“राजनीतिमा नैतिकता हराएपछि चरित्रको कुनै अर्थ रहँदैन”

अन्तर्वार्ता

डा.सुरेन्द्र झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० आसन्न स्थानीय निर्वाचनकेन्द्रित विभिन्न दलहरु अहिले अभियान चलाइरहेका छन्, तर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल के गर्दैछ ?

— आसन्न स्थानीय निर्वाचनलाई लोकतान्त्रिक समाजवादी पार्टीले अत्यन्त महत्वका साथ हेरेको छ । हाम्रो कार्यक्रमहरु निरन्तर चलिरहेका छन् । हामी लोसपा निर्माण गरिसकेपछि वडादेखि जिल्लासम्मकै सांगठनिक संरचना चुस्तदुरुस्त बनाउनुपर्ने थियो, त्यो कार्यलाई हामी अगाडि बढाएका छौं । मधेशका सबै जिल्ला, पालिका र वडाहरुमा कार्यसमिति निर्माण भइसकेको छ । अधिकांश ठाउँमा सदस्यता अभियान पनि जारी छ । हामीले आसन्न निर्वाचनकेन्द्रित औपचारिक ढंगले निर्णय नगरेपनि पार्टीका ‘रेंक एण्ड फाइल’ एकदम सक्रिय भएर अगाडि बढ्नुभएको छ । दिनहुँ हाम्रा शीर्षस्थ नेतृत्वहरुले विभिन्न जिल्लाहरुमा गतिविधिहरु बढाइरहनुभएको छ । त्यसैले निर्वाचनमुखी गतिविधिमा लोसपा पछाडि छ भन्ने होइन । औपचारिक निर्णयहरु हुन नसकेको हो । राम्रो संगठन बनाउने र चुस्तदुरुस्त ढंगले अगाडि बढ्ने सन्दर्भमा शीर्षस्थ नेतृत्वबीच छलफलहरु भइरहेका छन् । यसबीचमा हामीले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमहरु अगाडि बढाएका छौं । जसमा हामीले खासगरी तीनवटा विषयलाई उठाएका छौं । अहिलेको राजनीतिक परिवेशमा लोकतान्त्रिक समाजवादको अवधारणा र लोकतान्त्रिक समाजवादको अव्यवहरु के–के हुनसक्छ, कार्यशैली के–के हुनसक्छ, न्यूनतम् मापदण्ड र बुझाइ के हो भन्ने कुरा लिएर हामी आफ्नो नेता कार्यकर्तामा लिएर जान्छौं । त्यसैले हामी स्थानीय निर्वाचनलाई एकदमै महत्वका साथ जनताको माझमा जाने तयारीमा छौं ।

० तर, लोसपा अहिले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै आफ्ना एजेण्डासहित जनतामा जानुपर्ने होइन र ?

— यसलाई हामी अत्यन्त सकारात्मक ढंगले हेरेका छौं । जनताको बीचमा जाने माध्यम नेता र कार्यकर्ता नै हो । नेता कार्यकर्ताले पार्टीको एजेण्डा, प्राथमिकीकरणमा परेका विषय र मुद्दाहरु, विगत चार वर्षमा पार्टीले गरेको कामको मूल्यांकन र कुन कुरा लिएर हामी जनताको बीचमा जानुपर्छ भन्ने कुरा ओरियन्ट नगरिकन जनताको बीचमा जाँदा सही सन्देश नजान पनि सक्छ । त्यसैले प्रभावकारी ढंगले जनताको माझमा जानकै लागि प्रशिक्षण कार्यक्रमहरु तयार गरेका छौं । अहिले लोसपाप्रति जनताको झुकाव बढेको देखिन्छ । हजारौंको संख्यामा पार्टी प्रवेश कार्यक्रमहरु भइरहेका छन् । महन्थ ठाकुरजीप्रतिको जुन विश्वसनीयता छ, त्यसले पनि जनतालाई आकर्षित गर्न सकेको छ । लोसपा वास्तविकरुपमा यो देशको लोकतान्त्रिक शक्ति हो । यसको साझा चौतारीको रुपमा लोसपालाई स्थापित गर्न चाहेका छौं । लोसपाको नेतृत्व महन्थ ठाकुर देशकै संसदीय व्यवस्थाको भिष्मपीतामहको रुपमा हुनुहुन्छ ।

० लोसपा नामको मात्रै लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक अभ्यास हुँदैन भनेर कतिपय पार्टी परित्याग गरेका पनि छन् नि ?

— कसैले व्यक्तिगत हित प्राप्तिका लागि आवाज उठाउने र त्यो पूरा भएन भने समग्र पार्टीलाई दोष दिनु उपयुक्त हँुदैन । जहाँसम्म कुरा छ कि वृषेश चन्द्र लालजीहरु पार्टी छोडेर जानुभयो, उहाँ नेपाल वा मधेशको राजनीतिमा स्थापित हुनुको कारण एउटा मात्र हो कि उहाँ महन्थ ठाकुरजीसँग नजिक रहेर काम गर्नुभयो । त्यसैले हिजोसम्म उहाँले लाभको पदमा हुनुहुन्थ्यो, पार्टी धेरै राम्रो थियो । आज उहाँले लाभको पद खोज्नुभयो, परिस्थितिले त्यो ठाउँमा अर्को साथी आउँदा यो भएन भनेर भन्नु यो एकदम निकृष्ट विचारधारा हो । त्यसैले लोसपा पूर्ण लोकतान्त्रिक पद्धतिबाट नै चलेको दल हो । यसमा सामूहिक निर्णयबाट अहिलेसम्म विभिन्न निर्णयहरु हुँदै आएको छ । बैठक र निर्णयहरु निरन्तर भइरहेका छन् ।

० आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन छ, लोसपा त एक्लो प¥यो नि ?

— यो गठबन्धन चुनाव गराउन सक्ला तर गठबन्धनै गरेर चुनावमा जान्छ भन्ने लाग्दैन । यो एउटा अस्थायी गठबन्धन नै हो । यो एउटा विशेष परिस्थितिमा निर्माण भएकोले गठबन्धनभित्रका ठूलो दलले सानाप्रति अपमानित शब्दहरु प्रयोग गरिरहेका छन् । त्यो सुन्दा न्यूनतम् राजनीतिक धरातल भएको भए प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव त्यो गठबन्धनमा बस्न सक्ने अवस्थै छैन । एमसीसीकै प्रकरणमा ती कुराहरु देखिसक्यो । कांग्रेसका नेताहरु रोष्ट्रमबाटै यति अपमाणित शब्द प्रयोग गर्दा पनि यिनीहरु यति सत्तालम्पट छन् कि सत्ता गठबन्धनबाट निस्किने बित्तिकै राजनीतिक अस्तित्व नै सकिन्छ भन्ने डरले बसेका छन् । कांग्रेसका शीर्षस्थ नेताहरुले यो गठबन्धनमा बसून्जेल प्रचण्ड, माधव र उपेन्द्रले रगत मात्रै चुस्छन्, यसले केही पनि दिँदैन भन्ने बुझाइ छ । त्यसैले यो स्थायी गठबन्धन हो भन्ने मलाई लाग्दैन । जहाँसम्म लोसपा एक्लो भयो भन्ने सन्दर्भ छ, यो बहुदलीय राजनीतिक व्यवस्थामा विचारधारा लिएर जनतामा जाने हो । हामी एक्लै चुनावमा जानुप¥यो भने पनि कुनै समस्या छैन । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना एकदम कम हुन्छ । प्रदेश र संघीय निर्वाचनमा सम्भावनाहरु बढ्छन् ।

० यदि चुनावी तालमेल वा गठबन्धन गर्नुप¥यो भने लोसपा कोसँग नजिक छ ?

— यसमा दुई/तीन वटा कुराहरु हेर्नुपर्छ । राजनीतिक एजेण्डा, आधार क्षेत्र, कसको विरुद्धमा तपाइँ संघर्ष गर्दै हुनुहुन्छ यी सबै कुराहरुलाई हामीले हेर्नुपर्छ । सँगसँगै हाम्रा राजनीतिक एजेण्डाहरुलाई कसले न्याय गर्न सक्छ । विगत १४ वर्षको अनुभवले हामीलाई के सिकाएको छ भने बारम्बार मधेशकेन्द्रित दलहरु पूराना दलहरुसँग सत्ता गठबन्धनमा गयौं तर कुनै दलले हाम्रो एजेण्डाको हिसावले एकदमै अंकमाल गरेर स्वागत गरेको अवस्था रहेन । त्यसैले लोसपाले अबको गठबन्धन सिद्धान्त मात्रै हेरेर भन्दा पनि कसले हाम्रो माग र मुद्दा सम्बोधन गर्न सक्छ । सैद्धान्तिक नजिकपन खासै महत्व राखेन ।

० भनेपछि एमालेसँग तपाइँहरुको नजिकीपन छ, सहकार्य पनि हुनसक्छ ?

— लोसपा एमालेसँग नजिक छ भन्नुभन्दा पनि एमाले लोसपासँग नजिक छ । तत्कालीन अवस्थामा एमालेको हाम्रो आवश्यकता थियो सत्ता सञ्चालनका लागि, हाम्रो आवश्यकता थियो मुद्दाहरु सम्बोधन गर्न । एमाले एउटा यस्तो शक्ति थियो जसले मधेश आन्दोलनलाई अनुमोदनसमेत गरेन, मधेशमा समस्या छ भनेर कहिल्यै स्वीकारेन । आज त्यो पार्टी लोसपासँग नजिक भएर मधेशको सबै एजेण्डालाई स्वीकार गर्नुपर्ने बाध्यता भयो । त्यसैले लोसपा एमालेसँग नजिक छ भन्दा पनि एमाले लोसपासँग नजिक भयो । त्यसैले आसन्न स्थानीय निर्वाचनमा कोसँग गठबन्धन गर्ने भन्ने कुरा कुनै पनि पार्टीले निर्णय गरेको अवस्था छैन । सम्भावनाहरु खुल्ला छन् । अहिलेकै प्रधानमन्त्रीसँग हाम्रो सम्वाद जारी छ । अस्ति पनि हाम्रा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुरबीच हाम्रा एजेण्डा सम्बोधनका बारे सम्वाद भएको थियो । तर उपेन्द्र यादवजी सात महिनादेखि यो सरकारमा बसिरहनुभएको छ, तर एकपटक पनि मधेशका एजेण्डा सम्बोधनका लागि आवाज उठाउनुभएको छैन ।

० जनता समाजवादी पार्टीसँग गठबन्धन वा सहकार्यको सम्भावना छ ?

— हाम्रो आधार क्षेत्र एउटै हो, हाम्रा मतदाता पनि लगभग एउटै हो । मधेशमा विविधता छ । तर एजेण्डागत हिसावले हामी जनता समाजवादी पार्टीसँग हामी नजिक छौं । गत चुनावमा हामीले तालमेल गरेकै हौं । त्यस हिसावले राजनीतिमा सम्भावनाहरु जीवित रहन्छन्, बिल्कुलै छैन भन्ने मलाई लाग्दैन ।

० तर, जसपाका कतिपय नेताहरुले लोसपालाई प्रतिगमनकारी भन्दै यो निर्वाचन वर्षमा सहकार्य वा तालमेल सम्भव छैन भन्नुभएको छ नि ?

— व्यक्तिगत रुपमा राजनीति नबुझेका जस्ताले जसपाको निर्णय प्रक्रियालाई प्रभावित गर्छ जस्तो लाग्दैन । जसपाले त्यस्तो निर्णय गरेको छैन । जसले हामीलाई प्रतिगमनकारी भनेका छन्, त्यो साथी जतिबेला तथाकथित प्रतिगमन हुँदै थियो त्यतिबेला लोसपाकै कित्तामा हुनुहुन्थ्यो । उहाँले खुरुखुरु हस्ताक्षर गरेको मान्छे हो । राजनीतिमा नैतिकता हराएपछि चरित्रको कुनै अर्थ रहँदैन । तपाइँले मनिष सुमनजीको कुरा गर्नुभएको होला । यदि त्यो प्रतिगमनकारी निर्णय थियो भने त्यतिबेला मनिष सुमनजीले हस्ताक्षर नै गर्नुभएको थियो । हामी १८ दिन सरकारमा रहँदा मधेशका धेरै मुद्दाहरु सम्बोधन गराउन सफल भयौं, संविधान संशोधनका लागि कार्यदल नै बन्यो । तर १८ महिनासम्म सरकारमा बस्ने उपेन्द्र यादव र अहिले पनि सत्तामै रहिरहँदा कति मुद्दाहरु सम्बोधन गरायो, त्यो कुरा त मनिष सुमनजीलाई सोध्नुपर्छ । मुखले अग्रगमनकारी र प्रतिगमनकारी भनेर हुँदैन, व्यवहारमा के छ, त्यो देखिनुप¥यो । मनिष सुमनजीलाई सोध्न चाहन्छु कि जुन पार्टीले रमेश महतोको हत्या ग¥यो, लास लुट्यो, त्यो पार्टीलाई मधेश प्रदेश सरकारमा मन्त्री बनाएर राखेको छ, यो अग्रगमनकारी हो ?

० लोसपा पनि अब यो गठबन्धनको सरकारमा सहभागी हुँदैछ ?

— सरकार हाम्रो प्राथमिकताको विषय होइन । हाम्रो प्राथमिकतामा अहिले मुद्दा सम्बोधन कसरी गर्ने, हाम्रा राजबन्दी रिहाइ कसरी हुन्छ, हाम्रा नेता कार्यकर्ताको झुठ्ठा मुद्दा खारेजी कसरी हुन्छ, नागरिकता समस्या सम्बोधन कसरी गर्ने भन्ने विषयमा मात्रै प्रधानमन्त्रीजीसँग हाम्रो अध्यक्ष महन्थ ठाकुरको सम्वाद भएको छ । अन्य विषयहरु तपशीलका विषयहरु हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ