तमलोपा राजनीतिक विकल्पको रुपमा अगाडि बढ्छ : वरिष्ठ नेता डा.सिंह

अन्तर्वार्ता

डा.विजयकुमार सिंह, वरिष्ठ नेता, तराई–मधेश लोकतान्त्रिक पार्टी

० स्थानीय चुनावको बेला तराई–मधेश लोकतान्त्रिक पार्टीलाई पुनर्जीवित गर्नुको कारण के हो ?

— चुनावकै लागि हामीले तमलोपा गठन गरेको होइन । हामी पहिला जुन पार्टीमा थियौं, त्यस पार्टीलाई नीति, सिद्धान्त र लोकतान्त्रिक पद्धतिबाट सञ्चालन गर्न विभिन्न चरणमा दबाबमूलक कार्यक्रम पनि ग¥यौं । तर, नेतृत्व पंक्तिले ती कुराहरुलाई नजर अन्दाज गर्दै गए । जथाभावी र मनपरी ढंगले पार्टी चल्नु हुँदैन भन्ने हाम्रो मान्यता थियो । तर, ती कुराहरुलाई पार्टी नेतृत्वले बेवास्ता गरेपछि हामी त्यहाँबाट अलग भएर मधेशको लागि राजनीतिक गतिविधि अगाडि बढाउन तमलोपालाई पुनर्जीवित गरेका हौं ।

० तमलोपाले स्थानीय चुनावको तयारी कसरी गर्दैछ ?

— यो स्थानीय चुनावमा सहभागी हुन हामी सक्रिय भएर लागेका छौं । चुनावमा भाग लिन हामीले तमलोपालाई केन्द्रमा दर्ता गराएका छौं, साथै मधेश प्रदेशको आठवटै जिल्लामा पनि दर्ता गराएका हौं । केहीदिन अगाडि मात्रै पार्टीको राष्ट्रिय भेला गरेर एउटा केन्द्रीय समिति निर्माण भएको छ । अब हामी विभिन्न र बैठकहरु राख्दैछौं । जसमा राजनीतिक प्रशिक्षण लगायतअन्यकार्यक्रमहरु अगाडि बढाउँछौं । आसन्न निर्वाचनमा हामी जनतामाझ के सन्देश लिएर जाने कुरामा केन्द्रित भएर छलफल गरिरहेका छौं । त्यसैले हामी चुनावका लागि निकै नै सक्रिय छौं ।

० तमलोपाले मधेश प्रदेशको आठ जिल्लामा मात्रै स्थानीय चुनावमा उम्मेद्वारी दिन्छ ?

— बिल्कुल । किनकि समय अभावको कारणले अन्य जिल्लाहरुमा हामीले पार्टी दर्ता गराउन सकेका छैनौं । नत्र अन्य प्रदेशमा पनि हामी स्थानीय निर्वाचनका लागि दल दर्ता गराउन सक्थ्यौं । भर्खरै हामीले निर्माण गरेकोले अन्य प्रदेशहरुमा हाम्रो गतिविधिहरु त्यति हुन सकेको छैन । हाम्रो पार्टीप्रति आस्था राख्ने अन्य प्रदेशका कोही स्वतन्त्ररुपमा लड्नुहुन्छ भने हामी प्रयास गर्छौं ।

० तमलोपाको चुनावी एजेण्डा के हो त ?

— हामी अहिले आफ्ना चुनावी घोषणापत्र बनाउने क्रममा छौं । हामीले प्रदेश र जिल्लास्तरीय घोषणापत्र बनाउँदै छौं । स्थानीय निकायलाई वास्तवमा कसरी स्वायत्त बनाउने विषयमा हाम्रो सरोकार छ । संविधानमा स्थानीय निकायलाई धेरै अधिकारहरु दिइएको छ । तर, व्यावहारिक रुपमा प्रतिनिधिहरुले पाउन सकेका छैनन् । स्थानीय तहको आफ्नो अधिकार के छ त वा प्रदेश र संघीय सरकारसँगको सम्बन्ध कति पारदर्शी छ, त्यसमा कसले कस्तो भूमिका निर्वाह गरिरहेको छ ? ती कुराहरु पनि स्पष्ट हुँदै जानुपर्छ । यसका लागि निरन्तर काम गर्नुपर्छ । भ्रष्टाचारमुक्त समाज कसरी हुन्छ भन्ने तर्फ पनि हाम्रो ध्यान छ । सबैले भन्छन् कि भ्रष्टाचारमा शून्य सहनशीलता हुनुपर्छ तर भ्रष्टाचार त्यतिकै बढेको छ । त्यसप्रति हामी चिन्तित छौं । त्यसपछि स्वायत्तता र सम्मानका मुद्दा जो मधेशको मुद्दा हो, त्यसलाई कसरी हामी आफ्नो नीतिमा लागू गर्छौं, त्यो हाम्रो प्राथमिकतामा हुन्छ ।

० चुनावको मुखमै पार्टी गठन गर्नुभएको छ, कतिको चुनौती देख्नुहुन्छ ?

— निश्चित रुपमा चुनौतीपूर्ण त छँदैछ तर विश्वास पनि छ । किनकि मधेश आन्दोलनको अनुभव र प्राप्त उपलब्धिबारे जनमानस द्विविधा छ । यसलाई हामीले उजागर गर्नुपर्ने हो । हामीसँग समयको पनि अभाव छ । हामीलाई विश्वास छ कि हामीले अपेक्षा गरेभन्दा बढी सफलता हासिल गर्छौं ।

० विगतको तमलोपा जस्तै यो पार्टीलाई जनतामाझ स्थापित गर्न सक्नुहुन्छ ?

— हाम्रो राष्ट्रिय भेलामा मैले भनेको थिएँ कि यो तमलोपालाई पुनर्जीवित गर्ने कुरा मात्रै होइन, त्या ेभन्दा पनि अगाडिका कुराहरु छन् । तमलोपाको सेन्टिमेन्ट जो मधेश आन्दोलन, स्थानीय स्वशासन, केन्द्रमा साझेदारी, आफ्नो ठाउँमा आफ्नै राजसँग सम्बन्धित थियो ती कुराहरु आफ्नो ठाउँमा छन् । विभिन्न कालखण्डमा हामीसँग सहकार्य गरेकाहरुलाई पनि हामीले आह्वान गरेका छौं कि जसले मधेशलाई पहिचान दिएको छ, जसले राजनीतिमा संघीयतालाई स्थापित गराएको छ, जुन आन्दोलनको कारण आज नेपालमा संघीय स्वरुप रहेको छ त्यो शक्तिलाई कायमै राख्नुपर्छ । मधेश आन्दोलन समाप्त भइसक्यो, अब यसको आवश्यकता र औचित्य छैन भन्ने खालका जुन भावना दिइरहेका छन्, त्यसको विरुद्धमा आन्दोलनकारी शक्तिहरु एक ठाउँमा जुटौं । तमलोपालाई जनताले पहिले पनि विश्वास गरेको थियो । हामीलाई विश्वास छ कि जब हामी यो मुद्दालाई लिएर जनतामाझ जान्छौं अनि सम्पूर्ण सहयोगा प्राप्त हुन्छ ।

० तमलोपाले सुरुवाती अवस्थामा सत्ता होइन प्रभु सत्ता अचाहियो भन्ने नारा दिएको थियो, त्यो आज पनि छ ?

— बिल्कुल । त्यसैलाई हामीले स्थानीयअतहलाई स्वायत्तताको कुरा गरेकाअहौं । त्यो बेलाअमहन्थ ठाकुरजी नेपालीअकांग्रेसबाट सम्बन्ध विच्छेद गरेर त्यो मुद्दाका लागि आउनुभएको थियो । हामी पनि अहिले पदका लागि तमलोपालाई पुनर्जीवित गरेका होइनौं । हामी गठबन्धन गर्न वा सरकारमा प्रवेश पाउन तमलोपा स्थापित गरेका छैनौं । तर, मधेशको मुद्दा, आत्मसम्मान, पहिचान, स्वायत्तता, प्रभुसत्तालगायतका कुरा प्रतिहामी प्रतिबद्ध छौं । अर्को कुरा, आन्दोलनताका केन्द्रीय नेतृत्वले जे निर्णय ग¥यो, त्यो कुरा सबैले स्वीकार ग¥यो । जब चुनावको बेला आयो, हामी राजपामा थियौं । त्यतिबेला भनेका थियौं कि हामी अहिले चुनावमा जानु हुँदैन, कम्ती एक चुनाव बहिष्कार गरेर मुद्दाका लागि बल पु¥याउनु प¥यो । पछि त्यस्तो परिस्थिति सिर्जना भयो र हामी प्रदेश २ मा चुनावमा जानु प¥यो । त्यो बेला हामीले भनेका थियौं कि चुनावमा जानुको मतलब सत्तामा गएर मुद्दालाई बिर्सिनु हुँदैन । त्यो बेलामा नेतृत्व पंक्तिको प्रतिबद्धता थियो कि सडक र सदन सबै ठाउँमा हामी संघर्ष गर्छौं । तर यो पाँचवर्षमा सडकमा कहीँ पनि संघर्ष देखिएन । कुनै राजनीतिक गतिविधि भएन, कार्यकर्ताहरुसँग सम्वाद भएन । त्यो सबैको परिणति हो कि अहिले तमलोपा पुनर्जीवित भएको हो । तमलोपाले अनवरत रुपमा मधेश आन्दोलनका मुद्दाहरु उठाइरहन्छ । मधेश आन्दोलनले राजनीतिलाई नयाँ ढंगले परिभाषित गरेको छ । मधेश आन्दोलनले मात्रै मधेशको मुद्दा उठाएको छैन, नेपालका सम्पूर्ण उत्पीडित, शोषित जनताको माग उठाएको हो । मधेश आन्दोलन कमजोर भयो भने संघीयता पनि कमजोर हुन्छ । हामी त्यही गरिरहेका छौं । त्यसैले तमलोपाको आवश्यकता मधेश र देशमा छ ।

० यो स्थानीय चुनावमा तमलोपाले कसैसँग चुनावी तालमेल पनि गर्छ ?

— हामी नयाँ दलको रुपमा गतिविधिहरु अगाडि बढाइरहेका छौं । आसन्न स्थानीय चुनावमा सहकार्य वा तालमेलबारे कुनै कुरा पनि भएको छैन । हामीले स्थानीय स्वायत्ततालाई प्राथमिकता दिएर चुनावमा जान्छौं । हाम्रो आफ्नो नीति र सिद्धान्त हुन्छ । त्यसमा यदि कोही निष्पक्षरुपमा सहकार्य गर्न आउँछ भने हामी स्वागत गर्छौं । तर सहकार्य वा गठबन्धनबारे हामीले अहिलेसम्म संस्थागत निर्णय गरिसकेका छैनौं । नेपाललाई दुई दलीय प्रणालीमा लिएर जाने प्रयास भइरहेको छ । हामी त्यसको विरोधी छौं । अधिकार आन्दोलनका लागि दुई दलीय प्रणाली हुनु अत्यन्तै निराशाजनक छ । हामीले मधेशमा तमलोपा क्षेत्रीय पार्टीको रुपमा स्थापित गर्न चाहन्छौं । मधेशमा क्षेत्रीय पार्टीको रुपमा तमलोपा स्थापित होस् र काठमाडौंमा पनि आफ्नो हिस्सेदारी लेओस् । त्यसैले हामीले ठूला पार्टीहरुको पछाडि लाग्ने पक्षमा छैनौं । हामी एउटा स्वतन्त्र अस्तित्व सहितको क्षेत्रीय पार्टीको रुपमा स्थापित हुन चाहन्छौं ।

० विगतमा तमलोपाबाट राजपा, जसपा र लोसपा बनाउनुभयो, ती सबैको ध्येय नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने थियो । तमलोपा वैकल्पिक शक्ति बन्ने अभियानमा लाग्दैन ?

— सत्ताका लागि हामी वैकल्पिक शक्ति बनाउन चाहँदैनौं । राजनीतिक विकल्पको रुपमा हामी अगाडि बढ्न चाहन्छौं । हामी ठूला दलहरुको पछाडि–पछाडि हिंड्ने पार्टी बनाउन चाहेका छैनौं ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ