“लोसपा पनि प्रतिगमनकारी हो, चुनावी तालमेल हुँदैन”

अन्तर्वार्ता

मनिष सुमन, केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल

० जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठक हालै सम्पन्न भएको छ, निर्णयहरु के–के भयो ?

— फागुन १३ गतेदेखि नै जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको थियो । त्यसपछि संघीय परिषद्को बैठक फागुन २८ गते भयो र केन्द्रीय समितिको बैठक फागुन २९ र ३० गते भयो । सबै बैठकले आआफ्ना निर्णयहरु गरे । समग्रमा भन्नुपर्दा हामीले स्थानीय तह निर्वाचन निर्देशिका पारित ग¥यौं । जसअनुसार जसपा नेपाल औपचारिकरुपमा निर्वाचनमा होमियो । त्यस्तै, समसामयिक राजनीति सम्बन्धी निर्णय ग¥यौं । यस्तै, जसपाको विधान अधिवेशन असारको १ र २ गते गर्ने निर्णय ग¥यौं । जसपामा मुख्यालय समिति बनाउने, समायोजनका कार्यहरु आगामी १० दिनभित्र सम्पन्न गर्नुपर्ने लगायतका निर्णयहरु गर्दै भव्यताका साथ बैठकहरु सम्पन्न भएको छ ।

० जसपाभित्र देखिएका विवाद वा समस्याहरु ती बैठकहरुले समाधान ग¥यो ?

— बाहिर देखिएका समस्या वा विवादहरु हामीले पार्टीभित्र देखेका थिएनौं । पार्टी सामूहिक र समावेशी नेतृत्व, विधानसम्मत तरिकाले चल्नुपर्छ भन्ने कुराहरु साथीहरुले उठाउनुभएको थियो । बाहिर हल्ला भएजस्तो समस्या थिएन । तर भएका साथीहरुको साँच्चिकै तुष थियो भने पनि बैठक भव्यतापूर्वक सम्पन्नताले ती सबै कुरालाई समाप्त पा¥यो ।

० समस्याहरु थिएन वा समाप्त नै भयो भने मुख्यालय समिति किन गठन भयो त ?

— मुख्यालय समिति जसपालाई चाहिएकै थियो । केन्द्रीय कार्यकारिणी समितिको सदस्य संख्या ३३ छ, केन्द्रीय समितिको सदस्य संख्या पाँच सयभन्दा बढी छ । यस्तो आलोकमा ती समितिहरुको बैठक चाहेको बखत तुरुन्त बस्न सकिन्न । त्यस्तो अवस्थामा निर्णय गर्नका लागि सानोभन्दा सानो एउटा युनिट चाहिन्छ, त्यो युनिट भने मुख्यालय अर्थात हेडक्वार्टर गठन भएको हो । सामूहिक र समावेशी नेतृत्वमा चल्ने जसपा हो ।

० जसपाभित्र पूर्वराजपाका नेताहरु संगठित भइरहेका छन् नि ?

— मिथ्या कुरा हुन् । विभिन्न समूहहरुको समागम पार्टीा हो जसपा । यसमा धेरै पार्टीहरु मिसिएका छन् । पार्टी एकीकरण गरिसकेपछि साबिक पार्टीलाई विघटन गर्ने प्रचलन छ । राजपाबाट आएका केही साथीहरु अवस्थ छौं, अस्तित्व त छ । तसर्थ, पार्टीकै निर्णयअनुसार समायोजनका कुराहरु कसरी पूरा गर्ने र पदनामका कुराहरु कसरी व्यवस्थित गर्ने भन्ने विषयका लागि हामी पूर्वराजपाका साथीहरु बसेका थियौं । महाधिवेशनसम्म पूर्वपार्टीका ती अवशेषहरु देखा परिरहेका छन् ।

० तर महेन्द्र राय यादवको नेतृत्वमा पूर्वराजपाका नेताहरु नयाँ गुट बनाउँदैछन् भन्ने चर्चा छ नि ?

— हामी पूर्वराजपाका साथीहरु कसैको नेतृत्वमा होइन, पार्टी एकीकरण हुँदा राजपाबाट आएका सबै साथीहरु नेता हुन् । त्यतिकै हामी चिया गफमा समायोजन र पदनाम व्यवस्थित गर्न जसपाका नेतृत्वको सल्लाहमा त्यो बैठक बसेको थियो । त्यसको न त कसैले नेतृत्व गरेको थियो न त कसैको अध्यक्षता थियो ।

० आसन्न स्थानीय चुनावमा जसपा कसरी प्रस्तुत हुन्छ ?

— हामीले स्थानीय तहको निर्वाचन निर्देशिका पारित गरेका छौं । त्यो निर्वाचन निर्देशिकामा केन्द्रीय तहमा गठबन्धन भएको बाहेक स्थानीय तहमा पनि सबै प्रकारको गठबन्धन गर्न सकिनेछ । हामी सबै प्रकारका गठबन्धनका बाटोहरु खोलेका छौं । केन्द्रमै अहिले चार पार्टीको गठबन्धन छ । चार पार्टीले टुंग्यायो भने त्यो पनि हुन सक्छ । तर त्यस्तो गठबन्धन भएन भने जसपाका कार्यकर्ताहरु पछिल्लो पाँच वर्षदेखि लगातार, अनवरत जनताका बीचमा गएर काम गर्दै आएका छन् । पार्टी आफ्नो घोषणापत्र, विचार र सिद्धान्तअनुसार भ्रष्टाचार निर्मूलीकरण, विकास, सुशासन गर्ने हाम्रो सिद्धान्त हो । यी सबै मुद्दा लिएर हामी निर्वाचनमा जान्छौं । गठबन्धन भएपनि जय–जय, नभए पनि जय–जय । जसपा एकलै चुनाव लड्न पनि तयार छ । विगतमा एक जना सनकी शासक केपी ओलीबाट हामीले देशलाई उन्मुक्त गरायौं । त्यसैले भोलिका निर्वाचनहरुमा पनि गठबन्धन बनाएर चुनाव लडौं, नभए फेरि ती प्रतिगामी तत्वहरु सलबलाइरहेका छन्, त्यसले फेरि पनि सनकी काम गरेर देशलाई कब्जामा लिन सक्दछन् । त्यसैले, देश, लोकतन्त्र, संसदीय व्यवस्थाको रक्षार्थ यो गठबन्धन नै कमसेकम एक संसदीय निर्वाचनसम्म कायम राखौं भन्ने उद्देश्यका साथ जसपा लागेको छ । गठबन्धन बनाएर चुनाव लड्यौं भने त्यसको परिणाम गठबन्धनको पक्षमा आउँछ ।

० भनेपछि जसपा यो चुनाव वर्ष गठबन्धन गरेरै जाने निष्कर्षमा छ ?

— जसपाको पहिलो प्राथमिकता गठबन्धन नै हो । जसपाले मात्रै चाहेर हुँदैन, अन्य घटक दलहरुले चाह्यो भने हुन्छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी नचाहेको खण्डमा जसपा एकलै पनि चुनावमा भिड्न तयार छ र जित्छ पनि । मधेश प्रदेशको सबभन्दा ठूलो पार्टी जसपा नै हो र फेरि पनि रहन्छ । यसपटक हिमाल, पहाडमा पनि अपेक्षाकृत राम्रो परिणाम ल्याउँछौं ।

० अहिलेको गठबन्धन यो स्थानीय चुनावसम्म जान सकेन भने जसपाबाट छुटिएर गएको लोकतान्त्रिक समाजवादी पार्टीसँग सहकार्यको सम्भावना छ कि छैन ?

— स्थानीयस्तरमा हुन सक्छ तर केन्द्रीयस्तरमै नेकपा (एमाले) र लोसपासँग तत्काल ती प्रतिगामी शक्तिहरुसँग गठबन्धनको सम्भावना छैन । लोसपा पनि प्रतिगामी पार्टी हो । १८ दिनका लागि मन्त्री बन्न गए, ओलीको होस्टेमा हैसे मिलाउन गए । यो निर्वाचनमा केन्द्रीयस्तरमा लोसपासँग सहकार्य हुने छाँटकाँट मैले देखेको छैन । स्थानीय तहमै यदि साथीहरुले लोसपासँग कुनै गठबन्धन गर्नुभयो भने त्यसमा आश्चर्य नमान्नुहोला ।

० स्थानीय निर्वाचनमा मात्रै कि प्रदेश र संघको निर्वाचनमा पनि लोसपासँग सहकार्य वा गठबन्धनको सम्भावना छैन ?

— संघीय निर्वाचनसम्मकै कुरा हो । अहिले त स्थानीय निर्वाचन आसन्न छ । आगामी निर्वाचन वर्ष भनेर भनिएको छ । यो निर्वाचन वर्षमा लोसपा र एमालेसँग कुनै प्रकारको चुनावी गठबन्धन हुने सम्भव छैन ।

० यो चुनावको मुखमा निर्वाचित प्रतिनिधिहरु दलबदल गरिरहेको अवस्था छ । मधेश प्रदेशकै एक मात्र महानगरपालिका वीरगन्जका मेयरलगायत तपाइँको पार्टीबाट निर्वाचितहरु एमाले प्रवेश गरे । जसपाले किन रोक्न सकेन ?

— हाम्रो पार्टीमा धेरै मान्छेहरु आएको पनि देख्नुभएको होला । जसपाले जति पार्टी प्रवेश गराएको छ, त्यति त अन्य पार्टीले मधेशमा गराएको छैन । हाम्रो पार्टीमा प्रवेश गरेको कुरा चर्चा नहुने, एक जना पार्टी छोडेर जाँदा ठूलो कुरा होइन । वीरगन्जका मेयर विजय सरावगीले गरेका नराम्रा कामहरुका लागि आलोचित थिए । पार्टीले त्यसरी एकजना बदनाम वा आलोच्य व्यक्तिलाई पुनः टिकट दिन्छ भन्ने ग्यारेन्टी नै राख्नुभएन । एकचोटि पदमा बसिसकेपछि फेरि पनि बसिरहुँ लाग्यो होला । अब जसपाले टिकट नदिएपछि कसले देला, ओलीजीले देला कि उहाँलाई लागेको होला । ओलीजीको पार्टी मधेशमा आलोचित छ, उम्मेद्वार पाउन अलि–अलि गाह्रो छ अनि उहाँले लानुभयो ।

० भनेपछि, जनप्रतिनिधिहरु जसपाबाट जाँदा कुनै फरक पर्दैन ?

— जसपामा अहिले प्रवेश गर्ने लहर चलिरहेको छ । टिकटको लोभमा कोही पार्टी छोडेर जान्छन् भने ‘भीरबाट लडेकोलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’

० संघीय सरकारमा जसपा ६–७ महिनादेखि छ तर मधेशका के–के मागहरु सम्बोधन गरायो ?

— यसका बारे पनि पार्टीका समितिहरुको बैठकमा कुराहरु उठ्यो । हामीले समायोजन र संगठनका कुराहरु गरिरहँदा पार्टीले मन्त्रीहरुलाई निर्देशन पनि दिएको छ । मन्त्रिपरिषद्मा नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण, संविधान संशोधन, राजबन्दी रिहाइ यी सबै कुराहरु सरकारबाट जोडतोडले उठाउनुस् भनेर पार्टीले निर्देशन गरेको छ । निर्वाचन आचार संहिता लागू हुनुभन्दा अगावै यी कार्यहरु फत्ते गर्नुस् भनेर निर्देशन भएको छ । छिट्टैभन्दा छिट्टै हामीले हाम्रा र मुद्दाका आधारमा मागहरु सम्बोधन होस् भन्ने पार्टीले निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ