० भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गौरमा दिएको अभिव्यक्तिबारे जनता समाजवादी पार्टी किन मौन छ ?
— आजको प्राविधिक युगमा कसैको भनाइलाई सामाजिक सञ्जालमा भाइरल बनाउँदैमा त्यो विषयमा आफ्नो धारणा बनाउनु उपयुक्त होइन । अर्को कुरा रेणु यादवजस्तो जिम्मेवार व्यक्तिले हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको होला जस्तो लाग्दैन । कुनै प्रशंगवश उहाँले केही बोल्नु भएको होला, जसलाई तोड–मरोड गरेर प्रस्तुत गरिएको छ । किनभने मैले उहाँको भाषणको सम्पूर्ण अंश सुन्न पाएको छैन । उहाँको स्पीचलाई कटअप गरेर सामाजिक सञ्जालमा राखिएको छ । तर पनि हत्या हिंसालाई प्रोत्साहन गर्न मिल्दैन ।
० तर उहाँको त्यो अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ नि?
— राजनीतिमा यतिको भयावह कुरो होइन यो । कुरा के हो भने उहाँ गौर जाँदा अवरोध भयो, त्यसपछि उहाँको मनमा आक्रोश आयो र त्यस्तो किसिमको अभिव्यक्ति दिनुभयो । त्यो अभिव्यक्तिलाई गौर हत्याकाण्डसँग जोडेर भन्न मिल्दैन । एउटा उदाहरणको रूपमा सचेत गराउनुभएको जस्तो लाग्छ । अन्य पार्टीहरूले यसलाई एउटा मुद्दा बनाएर चुनावी राजनीति गर्न खोजिरहेका छन् । अहिले चुनावहरू आउँदैछ । चुनावलाई मध्यनजर गर्दै कुनै पार्टी र व्यक्तिलाई बदनाम गर्न खोजिएको छ । यस्तो घटनालाई लिएर राजनीति गर्नु हुँदैन र हत्या हिंसालाई कसैले पनि प्रोत्साहन गर्नु हुँदैन ।
० भने पछि मन्त्रीयादवको अभिव्यक्तिलाई अन्य दलहरूले चुनावी एजेन्डा बनाएका छन् त ?
— विरोध गरिरहेका दलहरूको चुनावी एजेण्डा नै हो । किनभने विद्रोह गरेर जनमत तयार गर्न सकिन्छ । अहिले चुनावहरू नजिकिँदैछन्, त्यसले गर्दा पनि यस्ता कुराहरू भइरहेका छन् । मन्त्री यादवविरूद्ध अहिले भइरहेका आन्दोलनको मुख्य उद्देश्य पनि चुनावलक्षित नै हो । यस्तो पहिला पनि भएकै हो । समष्टिगत रूपमा मन्त्रीको त्यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिन मिल्दैन । किनभने अन्य दलहरूले त्यसलाई राजनीतिक एजेण्डाकै रूपमा अगाडि बढाइरहेका छन् । त्यसलाई राजनीतिकरूपले प्रतिकार पनि गर्नुपर्छ । हत्या, हिंसा न त उदाहरण बन्न सक्छ न यो राम्रो कुरो हो । अहिले जनता समाजवादी पार्टी मधेश प्रदेशमा सबभन्दा ठूलो पार्टी भएको छ । जसपाको ठाउँ खस्कियो भने अन्य पार्टी त्यो ठाउँमा आउन सक्छ । खस्काउनका लागि विभिन्न किसिमका प्रपञ्चहरू त गर्नुपर्छ । यो इलेक्सन पोलिटिक्स नै हो, त्यसकै लागि गरिएका स्टन्टबाजीहरू नै हुन् ।
० विगतमा अभिव्यक्तिकै कारण बहालवाला मन्त्रीहरूले राजीनामा दिनुपरेको उदाहरणहरू छन् । यही प्रकरणमा मन्त्री रेणु यादवले राजीनामा दिनु पर्दैन ?
— राजीनामा नै दिनुपर्ने अवस्था छैन । किनभने विगतमा धेरै मन्त्रीहरूले धेरै कुरा भनेका छन् । इतिहास कोट्याएका छन्, इतिहासका कुराहरू राखेका छन् । तर जनतामा कस्तो सन्देश गएको हो, त्यो मुख्य कुरा हो । यसबारे पार्टीले स्पष्टरूपमा कुरा राख्नु आवश्यक छ । यदि जनतामा भ्रम फैलाउने कुरोहरू भइरहेका छन्, त्यो पनि चिरिन्छ ।
० मधेश विद्रोहको १५ वर्ष पूरा भयो, उपलब्धिहरू के प्राप्त भयो त ?
— यसलाई १५ वर्षमै सीमित गर्नु हुँदैन । म त वि.सं. २०४० सालदेखि नै मधेश आन्दोलनमा लागेको, काम गरेको र गिरफ्तारी दिएको व्यक्ति हुँ । त्यसले मधेश आन्दोलन २०६३ वा ०६५ सालसँगमात्रै जोड्न चाहन्न । २०४० सालदेखि नै मधेशले आफ्नो राजनीतिक अधिकारका लागि अगाडि बढ्दै आएको छ । त्यति बेला मान्छेले आफूलाई मधेशी भन्न पनि डराउँथे । त्यो बेला मधेशी शब्द नै सम्वेदनशील थियो । राज्यले मधेशी भनेर हेप्ने, काठमाडौंमा मधेशी भनेर हेप्ने तर म मधेशी हुँ भन्न नपाउने, यस्तो किसिमको वातावरणबाट आन्दोलनको सुरूवात भयो । २०४० सालमा हर्कबहादुर गुरूङको प्रतिवेदनको विरोधमा आन्दोलन सुरू भएको हो । यही क्रममा अगाडि बढ्दा बढ्दै आन्दोलन परिपक्क हुँदै गयो र हुँदाहुँदै मधेश विद्रोह भयो । मधेश विद्रोहमा राज्यले मान्छे मारे, जसमा सम्झौताहरू भए । हुन त सम्झौताहरू विगतमा पनि भएका हुन् । विभिन्न सम्झौताहरू हुँदाहुँदै मधेश आन्दोलनहरू अगाडि बढ्दै गए । समग्र मधेश एक प्रदेश भनेर हामी अगाडि बढेका थियौं । त्यो आन्दोलनको स्वरूप हामीले आठ जिल्लाको मधेश प्रदेशलाई हामीले स्वीकार्यौं । आन्दोलन अहिले पनि जारी छ, पहिलो खुड्किलाको रूपमामात्रै आठ जिल्लाको मधेश प्रदेश हामीले पाएका हौं ।
० आठ जिल्लाको “मधेश प्रदेश” मधेश आन्दोलनको उपलब्धि हो ?
— निश्चित रूपमा । आज कार्यालयहरूमा जानुस्, मधेशी अनुहारहरू देखा पर्न थालेका छन् । वि.सं. २०४७ सालदेखि दिनप्रतिदिन उपलब्धि नै भएको हो । आज सबैले आफूलाई गर्वका साथ मधेशी भन्छन् । संविधानमा मधेशीले कोटा पाएका छन् । पहिला त मधेशीको सहभागिता लगभग शून्यको हाराहारीमा थियो । यस्तो अवस्थामा आज हामी जे पाइरहेका छौं, त्यो एउटा उपलब्धि नै हो । अर्को, गैरमधेशीहरूले पनि मधेशका समस्यामाथि चर्चा गरिरहेका छन् । गैरमधेशीहरूले पनि मधेशका बारेमा चिन्तन गरिरहेका छन् । मधेशले पनि सम्पूर्ण राष्ट्रको बारेमा चिन्तन गरिरहेको छ । यी चिन्तनको अवस्था आएको छ, त्यो मधेश आन्दोलनकै उपलब्धि हो ।
० तर, मधेशका २२ जिल्लाको समग्र मधेश प्रदेशकालागि आन्दोलन भएको थियो, अहिले आठ जिल्लामा खुम्च्याइएको छ नि?
— मधेशको लडाइ सामाजिक न्यायको लडाइ हो । अढाई सय वर्षदेखि मधेशीहरू लड्दैछन् । जुन दिन पृथ्वीनारायण शाहले मधेशलाई कब्जा गरे, त्यो दिन देखिकै लडाइ हो । नरहरी नाथजीको सन्धि संग्रह भन्ने किताबमा लेखिएको छ कि ‘मधेश कब्जागर्न ६ वर्ष लाग्यो’ । अर्थात् मधेश उहिलेदेखि नै लडिरहेको छ । खोजको विषय बनेको छ । सामाजिक न्यायको लडाइमा लक्ष्य प्राप्त गर्न सयौं वर्ष लाग्छ । आज दक्षिण अफ्रिकाको लडाइमा सत्ता परिवर्तन भएपनि अहिले पनि संघर्ष जारी छ । किनभने समाजमा शासकवर्ग र शाषितवर्ग बीचको दूरी समाप्त गर्नका लागि समय लाग्छ । अहिले उपलब्धि नै हो कि आठ जिल्लाको मधेश प्रदेश भएको छ ।
० समग्र मधेश प्रदेशको परिकल्पनाको प्रस्थानबिन्दू आठ जिल्लाको मधेश प्रदेशबाट भयो ?
— यो प्रस्थान बिन्दूभन्दा पनि एउटा खुड्किलो पार गरेको हो । यो बिर्सिनु हुँदैन कि मधेश मेचीदेखि महाकालीसम्मको हो । स्व.गजेन्द्र नारायण सिंह बितेको २० वर्ष भयो । राजविराजमा जन्मेको व्यक्ति मेचीदेखि महाकालीसम्मका मानिसलाई जोड्ने प्रयास गर्नुभयो । मधेशलाई मधेशप्रति जागरण दिनुभयो । आज थारू आफूलाई अलग सम्झन्छन् । तर जुन बेला हामी काम गर्दथ्यौं त्यो बेला थारू अलग थिएनन् । थारू, मुस्लिम, राजवंशीले पनि आफूलाई मधेशी नै भन्थे । शासकले यो बुझे र बाँड्ने प्रयास गरे । शासकले सम्पूर्ण मधेशलाई १५ कलष्टरमा बाँडे । आज भन्ने हो भने मधेशीको ? शासकको षड्यन्त्रलाई पनि हामीले बुझ्नुपर्छ ।
० मधेशवादका प्रणेशता स्व.गजेन्द्र नारायण सिंहलाई आदर्श मान्नु हुन्छ, मधेशवादको वकालत गर्नुहुन्छ तर तपाइँ आबद्ध जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेशवादहुँदै होइन भन्नुहुन्छ नि?
— वादको पनि खुड्किलाहरू हुँदोरहेछ । एक दिनमा वाद बन्दैन । उहाँले माक्र्सवाद, समाजवाद पढेर आउनुभएको छ, त्यसको त दस्तावेजहरू छन् । ती वादहरूको पुस्तक पढेर त्यो स्कूलिङ्गबाट उहाँ आउनुभएको छ । हामी मधेशलाई पढेर आयौं, गजेन्द्रबाबुसँग राजनीति ग¥यौं । हामीले मधेशको विचारधारालाई अगाडि बढाउने प्रयास ग¥यौं । त्यसैले हामी त्यसलाई मधेशवाद भन्यौं । मधेशवाद भन्दैमा त्यो वाद हुँदैन, त्यसको कुनै दस्तावेज लेखिएको छैन । यसमा पनि समय लाग्छ । जब सबैले यसमा छलफल र चिन्तन गर्छन्, तब यसले वादको स्वरूप लिन्छ । यो एकदमै बन्ने होइन ।
तपाईको प्रतिक्रिया