मधेशको पहिचानलाई शक्तिमा रूपान्तरण गर्नुपर्छ : सुरेश मण्डल

अन्तर्वार्ता

सुरेश मण्डल (जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य, पूर्वराज्यमन्त्री एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य

० प्रदेश २ को नामाकरण मधेश प्रदेशका लागि तपाइँहरू सुरूदेखि लाग्नुभएको थियो, अन्ततः मधेश प्रदेश कायम भयो, सन्तुष्ट हुनुहुन्छ ?

— मधेश जनविद्रोह–२०६३ माघको आन्दोलनको सबभन्दा लोकप्रिय नारा मधेश प्रदेश नै थियो । सोही अनुरूप हामीले प्रदेश २ लाई मधेश प्रदेश नामांकरण गरौं भन्ने आवाज उठाउँदै आएका थियौं । त्यो जायज पनि थियो । किनभने अहिले हामी जुन परिस्थितिमा छौं, यो अत्यावश्यक थियो । भनिन्छ, जसको नीति, उसको नेतृत्व । यो देशमा संघीयता ल्याउने मधेश प्रदेश हो । प्रदेशसभा मधेश आन्दोलनको योगदान हो, मधेश सरकार पनि मधेश आन्दोलनको योगदान हो । त्यसकारण हामी जुन रोष्ट्रमबाट बोलिरहेका थियौं, हामीलाई लागिरहेको थियो कि जायज कुरा उठाइरहेका छौं ।

जनता समाजवादी पार्टीले सुरूदेखि मधेश प्रदेश नामाकरण गर्ने र राजधानी जनकपुरधामलाई तय गर्ने पक्षमा थियो । यी दुईटा विषयमा जसपा स्पष्ट थियो । त्यसपछि हामीबाट छुटिएर गएको लोसपा पनि सुरूदेखिको अडानमा इमान्दारिता देखायो । यसरी दुईटा पार्टी एक ढिक्का भएर मधेश प्रदेशको पक्षमा उभिँदा एउटा राम्रो माहोल बन्यो । अहिले जुन मधेश सरकारको केमेष्ट्री छ, त्यसमा माओवादी, कांग्रेस, नेकपा एस पनि छन् । यसले पनि मधेश प्रदेशको पक्षमा दुई तिहाइ पु¥याउन मद्दत गरेको हो । खासगरी माओवादीले त मधेश प्रदेशको पक्षमा संस्थागत निर्णय नै ग¥यो ।

हाम्रा धरातलीय यथार्थ मधेश हो । त्यसकारण, कांग्रेस, कम्युनिष्ट जेसुकै होस् अश्लियत मधेश नै हो । ती पार्टीका शीर्ष भनाउँदा मधेशी नेताहरूले मधेशीकै नाउँमा अवसर पाउँछन् र विभेद पनि मधेशीकै नाउँ हुन्छ । त्यसले गर्दा आफ्नो जुन पहिचान छ मधेश, त्यसलाई शक्तिमा रूपान्तरण गरौं । प्रदेश नामाकरणको आधार पहिचान र सामथ्र्य हो । आजको दिनमा मधेश यो देशको एउटा पक्ष हो । नेपालको राजनीतिलाई विश्लेषण गर्दा यो देशमा दुईटा पक्ष छन् । संविधान निर्माणको बेलालाई हेर्दा मधेशलाई छोडेर बाँकी सबै शक्ति एक भइहाले । त्यसले स्पष्ट देखायो कि यो देशमा दुईटा शक्ति र दुईटा पक्ष मात्रै छन् । मधेशले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको प्रतिनिधित्व गर्छ । जब हामी जय मधेश भन्छौं, अनि यो राज्यले धक्का हान्छ । त्यसकारण प्रदेश २ को नामाकरण मधेश हुँदा एकदम राम्रो काम भएको छ ।

० तर आठ जिल्लामा मात्रै मधेश प्रदेशलाई खुम्च्याउनुभयो नि ?

— हाम्रो माग त समग्र मधेश एक प्रदेश नै थियो । तर राज्यले हामीसँग छलफल गर्दा एक मधेश दुई प्रदेश स्वीकार ग¥यौं । राज्य पुनर्संरचना आयोगको बहुमतको प्रतिवेदनले मधेशमा दुई प्रदेशसहित १०+१ प्रदेशको अवधारणा ल्याएको थियो । जनता समाजवादी पार्टी नेपालको अहिले पनि यही धारणा छ र यसलाई पूरा गराउन हामी लाग्छौं । हामीले मधेश प्रदेशलाई आठ जिल्लामा खुम्च्याएको होइन, बरू मधेश आन्दोलनको सम्मानस्वरूप आठ जिल्लाको भएपनि हामीले मधेश प्रदेश राख्न सफल भयौं । यो मधेश प्रदेश कञ्चनपुर, कैलाली लगायतका जिल्लाको पनि आस्थाको केन्द्र हो । कांग्रेस, एमाले र माओवादीहरूले मधेशलाई खण्डित गरे । हामीले पाएको आठ जिल्लालाई पनि यदि मधेश प्रदेश नराखेको भए मधेश आन्दोलनको उपलब्धि ओझेलमा पथ्र्यो । अबको हाम्रो रणनीति भनेको मधेश प्रदेशलाई टेकेर संविधान संशोधन गराउने हो । संविधान संशोधन नगरेसम्म यो देश समृद्धितिर जाँदैन । संविधान संशोधनमा अन्य धेरै कुराहरू भएपनि महत्वपूर्ण पक्ष भनेको सीमांकन नै हो । हामीले यो मधेश प्रदेश दूरदर्शिताको आधारमा राखेका हौं ।

० भनेपछि आठ जिल्लामा मात्रै मधेश प्रदेश सीमित रहँदैन ?

— पक्कै पनि आठ जिल्लामा मात्रै मधेश प्रदेश सीमित रहँदैन । यसले कञ्चनपुर, कैलालीको पनि भावना र आस्थालाई समेटेको छ भने सुनसरी, मोरङ, झापाको पनि । यो मधेश प्रदेश प्रदेश आठ जिल्लाको मात्रै देन होइन, मधेशका २२ जिल्ला र दुई सयभन्दा बढीको सहादतबाट प्राप्त भएको हो । त्यसकारण, हामी मधेशका सबै जिल्लाको प्रतिनिधित्व गर्दैछौं ।

० जसपामा फेरि विवादहरू देखा पर्न थालेको छ, विभाजनको संकेत त होइन ?

— मुख्यतः एउटा जीवन्त पार्टीमा बौद्धिक र वैचारिक अभ्यास हुन्छ । जसपा एउटा जीवन्त पार्टी हो, ठूलो पार्टी हो । यसमा बौद्धिक अभ्यास हुनु जरूरी छ । जहाँसम्म विभाजनको कुरा छ, यसमा ढुक्क हुनुस् जसपा एक ढिक्का छ । पार्टीभित्र विभिन्न बहसहरू हुन्छन्, त्यसलाई हामीले समाधान गर्ने हो । म त भन्छु, मधेशका सारा शक्ति एक हुनुपर्छ । लोसपा पनि सँगै आउनुपर्छ । किनभने अबको हाम्रो राजनीतिक यात्रा भनेको संविधान संशोधन हो । त्यो अभिभारा पूरा गर्न हामी सबै मिल्नैपर्छ । यो राज्यलाई धक्का दिने शक्तिको आवश्यकता छ । त्यसका लागि हामीसँग संख्या चाहिन्छ । सम्पूर्ण मधेश एक ढिक्का भयौं भने हामीले चाहेजस्तो संविधानमा संशोधन गर्न सक्छौं । हामी सानो–सानो टुक्रामा विभाजित हुँदा शक्ति सञ्चय हुन सक्दैन ।

० जसपाबाट फुटेर लोसपा निर्माण भएको ताजै उदाहरण छ, तपाइँहरू फेरि एकताको कुरा गर्नुहुन्छ ?

— यदि जनताप्रति जवाफदेही भएर राजनीति गर्ने हो भने एक हुनैपर्छ । मधेशी जनताको मूल एजेण्डा संविधान संशोधन हो, त्यसका लागि शक्ति चाहिन्छ । विगतमा जुन टुटफुट भयो, त्यसबाट शिक्षा लिएर हामी एकजुट भएर गयौं भने मात्र मधेश आन्दोलनको कार्यदिशा पूरा हुन्छ ।

० जसपाबाट लोसपा बन्नुमा मुख्य तत्व त उपेन्द्र यादव नै रहनुभयो नि ?

— यसमा दुवैतर्फका शीर्ष नेताहरूको गल्ती छ । त्यसको हामी प्रत्यक्षदर्शी हौं । दुवैतिर कमी कमजोरीहरू भयो । जसको प्रतिफल अहिले जसपा र लोसपामा विभाजित भयो । त्यसकारण, उपेन्द्रजीको मात्रै गल्ती थिएन ।

० फेरि चुनावहरू आउँछ, जसपा अहिलेको गठबन्धनसँग चुनावमा जान्छ कि मधेशी शक्तिबीच सहकार्यको प्रयास गर्छ ?

— अहिले सत्ता साझेदारको हिसावले जसपा गठबन्धनमा छ । तर चुनाव सरकारभन्दा फरक कुरा हो । भोलिका दिनमा सबै बाटाहरू खुल्ला राख्नुपर्छ । तर मधेशको केमेष्ट्री लोसपासँग नै मिल्छ । एजेण्डामा हामी लोसपासँग नजिक हुन्छौं ।

० आगामी प्रदेश र संघको चुनावमा फेरि मधेशी गठबन्धन हुन्छ ?

— यो हुन्छ नै । २०६४ फागुनमा हामीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनाएर मधेश आन्दोलन ग¥यौं, त्यो सफल आन्दोलन थियो । जसले राज्यसँग आठबुँदे सम्झौता ग¥यो । अहिलेसम्मको सबैभन्दा सफल आन्दोलन यहि नै हो । त्यो आठबुँदेलाई यदि हामी बटमलाइन मानेर गयौं भने अन्य केही पनि खोज्नु पर्दैन । त्यही आठबुँदेलाई कार्यान्वयन गराउन सक्यौं भने मधेशका सबै मागहरू पूरा हुन्छन् । त्यसैले मधेशी शक्तिहरू एकजुट हुनु मधेशको आवश्यकता हो । मधेशको राजनीति गर्नुहुन्छ भने मधेशप्रति जिम्मेवार हुनुपरेन ?

० जसपा र लोसपा नमिलेसम्म मधेशका मागहरू पूरा हुने सम्भावना छैन ?

— यो यथार्थ हो । यदि हामी मधेश आन्दोलनका इमान्दार कार्यकर्ता हौं भने मधेशी शक्तिहरू मिल्नैपर्छ । बाँकी दलहरू हाम्रा यात्राका साथीहरू मात्रै हुन् । तर गन्तव्यसम्म पुग्नका लागि लोसपा र जसपा मात्रै होइन, बाँकी रहेका साना–साना शक्तिहरूलाई पनि मूलधारमा ल्याउनुपर्छ । मधेशलाई समग्ररूपमा अधिकार सम्पन्न बनाउनका लागि सम्पूर्ण मधेशवादी शक्तिहरू एकजुट हुनैपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ