० जनता प्रगतिशील पार्टी अन्य दलभन्दा के अर्थमा फरक छ ?
— कुनै पनि राजनीतिक दल गठन हुँदा फरक उद्देश्यका साथ नै निर्माण हुन्छ । जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठीको राजनीतिक जीवन लामो छ भने नेपालको राजनीतिमा दखल राख्न सक्ने व्यक्तित्व पनि उनको छ । म पनि संविधानसभामा भाग लिएर नेपालको राजनीतिलाई नजिकबाट नियाल्दै आएका छु । परिवर्तनको दिशामा संविधान जारी गरेर अगाडि बढेका थियौं । संविधानलाई पूर्णता र संस्थागत गर्ने बेलामा अहिलेका दलहरुले गैरजिम्मेवार काम गर्दै आएका छन् । जनताको अगाडि एकथरि कुरा गर्ने तर व्यवहर ठिक उल्टो गर्दै आएका छन् । त्यसको निकासका लागि नयाँ विचार र प्राप्त उपलब्धिको संस्थागतका लागि जनता प्रगतिशील पार्टी गठन भएको हो । दलहरु जनताको अगाडि ठूला कुरा गर्ने, जनताको मत बटुल्ने र त्यो मतको दुरुपयोग गर्दै विकृति र विसंगतिहरुलाई बढावा दिने चलन रहँदै आएको छ । कार्यकर्तालाई भ्रष्ट बनाउने नियत देखिएकोले ती सबै विकृतिलाई निर्मूल गर्नका लागि जप्रपाको आवश्यकता प¥यो । वैचारिक प्रष्टताका साथ हामी नयाँ दल निर्माण गरेर अगाडि बढिरहेका छौं ।
० राजनीतिक विकृति र विसंगति हटाउने मूल उद्देश्य हो त ?
— बिल्कुल । मुलुकमा राजनीतिक संस्कार र विचारको विकास गर्नु पनि मूल एजेण्डा हो तर अहिलेसम्म हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि हाम्रो प्रयास रहनेछ । संविधान जारी हुँदा छुटेका कुराहरु पूरा गराउन हाम्रो मूल एजेण्डा हो । मधेश र पहाडबीच जुन किसिमको दूरी बढाउने दुस्प्रयासहरु भएको थियो त्यसलाई पनि हामी हटाउँछौं । वैचारिकरुपमा पनि नेपालका समग्र जनताबीच सद्भाव कायम गर्ने र मधेशलाई पनि मूल प्रवाहमा समाहित गर्न वैचारिक बहसको आवश्यकता छ । नेपालका मधेशी र पहाडी सबै नागरिक समान हुन् भन्ने कुरा लिखितमा मात्रै नभई मनोविज्ञानको हिसावले पनि सामाजिक वातावरण बनाउने राजनीतिक दलहरुको जिम्मेवारी हो । यतातिर कुनै पनि दलको प्रयास देखिएको छैन । तर हाम्रो बढी जोड हुनेछ ।
० नेपालमा वैकल्पिक शक्ति निर्माणका लागि लामो समयदेखि चर्चा÷परिचर्चा, बहस र प्रयासहरु पनि भयो । भनेपछि, जनता प्रगतिशील पार्टी पनि वैकल्पिक शक्ति हुने अभियानमा छ ?
— नेपालमा वैकल्पिक शक्ति चाहिन्छ भन्ने विभिन्न समयमा विभिन्न प्रयासहरु भएकै हो । वैकल्पिक शक्ति निर्माण गर्ने कुरा गर्नु जायज हो तर त्यो बाटोमा दृढ भएर कसैको प्रयास देखिएन । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता छ भनेर दल नै खोल्नुभयो तर त्यो किसिमको व्यवहार देखाउन सक्नुभएन । संविधान जारी हुँदा मधेश जलिरहेको थियो, मधेशीहरु आफ्ना अधिकारका लागि गोली खाइरहेका थिए तर बाबुरामजीले संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गर्नुभयो । त्यसैले उहाँमाथि जनताले विश्वास गर्ने कुनै आधार नै देखिएन । त्यसैले मुलुकमा अहिले पनि वैकल्पिक शक्तिको आवश्यकता छँदैछ, हामी दृढ संकल्पित भएर लागेका छौं । अवश्य नै वैकल्पिक शक्ति निर्माण गर्छौं ।
० राजनीतिक दलहरु गठनका बेला परिवर्तनका थुप्रै कुराहरु गर्छन्, तर व्यवहारमा त्यस्तो देखाउँदैनन् । जनता प्रगतिशील पार्टीले भनेको पूरा गर्छ भन्नेमा जनता कसरी विश्वस्त हुने त ?
— हामीले उठाएका मुद्दा लिएर जनताका बीचमा जान्छौं, यदि हामी सही सावित भयौं भने हेरिहाल्नुहुन्छ । वास्तवमा नेपालमा सयौं राजनीतिक दलहरु गठन भएका छन्, तर जनताले विश्वास आधारमा नदेखेपछि पत्याएका छैनन् । हामी आफैले दाबी गरिरहेका छैनौं, जनताले हाम्रो मूल्यांकन गर्नेछन् । हामी एउटा विचार लिएर आएका छौं, हामी विश्वस्त छौं । हाम्रा अध्यक्ष हृदयेश त्रिपाठीको राजनीतिक जीवन, राजनीतिक इतिहास, उहाँको उपस्थिति र गर्नुभएको काम ती सबैको मूल्यांकन जनताले गरेकै छन् । अब उहाँको नेतृत्वमा एउटा दल नै भइसकेपछि जनताले अनुमोदन गर्ने कि नगर्ने यो पनि ठूलो चुनौतिको विषय हो । म पनि विगतमा विभिन्न दलहरुमा आबद्ध थिएँ, जनताको आकांक्षा ती दलहरुले पूरा गर्छन् भन्ने विश्वास थियो । तर त्यो नभइसकेपछि एउटा स्वच्छ र इमान्दार नेतृत्वको खोजीमा थिएँ । त्यो स्वच्छ, इमान्दार र राष्ट्रलाई परिवर्तनको बाटो लग्ने क्षमता त्रिपाठीमा छ ।
० हृदयेश त्रिपाठीको राजनीतिक पृष्ठभूमि मधेशकेन्द्रित छ । जनता प्रगतिशील पार्टी क्षेत्रीय कि राष्ट्रिय पार्टी हो ?
— हाम्रो पार्टी राष्ट्रिय नै हो । नेतृत्वको अनुहार हेरेर मानिसहरुले क्षेत्रीय भनेर सम्बोधन गर्ने गरेका छन् । पहाडका कुनै पनि व्यक्तिले पार्टी दर्ता गराउँदा त्यसलाई राष्ट्रिय पार्टीको रुपमा हेर्ने र कुनै मधेशी अनुहारका मानिसले गठन गरेको पार्टीलाई क्षेत्रीय भन्ने मानसिकता रहेको छ । यी र यस्तै संकीर्ण मानसिकतालाई चिर्नका लागि यो पार्टीको गठन भएको हो । हाम्रो पार्टीका नेताहरुको अनुहार हेरेर क्षेत्रीय वा राष्ट्रिय भन्छन् भने त्यो उनीहरुको दयनीय सोच हो । हाम्रो दल राष्ट्रिय दल नै हो र मतदान गर्ने सम्पूर्ण जनता नेपाली नै हुन् ।
० स्थानीय तह निर्वाचनको मुखमा तपाइँहरुले पार्टी दर्ता गराउनुभएको छ । अहिलेसम्म केन्द्रीय समिति मात्रै निर्माण भएको छ । स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ ?
— भर्खर हाम्रो दल निर्वाचन आयोगमा दर्ता भएको छ, केन्द्रीय समिति गठन भएको छ । अब हामी प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्म संगठन विस्तारमा जुट्छौं । अहोरात्र हामी खटिरहेका छौं । निर्वाचनको उम्मेद्वारी दिने समयभन्दा पहिले सकभर हामी सबै तहमा संगठन विस्तार गरिसक्छौं । तर हाम्रो दलको बुझाइ के हो भने स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्छ । स्थानीय तहमा दलीय हिसावले हुने निर्वाचन नै भ्रष्टाचारलाई संस्थागत गर्ने माध्यम हो । त्यसैले गर्दा स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र हिसावले गराउनुपर्ने हाम्रो एजेण्डा हुन्छ । राज्य तहमा हाम्रो उपस्थिति भयो भने स्थानीय तहलाई निर्दलीय रुपमा बनाउने अठोट छ । यहाँ त दलबाट राष्ट्रपति, सभामुख लगायतका प्रमुख पदमा जाने गर्छन् तर ती पदहरुमा पुगिसकेपछि निष्पक्ष भूमिका देखिँदैन । दलले नियन्त्रित गरेर राखेको हुन्छ । त्यसैले ती पदहरुमा बस्दासम्म कुनै दलको प्रभाव वा दबाबमा नरहने व्यवस्थाको हामी परिकल्पना गर्छौं । संविधानमा ती व्यवस्थाहरु भएपनि व्यवहारमा देखिँदैन । अहिले नै हेर्ने हो भने सभामुख भनेको स्वतन्त्र र जनताप्रति उत्तरदायी हुनुपर्ने हो तर दलबाट निर्देशित रहेको सर्वत्र आलोचना भइरहेको छ । त्यसैले हामीले स्थानीय तहदेखि नै त्यो व्यवस्थाको सुरुवात गर्नुपर्ने धारणा राखेका छौं । स्थानीय तहमा कुनै दलको प्रतिनिधि हुनैपर्ने आवश्यकता नै छैन । किनभने त्यहाँ आफ्नो समाजको विकास गर्नुपर्ने हुन्छ । समाजको विकास गर्नका लागि दलको वफादार होइन कि आफ्नो समाजप्रति उत्तरदायी हुनुपर्छ ।
० स्थानीय तह निर्वाचनको उम्मेद्वारी दर्ता अगावै जप्रपाको वडासम्म संगठन विस्तार भइसक्छ ?
— हामी भरपूर प्रयासमा छौं । उम्मेद्वारी दर्ता अगावै सम्भवतः हाम्रो संगठन विस्तार भइसक्ला ।
० स्थानीय निर्वाचनबाट तपाइँहरुको कस्तो अपेक्षा छ ?
— अहिले नै भन्न अलि हतार हुन्छ । हामी अहिलेदेखि नै आफ्नो उद्देश्य जनताबीच सम्प्रेषण गरिरहेका छौं । हाम्रो दल निर्माण भएको छोटो समय भएकोले सबै ठाउँमा आफ्नो उपस्थिति देखाउन सक्दैनौं होला । तर हामी स्थानीय तहमा निर्दलीय निर्वाचनको कुरा गरिरहेका छौं । निर्दलीयरुपमा यदि जनप्रतिनिधिहरु जितेर आए भने त्यो हाम्रो जीत हुनेछ ।
० अहिलेको अवस्थामा स्थानीय तहको निर्दलीय निर्वाचन हुने सम्भावना छैन । निर्वाचनमा जप्रपाले आफ्नो उम्मेद्वार खडा गर्न सक्ने अवस्थामा छ ?
— हामी तीव्ररुपमा लागेका छौं । भ्याएसम्म सबै ठाउँमा हाम्रा उम्मेद्वारहरु हुन्छन् । तालमेलमा पनि जाने अवस्था हुनसक्छ । तर सम्भवतः हाम्रो बढी तालमेल निर्दलीय उम्मेद्वारसँग बढी हुन्छ ।
० प्रदेश र संघीय निर्वाचनमा तपाइँहरुको तालमेल हुने सम्भावना कुन दलसँग बढी छ ?
— अहिले हामी दल निर्माणको प्रक्रियामा छौं । राष्ट्रिय एजेण्डाको हिसावले त्यतिखेर कुन दलसँग हाम्रो सामिप्यता हुन्छ, त्यही दलसँग नै तालमेल हुन्छ । जुन दलसँग नजिकीपन देखिन्छ, जसले हाम्रो एजेण्डामा सहमत हुन्छ, तिनीहरुसँग नै हाम्रो चुनावी तालमेल वा सहकार्य हुन्छ ।
० हृदयेश त्रिपाठी संघीय संसदमा नेकपा एमालेको सांसदको रुपमा चिनिनुहुन्छ, अहिले अध्यक्ष अर्कै पार्टीको हुनुभयो नि ?
— त्रिपाठीजी कानूनी रुपमा एमालेको सांसद हो भन्ने भ्रम छ । निर्वाचनका बेला उहाँको स्वतन्त्र राजनीतिक समूह र एमालेबीच दुईबुँदे सहमति गरेर एमालेको चुनावचिन्ह मात्रै प्रयोग गर्नुभएको थियो । उहाँ निर्वाचन स्वतन्त्र समूहबाट नै जित्नुभएको हो । सहमतिमा उहाँको दलको उम्मेद्वार नभएर स्वतन्त्र समूहको उम्मेद्वार हुनुहुन्थ्यो ।
० स्वतन्त्र समूह हुँदा त्रिपाठीले एमालेसँग एकता गर्ने प्रयासमा हुनुहुन्थ्यो । सबभन्दा नजिकको विचार मिल्ने एमाले नै हो भनेर उहाँले अभिव्यक्ति दिँदै आउनुभएको थियो । फेरि जनता प्रगतिशील पार्टी एमालेमै गएर मिसिने त होइन ?
— एमालेमा समाहित हुने कुनै सम्भावना नै छैन । तर राजनीति सम्भावनाको खेल हो । हामी काम गर्दै जाने बेलामा कुनै मुद्दामा नजिकीपन भयो भने सहकार्य हुनसक्छ । कांग्रेस र एमाले मिल्छ भन्ने प्रश्न त आजसम्म उठेको छैन । किनभने दुई दलका फरक–फरक विचारधारा छन् । हाम्रो पनि फरक विचारधारा छ । विगतमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डको टाउकोको मूल्य नै तोक्नुभएको थियो । तर आज उहाँसँगै सत्ता सञ्चालन गर्दै हुनुहुन्छ । त्यसकारणले राष्ट्रिय मुद्दाहरुमा सहकार्य हुनसक्छ, तर दल नै समाहित हुने सम्भावना छैन ।
० हृदयेश त्रिपाठीको सबभन्दा नजिक र सेकेण्ड म्यान भनेर चिनिने त्यतिबेलाका स्वतन्त्र राजनीतिक समूहका नेता एवं सांसद ब्रजेश गुप्ता अलग्गिनुभएको हो ?
— ब्रजेश गुप्ताजी अलग्गिनुभएको होइन । उहाँको व्यक्तिगत कामका कारण अहिलेसम्म उहाँको नाम आउन सकेको छैन । अहिले त दल निर्माणकै प्रक्रियामा छन् । कानूनी रुपमा उहाँ समावेश नभइसक्दासम्म केही शंकाहरु गरिएको हो ।अहिले पार्टीका धेरै कामहरु बाँकी छन् । मलाई विश्वास छ छिट्टै नै उहाँ पनि यो पार्टीको आधिकारिक नेताको रुपमा देखिनु हुन्छ ।
० भनेपछि उहाँ अन्य दलमा जाने सम्भावना छैन ?
— हाम्रा प्रयास रहन्छ कि छिट्टै यो पार्टीमा देखियोस् । हामी अहिले विभिन्न समितिहरु निर्माण प्रक्रियामा छौं । हामी छलफलमै छौं ।
० एमसीसी प्रकरणले देशको राजनीति तातिएको छ । सत्तारुढ गठबन्धन नै विभाजित अवस्थामा छ । यो एमसीसीबारे जनता प्रगतिशील पार्टीको धारणा के हो त ?
— देशका सबै महत्वपूर्ण एजेण्डा र विषयहरु अहिले ओझेलमा छन् र यो एमसीसीमा सबैको ध्यान केन्द्रित छ । देशलाई तहन–नहस बनाउने चक्रव्यूह ठूला भनाउँदा दलहरुले रचिरहेका छन् । अहिलेको प्रमुख प्रतिपक्षी एमाले सत्तामा हुँदा एमसीसी टेबल गर्ने, पास गर्ने भन्ने तर केही गर्न नसक्ने भएका छन् । साढे तीन वर्षसम्म सत्ता सञ्चालन ग¥यो, अहिले एमाले विभाजित भएर प्रतिपक्ष हुँदा आफ्नो धारणा नै सार्वजनिक गर्न सकेको छैन । सबै राजनीतिक दलहरु विगतमा सरकारको नेतृत्व गर्दा एमसीसीलाई अगाडि बढाएकै हो तर अहिले संसदमा टेवल र पास गर्ने बेलामा नौटंकी देखाइरहेको छ । ती सबै दलहरु संविधान भाँड्नका लागि षड्यन्त्र गर्दैछन् । एमसीसीको विषयमा अहिले हामी पार्टीगत निर्णय गरिसकेका छैन । छिट्टै नै आफ्नो धारणा सार्वजनिक गर्छौं ।
तपाईको प्रतिक्रिया