मधेशीको मत कांग्रेस–एमालेलाई नै बुझाउने हो भने उतै किन नजाने ? : संजय यादव

अन्तर्वार्ता

सञ्जय यादव, पूर्वनेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० तपाइँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल किन परित्याग गर्नुभयो ?

— मेरो राजनीतिक पृष्ठभूमि भनेको मधेश आन्दोलनबाट आएको हो । आन्दोलनको क्रममा दुई पटक जेल बसिसकेको छु, पाँच पटक टाउको फुटेको छ । युवाहरूलाई अवसर दिनु र आन्दोलनमा युवाहरूको जुन योगदान थियो त्यसलाई गप्राथमिकतामा राख्न पार्टीका शीर्ष नेताहरूलाई बारम्बार आग्रह गर्दै आइरहेका थिएँ । तर उहाँहरू पार्टीको गतिविधि नै नगरी सांगठनिक कार्यहरू नै बन्द गर्नुभयो । शीर्ष नेताहरूले कुनै वास्ता गर्नु भएन । यदि कोही पैसावाला छन्, आन्दोलनको उसको लगानी होस् नहोस् कुनै मतलब छैन, त्यस्ताहरूले बढी प्राथमिकता पाउँछन् । पार्टी अध्यक्ष जुन जातिका छन्, उसले प्राथमिकता पाउँदै गए । समग्रमा भन्ने हो भने मधेशको राजनीति जातिवादमा फँसेको छ ।

० पार्टी नेतृत्वप्रति तपाइँको मुख्य असन्तुष्टि छ ?

— मधेश आन्दोलन र पार्टीप्रति लगानी भएका युवा नेतृत्वहरूलाई शीर्ष नेताहरूले कहिल्यै प्राथमिकता दिनुभएन । मैले कुनै पद नपाएर पार्टी छोडेको होइन, आफ्नो बाटो रोजेको हँु ।

० तर चुनावको मुखमा नै किन?

— यदि म जनतामा भिजेको छु, आफ्नो क्षेत्रमा काम गरेको छु र आफूलाई युवाको ढुकढुकी ठान्छु भने पार्टी कार्यालयमा बसेर समानुपातिक सिट मागेर मेरो दिन जाँदैन । गत चुनावमा पनि मैले पार्टीसँग टिकट मागेको थिएँ । मैले पार्टी परित्यागको घोषणा गर्दा शीर्ष नेताहरूप्रति कुनै किसिमको गुनासो गरेको छैन । हाम्रा मधेशका पार्टी अध्यक्षहरू आफूलाई भगवानभन्दा कम ठान्नु हुन्न । हाम्रा अध्यक्षहरूका अगाडि हामी कार्यकर्ता होइनौं, लठैत मात्रै हौं । लठैतको रूपमा मात्रै हामी प्रयोग हुँदै आएका छौं । त्यसैले अब आगामी राजनीतिक यात्रा नयाँ तरिकाले सुरूआत गर्नेछौं ।

० कुनै पार्टीबाट मेयरको अफर आयो कि?

— चुनावमा टिकट पाउनु ठूलो कुरा होइन । पार्टीको आफ्नो एउटा सिस्टम हुन्छ । मैले आफ्नो निर्वाचन क्षेत्र मधेश प्रदेशको बारा निर्वाचन क्षेत्र नं. १ (ख)को प्रदेशसभाका लागि तयारी गरेको हुँ । मलाई मेयरको टिकट चाहिएको छैन । टिकट बाँड्ने ठाउँमा म आफै छु । यदि अझ पनि हाम्रा नेताहरू मधेश आन्दोलन र मुद्दाप्रति इमान्दार हुनुहुन्छ भने व्यक्तिगत स्वार्थ त्याग्नुस् । त्यसपछि मात्र पार्टी बन्छ नत्र भने धरासायी भएर जान्छ र सम्पूर्ण मधेशीजनतालाई कहीं न कहीं दुःख र पीडा भोग्नुपर्छ ।

० भनेपछि तपाइँ आगामी प्रदेशसभाको निर्वाचनका लागि तयारीमा हुनुहुन्छ ?

— मैले त खुलेरै भनेको छु । त्यो हिसावले म जनताका बीचमा काम गरेको छु । आफ्नो क्षेत्रमा मैले प्रदेश सरकारको बजेट, संघीय सरकारको बजेटदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूबाट समेत बजेट ल्याएर विकास निर्माण लगायतका कामहरू गरेको छु । साथै मैले विगत १५ वर्षदेखि निरन्तर रूपमा जनताकाबीच काम गर्दै आएको छु । त्यसैले जनताको चाहनाअनुसार प्रदेशसभामा प्रतिस्पर्धा गर्ने तयारीमा छु । आजको दिनमा सडक, पुल निर्माणभन्दा पनि गुणस्तरीय शिक्षाको आवश्यकता छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यकालागि मैले बारामा दौड प्रतियोगिता पनि गराएका थिएँ । यी मुद्दाका साथ म प्रदेशको चुनावमा भाग लिनेछु । मलाई आशा छ जनताले मलाई सहयोग गर्नेछन् ।

० कुन पार्टीबाट प्रदेशसभा सदस्यको लागि चुनावमा जाँदै हुनुहुन्छ ?

— मधेश आन्दोलनका मुद्दा जुन पार्टीले सम्बोधन गर्छ, त्यो पार्टीसँग सहकार्य गरेर अगाडि बढ्छु । म जुन पार्टीमा जान्छु, यदि मधेशको मुद्दासँग बेइमानी हुन्छ, त्यहीं दिन त्यो पार्टीबाट बिदा हुन्छु ।

० तपाइँ एमाले प्रवेश गर्न लाग्नु भएको हो भन्ने चर्चा छ नि?

— अहिले म कुनै पार्टी रोजिसकेको छैन । दुई–तीनदिनमा स्पष्ट हुन्छ । हाम्रो मुद्दा सम्बोधन गर्ने स्थितिमा मूलतः कांग्रेस र एमाले हो । कांग्रेस, एमाले र जसपासँग कुरा भइरहेको छ । तर जुन पार्टीले मधेशको मुद्दालाई विगतमा अलि सहज ढंगले हेरेका छन्, त्यो पार्टी नै रोज्ने हो । यस अघिको केपी ओलीको सरकारले कम्तीमा नागरिकता मुद्दा, आन्दोलनकारीहरूमाथि लगाइएका झुठ्ठा मुद्दा फिर्ता भयो, घाइतेहरूलाई सम्बोधन ग¥यो । तर अहिलेको सरकारको करिब १० महिना हुन लाग्यो, तर मधेशका कुनै पनि मुद्दा सम्बोधन गर्ने तिर अघि बढेको छैन । जबकि स्वयम् मधेशका मसिहा भन्ने पार्टीका मन्त्रीहरू छन् । कम्तीमा केपी ओलीको सरकारमा लोसपा १३ दिनमै केही मुद्दाहरू सम्बोधन गरायो तर जसपाले अहिलेसम्म विभिन्न भागवण्डामा मात्रै सीमित छ ।

० भनेपछि, एमालेप्रति तपाइँको अलि बढी झुकाव छ ?

— स्वाभाविक हो । हिजो र आजका एमालेमा धेरै परिवर्तन भइसकेको छ । हिजोको केपी ओली र आजको केपीमा धेरै परिवर्तन भएको छ । आजको दिनमा केपी ओली प्रति जुन झुकाव छ, यदि यस्तै रहिरह्यो भने हामी मात्र होइन, मधेशका अन्य युवाहरू पनि सोच्न बाध्य हुन्छन् ।

० त्यसो भए एमाले प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ?

— अहिलेसम्म स्पष्ट भइसकेको छैन । कांग्रेस, एमाले र जसपाबाट कुरा आइरहेका छन्, जसमा मलाई सहज लाग्छ, त्यही पार्टीमा प्रवेश गर्नेछु ।

० विगतमा तपाइँहरूले मधेश विरोधी केपी ओली, एमाले मुक्त मधेश लगायतका नारा लगाउनुभएको थियो । एमाले कसरी मधेश मैत्री हुनसक्छ ?

— यो जतिको पीडाको घडी हाम्रो लागि केही हुँदैन । जीवनमा यस्तो समय आउँछ भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मैले रोएर लोसपा परित्याग गर्ने निष्कर्षमा पुगेको हुँ । मैले कहिल्यै सोचेको थिइनँ कि मधेशवादी पार्टी छोडेर कांग्रेस–एमालेतिर मेरो झुकाव हुन्छ । तर हाम्रा नेताहरूको गतिविधिका कारण परिस्थिति निर्माण भयो हामी जस्ता युवा सोच्न बाध्य भयौं । हामी आन्दोलन ग¥यौं, केपी ओली मुर्दावादको नारा लगायौं । तर कसका लागि आन्दोलन ग¥यौं ? हाम्रा नेताका आफन्तहरूलाई समानुपातिक सांसद बनाउनका लागि? भोट बेचेर नेताको घरमा पैसा थुपार्नका लागि? ती सबका लागि हामीले आन्दोलन गरेको अनुभव भयो । मैले कसैमाथि व्यक्तिगत रूपमा आरोप लगाएको होइन, आम जनताले हेरिरहेका छन् ।

० कांग्रेस र एमाले नै किन रोज्नुपर्ने ?मधेशकै कुनै राजनीतिक दल किन रोज्नु भएन त ?

— हामी जति आन्दोलन गरेर मधेशी जनताको भोट लिएर आउँछौं तब हाम्रा नेताहरू ती भोट त्यही कांग्रेस र एमालेलाई बुझाउने गरेका छन् । आफूलाई मधेशको मसिहा भनाउने एउटा टिम केपी ओलीलाई नेता मानेको छ भने अर्को टिमले शेरबहादुर देउवालाई नेता मानेको छ । मधेशमा नेता देखा परेका छैनन्, ठूला दलका पिछलग्गु मात्र हुन् । कुनै–कुनै बेला प्रचण्डको भाषा ठिक लाग्छ कि जब वार्ता नै गर्ने हो यिनीहरूको मालिकसँग नै गर्ने । मधेश आन्दोलन र मधेशकालागि यो कुरा दुर्भाग्य हो । अहिले पनि मेरो अलिकति पनि इच्छा छैन कि मधेशवादी पार्टी छोडेर जाने । तर के गर्ने ? मैले सामाजिक सञ्जालमार्फत् लोसपा परित्यागको घोषणा गरेदेखि धन्यवाद र स्वागत बाहेक कसैले पनि नकारात्मक टिप्पणी गरेका छैनन् । यहाँ सम्म कि अहिलेसम्म हाम्रा अध्यक्षमण्डलबाट किन परित्याग गर्नुभयो, आएर कुरा गर्नुस् भनेर भनेको छैन । जिल्ला–जिल्लाबाट मलाई फोन आइरहेको छ कि राम्रो गर्नुभयो, अब सबैले यस्तै गर्नेछन् । यसबाट मलाई यो अनुभव भयो कि म अहिलेसम्म अन्ध्यारोमा थिएँ । म मात्रै पीडित छैन, मजस्ता कैयौं आन्दोलनकारी युवाहरू पीडित छन् । मधेशका पार्टी केही नेताहरूको सिन्डिकेटबाट चल्छ । जसले जति गणेश परिक्रमा गर्न सक्छ, उसले त्यति बढी अवसर पाउँछन् । तर हाम्रो जीनमै छैन कसैको चाप्लुसी गर्ने । इतिहास साक्षी छ कियादवको छोराले कहिल्यै पनि कसैको चाप्लुसी गर्दैन ।

० दिन प्रति दिन मधेशका युवा नेताहरू मधेश केन्द्रित दल परित्याग गर्दै ठूला दलहरू नै रोज्दैछन् । भनेपछि अब मधेश केन्द्रित दल इतिहासमा मात्रै सीमित हुँदैछ त ?

— मधेशमा यदि राम्रो नेतृत्व भइदिएको भए कहिल्यै पनि मधेशको पार्टी र मुद्दा समाप्त हुँदैन । मधेशको मुद्दा आज पनि खराब छैन, तर नेतृत्वकर्तामा कहीं न कहीं कमी रहेको छ । आजसम्म रेकर्ड हेर्ने हो भने हृदयेश त्रिपाठी जस्तो मधेशको हस्ती जसको मधेशप्रति लगानी अहिलेसम्म कसैको छैन, उहाँले पनि छोड्नुभयो । उनीजस्ता धेरै नेताहरू पीडित भएर मधेशको राजनीतिक पार्टी छोडेका छन् । आज पनि छोड्ने क्रममा छन् । मधेश र देशको राजनीतिमा यदि कसैलाई सबभन्दा बढी सम्मान गर्छु भने त्यो व्यक्ति महन्थ ठाकुरजी हुनुहुन्छ । उहाँजस्तो व्यक्ति मधेशले पाउनु धेरै ठूलो भाग्यको कुरा हो ।

० तर, महन्थ ठाकुरको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै पार्टी परित्याग गर्नेहरू पनि धेरै छन् ?

— हाम्रो हिन्दू धर्ममा सत्यको प्रतीक बृहस्पतिलाई भनिन्छ । तर एक्लो बृहस्पति पनि झुठ्ठो हुँदोरहेछ । नेता महन्थ ठाकुर साँच्चिनै शालीन, बौद्धिक, नेतृत्व क्षमतालगायत सबै गुण भएको व्यक्ति हुनुहुन्छ । तर उहाँलाई काम गर्न दिने टिम राम्रो भएन । त्यसैले अब म आफ्नो राजनीतिक यात्रा कुनै राष्ट्रिय पार्टीबाट सुरूआत गर्नेछु ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ