० तराई–मधेश लोकतान्त्रिक पार्टीले स्थानीय चुनावको तयारी कसरी गरिरहेको छ ?
— तराई–मधेश लोकतान्त्रिक पार्टी गठन भएको एक महिना मात्रै भएको छ । यो पार्टी सरकारमा जान, मन्त्री बन्न वा चुनावमा भाग लिएर अवसरवादिताका निमित गठन भएको होइन । यो पार्टी फरक किसिमले अगाडि आएको छ । यो एउटा वैचारिक दृष्टिकोणले अगाडि आएको पार्टी हो । हामी सरकारमा जाने स्थिति पनि छैन र सम्भावना पनि छैन । त्यसकारणले त्यो हाम्रो उद्देश्य होइन भन्ने कुरा त प्रष्टै हुन्छ । स्थानीय चुनावभन्दा ठिक एक महिना अगाडिदेखि हामी सक्रिय हुन थाल्यौं । चुनावको निमित मात्र पनि पार्टीलाई हामीले सक्रिय बनाएका होइनौं । मधेशीहरुले एउटा संस्थागत पार्टीको निर्माण गर्न सक्दछ, मधेशीहरुले निर्णय गरेर पार्टीमा अगाडि बढ्न सक्दछ । नेपालमा कुनै पनि दलमा यस्तो अवस्था छैन । अन्य दलहरुमा अध्यक्ष लगायत दुई चार जनाले जे निर्णय ग¥यो त्यसैलाई स्वीकार गरेर अगाडि बढ्ने परिपाटी रहदै आएको छ । त्यसको विपरीत यो पार्टी संस्थागत निर्णय गरेर अगाडि बढ्ने उद्देश्य लिएर आएको हो ।
अर्को कुरा के देखियो भने मधेशमा आन्दोलन हुन्छ, आन्दोलन भइसकेपछि एउटा वातावरण बन्छ, अनि चुनावमा गइन्छ, जनताले मतदान गर्छ, त्यो मत लिएर जसको विरुद्धमा हामी लडिरहेका छौं तिनलाई नै बुझाउने कामहरु भएको छ । कसैले कांग्रेस, कसैले एमाले, कसैले माओवादीलगायतलाई मधेशीको मत बुझाउने काम भयो । त्यो होइन । हामी आफ्नो एजेण्डामा अडेर भएपनि बस्नुपर्छ । आफ्नो एजेण्डालाई सम्बोधन हुने हिसावले कुनै समीकरणलाई समर्थन वा विरोध गर्नुपर्छ । तर मधेशीहरु कुनै बेला वामपन्थी मोर्चामा सामेल भइदिने, कुनै बेला अन्य कसैको मोर्चामा सामेल भइदिने । त्योभन्दा फरक तमलोपा लोकतन्त्रवादीहरुको पार्टी हो । जसले क्षेत्रीयतामा विश्वास गर्छ ।
संघीयतामा क्षेत्रीयता भएन भने संघीयताले कामै गर्न सक्दैन । संघीयतामा क्षेत्रीयता भएन भने स्वशासन कहाँ गर्ने ? कुन क्षेत्रमा स्वशासन गर्ने ? क्षेत्रको सीमांकन मात्र गरिदिने तर क्षेत्रीयतालाई संवैधानिक र कानूनीरुपमा प्रतिबन्ध लगाएर राख्ने हो भने क्षेत्रको आकांक्षा के हो ? क्षेत्रको समस्या के हो ? समाधानको बाटो कुन हो ? त्यो नै पहिल्याउने, अगाडि बढाउने र एउटा संगठित राजनीतिक शक्ति भएन भने क्षेत्रमा स्वशासन हुन सक्दैन । त्यसकारण हाम्रो पार्टी क्षेत्रीयतामा विश्वास गर्छ । हाम्रो क्षेत्र भनेको पूर्वमेचिदेखि पश्चिम महाकालीसम्मको मधेश क्षेत्रलाई प्राथमिकता दिएर हामी अगाडि बढ्छौं । सुरुमा हामी मधेश प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाउँछौं । त्यसलाई विस्तारै अगाडि बढाउँदै जान्छौं । अहिले संवैधानिक र कानूनी व्यवस्था छ कि क्षेत्रीय राजनीतिक दल नै खोल्न पाइदैन, त्यसको विरुद्धमा हामी आवाज उठाउँछौं । यी सबै कारणले गर्दा तराई मधेश लोकतान्त्रिक पार्टी आएको हो ।
अर्को मूल कुरा के हो भने कुनै पनि आन्दोलनले एउटा एजेण्डा उठाउँछ । त्यसलाई सम्बोधन गर्नका निमित राजनीतिक दलको आवश्यकता छ । अहिलेसम्म के देखियो कि मधेश विद्रोह र आन्दोलनहरु भए, तर आन्दोलनकारीको नेतृत्वमा पार्टीहरु गठित भएन । दुर्भाग्यवश त्यसलाई एक प्रकारले खोसियो र ती नेताहरुको नेतृत्वमा पार्टी स्थापित हुन गयो जसले अवसरवादितामा मात्रै त्यसको प्रयोग गरे । त्यसलाई समाप्त गरेर हामी आन्दोलनकारीहरुको नेतृत्वमा पार्टी स्थापना गर्ने प्रयास गर्छौं । यो वास्तवमा एउटा अभियान हो र चुनौतीपूर्ण एउटा प्रयोग हो । त्यसकारणले हामीले निर्वाचनलाई मात्रै केन्द्रित गरेर पार्टी गठन गरेको होइन । तर निर्वाचनलाई हामी कतिसम्म उपयोग गर्न सक्छौं, त्यसको बाटो पनि हामी खुल्ला राखेका छौं ।
० तपाइँहरुले त स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै घोषणापत्र पनि सार्वजनिक गर्नुभएको छ, के छ घोषणापत्रमा ?
— हामीले जुन घोषणापत्र सार्वजनिक ग¥यौं, त्यो चुनावी घोषणापत्र भनेर सञ्चारमाध्यमहरुमा आयो । तर वास्तवमा त्यो चुनावी घोषणापत्र होइन, पार्टीको घोषणापत्र हो र केन्द्रीय भेलाले पारित गरेको हो । चुनावी घोषणापत्र पनि हाम्रो आउँछ, जसमा हामीले स्थानीय निर्वाचनलाई कुन दृष्टिले हेर्छौं त्यो राख्छौं । अहिले स्थानीय तहको बजेटलाई जथाभावी खर्च गरेको छ । स्थानीय निकायहरुले एउटा योजनाबद्ध विकासको रुपरेखा तयार पार्नुपर्छ । त्यसमा प्रादेशिक र संघीय सहयोग पनि हुनुपर्छ । त्यसप्रति हामी प्रतिबद्ध छौं । अर्को कुरा, हामी पारदर्शितालाई अगाडि बढाउनका निम्ति केही कुराहरुको पालना गर्छौं । त्यस्तै, मधेशको मामिलामा हाम्रो प्रतिबद्धता के छ ? यस्ता कुराहरु हाम्रो चुनावी घोषणापत्रमा हुन्छ । त्यसपछि हाम्रा साथीहरु जुन स्थानीय तहबाट लड्नुहुन्छ, त्यहाँको समस्याहरुलाई कसरी समाधान गर्ने त भन्ने कुराहरु राखेर त्यसलाई अगाडि बढाउँछौं ।
० आसन्न स्थानीय निर्वाचनमा तमलोपा कहाँ–कहाँबाट आफ्नो उम्मेद्वारी दिन्छ ?
— आसन्न निर्वाचनमा मधेश प्रदेशको आठै जिल्लामा हाम्रो उम्मेद्वारी रहनेछ । आन्दोलनकारी साथीहरु एकजुट भइरहनुभएको छ । हाम्रो उम्मेद्वारको मापदण्ड पनि के हो भने व्यक्तिहरु स्वच्छ हुनुपर्छ, आन्दोलनकारी हुनुपर्छ । हामी उठाइरहेको वैचारिक र विकास सम्बन्धी कुराहरुप्रति प्रतिबद्धता पनि हुनुपर्छ । किनभने हामीलाई एउटा संस्थागत पार्टी निर्माण गर्नुपर्नेछ । त्यसकारण संस्थागतरुपमा पनि उम्मेद्वारहरुको चयन हुन्छ ।
० भनेपछि तमलोपाले स्थानीय निर्वाचनमा मधेश प्रदेशमा मात्रै उम्मेद्वारी दिन्छ ?
— यो निर्वाचनमा हामीले मधेश प्रदेशको आठवटा जिल्लामा मात्रै उम्मेद्वारी दिने भनेर निर्वाचन आयोगमा दल दर्ता गराएका छौं । त्यसकारणले हामी प्रदेशमा नै सीमित रहन्छौं ।
० यो निर्वाचनमा तमलोपाले मधेश आन्दोलनका आन्दोलनकारीहरुलाई बढी प्राथमिकता दिन्छ ?
— कुनै पनि आन्दोलनको एजेण्डालाई पूर्ति गर्नका निम्ति आन्दोलनकारीहरु संगठित हुनुपर्छ । तर त्यसको नेतृत्व फरक हुनु हुँदैन । आन्दोलनकारी बीचकै नेतृत्व आउनुपर्छ । दुर्भाग्यवश के देखियो भने जति एकीकरणहरु भए, ती सबै सत्ता र सरकारका निमित मात्रै भए । जति विभाजनहरु पनि भए, ती सत्ता र सरकारका निमित मात्रै भए । हामी कुनै पार्टी विभाजन गरेका होइनौं, पार्टी परित्याग गरेका हौं र तमलोपालाई नयाँ पार्टीको रुपमा गठन गरेर अगाडि बढिरहेका छौं । यो पार्टी कुनै सरकार वा समीकरणका निमित बनेको होइन । दुःखद के हो भने एकीकरण हुन्छ, चुनावमा सिटहरु जित्ने सुनिश्चित हुन्छ, विभिन्न घटकहरु आफ्ना भागवण्डा लगाउँछन् । सबै घटकसँग आन्दोलनकारी नेतृत्व छैन, त्यसो भएको हुनाले सबै टिकटहरु बेच्छन् । अहिलेसम्मको स्थिति यही देखा परेको छ । जसले गर्दा आन्दोलनकारी साथीहरु पाखा लाग्ने, मधेश आन्दोलनकै एजेण्डा तुहिने अवस्था आइसकेको छ । त्यस्ता पार्टीहरु जसले आफूलाई मधेशको पार्टी हौं भन्छन् तर मधेशबाट नै डराइरहेका छन् । पार्टीमा मधेश नै राख्न चाहिरेका छैनन् । भनेपछि एजेण्डाको के हविगत होला ? यी सबै कुराहरुको विरुद्धमा हाम्रो अभियान छ । हामी त्यसमा सफल हुन्छौं भन्ने अठोट लिएर हामी अगाडि बढिरहेका छौं ।
० तत्कालीन तमलोपा गठन हुँदा उसले मधेशको भित्ता–भित्तामा ‘सत्ता होइन, प्रभुसत्ता’को नारा दिएको थियो । यो नवगठित तमलोपाको मूल एजेण्डा त्यहीं हो कि केही फरक छ ?
— विगतको कुरा हामीले सम्झिने हो भने तराई–मधेश लोकतान्त्रिक पार्टी लोकतान्त्रिक अभ्यासले अगाडि बढ्ने उद्देश्यले गठन भयो । तमलोपा राम्ररी अगाडि बढिरहेको थियो । नवलपरासीमा सम्पन्न राष्ट्रिय महाधिवेशनले कसरी संगठित भएर अगाडि बढ्ने कुरा ल्याएको थियो । त्यतिखेर सत्ता होइन प्रभुसत्ता हाम्रो नारा थियो । केन्द्रीय समितिको बैठक हुँदा ८०–९० प्रतिशत साथीहरुले हामी सरकारमा जानु हुँदैन भन्ने पक्षमा थिए । राजनीतिक परिस्थितिले कुनै समीकरणलाई समर्थन गर्नुपर्ने अवस्था ल्याएको छ भने हामी समर्थन गरिदिने तर हामी सरकारमा नजाने । हाम्रो एजेण्डाको आधारमा हामी समर्थन गर्ने भन्ने थियो । तर विभिन्न कारणहरुले गर्दा अध्यक्षजीको निर्णय भयो कि सरकारमा जाने । सरकारमा गएपछि विभिन्न विकृतिहरु फैलिन थाल्यो । त्यसपछि राजपा निर्माण हुँदा त झनै अवस्था बिग्रियो । राजपा बन्दा चुनावमा राम्रो सिट ल्यायो तर त्यो पार्टी बन्न सकेन, बैठक नै भएन । ६ जना मात्रै बस्ने, सातौं जनाले कहिल्यै प्रवेश नै नपाउने । यहाँसम्म भयो कि हामीले एउटा विधान बनायौं तर त्यो विधानको सट्टा अर्को विधान बनाएर अध्यक्षमण्डल नै सर्वेसर्वा हुने भनेर निर्वाचन आयोगमा दर्ता गरियो । परिणाम के भयो भने जे कुरा गर्दा पनि ती ६ जनाले आफूमै भागवण्डा लगाउने । भागवण्डाले गर्दा जो वास्तविक व्यक्ति थिए उसले कहिल्यै मौका पाएनन् । वार्ड अध्यक्षको टिकटदेखि राष्ट्रियसभाको टिकटसम्म बेचियो । अढाई करोडमा अध्यक्षहरुले राष्ट्रियसभाको टिकट बेचे । यो परिस्थितिले गर्दा मधेशको आन्दोलन लगभग तुहिने अवस्थामा पुगिसकेको छ । जबकि मधेशी जनताको हृदयमा आफ्नो एजेण्डाप्रति सम्मान र प्रतिबद्धता छ । यी कुराहरुलाई ध्यानमा राखेर हामी अभियान अगाडि बढाइरहेका छौं ।
० मधेश आन्दोलनका एजेण्डाहरु अहिले पनि जीवित छन् त ?
— बिल्कुलै जीवित छन्, यो समाप्त नै हुन सक्दैन । जबसम्म यसको सम्बोधन हुँदैन तबसम्म यसको समाप्ति हुन सक्दैन । यो परिष्कृत भइरहेको छ । पहिलो मधेश आन्दोलनको कसैले आह्वान गरेका थिएन । एउटा समूहले काठमाडौंको माइतीघर मण्डलामा संविधान मान्य छैन भनेर प्रतिलिपि जलाएको थियो । उहाँहरुलाई गिरफ्तार गरेर थुनामा राखियो, त्यो त्यहीं सकियो । तर वास्तवमा मधेश विद्रोहको प्रारम्भ त नेपालगन्जको घटनाले गरायो । त्यसपछि लहानमा त्यसको विरुद्धमा आन्दोलन सुरु भयो । लहानमा माओवादी कार्यकर्ताहरुले रमेश महतोको हत्या गरे र त्यसको विरुद्धमा फेरि सम्पूर्ण मधेशमा जनता सडकमा ओर्लेका थिए । त्यो कसैको आह्वानमा आन्दोलन भएको थिएन । मधेश आन्दोलनको सुरुवात जनताले गरेका हुन् । कुनै पनि आन्दोलन राजनीतिकरुपले संगठित हुनैपर्छ । केही साथीहरुले यो आन्दोलन हाम्रो हो, हाम्रै नेतृत्वले चलेको हो भन्ने कुराको प्रचार गरे । तर त्यो नेतृत्वले मधेश आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन सकेन । गन्तव्यसम्म नपुग्नुको मुख्य कारण आन्दोलनकारीहरुको नेतृत्वमा राजनीतिक संगठनहरु अगाडि बढेन । हामी त्यो कुरालाई जनताको बीचमा राखेर सम्पूर्ण आन्दोलनकारीहरुलाई एकजुट गर्न खोजेका छौं ।
० तमलोपाले मधेश आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन सक्छ ?
— तमलोपा मधेश एजेण्डामाथि केन्द्रित भएर अगाडि बढ्छ । तमलोपा मधेश आन्दोलनको राजनीतिक शक्तिको रुपमा आन्दोलनकारी नेतृत्वलाई नै अगाडि बढाउँछ । तमलोपाले देश र मधेशमा नै संस्थागतरुपले संगठित राजनीतिक पार्टी अगाडि बढाउन सकिन्छ भन्ने चुनौतीपूर्ण अभियानलाई बोकेको छ । संघीयता क्षेत्रीयताबिना सम्भव छैन, त्यसकारणले क्षेत्रीय राजनीतिक शक्तिहरुले मान्यता र सम्मान पाउनुपर्छ भन्ने कुरालाई अगाडि बढाउन तमलोपा अगाडि बढ्छ । तमलोपा लोकतन्त्रवादीहरुको पार्टी हो ।
० भनेपछि तमलोपा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुको पुच्छर बन्दैन ?
— लोकतान्त्रिक गठबन्धन बन्नैपर्छ भन्ने हाम्रो मान्यता हो । दुनियाँभर हामी हेर्न सक्छौं कि वामपन्थीहरुको त इथिक्स नै हुँदैन । प्रचण्डजी १७ हजार मानिसको मृत्युको प्रमुख कारक तत्व हुनुहुन्छ । तर जनयुद्धका कुन एजेण्डालाई उहाँले स्थापित गराउन सक्नुभयो ? उहाँले सबै कुरा मेरै कुरा आएको भन्नुहुन्छ । तर संघीयता उहाँको कारणले आएको होइन, मधेश आन्दोलनले ल्याएको हो । मधेश आन्दोलनका नेताहरुले पनि संघीयता ल्याउन सकेनन्, सर्वोच्च अदालतका न्यायाधीश गिरीश चन्द्र लालको फैसलाले बाध्य भएको हो । यहाँ त इतिहासलाई नै आफ्नो तोडमरोड गर्ने प्रयासहरु भइरहेका छन् । लोकतन्त्रको विकल्प छैन, लोकतान्त्रिक शक्तिहरु एकजुट भएर आउनुपर्छ । मधेशको लोकतान्त्रिक शक्ति तराई–मधेश लोकतान्त्रिक पार्टी हुन्छ । लोकतन्त्रवादी शक्तिहरु संघीयता, समावेशितालाई महत्वपूर्ण स्तम्भको रुपमा स्वीकार गर्नुपर्छ । अनि नेपाल सही बाटोमा स्थिरतातर्फ अगाडि बढ्छ ।
० लोसपाबाट तपाइँहरु अलग भएर तमलोपा पुनर्गठन गर्नुभयो, फेरि एकता हुने सम्भावना छ कि छैन ?
— एकीकरणका लागि हाम्रो अगाडि कुनै पात्र नै छैन । यही अभियानलाई स्वीकार गरेर कोही आउनु हुन्छ भने हामी स्वागत गर्छौं । कतिपयले भन्छन् कि केही कुराका लागि जिद्दी गरेपछि नेतृत्वले नमान्दा पार्टी छोडेको हो । हो, हामीले जिद्दी त गरेकै हो । पार्टीलाई लोकतान्त्रिक तरिकाले चलाउनुस्, पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई राख्नुस्, चार जनाको जमिन्दारीको हिसावले पार्टीलाई अगाडि नबढाउनुस् भनेर जिद्दी त गरेकै हो । त्यो जिद्दी नमानेपछि त्यो पार्टीमा बस्ने अवस्था नै रहेन ।
तपाईको प्रतिक्रिया