन् । त्यसमा प्रतिशत मुनाफामा काम गरिरहेका छन् । पार्टी भनेको विचार हो, संगठनात्मक संरचना हो र नेतृत्वको नेतृत्वदायी भूमिका हो । लोसपामा यी केही पनि छैन । जसपासँग लोसपाको तुलना नै नगर्नु ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ