प्रधानमन्त्री देउवाको भ्रमणले राजनीतिक र कुटनीतिक सुमधुरता प्रदान गर्‍यो : अशोक वैद्य

अन्तर्वार्ता

अशोक वैद्य, राष्ट्रिय अध्यक्ष, नेपाल–भारत सहयोग मञ्च

० प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमण कति उपलब्धिमूलक रह्यो त ?

— यो भ्रमण साह्रै उपलब्धिमूलक रहेको छ । मुख्य कुरा नेपाल–भारत सम्बन्धमा जुन आइसब्रेस थियो त्यो हट्ने काम भएको छ । यो नै सबभन्दा ठूलो उपलब्धि हो । यस्तै, वर्षौंदेखि बन्द रहेको जनकपुर–जयनगर रेल्वे सेवा यो भ्रमणकै अवसरमा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको छ । ऊर्जाको क्षेत्रमा पनि ठूलो सफलता नेपालले प्राप्त गरेको छ । जसअन्तर्गत नेपालले भारत र बंगलादेशमा विद्युत बेच्न सक्छ । पर्यटकीय हिसाबले हेर्दा रूपे कार्डको सुरूवाता हुने छ । जसले गर्दा भारतीय पर्यटकहरूलाई नेपालमा सजिलो हुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हरेक क्षेत्रमा सहयोगको विकासका लागि तत्पर रहेको प्रतिबद्धतासमत जनाउनुभयो ।

० यो भ्रमणले कुटनीतिक सन्तुलनलाई ठिक ठाउँमा ल्यायो त ?

— कुटनीतिक सम्बन्धमा मुख्यतः सीमा समस्याले अलि चिसिएको जस्तो थियो । त्यो समस्या समाधानका लागि एउटा समिति गठन भएको छ । त्यो समितिले कुटनीतिक हिसाबले सीमा समस्या समाधान गर्ने सहमति भएको छ । यो समस्याका कारण जुन आइसब्रेक थियो त्यो हटेको छ । अब ती समस्याहरू पनि समाधान भएर जान्छ । त्यो कुनै ठूलो समस्या थिएन । दुवै देशका ब्युरोक्रेट्सहरू बसेर समस्या समाधान गर्छन् ।

० प्रधानमन्त्री देउवाको यो भ्रमणबाट नेपाल–भारत सम्बन्ध झन् बलियो भएको हो ?

— नेपाल र भारतबीचको सम्बन्ध जहिले पनि सुमधुर र अलौकिक रहँदै आएको छ । किनभने यो सम्बन्ध सरकार टु सरकार मात्रै नरहेर जनस्तरको पनि छ । विश्वमै कहीं नभएको सम्बन्ध नेपाल र भारतबीच छ । बेला–बखतमा केही समस्याहरू आइरहन्छन्, त्यो स्वाभाविक हो । राजनीतिक र कुटनीतिक रूपमा अलि विवाद देखिए पनि जनस्तरको सम्बन्धमा कहिल्यै पनि कटुता आएको छैन । तसर्थ, प्रधानमन्त्री देउवाको यो भ्रमणले निश्चय नै कुटनीतिक र राजनीतिक रूपमा पनि अझ सुमधुरता र सौहार्दता प्रदान गरेको छ ।

० भारतसँग नेपालको व्यापार घाटा कसरी कम गर्न सकिन्छ ?

— भारतबाट हाम्रो व्यापार घाटा धेरै ठूलो छ । त्यो व्यापार घाटा कसरी कम गर्न सकिन्छ भनेर त्यसका लागि कुटनीतिक पहलबाट वार्ता गरेर समाधान गर्न सक्छौं । हामीले भारतीय पर्यटकलाई कसरी बढावा दिन सक्छौं । पर्यटनबाट हामीले विदेशी मुद्रा आर्जन गर्न सक्छौं । त्यसको लागि विगतमा दुई देशबीच एउटा पर्यटन बोर्ड पनि गठन भएको थियो । त्यो मार्फत् हामीले फाइदा लिन सक्छौं । जति भारतीय पर्यटक यहाँ आउँछन्, हामीलाई त्यति नै फाइदा हुन्छ । भारतसँग हाम्रो संस्कृति, संस्कार, भाषा, रहन सहन मिल्छ ।

० नेपालका उद्योग व्यापारलाई अझ फस्टाउन वा भारतीय बजारमा विस्तार गर्न तपाइँहरूको सुझाव के थियो ?

— उद्योग व्यवसायका समस्या समाधानकालागि केही बुँदागत रूपमा हामीले राखेका छौं । त्यसका लागि पटक–पटक वार्ता गर्नुपर्छ । हाम्रो व्यापार घाटा कम गर्नका लागि नेपालमा उत्पादित वस्तुहरू भारतमा निर्यात गर्न सक्छौं । यसका लागि पटक–पटक नेपालमा नीति निर्माण हुन्छ तर कार्यान्वयन हुँदैन । नेपालमा अहिलेसम्म कुनै पनि सरकारले आफ्नो पूरा कार्यकाल टिक्न सकेको छैन । सरकार फेर्ने बित्तिकै हाम्रो नीति पनि परिवर्तन हुन्छ । नेपालमा दीर्घकालीन नीति हुनुपर्छ । सरकार कुनै पनि दलको होस् तर विदेश र उद्योग नीति एउटै तथा दीर्घकालीन हुनुपर्छ । पटक–पटक नीतिहरू परिवर्तन हुँदा त्यसले राम्ररी काम गर्न सकिँदैन ।

० भनेपछि, भारतसँग व्यापार घाटाको एउटा कारण सरकार परिवर्तन भइरहने पनि हो ?

— विगतको अनुभव हेर्दा कुनै पनि सरकारले पाँचवर्ष चल्न सकेको छैन । जसकारणले हाम्रो विदेश र व्यापार नीति दीर्घकालीन हुन सकेन । सरकार जसको पनि आओस् तर विदेश र व्यापार नीति परिवर्तन हुनु भएन । त्यसकारणले हाम्रा धेरै समस्याहरू आइ रहन्छन् । हाम्रो नीति स्थिर भएपछि मात्रै हामीले समृद्धि र विकासको लक्ष्यप्राप्तगर्न सक्छौं ।

० व्यापार घाटा कम गर्न नेपाल सरकारले के–के गर्नुपर्ने हो ?

— हामी भन्छौं कि नेपाल कृषि प्रधान देश हो तर हामी कृषि आयातमुखी देश भइसकेका छौं । हाम्रो सबभन्दा बढी खर्च कृषिजन्य वस्तुहरू आयातमा हुने गरेको छ । दोस्रोमा पेट्रोलियम पदार्थ आयतमा खर्च हुन्छ । अब चाँडै नै विद्युत्मा आत्मनिर्भर हुन्छौं । नेपाल भरि रेलसेवा विस्तार भयो भने पेट्रोलियम पदार्थ आयातमा नियन्त्रण गर्न सक्छौं । अर्को कुरा दुई देशबीचको कनेक्टिविटीमा ठूलो भूमिका रहन्छ । जति हामीले कनेक्टिविटीलाई विस्तार गर्छौं, अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाउन सक्छौं, त्यति बढी पर्यटकहरू आउँछन् जसले गर्दा हाम्रो व्यापार घाटा कम हुनसक्छ । हाम्रो बजार व्यवस्थापनको पनि कमी देखिएको छ, हामीले प्रचार–प्रसार पनि राम्ररी गर्नुपर्छ ।

० भारतीय पर्यटकलाई नेपालमा कसरी आकर्षित गर्न सकिन्छ ?

— नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । भारतसँग हाम्रो भूगोल र संस्कृति दुइटै मिल्छ, राम र सीताको सम्बन्ध छ, बुद्ध र महावीरको सम्बन्ध छ, वेद–ब्यासको सम्बन्ध छ, पशुपतिनाथ र काशी विश्वनाथको सम्बन्ध छ । यसले गर्दा हामीले भारतीय पर्यटकलाई धेरै आकर्षित गर्न सक्छौं । हामीले पर्यटन क्षेत्रमा लगानी गरेर धेरै फाइदा लिन सक्छौं । तर यसमा सरकारको नीति निर्धारणमा भर पर्छ । अहिलेसम्म कुनै पनि सरकारले आफ्नो पूरा कार्यकाल टिक्न नसकेको कारण पनि यस्तो समस्या देखिएको हो । दुई वर्षदेखि कोरोनाले गर्दा पर्यटक कमी भएको हो । अहिले मुद्राको अभाव देखिएको छ । हामीले ध्यान दिएनौं भने भोलि श्रीलंकाको जस्तो अवस्था आउने खतरा देखिएको छ । त्यसकारणले अहिले नै सरकार सचेत हुनुपर्छ ।

० भारतीय पर्यटक नेपाल आउँदा विभिन्न सास्तीहरू भोग्नु परिरहेको हुन्छ नि?

— नेपालले पर्यटन क्षेत्रबाट ठूलो फाइदा लिन सक्छ तर त्यो भइरहेको छैन । यसको कारण हो कि सरकारले एउटा ठोस नीति बनाउनुपर्ने हुन्छ । यसका लागि हामीले स्माइलिङ्ग नीति ल्याउनुपर्छ । सीमा क्षेत्रमा पर्यटन बोर्डको कार्यालय राखेर उनीहरूसँग राम्रो व्यवहार गर्नुपर्छ । हामी भन्छौं कि अतिथि देवो भवः । तर हामी आफ्नो अतिथिसँग कसरी व्यवहार गर्ने, आकर्षित गर्ने भन्ने कुरा पर्यटन बोर्डले ध्यान दिनुपर्ने हो । हाम्रो मधेश क्षेत्रमा पनि धेरै पर्यटकीय स्थलहरू छन् । मधेशमा पर्सा निकुञ्ज, गढीमाई, विन्दबासिनी, जानकी मन्दिर लगायत पर्यटकीय क्षेत्रहरू छन् । त्यसकारणले हामी पर्यटकका लागि एउटा नीति ल्याउनुपर्छ । सरकार यो कुरामा गम्भीर हुनुपर्छ । वास्तवमा भारतीय पर्यटकले नेपालमा विभिन्न समस्याहरू भोग्नुपरेको हुन्छ । नेपालमा भारतीय रूपैयाँ चलाउन समस्या हुन्छ ।

० नेपाल र भारतबीच हुने उच्चस्तरीय भ्रमणहरूमा यस्ता कुराहरू किन उठ्दैन त ?

— हामीले सरकारलाई सल्लाह र सुझाव पटक–पटक दिएका छौं । तर उच्चस्तरीय भ्रमणहरूमा कुन–कुन कुरा उठ्छ त्यो हामीलाई जानकारी हुँदैन । तर यस्ता आर्थिक लाभका विषयहरू उठाउनु पर्ने हो । सरकारले पर्यटनलाई प्राथमिकता दियो भने नेपालमा आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न सजिलो हुन्थ्यो ।

० नेपाल–भारत रेलसेवा पनि सुचारू भएको छ, यसबाट कति आशा गर्न सकिन्छ ?

— नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको रेलसेवालाई हामीले महत्वका साथ हेरेका छौं । यसले पनि पर्यटनमा ठूलो टेवा दिन्छ । यो सवारी गाडी हो, मालवाहक होइन । यो रेल सेवाले निरन्तरता पायो भने पर्यटन क्षेत्रमा ठूलो टेवा मिल्नेछ ।

० नेपाल–भारत सहयोग मञ्च के गर्दै आएको छ ?

— नेपाल–भारत सहयोग मञ्चले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो भूमिका खेल्दै आएको छ । नेपालमा उद्योग, व्यापार फस्टाउनका लागि दुवै देशका प्रतिनिधिहरूबीच हामीले अन्तरक्रिया, गोष्ठी र सभाहरू विगतदेखि सञ्चालन गर्दै आएका छौं । हाम्रो यो संस्था गठन भएको लगभग २५ वर्ष पूरा भइसकेको छ । हामी रजत जयन्ती दिवस मनाइरहेका छौं । जुन बेला वीरगन्जमा भारतीय महावाणिज्य दूतावास खुलेको थियो त्यो भन्दा पहिले तत्कालीन राजदूत केभी राजनको पहलमा यहाँका प्रबुद्ध वर्गलाई राखेर नेपाल–भारत सहयोग मञ्चको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ