नेपालले बीआरआई स्वीकार ग¥यो भने श्रीलंका र पाकिस्तान जस्तै बर्बाद हुन्छ : रमन पाण्डेय

अन्तर्वार्ता

रमन पाण्डेय, संस्थापक, मधेशवादी नेता तथा हिन्दी भाषा अभियानी

० प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई कसरी हेर्नु भएको छ ?

— यो भ्रमण एउटा सद्भाव, आपसी भाइचारा, अपनत्व र रिस्तेदारीको भ्रमण थियो । यस्ता भ्रमणहरू समय–समयमा भई नै रहन्छ । अहिले पनि भ्रमण पनि आफैमा अद्वितीय र अलौकिक भ्रमण हो । हाम्रा प्रधानमन्त्री ती प्रधान सेवकको निमन्त्रणामा जानुभएको थियो, जसले विगतका दिनमा भारतका यसश्वी प्रधानमन्त्री नरेन्द्र दामोदार मोदी हाम्रो यहाँ पनि आउनुहुन्छ । विभिन्न अवसरमा उहाँको भ्रमणहरू भएको थियो, उहाँ जनकपुरधाम, काठमाडौं, मुक्तिनाथ भ्रमण गरि सक्नु भएको छ । हाम्रो भाषा, संस्कृति, रहनसहन, खानपिन, पहिरन, बोली, रिस्तेदारी एउटै रहेको छ । भन्नका लागि प्राविधिक रूपमा नेपाल र भारत दुई छुट्टाछुट्टै राष्ट्र हो । त्यसैले यो सद्भाव भ्रमण हो, यस्ता भ्रमणहरू भइरहनुपर्छ । नेपाल र भारतबीच १८५० किलोमिटर खुल्ला सीमा रहेको छ, जो कहिल्यै पनि बन्द हुन सक्दैन । दुवै तिरबाट जनस्तर, अपनत्व, रोटीबेटीको सम्बन्ध छ । दुबै राष्ट्रका प्रमुखहरूको भ्रमण बेला बखतमा हुन्छ तर दुवै देशका नागरिकको आवत–जावत त दिनहुँ भइरहेको हुन्छ । यो एउटा राजनीतिक भ्रमण मात्र नभई धार्मिक भ्रमण पनि हो । काशी विश्वनाथको दर्शन गरेर उच्च संस्कारका लागि हाम्रा प्रधानमन्त्री देउवाजी फर्किनुभएको छ । त्यसैले यो भ्रमण प्रशंसनीय हो । यो भ्रमणबाट नेपाल एउटा विकसित राष्ट्रतर्फ अग्रसरित हुने बाटोमा माइलस्टोन साबित भएको छ ।

० विगत केही दिनदेखि भारतसँग कुटनीतिक चिसोपना हटेको हो ?

— नेपाल र भारतबीच त कहिल्यै पनि समस्या नै थिएन । नेपालमा एउटा तत्व हो जसलाई कम्युनिष्ट शक्ति भनिन्छ । त्यो कम्युनिष्ट शक्तिको कामै हो भ्रमको खेती गर्ने । कम्युनिष्टको नाममा खोलिएका जति पनि पार्टीहरू छन्, त्यसलाई हामी लाल आतंकवादी भन्छौं, उनीहरू भ्रमको खेती गर्न जान्दछन् । उनीहरू भारतलाई विस्तारवादी भन्छन् तर एकपटक पनि भन्न सकिरहेका छैनन् कि तिब्बततिर नेपालको हजारौं किलोमिटर सीमा चीनले कब्जा गरिसकेको छ । सगरमाथाको एउटा हिस्सा चीनले कब्जा गरिसक्यो । यसबारे ती कम्युनिष्टहरू एकपटक पनि बोल्दैनन् । तर जुन राष्ट्र विश्वको शक्ति बन्न गइरहेको छ, आजको समयमा अध्यात्मिक गुरू हो, जुन राष्ट्र हाम्रो पूर्वज राष्ट्र हो, जसको नाम भारत हो, त्यसलाई बदनाम गर्न भ्रम फैलाइएको छ । चीनसँग हाम्रो कुनै सम्बन्ध छैन, हाम्रो केही पनि मिल्दैन तर चिनियाँ विस्तारवादबारे एक पटक बोल्दैनन् । विस्तारवादी चीनले श्रीलंकालाई बर्बाद गर्न लागि सकेको छ । पाकिस्तानलाई पनि बर्बाद गरि सक्यो चीनले । चिनियाँ विदेशमन्त्री नेपाल आउँदा १८ घन्टा गायब भएका थिए । त्यसको खोजी कसले गर्ने ? चिनियाँ विदेशमन्त्री १८ घन्टा कहाँ गायब थिए, यसका लागि नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्छ । त्यसैले, अब भ्रमको खेती धेरै भयो । नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्धलाई कसैले पनि तोड्न सक्दैन ।

० यो भ्रमणले जनस्तरमा पनि सुमधुरता ल्यायो त ?

— जनस्तरको सम्बन्ध न त दिल्लीले बनाएको हो, न त काठमाडौंले । जनस्तरको सम्बन्ध युगौंयुगदेखि रहँदै आएको छ । हाम्रा पूर्वजहरू पनि स्वजनी भोज खान जानु हुन्थ्यो र उताका आफन्तहरू पनि यता आउनुहुन्थ्यो । अहिले पनि आवत–जावत भइरहेको छ । हरेक सुखदुःखमा सीमा क्षेत्रका मानिसहरू एक अर्कासँगै हुन्छन् । यो जनस्तरको सम्बन्धलाई तोड्ने नेता भारत र नेपाल कहीं पनि जन्मेका छैनन् । कसैसँग तागत छैन कि नेपाल र भारतबीचखुल्ला सीमाबन्द गरोस् । नेपाल र भारतबीचको यही सम्बन्ध हेरेर त सारा विश्व चकित छन् ।

० तर विगत दुई/तीनवर्षदेखि बेटी–रोटी अथवा बिहे–बारीको सम्बन्धमा कमी आएको देखिन्छ नि?

— भारतले यो सम्बन्धमा कुनै अवरोध गरेको छैन । यहाँका केही खस शासकहरूको संकीर्ण मानसिकता भएका व्यक्तिहरूले यसमा अवरोध गर्ने प्रयास गरिरहेका छन् । नेपाली नागरिकले नागरिकताको आधारमा भारतीय बैंकमा खाता खोल्न पाउँछन् तर भारतीय नागरिकलाई नेपालमा त्यो सुविधा छैन । यहाँ मधेश र भारतबीच विभिन्न जालझेल र षड्यन्त्रहरू भइरहेका हुन्छन् । यहाँ शासक वर्गले मधेशीलाई नेपाली मान्न तयार हुँदैनन्, भारतीय बुझ्छन् । यो पनि सत्य हो कि हाम्रो पूर्वज राष्ट्र भारत हो । तर खस पहाडी शासकहरू आफ्नो पूर्वजलाई बिर्सिसकेका छन् । अब हामी नेपालको राजधानी परिवर्तनका लागि अभियान चलाउँछौं । नेपालको संघीय राजधानी काठमाडौं उपयुक्त होइन । यसबाट एउटा मात्र वर्गको फाइदा पुगिरहेको छ । काठमाडौं भूकम्पीय क्षेत्र हो, यसलाई पर्यटकीय क्षेत्र बनाऔं । जसरी हिन्दी भाषालाई नेपाली सरह राष्ट्र भाषा बनाउने अभियान चलाइरहेको छु त्यसरी नै म राजधानी परिवर्तनका लागि अभियान चलाउँछु ।

० चीन पनि हाम्रो छिमेकी मित्र राष्ट्र हो, चीनप्रति तपाइँ जहिले पनि किन आक्रामक?

— दुनियाँमा कुनै पनि यस्तो राष्ट्र छैन जसलाई चीनले ठगेको छैन । धेरै नै टेक्निकल देशको नाम हो चीन । चीनले सित्तैमा हावा पनि दिनेवाला छैन । पाकिस्तान, श्रीलंका, अफगानिस्तानलगायतका देशहरूको अवस्था हेर्नुस्, दरिद्र मुलुक बनाइदिएको छ चीनले । एमसीसीका विरोधमा चीनले उदण्डता नै मचाएको थियो । अमेरिकाले त अनुदान सहयोग दिएको हो । यसमा एक रूपैयाँ पनि ऋण होइन । यस्तै भारतको सयौं परियोजनाहरू नेपालमा चलिरहेको छ, त्यो पनि अनुदान सहयोग हो । हाम्रो यो अवस्था अहिले छैन कि ऋण लिएर हामी घ्यू खाने । चीनले हामीलाई बीआरआईमार्फत ऋण दिन खोजि रहेको छ । हामीले चीनको ऋण लियौं भने बर्बाद हुन्छौं । यसको ज्वलन्त उदाहरण श्रीलंका, पाकिस्तानलगायत कैयौं देशहरू छन्, जो बर्बाद भइरहेका छन् । चीनले जबरजस्ती ऋण लिनै पर्छ भनिरहेको छ । तर हामीलाई ऋणको आवश्यकता नै छैन । यसकालागि कम्युनिष्टहरूले लविङ्ग गरिरहेका छन् । चिनियाँ शक्तिद्वारा यो देशमा एमसीसी नआओस् भनेर लविङ्ग भयो । तर चीनको दादागिरी अब यहाँ चल्नेवाला छैन । चीन देश होइन, एउटा डिस्टर्बिङ्ग तत्व हो । त्यो तत्वको काम नै हो कि अन्य राष्ट्रहरूलाई दरिद्र बनाउने, गरीब बनाउने, भोकमरी ल्याउने र कम्युनिजमको विकास गर्ने । लोकतान्त्रिक आचरणको राष्ट्र नै होइन चीन ।

० भनेपछि नेपालले चीनको बीआरआई लिनु हुँदैन ?

— बिल्कुलै लिनु हुँदैन । बीआरआईको जनस्तरबाट विरोध हुनुपर्छ । यो बीआरआई नेपालले लियो भने नेपाल पनि बर्बाद हुन बेर लाग्दैन । हामीलाई ऋणको आवश्यकता नै छैन । चीनले यदि नेपाललाई दिन नै चाहन्छ भने अनुदान सहयोग देओस्, हामी स्वागत गर्छौं । चीनले आजसम्म हामीसँग छिमेकीको व्यवहार नै गरेको छैन ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ