लोसपामा लोकतान्त्रिक संस्कारै भएन : वृषेश चन्द्र लाल

अन्तर्वार्ता

नेता, तराई मधेश लोकतान्त्रिक पार्टी

० तपाइँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल किन परित्याग गर्नुभयो ?

— लोसपाका अध्यक्ष महन्थ ठाकुरजीलाई म धेरै सम्मान गर्छु र उहाँसँग व्यक्तिगत सम्बन्धमा कुनै फरक आएको छैन । तर वैचारिक र सैद्धान्तिक कारणले धेरै कुराहरूमा एकमत हुन नसकेर राजनीतिकरूपमा सँगैको यात्रालाई परित्याग गरेका छौं । कुनै पनि राजनीतिक दल जबसम्म संस्थागतरूपमा सञ्चालन हुँदैन, जबसम्म सामूहिक छलफल र विमर्शबाट पार्टी सञ्चालन गर्ने परिपाटि हुँदैन, तबसम्म त्यो राजनीतिक पार्टीको रूपमा अगाडि बढ्न सक्दैन । त्यो व्यक्तिहरूको एउटा समूह हुन्छ र स्वार्थमा सञ्चालन भइरहेको हुन्छ । तराई मधेश लोकतान्त्रिक पार्टी पछि वृहत् राजनीतिक शक्तिको नाममा एकीकरण भयो, राजपा बन्यो । तर त्यो राजपा एउटा पार्टी नै बन्न सकेन । राजपामा स्वार्थको बाँडफाँड भयो । राजपामा अध्यक्षमण्डल बनाएर ६ जनाको प्राइभेट कम्पनी बनाइयो । धेरै तत्कालीन राजपालाई पार्टीको रूपमा चलाऔं, वैचारिक छलफल गरौं, विचार विमर्श गरौं, विश्लेषण गरेर स्थितिको मूल्यांकन गरौं, अनि त्यस हिसावले रणनीति अगाडि बढाऔं भनेर हामीले धेरै प्रयास ग¥यौं । तर त्यो कुरा हुन सकेन । जनतालाई लाग्यो कि हामी एउटा एकीकृत मधेशी दल बनाउन सफल भयौं तर त्यो हुन सकेन, स्वार्थको बाँडफाँड भयो । उम्मेद्वारहरूको खरिद–बिक्री भयो । उम्मेद्वारहरू बनाउन त्यसको मूल्यहरू तोकियो जसले गर्दा हामीलाई धेरै हानी भयो । तैपनि हामी बर्दास्त गरि रह्यौं । आन्दोलनकारी साथीहरूलाई महत्व दिऔं र पार्टी संस्थागत रूपमा चलाऔं भनिराख्यौं । त्यो हुन सकेन । अनि पछि जसपा बनाइयो । त्यो एकीकरणमा पनि त्यस्तै–त्यस्तै कुराहरू देखियो । जसपालाई पनि संस्थागत रूप लिन दिइएन । त्यो पनि विभाजन भयो र लोसपा निर्माण हुँदा पनि हामीले त्यही कुरा उठायौं कि पार्टी एकल अध्यक्षीय प्रणालीमा चल्नुपर्छ । तर एकल अध्यक्ष भनेको जे मन लाग्छ त्यो निर्णय गर्ने होइन । लोसपामा पनि उही प्रकारको प्रवृत्ति देखियो । चार नेताहरू बसेर निर्णय गर्ने, अरूसँग मतलबै छैन । त्यसकारण स्वार्थ केन्द्रित व्यक्तिहरूको समूह लोसपा भएजस्तो हामीलाई लाग्यो । त्यसपछि हामीलाई महसुस भयो कि यो पार्टीमा हामी सुधार गर्न सक्दैनौं । त्यसकारणले हामी पार्टी परित्याग गर्न विवश भयौं ।

अर्को महत्वपूर्ण कुरा के हो भने मधेश आन्दोलनले ठूलो एजेण्डा बोकेको छ । समानता, समान नागरिक अधिकार, समावेशिता र संघीयता मधेश आन्दोलनको कारणले नेपालमा सम्भव भएको छ । स्वशासनको निम्ति क्षेत्रीय अवधारणा चाहिन्छ । क्षेत्रको आकांक्षा, समस्या के हो, त्यसको समाधान कसरी गर्ने अर्थात् स्वच्छ क्षेत्रीयता हुुनुपर्छ । मधेशमा आफूलाई हामी मधेशकेन्द्रित दल हौं, मधेशका नेता हौं भन्नेहरू ‘मधेशी’ शब्दसँग नै डराउन थाल्नुभयो । राजपा गठन हुँदा पनि हामीले पार्टीको नाममा मधेश शब्द राख्नुपर्छ भनेका थियौं, त्यो पनि भएन । जसपा त रातारात एकीकरण भएर आएको थियो । लोसपा बनाउँदा पनि मधेशी लोकतान्त्रिक पार्टी वा मधेशी समाजवादी पार्टी बनाउन भन्दा उहाँहरू डराउनुभयो । उहाँहरूले हामी तेस्रो शक्तिको रूपमा राष्ट्रिय पार्टी बन्दैछौं भन्नुभयो । तर मधेशको आफ्नै किसिमका समस्या छन्, विशिष्ट आन्दोलनले मधेश अगाडि बढ्दैछ । भनेपछि मधेशीहरूको त पार्टी नै भएन । जति पनि एकीकरण वा विभाजन भयो त्यो वृहत राजनीतिक शक्तिका निम्ति भएन, सरकार र सत्ता कसरी प्राप्त गर्ने, त्यो समीकरण बनाउनका निम्ति मात्र भयो ।

अर्को महत्वपूर्ण कुरा के हो भने मधेशका जनताले हामीलाई समर्थन गर्छन्, मतदान गर्छन्, हाम्रो आह्वानमा आन्दोलनमा जान्छन्, सहादत प्राप्त गर्छन्, आन्दोलनकारीहरूले रगत बगाउँछन् । ती सब कुरालाई ठूला पार्टीलाई बुझाउने काम मात्र भयो । आफ्नो स्वतन्त्र अस्तित्व र विचारलाई अगाडि नबढाउने प्रवृत्ति देखियो । मधेशका जनता स्वभावतः लोकतन्त्रवादी छन्, हामी लोकतन्त्रमा विश्वास गर्छौं । लोकतन्त्र सबभन्दा पहिलो प्राथमिकता हो । अहिले मधेशकेन्द्रित जो नेताहरू हुनुहुन्छ, उनीहरू मध्ये कोही एउटा वामपन्थीको पछाडि जान्छन् भने कोही अर्को वामपन्थीको पछाडि लागेको अवस्था छ । त्यसको परिणाम के हो भने मधेशका जनतालाई जबरजस्ती वामपन्थी बनाउन खोजिएको छ । त्यसकारण लोकतन्त्रवादी शक्तिहरूबीच गठबन्धन हुनुपर्छ । यी सबै खेल सत्ता र सरकारका निम्ति भइरहेको छ । त्यसकारणले एउटा क्षेत्रीय पार्टीको आवश्यकता मधेशमा छ । जसले मधेशको आकांक्षा, समस्याको समाधानको रणनीतिलाई पहिल्याएर अगाडि बढाउन सकोस् । यी सब कारणले गर्दा हामीले तराई मधेश लोकतान्त्रिक पार्टीको निर्माण पुनः गरेका छौं ।

० तपाइँ तमलोपा हुँदै राजपा, जसपा, लोसपामा हुनुहुन्थ्यो । ती सबैको नेतृत्व महन्थ ठाकुरले नै गर्नुभएको थियो । भनेपछि महन्थ ठाकुरको नेतृत्व क्षमतामा कमजोरी छ ?

— म व्यक्तिगतरूपमा कुनै पनि टिप्पणी गर्न चाहन्न । उहाँले धेरै संघर्ष गर्नुभएको छ । नेपालको विशिष्ट राजनीतिक व्यक्तित्वमध्ये एउटा हुनुहुन्छ । तर कहीं न कहीं कुनै समस्या छ । उहाँको नेतृत्वमा पार्टी संस्थागत रूपमा सञ्चालन भएन । उहाँकै नेतृत्वमा पार्टीलाई आन्तरिक लोकतन्त्रमा लग्ने प्रयास भएन । बरू के भयो भने जसले आन्तरिक लोकतन्त्रको कुरा ग¥यो, शीर्ष भनाउँदा नेताहरू उसलाई दुश्मन ठान्ने, उससँग प्रतिशोध लिने भन्ने किसिमको मानसिकता र चाकडीबाजी प्रवृत्तिलाई प्रोत्साहन दिने कुरा देखियो । त्यसका निम्ति शीर्ष नेताहरू जिम्मेवार छन् ।

० भनेपछि लोसपामा सामूहिक छलफल गर्ने प्रवृत्ति छैन ?

— हामीले त धेरै प्रयास ग¥यौं । हामीले सामूहिक छलफलको कुरा उठाउँदा प्रतिशोध लिने भावना पनि देखियो । हामीले पार्टीलाई विधानअनुसार संस्थागतरूपमा चलाउनुपर्छ भनेका थियौं । तर निर्णय नै नहुने, संस्थागतरूपमा पार्टीलाई नचलाउने, फरक विचार पनि राख्न नपाउने, यो त भएन नि । जति पनि निर्णय भएका छन्, चार जना शीर्ष नेताहरूले मात्रै गर्नुभएको छ । ती चार शीर्ष नेताहरूले अरूलाई कुनै मूल्यांकन नै नगर्ने व्यवहार देखियो । वार्ड अध्यक्षदेखि राष्ट्रियसभासम्मको टिकट बिक्री भएको प्रमाणहरू सार्वजनिक भइसकेका छन् । अहिले लोसपामा कस्तो स्थिति छ भने नेताहरूको स्वार्थ कहाँ हुन्छ, त्यसमै केन्द्रित छ । जनता, मधेश, देश, पार्टी, कार्यकर्ताको हितलाई नकारेर नेताहरूलाई केमा फाइदा हुन्छ भन्ने कुरामा लिप्त देखिएको छ । नेता नै पार्टीको स्रोत भन्ने कुरालाई स्थापित गरिँदैछ । प्रदेश र जिल्लाहरूमा अध्यक्ष तोकिँदा सल्लाह वा छलफल पनि गरिएन । यस्ता निर्णयहरू केन्द्रीय कार्यकारिणी समितिको बैठकले पारित गर्नुपर्छ भन्ने विधानमा छ । तर पार्टी निर्माण भएदेखि एक पटक मात्रै बैठक भयो, त्यसपछि कुनै बैठक नै भएन । चार जना नेताहरूले आफूलाई नै शक्तिको स्रोत ठान्नुहुन्छ । लोकतान्त्रिक मान्यता नै लोसपामा भएन । नाम मात्रै राखेर त हुँदैन नि, लोकतान्त्रिक मानसिकता हुनुप¥यो । राजनीतिक संस्कृति र संस्कार स्थापित गर्ने कुनै मानसिकता देखिएन । मधेशमा राजनीतिक शक्ति निर्माणको अर्थ हो कि राजनीतिक संस्कार विकसित गर्नु हो । किनभने मधेशले ठूलो एजेण्डा उठाएको छ । मधेशले उठाएको एजेण्डा मधेशका लागि मात्रै होइन, आदिवासी जनजाति, महिला, थारू, खसआर्य लगायत सम्पूर्ण उत्पीडित जनता त्यसबाट लाभान्वित हुन्छन् । किनभने मधेशले समान नागरिक अधिकार, समानता, समावेशिता, लोकतन्त्र, स्वशासन र संघीय शासनको कुरा गरेको हो । त्यस हिसावले कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने हो । हामीले त्यसैको विकल्पको रूपमा अगाडि बढिरहेका छौं । हामीले यो देखाउन चाहन्छौं कि आफ्नै खुट्टामा मधेशीहरू संगठित हुन सक्छन् ।

० तराई मधेश लोकतान्त्रिक पार्टी विशुद्ध मधेशकेन्द्रित दल नै हो त ?

— निश्चितरूपमा तमलोपा विशुद्ध मधेशकेन्द्रित दल हुनेछ । यसले स्वच्छ क्षेत्रीय अवधारणालाई अगाडि बढाउँछ । हाम्रो संविधानले क्षेत्रीय नाममा कुनै पार्टी दर्ता गर्न रोकेको छ भने यो संविधानको कमजोरी हो । संविधानमा धेरै यस्ता कुराहरू छन् जसलाई संशोधन गर्नुपर्छ । संघीय शासनको निम्ति स्वशासन मूल आधार हो, क्षेत्र–क्षेत्रलाई स्वशासन दिने । त्यसैले क्षेत्रीय अवधारणा नै भएन, क्षेत्रीय राजनीतिक शक्ति नै विकसित भएन भने त्यो कसरी हुन्छ । त्यसकारणले हामीले मधेश नामबाट पार्टी दर्ता गराउन खोजेको हो तर निर्वाचन आयोगले संविधान र ऐनका कुराहरू ल्याएपछि तराई मधेश लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । मेचीदेखि महाकालीसम्म मधेश क्षेत्रमा एक किसिमको समस्या, अवस्था, आकांक्षा रहेका छन् । त्यसको सम्बोधन कसरी गर्ने त्यसको खोजीमा हाम्रो पार्टी रहन्छ ।

० स्थानीय निर्वाचनको मुखमा आएर पार्टी दर्ता भएको छ, संगठनहरू विस्तार भइसकेको छैन । चुनावमा कसरी सहभागी हुने ?

— अहिले त हाम्रो पार्टी निर्माण प्रक्रियामै छ । आगामी फागुन १५ गतेदेखि गतिविधि प्रारम्भ गरिरहेका छौं । हामीले पार्टी दर्ता गराइसक्यौं । यसो गर्र्छौं, उसो गर्छौं भन्ने दावा पनि गर्दैनौं । हामी एकदम प्रक्रियागत रूपमा अगाडि बढ्छौं । पार्टीलाई सञ्चालन गर्न फागुन १५ गतेपछि प्रक्रिया सुचारू हुन्छ । अहिलेसम्म मेचीदेखि महाकालीसम्मका साथीहरूले सकारात्मक प्रक्रिक्रिया देखाइरहनुभएको छ । यो प्रारम्भ मात्र हो । यो प्रारम्भमा साथीहरूमा जुन किसिमको जिज्ञासा देखापरिरहेको छ, त्यसले यो पार्टी छिट्टै संगठित हुन्छ । आगामी दिनमा यसले एउटा विचारको ज्योति जगाउँछ । मधेशले दिएको जुन सन्देश हो, त्यो सन्देशलाई अगाडि बढाउँछ भन्ने कुरामा हामीलाई विश्वास छ । अहिले निर्वाचन आउँदैछ, त्यसमा पनि हामी आफ्नो सहभागिता जनाउँछौं । जनताको समर्थन हामीलाई प्राप्त हुने स्थिति देखिन्छ । लोकतान्त्रिक पार्टीसँग सहकार्य गर्ने नीति पनि हाम्रो हुन्छ ।

० मधेशमा अहिले विभिन्न राजनीतिक दलहरू आएका छन्, तपाइँहरूकै पूर्वसहकर्मी हृदयेश त्रिपाठीजीले पनि दल घोषणा गरिसक्नुभएको छ । कतिको चुनौति देख्नुहुन्छ ?

— राजनीति एउटा चुनौतिपूर्ण कुरा हो । स्वार्थवश राजनीतिमा प्रवेश गर्नेहरूका लागि राजनीति एउटा खेल हुनसक्छ । तर वास्तवमा स्वच्छ राजनीति गर्नेहरूको निम्ति ठूलो तपस्या हो । हृदयेशजीले पनि पार्टी दर्ता गराउनुभएको छ । उहाँको पनि आफ्नो विचार र रणनीति छ । पार्टी निर्माण हुने प्रक्रिया त चलिरहन्छ । त्यसकारण, चुनौतिपूर्ण त हो तर राम्रो लक्षण पनि हो । नेपालमा बहुदलीय लोकतान्त्रिक गणतन्त्र त छ तर यहाँका राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव छ । त्यस दिशामा जनमत आकर्षित हुँदैछ । त्यस दिशामा कार्यकर्ताहरू पनि आकर्षित हुँदैछ । यो एउटा शुभ संकेत हो । हामी कतिको स्थापित हुन सक्छौं वा जनताले विश्वास गर्छन्, त्यो चुनौति त छँदैछ, यसलाई इन्कार गर्न मिल्दैन । तर त्यहीं चुनौतिसँग संघर्ष नै स्वच्छ राजनीति हो ।

० तपाइँहरूको तमलोपा र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबीच एकता हुने सम्भावना कतिको छ ?

— हृदयेश त्रिपाठीजीको नेतृत्वमा साथीहरू संगठित भइरहनुभएको छ र यता तमलोपा पनि संगठित हुने प्रारम्भ भएको छ । भविष्यमा के कस्तो स्थिति होला, त्यसलाई अहिले नै भन्नु अलि चाँडो हुन्छ । तर मिलेका कुराहरूमा सहकार्य हुनुपर्छ । कुनै पनि लोकतान्त्रिक शक्तिसँग तमलोपाको सहकार्य हुनसक्छ । एकीकरणको विषय त अहिले भन्न सकिँदैन । किनभने अहिले हामी आफ्नै पार्टीलाई अगाडि बढाइरहेका छौं । अहिले नै कसैसँग एकता वा एकीकरण हुन्छ भन्नु अर्थहीन कुरा हो ।

० तमलोपाको अहिलेका अध्यक्ष तत्कालीन तमलोपाका विद्यार्थी नेताको रूपमा हुनुहुन्थ्यो, अहिले तपाइँ यो दलमा आइसकेपछि तपाइँको पोजिसन के हुनेछ ?

— तमलोपाको विधानमा एउटा विशेष व्यवस्था के छ भने निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा भइसकेपछि यथाशीघ्र एउटा केन्द्रीय भेला बोलाएर केन्द्रीय तदर्थ समिति गठन गर्ने । त्यही विधानअन्तर्गत आगामी १५ गते केन्द्रीय भेला आयोजना हुन गइरहेको छ । त्यसपछि जुन समितिको निर्माण हुन्छ, त्यस हिसावले मेरो भूमिका पनि तय हुन्छ ।

० तमलोपा नेतृत्वका लागि तपाइँको दाबी हुन्छ कि ?

— साथीहरूले नेतृत्वको निर्माण गर्छन् । अहिले नै भन्नु उपयुक्त हुँदैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ