गिरोहरूले मधेशको अधिकारलाई संस्थागत गर्न सक्दैन : अधिवक्ता विकास ठाकुर

अन्तर्वार्ता

अधिवक्ता विकास ठाकुर, संयोजक, तराई–मधेश राष्ट्रिय परिषद्

० स्थानीय चुनावको मुखमा तराई–मधेश राष्ट्रिय परिषद् (टीएमएनसी)ले प्रथम राष्ट्रिय भेलाको आयोजना गर्दैछ, के छ उद्देश्य ?

— यो आसन्न स्थानीय चुनावलाई नै केन्द्रित गरेर हामीले भेला गर्न लागेको होइन । यसअघि पनि भेला गर्ने मिति तय गरेका थियौं तर कोभिडको कारणले दुई वर्ष भेला गर्ने अवस्था भएन । हामीले आगामी चैत १८ र १९ काठमाडौंमा प्रथम भेलाको आयोजना गर्न लागेका छौं । स्थानीय चुनावको मुखमा पर्न गएको यो एउटा संयोग मात्रै हो ।

० आगामी चुनावहरुबारे पनि भेलामा बहस हुन्छ कि ?

— यो चुनावलाई हामीले रणनीतिक हिसावले हेरेका छैनौं । यो चुनावले गिरोहहरुको स्वार्थलाई फेरि पनि पुष्टि गर्छ । नीतिगतविहीनताका नेतृत्वहरु चुनिन्छ । बहुराष्ट्रियता हाम्रो ठोस एजेण्डा हो । मधेशलाई हामीले एउटा राष्ट्रको रुपमा मान्छौं । एउटा राष्ट्रभित्र धेरै राष्ट्रियताहरु हुनसक्छ । मधेश पनि बहुराष्ट्रिय राज्य हो भनेर संविधानले पनि भनेको छ । किनभने हाम्रो फरक पहिचान र अस्तित्व छ । हामीले फरक पहिचान र अस्तित्वसहितको राज्य खोजेका हौं । त्यो बहुराष्ट्रियताको सवालमा अहिले चुनिएर आउने नेतृत्वहरुलाई केही ज्ञान नै छैन ।

० मधेशकेन्द्रित शक्तिहरुलाई आगामी निर्वाचनमा जिताउनका लागि माहोल बनाउने तपाइँहरुको दायित्व होइन ?

— हाम्रो दायित्व भनेको मधेशका शक्तिहरुलाई पहिचान गर्ने, सहयोग गर्ने तर कस्तो शक्तिलाई सहयोग गर्ने भन्ने अर्को प्रश्न खडा हुन्छ । हामीले मधेशको सम्मान, स्वाभिमान, पहिचानका लागि जुन शक्तिले काम गर्छ त्यसलाई सहयोग गर्न कुनै किन्तु–परन्तु रहने छैन । तर मधेशको नाममा आफ्नो पक्षपोषण गर्ने, गिरोह चलाउनेलाई सहयोग गरियो भने त्यो मधेशको पक्षमा हुन्छ कि कुनै व्यक्तिको पक्षमा ? हामी गिरोहका लागि काम गर्ने होइन, मधेशको लागि काम गर्ने हो । मधेशको पक्षमा काम गर्ने दलहरुलाई निरन्तर आठ वर्षदेखि सहयोग गर्दै आयौं । तर हामीलाई महसुस भयो कि त्यो सहयोगको कुनै अर्थ रहेन र परिणाम पनि आएन । त्यसैले दरिद्रताबिनाको परिपक्कता कुनै समाजमा सम्भव छैन । जबसम्म मान्छेमा दरिद्रता आउँदैन, तबसम्म उसले सम्भावनाको खोजी गर्दैन । हामी चाहन्छौं कि समाजमा जुन दरिद्रता छ त्यसको पहिचान समाजले गरोस् । त्यसका लागि ती दलहरु चुनावमा जित्दैमा वा हार्दैमा कुनै फरक पर्दैन ।

० टीएमएनसीको राष्ट्रिय भेलाका एजेण्डाहरु के–के छन् ?

— मधेशमा अहिले राजनीतिक वृत्तमा एजेण्डा र विचारविहीनताको जुन अवस्था देखिएको छ, त्यसमा कसरी एउटा ठोस नीति निर्माण गर्न सकिन्छ, कसरी मधेशका माग र एजेण्डाहरु सम्बोधन गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर एउटा संश्लेषण भेलाबाट निकाल्छौं । यस्तै यो भेलाबाट हामीले एउटा नयाँ टिमको पनि परिकल्पना गरेका छौं । त्यो टिमले यो उद्देश्य लिएर विचारको राजनीतिलाई कसरी संस्थागत गर्न सकिन्छ त्यो डिस्कोर्ष र न्यारेटिभलाई अगाडि बढाउन हामीले यो भेला आयोजना गर्न लागेका छौं ।

० मधेशको राजनीतिक वृत्तमा एजेण्डा र विचारविहीनताको अवस्था छ भनेर कसरी भन्नुहुन्छ ?

— निश्चितरुपमा मधेशमा विभिन्न दलहरु छन् तर त्यसले विचार, नीति र कार्यशैली के छ भन्ने मुख्य कुरा हो । गिरोहलाई पनि दलको संज्ञा दिन सकिन्छ । हामी दल र दलका नेताको पक्षधर होइन कि त्यो पार्टीको विचार, सिद्धान्त, नीति, एजेण्डा के हो ? नीतिसँग कार्यकर्ताको झुकाव हुन्छ । त्यो नीति र वैचारिक धरातलमा कार्यकर्ताले आफ्नो भविष्य र मार्ग प्रशस्त गर्छ । जुन नीतिमा मधेश अटाउँदैन, जुन नीतिमा पार्टीहरुलाई मधेश शब्दसँग एलर्जी छ, मधेशीको पीडा देखिँदैन भने एजेण्डा र विचारविहीनता नै भन्ने हो । मधेशी नेतृत्वबाटै मधेशी सेन्टिमेन्टलाई चिरा–चिरा पारिएको छ । यी दलहरु संसदमा हुनु वा नहुनुको कुनै औचित्य छैन । हामीलाई यस्तो नेतृत्व चाहिएको छ जसले समाजमा प्रगतिको लागि काम गरोस् । प्रगतिको बहुआयामिक रुप हुन्छ । असल सुशासनबाट मधेशको एउटा नेतृत्व आओस् जसले एउटा व्यवस्थित मधेशको परिकल्पना गरोस् भन्ने कुनै दल छैन । अहिले जति पनि मधेशमा दलहरु छन्, यिनीहरु मधेशको नाउँमा भावनालाई व्यापारीकरण गर्नुको अलावा अरु केही पनि गर्न सक्दैन ।

० भनेपछि अहिलेका दलहरुले मधेशको भावनालाई प्रतिनिधित्व गर्दैन ?

— बिल्कुल गर्दैन । यी दलहरुको विगत र वर्तमान दुवै परिस्थितिलाई मूल्यांकन गर्ने हो भने यी दलहरुले ल्याइदिएका के–के कुराहरु छन् त्यसलाई हेर्नुपर्छ । यी दलहरुको नेतृत्व, विचार असफल भइसक्यो र सिद्धान्तविहीनताको अवस्थामा ती दल होइन, गिरोह हो । ती गिरोहरुले मधेशको अधिकारलाई संस्थागत गर्न सक्दैन र आउने पुस्ताका लागि पनि नयाँ मधेश निर्माण गर्न सक्दैन ।

० संसदमा रहेका मधेशकेन्द्रित दलहरुले मधेशको एजेण्डा पूरा गराउन सक्दैन भने अहिले डा.सीके राउतको पनि पार्टी आइरहेको छ नि ?

— पूरानै बोत्तलमा नयाँ लेवल लगाउनुको कुनै अर्थ रहँदैन । त्यस्तै, यी दलहरुले स्थायी सत्ताभन्दा पनि सरकारभित्र आफ्नो स्पेस खोजेको छ, त्यो स्पेसमा पनि मेरो साझेदारी हुनुपर्छ भन्ने मनसायले मात्र कुनै नयाँ वा पूराना दल आउँछ भने त्यसले पूर्णता दिन सक्दैन । त्यो दलले विचारको राजनीति गर्न सक्दैन र भोलिको भविष्यलाई पनि निर्धारण गर्न सक्दैन भन्ने हाम्रो ठोस ठम्याइँ छ । त्यसैले विचारविहीनताको अवस्थामा जुनसुकै दल वा गिरोह होस् उसले समस्याको समाधान दिन सक्दैन ।

० भनेपछि डा.सीके राउतको पार्टी पनि ती दलभन्दा फरक छैन ?

— एप्रोच हेर्दा एउटै देखिन्छ । यिनीहरुको भागिदारीभित्र हाम्रो भागिदारी हुनुपर्छ न कि विचार लिएर विकल्प दिनुपर्छ भन्ने एप्रोच देखिन्छ । विकल्पका लागि ठोस नीतिगत आधार हुनुपर्छ, त्यो प्रमाणित आधार हुनुपर्छ । भनेपछि ती दलहरुको विचार, नीति र नीतिसँग पारस्परिक जुन सम्बन्ध हुन्छ त्यो नीतिबाट नेतृत्व जन्मेकै छैन । त्यो त के छ भने एक्सिडेन्टले नेतृत्व जन्मियो, त्यो एक्सिडेन्टले अर्को एक्सिडेन्ट गर्छ भन्ने निश्चित छ ।

० सरकारमा साझेदारीका लागि मात्रै मधेशमा दलहरु जन्मिए ?

— चुनाव विज्ञानमा जानुहुन्छ भने त्यसमा सधैंभरि डमोक्रेसीले विकल्प दिन सक्दैन । त्यसमा पनि हामी लिवरल डेमोक्रेसीको कुरा गर्छौं भने त्यसले फाँसिजम र त्यसमा पनि क्रोनि क्याप्टाजिमको एप्रोच जन्मायो  । यो देशमा त्यसले नेतृत्वलाई सहज वातावरण बनाएन । हाम्रो नेतृत्व क्रोनि क्याप्टालिजममा फँसेको छ । हाम्रो अर्गेनिक निड कुन सिद्धान्तबाट स्थापित हुन्छ भन्ने कुरा ज्ञान नभएको अवस्थामा दिशाविहीनताको अवस्था छ । यस्तै, मधेशीलाई ठग्दै आफ्नो स्वार्थ पूरा गर्ने होडबाजी छ । यसले मधेशलाई कल्याण गर्नेवाला छैन ।

० मधेशमा राजनीतिक दिशाविहीनताको अवस्था छ भने टीएमएनसी किन अगाडि आउँदैन ?

— हामीले यसअघि नै टीएमएनसीलाई राजनीतिक दलको रुपमा अगाडि बढाउने निर्णय गरेका थियौं, त्यो बेलाको राजनीतिक परिस्थिति अर्कै थियो । त्यसपछि राजनीतिक परिस्थिति परिवर्तन हुँदै गयो । त्यसपछि हामीले संश्लेषण गरेर निष्कर्ष निकाल्यौं कि अहिले नै राजनीतिक दलको रुपमा आउँदा केही हतार हुन्छ । अहिले हामी राजनीतिक विचारको राजनीतिलाई अगाडि बढाउनुपर्छ । टीएमएनसी स्वतन्त्र राजनीतिक संगठनको रुपमा काम गरिरहने र यसबाट उत्पादन भएका नेतृत्वहरुले अर्को दलको निर्माण गर्ने कुरा थियो । टीएमएनसीले विचार सम्पन्नता र संश्लेषणसहितको विकल्प निर्माण गर्न लागेको छ । त्यो विकल्प वर्तमान अवस्थासँग सुहाउँदो वातावरणको खोज तलाश गर्दछ । हामीले ‘आइडिया अफ मधेश’को खाका तयार गरिसकेका छौं । मधेशबिना देशको परिकल्पना गर्न सक्दैन र देशबिना मधेशको परिकल्पना गर्न सक्दैन भन्ने नीतिलाई अंगीकार गर्ने र समाजमा लिएर जाने हाम्रो अभियान हो । जसले उज्ज्वल मधेश र समृद्ध देशको निर्माण गर्न सकोस् ।

० टीएमएनसी राजनीतिक दलको रुपमा आउन सक्छ ?

— टीएमएनसी दलको रुपमा कहिल्यै पनि राजनीति दलको रुपमा आउँदैन भन्ने निष्कर्ष धेरै पहिला नै निकालिसकेका छौं । तर टीएमएनसीबाट प्रशिक्षित जुन क्याडरहरु हुन्छन्, उहाँहरुले पार्टी निर्माण गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ