वीरगन्जको आवश्यकतालाई हेरेर नै मैले फेरि उम्मेद्वारी दिएको हुँ : सरावगी

अन्तर्वार्ता

विजय कुमार सरावगी, निवर्तमान मेयर एवं नेकपा एमालेको तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवार

० चुनावी तयारी कस्तो भइरहेको छ ?

— हाम्रो तयारी राम्रै भइरहेको छ । चुनावमा जहिले पनि उम्मेदवार कमजोर नै मानिन्छ । जुन ढंगले हामी मिहिनेत गरिरहेका छौं, जुन ढंगले साढे चार वर्ष मैले यहाँ काम गरेको छु, त्यो हिसाबले पक्कै पनि जनताको साथ र सहयोग पाउनेछौं ।

० तपाइँ निर्वाचनको मुखमा पार्टी परिवर्तन गर्नुभयो, कारण के थियो ?

— मैले अढाई वर्ष पहिला नै त्यो पार्टी (जसपा) छोड्ने भनेर सोचिसकेको थिएँ । पार्टी नराम्रो होइन, धेरै राम्रो छ, सो पार्टीका अध्यक्ष उपेन्द्र यादवजीलाई म धेरै सम्मान गर्छु । तर वीरगन्जमा पार्टीको जुन गतिविधि रह्यो त्यो साढे चार वर्षमा कहिल्यै पनि मेयरमैत्री रहेन । आफ्ना पार्टीबाट जितेका प्रतिनिधिहरूलाई कहिल्यै पनि सहयोगीको भूमिका पर्सा जिल्लाका नेताहरू रहेनन् । यो बीचमा मैले धेरै दुःख भोग्नुप¥यो । साढे वर्षमा दुई पटकसम्म राजीनामासमेत गरेको थिएँ । राजीनामा गर्नुको कारण एउटै थियो कि एउटै मान्छेको हैकमवादी प्रवृत्तिका कारण पार्टी धरासायी हुँदैछ । अहिले थुप्रै मान्छेहरू त्यो पार्टी छोडेका छन् र अझ पनि छोड्छन् । किनकि राम्रा मान्छेहरूलाई पार्टीमा टिकाएर राख्ने सो पार्टीभित्र प्रवृत्ति नै छैन । हामी आर्थिक र सामाजिक क्षेत्रबाट सो पार्टीमा गएका थियौं तर त्यस हिसाबले पार्टीले हामीलाई व्यवहार गर्न सकेन । जुनसुकै काममा अवरोध गर्ने, विकास निर्माणका लागि बजेट आउन नदिने । मधेशको नाममा आन्दोलन ग¥यो तर यिनीहरू काम केही गरेनन् ।

० गत निर्वाचनमा तपाइँ मधेश आन्दोलनको सेन्टिमेन्टबाट जित्नुभएको थियो । तर यसपटक तपाइँ मधेशको विपरीत धार अथवा मधेश विरोधी भनिएको एमालेमा जानुभएको छ नि ?

— एमालेलाई म मधेश विरोधी भन्दिँन । मधेश विरोधी त कांग्रेस र माओवादी पनि थियो । किनभने संघीयता आउनुभन्दा अगाडि कसैले पनि मधेशका लागि केही पनि गरेनन् । संघीयता लागू भइसकेपछि प्रदेश सरकार आयो, स्थानीय तहलाई अलि बलियो पारियो र अलि–अलि विकासहरू हुन थाल्यो । यो मधेशको मात्रै समस्या होइन, धेरै यस्ता ठाउँहरू छन् जहाँ विकास पुगेकै थिएन । देशका सम्पूर्ण राजश्वको ४० प्रतिशत वीरगन्जबाट उठ्छ । ६० प्रतिशत वीरगन्जबाट आयात–निर्यात हुन्छ । अर्थतन्त्रमा वीरगन्जले ठूलो योगदान गर्दागर्दै पनि यहाँ जुन ढंगको लगानी चाहिन्छ त्यो देखिएन । केन्द्र र प्रदेशले यहाँको विकासमा एकसुको पैसा खर्च गर्न चाहेन । वीरगन्जको आवश्यकतालाई हेरेर नै मैले फेरि मेयरमा उम्मेदवारी दिएको छु ।

० तर, मधेशमा एमालेको जनाधार कमजोर छ, मधेश विरोधी भनेर चित्रण गरिएको थियो नि ?

— मधेश आन्दोलनका बेला एमालेलाई मधेश विरोधी देखाएर मधेशवादी पार्टीहरूले आफ्नो स्वार्थ पूरा गरेका थिए । त्यस्ता भ्रमका कुराहरू धेरै दिन टिक्दैन । सबैलाई थाहा छ कि मधेश आन्दोलनमा ६–६ महिना नाका बन्द गराएर वीरगन्जका व्यापारी र स्थानीयहरू धेरै दुःख पाएका थिए । तर आफ्नो व्यापार उनीहरूले छोडेनन् । तेलको तस्करी गर्ने, रातभरि भन्सारमा गाडी छुटाएर पठाउने, त्यो वापतको शुल्कहरू लिने, धेरै खेलहरू त्यतिबेला भएका थिए । ती कुराहरू म पछि थाहा पाएको थिएँ । त्यहीं नेताहरूको कारणले गर्दा मधेशी पार्टी बिग्रेको छ ।

० भनेपछि वीरगन्जवासीले एमालेलाई मतदान गर्छन् ?

— यसअघिको चुनावमा एमाले वीरगन्जमा चौथो, पाँचौं नम्बरमा थियो । तर जबदेखि एमालेमा मेरो प्रवेश भएको छ, आज पहिलो स्थानमा नै देखिएको छ । सबैको आंकलन छ कि एमाले धेरै मजबुत भएको छ, पर्सा जिल्लामै एमाले स्थापित हुन्छ ।

० तपाइँ जित्ने आधारहरू के–के छन् त ?

— मैले विगत साढे ४ वर्षमा गरेका कामहरू नै मेरो जित्ने ठूलो आधार हो । साढे चार वर्षको क्रममा जुन कुराहरू मैले अनुभव गरें, सिकें, नयाँ मान्छे आउँदा उसलाई दुई साढे दुई वर्ष सिक्नै लाग्छ । अहिले जति कामहरू अगाडि बढेका छन्, त्यसलाई म निरन्तरता दिन सक्छु । यस बीचमा मैले राम्रा प्रोजेक्टहरूका लागि प्रक्रिया अगाडि बढाएको छु, त्यो अन्तिम चरणमा छ । ल्याण्डफिल्ड साइट निर्माण गरेर नयाँ वीरगन्ज बसाउने, सिर्सिया करिडोरको काम अगाडि बढाउने, एडीबीसँग कुरा गरेर जति पनि पूर्वाधारहरू चाहिन्छ त्यो निर्माण गर्ने मेरो बाँकी योजना हो । विशेषगरी महानगरपालिकाको स्पेसिफिकेशनमा जुन लेखिएको छ त्यसअनुसार काम गराउने मैले प्रतिबद्धता गरेको छु, त्यसमा संघ र प्रदेशकै सहयोग चाहिन्छ । पक्कै नै संघमा एमालेको सरकार बन्छ र मलाई विश्वास छ कि चार–पाँच हजार करोड रूपैयाँ ल्याएर वीरगन्जलाई एउटा महानगरको स्वरूपमा बदलिन सक्छौं ।

० के–कस्ता कामहरू छन् जुन तपाइँले पछिल्लो कार्यकालमा पूरा गर्न सक्नुभएन ?

— हुन त हामीले पाँच वर्षसम्म आफ्नो कार्यकाल पूरा गर्न सकेनौं । अर्कोतर्फ दुई–तीन वर्ष कोभिडको कारणले पनि हामीलाई बाधा अवरोधहरू भए । मैले गर्न नसकेका कामहरू थुप्रै छन् । ल्याण्डफिल, सिर्सिया करिडोर लगायतका मेरा भविष्यका योजनाहरू मैले सुरू गरिसक्नुपर्ने थियो । तर कोभिडको कारण अलि पछाडि धकेलियो । साढे १२ करोड रूपैयाँ हाम्रो रिसोर्सहरू कोभिडमा खर्च गर्नुप¥यो । त्यसकारणले विकास निर्माणको काम अलि कम भयो । तर जति हामीसँग उपलब्ध स्रोत र साधनहरू थियो त्यसबाट हामी कोभिडमा जनताको ज्यान जोगाउनुको साथै थुप्रै विकासका कामहरू गर्न सफल भयौं ।

० पछिल्लो कामबाट जनता सन्तुष्ट छन् ?

— बिल्कुल । हेर्नुस्, जनताको सन्तुष्टिको मापन पूर्णरूपमा कहिल्यै पनि गर्न सकिँदैन । किनभने करिब दुई दशकदेखि स्थानीय तहहरू जनप्रतिनिधिविहीन थियो । त्यसपछि हामी आयौं । आउना साथ हामीले महानगर ऋणात्मकरूपमा पायौं । ३६ करोड रूपैयाँ महानगरमा ऋण नै थियो । त्यसपछि महानगरको आन्तरिक आम्दानी १७ करोडभन्दा बढी थिएन । त्यसमाथि हामीसँग राजश्व र स्रोतहरू राम्रा थिएनन् । मानवीय स्रोत पनि हामीसँग कमजोर थियो । किनभने सातौं तहको ईन्जिनियरभन्दा माथि हामीसँग छैन । थुप्रै रिसोर्सहरूको कमी हुँदाहुँदै पनि हामीले जुन काम गर्न सफल भएका छौं, त्यसबाट हामी सन्तुष्ट छौं । जनताका इच्छा, आकांक्षा पूरा हुन सकेको छैन भन्नेमा हामी स्पष्ट छौं । अब आउने पाँच वर्षभित्र हामी बढीभन्दा बढी कुराहरूलाई सम्बोधन गर्न सक्छौं भन्ने मलाई लाग्छ ।

० तपाइँका पूर्वपार्टीका नेताहरूले भ्रष्टाचार, अनियमितता गरेको भनेर तपाइँमाथि धेरै आरोपहरू लगाउनुभएको छ नि ?

— भ्रष्टाचार, अनियमितता, भ्रष्टाचार जस्ता आरोपहरू फण्डा मात्रै हुन् । अहिले उहाँहरू मेरा विपक्षका मान्छेहरू छन् । साढे चार वर्षसम्म म सोही पार्टीमा बस्दा मैले भ्रष्टाचार र अनियमितता गरेको थिइनँ । पार्टी परिवर्तन हुनासाथ भ्रष्टाचार र अनियमितता भयो ? यदि वास्तवमै मैले भ्रष्टाचार र अनियमितता गरेको छु भने प्रमाणित गरेर देखाउनु प¥यो । बिना प्रमाणको आधारमा कसैलाई यसरी आरोप लगाउन मिल्दैन । सबैलाई थाहा छ कि प्रहरीले घुस खान्छ तर सबै प्रहरी घुस नै खान्छन् त ? त्यस्तो छैन । जो भ्रष्टाचार र अनियमितता गर्छन् उसलाई कारबाही हुन्छ । उहाँहरूलाई थाहा छ कि राजनीति मेरो विजनेश होइन, मेरो आमदानीको स्रोत भनेको मेरो व्यवसाय हो । म सामाजिक कार्य गर्न पाउँ, जनताको सेवा काम गर्न पाउँ भनेर राजनीतिमा आएको हुँ । मैले आजसम्म महानगरबाट तलब–भत्तासमेत लिएको छैन । मैले आफ्नो तलब–भत्ताबाट गरीब, असहाय बच्चीहरूको पढाई, गरीबहरूको विभिन्न सेवा कार्यमा दिने गरेको छु । यी सबै कुरा मेरा विपक्षीहरूलाई थाहा छ कि यो मान्छे समाजसेवी छन् । मेरा विपक्षीहरूले आफ्नो एजेन्डाहरू जनतामा गर्नुपर्ने हो तर भ्रष्टाचार भयो, अनियमितता भयो भनेर हल्ला गरिरहेका छन् । यदि उहाँहरूले प्रमाणित गरेर आउनुभयो भने म कुरा गर्न तयार छु ।

० जसपाका मेयर उम्मेद्वार राजेशमान सिंहले आफू मेयर भएकै दिन तपाइँको हातमा हथकडी लगाउने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ त ?

— म तपाइँको माध्यमले भन्न चाहन्छु कि त्यो अधिकार उहाँलाई छ ? हथकडी लगाउने काम अदालत, प्रशासन र प्रहरीले गर्छ । म साढे चार वर्षसम्म काम गरें तर कहीं पनि मेयरले हथकडी लगाउने अधिकार पाइनँ । हथकडी लगाउनका लागि त्यस किसिमको अनियमितता, भ्रष्टाचार, गलत कामहरू गरेको प्रमाणित गर्नुप¥यो । त्यो प्रमाणित गर्ने क्षमता उहाँहरूमा छैन । राजेशमान सिंहले मेरो विषयमा अलि बढी बोल्नुभएको छ । त्यस्तो नबोलेर हिंडिदिएको भए राम्रो हुन्थ्यो । बरू वीरगन्जको विकासमा केन्द्रित भएको भए उहाँलाई पनि राम्रो हुन्थ्यो ।

० तपाइँका प्रतिस्पर्धीहरूले आफ्नो एजेण्डा प्रस्तुत गर्नुभन्दा निवर्तमान मेयरका विरूद्धमा अभियान चलाइरहेका छन् ?

— हो । अहिलेसम्म उहाँहरूको चुनावी सभाहरू हेर्दा मेयरको खैरो कसरी खन्ने भन्ने कुरामै सीमित देखिन्छ । उहाँहरूले मलाई जबरजस्ती लोकप्रिय बनाइरहनुभएको छ । त्योभन्दा राम्रो उहाँहरूले आफ्नो भिजन, विकासका एजेन्डाहरू प्रस्तुत गरेको भए जनताले पत्याउने पनि थियो । राजेशमान सिंह र सांसद प्रदीप यादवजी सोही धन्दामा लाग्नुभएको छ । यसको मूल्यांकन जनताले आफै गर्नेछन् ।

० वीरगन्ज महानगरमा एकातिर पाँच दलीय गठबन्धन छ भने लोसपाका असन्तुष्टहरू पनि छन् । कतिको चुनौती देख्नुहुन्छ ?

— कुनै पनि चुनाव चुनौतीपूर्ण नै हुन्छ । यो एउटा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो, जनताले मूल्यांकन गर्नेछन् । एकातर्फ महागठबन्धन भएको छ भने हाम्रो लोसपासँग सानो गठबन्धन भएको छ । जनताले मूल्यांकन गर्छन्, भिजन बुझ्छन्, हामीले गरेका कामहरू हेर्छन् । मूल्यांकन गरेर पक्कै नै हामीलाई जिताउँछन् होला भन्ने मैले विश्वास लिएको छु । जनताले पनि ठिक–बेठिक छुट्याउन थालेका छन् । अहिलेको जनता मुर्ख छैनन्, चेतनशील भइसकेका छन् । कसैले जनतालाई मुर्ख नठाने हुन्छ । अहिलेको जनता परिणाम खोज्छन्, यदि परिणाम पाएन भने त्यस्तालाई मतदान गर्नेवाला छैन । त्यसैले मलाई पूर्ण विश्वास छ कि मैले गरेका कुराहरू, कामहरू, कोभिडका बेलामा जुन किसिमको मेरो काम थियो, ती सबैलाई हेर्दै जनताले पुनः मलाई आफ्नो अमूल्य मत दिई जिताउनेछन् भन्नेमा आशावादी छु ।

० पाँच दलीय गठबन्धनसँग एमाले–लोसपा भिड्न तयार छ ?

— एकमद, निश्चितरूपमा । हामी पूर्णरूपले तयारी अवस्थामा छौं । हामी विश्वस्त छौं कि जनताले सही र गलत छुट्याएर मतदान गर्नेछन् । अहिले नै सही र गलत छुट्याएर आफ्नो मताधिकार प्रयोग गरिएन भने भोली हामी पछुताउनुबाहेक केही गर्न सक्दैन । सही मान्छेलाई पहिचान गरेर जनताले मतदान गर्छन् । मलाई पनि गत निर्वाचनमा जनताले सही मान्छे भनेर मत दिएको थियो । पुनः मलाई सही मान्छे सम्झेर नै मतदान गर्नेछन् भन्नेमा विश्वस्त छन् ।

० यस पटक तपाइँका प्रतिबद्धताहरू के–के छन् त ?

— हाम्रा थुप्रै प्रतिबद्धताहरू छन्, जुन हामीले सार्वजनिक गरिसकेका छौं । कोरोना महामारी र आफू आवद्ध पुरानो दल जसपाका नेता कार्यकर्ताको असहयोगका कारण अघिल्लो चुनावमा गरिएका केहि प्रतिवद्धताहरू पुरा हुन नसेको हो । अब जितेपछि अधुरा कामसँगै नयाँ योजनाको थालनी गरी वीरगंजको विकासमा जोड दिनेछु, बाँकी रहेका अधुरा योजना र काम पुरा गर्न फेरि मेयरमा उम्मेदवारी दिएको हुँ । प्रतिवद्धता पत्रमा सडक, नाला निर्माण, भौतिक पूर्वाधार विकास, फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका विकास, महिला, बालबालिका, तेस्रो लिङ्गीको अधिकार लगायतको कुरा मेरो प्राथमिकतामा रहनेछ । वीरगन्ज जसरी वर्षेनी डुबानमा पर्छ, त्यसबाट बच्नका लागि हामीले ४० करोडको टेन्डर गरिसकेका छौं । त्यस्तै, हाम्रो उज्यालो वीरगन्जको अभियान छ, त्यसअन्तर्गत हामीले १४ हजार एलइडी बत्ती लगाइसकेका छौं । अझ पनि बत्तीहरू थप्ने कामहरू जारी नै रहन्छ । त्यस्तै, सेटेलाइट सिटीको रूपमा सबै ग्रामीण वार्डलाई वीरगन्ज बजारबाट जोडेर विकास गर्ने योजनामा हामी छौं ।

० पछिल्लो निर्वाचनका प्रतिबद्धताहरू किन पूरा गर्न सक्नुभएन त ?

— मेरो गत कार्यकालको कुरा गर्ने हो भने मैले आफ्ना ८० प्रतिशत प्रतिबद्धताहरू पूरा गरेको छु । विभिन्न कारणहरूले गर्दा मेरो २० प्रतिशत प्रतिबद्धता पूरा हुन सकेन । कोरोना महामारी, विभिन्न बाधा अवरोध र स्रोत साधनको कमीले गर्दा मै आफ्ना सबै प्रतिबद्धता पूरा गर्न सकिनँ । अब केन्द्रमा एमालेको सरकार बन्यो भने साधन स्रोतहरू जुटाएर विभिन्न किसिमको लगानीहरू वीरगन्जमा लगाउन हामी सफल हुन्छौं । एडीबीको टिमसँग मेरो धेरै पटक कुरा भएको छ, एडीबी लगानी गर्न तयार छ । किनभने वीरगन्जको पोटेन्सियल धेरै ठूलो छ, वीरगन्जको लगानीले पूरा देशभरलाई फाइदा हुँदोरहेछ ।

० प्रदेश र संघ सरकारबाट कतिको सहयोग प्राप्त गर्नुभयो त ?

— संघ र प्रदेश दुवैमा त्यतिबेला हाम्रो सरकारमा थियो । मेरो तत्कालीन पार्टीबाट मो.इस्तियाक राई शहरी विकासमन्त्री हुनुहुन्थ्यो तर उहाँले वीरगन्जलाई केही दिन चाहनुभएन । त्यस्तै, मो.लालबाबु राउतजी जुन दिनदेखि मुख्यमन्त्री बन्नुभयो, त्यो दिनदेखि उहाँ कसम खाएरे बस्नुभयो कि वीरगन्ज महानगरपालिकालाई सहयोग गर्दिनँ । अरूलाई गर्नुभयो होला तर वीरगन्ज महानगरलाई एकसुको पनि उहाँले सहयोग गर्न चाहनुभएन । उहाँका सांसद, कार्यकर्तालाई कुनै योजना चाहिन्थ्यो भने सुटुक्क वीरगन्ज महानगरमा त्यो रकम पठाइदिनु हुन्थ्यो र सँगसँगै एउटा फोन आउँथ्यो कि यो काम फलानो माननीयलाई र फलानो कार्यकर्तालाई दिनुहोला । यिनका यही प्रवृत्तिका कारणले दुःखी भएर जसपा परित्याग गरेको हुँ । किनभने वीरगन्जलाई चाहिने कुराहरू अर्कै छ । तर उहाँहरू आफूखुशी, आफ्ना कार्यकर्ताहरूलाई बाँड्नु हुन्छ ।

० तर, मुख्यमन्त्रीजी तपाइँसँग त्यो किसिमको व्यवहार किन गर्नुभयो होला ?

— मलाई लाग्छ उहाँलाई पहिला मेयर नै बन्ने इच्छा थियो तर माननीय प्रदीप यादवले जबरजस्ती मलाई दिलाइदिएको जस्तो लाग्छ । त्यो कारणले सुुरूदेखि मप्रति पूर्वाग्रह नै रहनुभयो र आजसम्म हुनुहुन्छ ।

० अब अन्त्यमा अझ केही भन्नुहुन्छ ?

— चुनावको मुखमा धेरै ठूलो कुराहरू गर्दिन । जनताले सही गलत पहिचान गरेर मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । मेयरदेखि वार्डसम्म राम्रो मान्छेलाई जिताउनुपर्छ । अनि मात्र हामी वीरगन्जको समग्र विकासको कुरा गर्न सक्छौं ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ