रामनगर गाउँपालिका अध्यक्षमा मेरो दाबेदारी रहन्छ : मनिष मिश्र

अन्तर्वार्ता

मनिष मिश्र, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० आगामी स्थानीय चुनावमा तपाइँ सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा चुनाव लड्ने चर्चा चलिरहेको छ । के हो वास्तविकता?

— म विद्यार्थी राजनीति गर्दै आएको थिएँ । म स्वेच्छाले पार्टीका हाइ कमाण्डहरुसँग सल्लाह गरी विद्यार्थीको अध्यक्ष छोडें । म चुनावमै भाग लिनका लागि विद्यार्थी संगठनको अध्यक्ष छोडेको हुँ । म अब पूर्णरुपले प्रत्यक्ष चुनावमा भाग लिने यसअघि नै घोषणा गरिसकेको छु । खासगरी म प्रदेशसभा सदस्यकालागि सोच बनाएको थिएँ । तर जब म आफ्नो क्षेत्रमा जाँदा त्यहाँका जनताले मलाई आफ्नो गाउँ पालिका अध्यक्षमा आउनु पर्छ भन्ने सल्लाह र सुझावहरु आउन थाल्यो । वास्तवमा जनताको सबभन्दा नजिकको जनप्रतिनिधि भनेकै पालिकाका प्रमुख वा अध्यक्ष हुन् । म प्रायः आफ्नो क्षेत्रमा नै बस्छु, त्यहाँका समस्याहरुलाई नजिकबाट हेरेको छु, जसले गर्दा त्यहाँका जनसमुदायमलाई रामनगर गाउँ पालिकाको अध्यक्ष हेर्न चाहेको मैले महसुस गरेको छु । त्यसैले गर्दा मेरो चर्चा भएको छ । तर आफैले अहिलेसम्म घोषणा गरिसकेको छैन । पार्टीले पनि मलाई त्यस्तै जिम्मेवारीमा हेर्न चाहेको प्रतिक्रियाहरु पाएको छु । त्यस्ता स्वरहरु आइरहँदा मैले यसलाई इन्कार पनि गर्न सकेको छैन । म अहिले आफ्ना पालिकाका जनसमुदायको भावना बुझिरहेको छु, आवश्यक प¥यो भने म अवश्य पनि अध्यक्ष पदकालागि तयार रहने छु ।

० तपाइँ अहिलेसम्म एउटा टुंगोमा पुगि सक्नु भएको छैन ?

— हाम्रो लोकतान्त्रिक समाजवादी पार्टी भित्र पनि सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षका लागि चर्चाहरु भइरहेका छन्, त्यहाँका जनसमुदायले पनि त्यहीं इच्छा जाहेर गरेको मैले पाएँ । मैले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । आफ्नो पार्टीमा एक पटक फेरि छलफल र सल्लाह गरेर एउटा निर्णयमा पुग्नेछु । तर पार्टी र जनसमुदायले मलाई आदेश दिनुभयो भने त्यसबाट अवश्य पनि पछि हट्ने छैन । उहाँहरुको सल्लाहलाई सम्मान गर्दै अगाािड बढ्नेछु ।

० तर पार्टीले तपाइँलाई नै टिकट दिन्छ कसरी भन्नुहुन्छ ?

— मलाई टिकटको लागि समस्या छैन । किनभने म पार्टीको एउटा जिम्मेवार ठाउँमा बसेर काम गर्दै आएको व्यक्ति हुँ । पार्टीप्रति वफादारका साथ काम गर्दै आएको एउटा सिपाहीको नाताले पनि मलाई टिकट दिँदैन भन्ने कुरा छैन । रामनगरका जनसमुदाय र हाम्रा पार्टीका नेताहरुले जुन किसिमको आशा मसँग गर्नुभएको छ, त्यस हिसावले अवश्य पनि मलाई टिकट दिइनेछ ।

० रामनगरका जनसमुदायलाई तपाइँलाई जनप्रतिनिधिको रुपमा किन हेर्न चाहन्छन् ?

— सर्लाहीको गरिबीको रेखामुनि रहेको पालिका हो रामनगर । स्थानीय चुनाव भएको पाँचवर्ष बित्दैछ । त्यति बेला हाम्रो पार्टी पनि प्रदेश सरकारमा थियो । मैले प्रदेशका मन्त्रीहरुसँग सहकार्य गरेर रामनगरमा खासगरी भौतिक संरचनाको क्षेत्रमा मैले धेरै योजनाहरु ल्याउन सफल भएँ । जितेन्द्र सोनल भौतिक पूर्वाधार मन्त्री हुँदा आफ्नो पालिकामा मैले खानेपानी बनाउँदै छु । म आफ्नो पालिकामा मेरो पहलमा बिजुली ल्याएको छु । हाम्रो पालिकामा विद्युतसमेत पुगेको थिएन । प्रदेश सरकारमार्पैत् धेरै बाटाहरु पनि बनाएको छु । विभिन्न संघ संस्थाहरुको सहयोगमा झोलुङ्गे पुलहरु बनाएँ । महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याएँ । त्यसैले, म कुनै पदमा नहुँदा पनि रामनगर गाउँपालिकाका लागि यति धेरै काम गरेको हुँ । त्यसैले पनि होला कि त्यहाँका जनसमुदायमलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहनुहुन्छ । अहिले पनि त्यहाँ धेरै कुराहरुको अभाव छ । त्यहाँका जनप्रतिनिधिले गर्न नसकेक ाकामहरु मैले गरेको छु । त्यहाँ गर्नु पर्ने धेरै कामहरु छन् । त्यसका लागि सक्षम, बुझेका र जनताको भावनाअनुसार काम गर्ने प्रतिनिधिको खाँचो त्यहाँका जनताले महसुस गरेका छन् । मैले मौका पाएँ भने वास्तविक रुपमा जनतालाई महसुस हुने धेरै कामहरु गर्नेछु ।

० यदि तपाइँ चुनाव लड्नु भयो भने गरेका प्रतिबद्धताहरु पूरा गर्नुहुन्छ ?

— निश्चितरुपमा । किनभने मसँग भिजन छ, कुनै पदमा नहुँदा पनि धेरै उल्लेखनीय कार्यहरु गरेको छु । म चुनावमै लड्नका लागि नेता बन्न आएको होइन । म जहिले पनि जनताप्रति समर्पित रहँदै आफ्नो गाउँ–ठाउँका लागि केही गरौं भन्ने उत्साह छ । कतिपय यस्ता मान्छेहरु जो चुनाव लड्नकै राजनीतिमा आउँछन् र चुनावपछि उ कहाँ जान्छ त्यो थाहा हुँदैन । तर त्यस्तो मान्छे होइन । चुनाव भनेको त राजनीतिक व्यक्तिका लागि एउटा नियमित प्रक्रिया हो । त्यो नियमित प्रक्रिया सामना गर्न म तयार छु । म यदि चुनावमा जितेर जनप्रतिनिधि भइसकेपछि मैले गरेका प्रतिबद्धताहरु पूरा गर्न सकिएन भने जनताले फेरि अर्को चुनावमा सजाय दिनेछन् । मलाई जनताले परीक्षण गर्ने एउटा पनि समय पनि हो ।

० तपाइँका योजनाहरु के–के छन् ?

— म अहिलेसम्म कुनै पदमा पुगेको छैन तर पालिकाकालागि विगत पाँच वर्षदेखि काम गर्दै आएको छु । त्यहाँका जनताले भनिरहेका छन् कि जति काम यो पालिकाका अध्यक्षले गर्न सकेको छैन, त्योभन्दा बढी काम मनिष मिश्रले गरेर देखाइ दिएका छन् । किनभने मभित्र केही गर्ने चाहना छ, पैसा र पदका लागि मात्रै म राजनीतिमा आएको होइन । राजनीति भनेको जनताको सेवा गर्ने उद्देश्य हो । म पदमा रहे पनि वा नरहे पनि जनताका लागि काम गरिरहनेछु । पाँच वर्षदेखि म एउटा छायाँ सरकारको हिसावले काम गर्दै आएको छु । जनताको घर–घरमा पुगेर त्यहाँका समस्याहरु बुझेको छु र समाधान गर्ने प्रयत्न पनि गरेको छु । जसमा म धेरै हदसम्म सफल पनि भएको छु । मेरो पालिकाका समस्याहरु मलाई राम्ररी थाहा छ । ती सम्पूर्ण समस्याहरु समाधान गर्नका लागि जनताले एक पटक मलाई विश्वास गर्नेछ भन्नेमा ढुक्क छु ।

० तर चुनाव जित्नका लागि त लाखौं–करोडौं खर्च गर्नुपर्ने हुन्छ नि?

— चुनावमा पैसा त खर्च हुन्छ तर पैसा नै खर्च गरेर चुनाव िजत्न सकिन्छ भन्नेमा विश्वास गर्दिन । पैसा खर्च हुने भनेको सामान्य रुपमा प्रचार प्रसारमा मात्रै हो । त्यसको लाखौं–करोडौं खर्च गर्नु पर्दैन । यदि म चुनावमा खडा भए भने पैसा दिएर मत किन्ने अवस्था आउँदैन । किनभने आफ्नो पालिकाकालागि मैले गरेको कामको आधारमा जनताले मलाई नै जिताउँछन् । म जनताको इच्छा र चाहनाअनुसार त्यहाँ चुनाव लड्न गइरहेको छु । मैले यदि उम्मेद्वारी दिए भने जनताले म माथि विश्वास गर्नेछन् । जो मान्छे पैसा नै कमाउनका लागि चुनाव लड्छन् भने उसले पैसा दिएर मत किन्ने प्रयास गर्छन् । त्यस्ता मान्छेहरु भोलि विकास गर्नुको साटो भ्रष्टाचार मात्रै गर्छन् । म त्यस्तो मान्छे भित्र पर्दिन । जनताकै आदेशलाई शिरोधार्य गर्दै चुनाव लड्न सक्छु ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ