‘स्थानीय निर्वाचनमा मधेशी दलको अवस्था राम्रो होला जस्तो छैन’

अन्तर्वार्ता

गणेशकुमार मण्डल, अध्यक्ष, मधेशी नागरिक समाज

० आसन्न स्थानीय तह निर्वाचनलाई कसरी हेर्दै हुनुहुन्छ ?

— २०६४ सालदेखि हुँदै आएको हरेक निर्वाचनलाई मधेशी नागरिक समाजले निर्वाचन आयोगको अनुमति लिएर पर्यवेक्षण गर्दै आएको छ । गत निर्वाचनहरूमा जसरी उम्मेद्वारहरूले आचारसंहिता विपरीत क्रियाकलापहरू गरेका थिए, त्यसमा अहिले क्रमशः सुधार भएको छ । केही कुराहरू अहिले पनि सुधार गर्नुपर्ने देखिन्छ । अहिले निर्वाचन धेरै खर्चिलो हुँदै गएको छ । पहिला सामाजिक सञ्जालको प्रयोग कम थियो अहिले धेरै विकृतिहरू बढ्न थालेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अधिकांश राजनीतिक दलहरूले उल्लंघन गरेका छन् । मधेशमा दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको हामीले हेरिरहेका छौं ।

० कुन–कुन दलहरूले कसरी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन् त ?

— कुनै दलको नामै खोलेर नभनौं, ती मधेशकै दलहरू पनि हुन् । हामीले पनि आचार संहिताको पालना गर्नु पर्ने हुन्छ । हामीलाई जुन दिनदेखि आयोगले पर्यवेक्षण गर्ने अनुमति दिन्छ, निर्वाचन सम्पन्न भएसम्म हामी माथि पनि आचार संहिता लाग्छ । कमी कमजोरीहरू दलहरूले सच्याउनुपर्छ । निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । निर्वाचन आयोगले तोकेको खर्चभन्दा धेरै नै बढी खर्च गरिरहेको देखिन्छ । त्यो खर्चलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरालाई राजनीतिक दलहरूले ध्यान दिएको भए राम्रो हुन्थ्यो । अर्को कुरा संविधानको व्यवस्थाअनुसार महिला सहभागिताको सवालमा पनि दलहरूले उल्लंघन गरेको अवस्था छ । गठबन्धनको नाममा दलहरूले महिला प्रतिनिधित्व कम गर्ने प्रयास गरेको छ । त्यस्तै, प्रचार प्रसारका लागि आयोगले सवारी साधनको प्रयोग गर्दा एउटा निश्चित मापदण्ड बनाएको छ, तर त्यस विपरीत पनि दलहरूले सवारी साधनहरूको प्रयोग गरिरहेका छन् । आयोगले भोजभतेर गर्न नपाउने पनि भनेको छ । फ्लेक्स बोर्डहरू पनि आचार संहिता विपरीत प्रयोग भइरहेको हामी हेरिरहेका छौं । ठूलठूला झण्डाहरूको पनि आवश्यकता थिएन । किनभने कतिपय गरीब जनताहरूलाई शरीरमा लगाउने कपडा हुँदैन, तर दलहरूले ठूलठूला झण्डा बनाएर प्रदर्शन गरिरहेका छन् । यी सबै आचारसंहिताको भावनाविरूद्ध छ ।

० निर्वाचनको पर्यवेक्षण किन आवश्यक छ ?

— लोकतन्त्रमा चुनाव धेरै ठूलो महत्व राख्छ । चुनावबाट चुनिएर आएका प्रतिनिधिले राज्यको सत्ता सञ्चालन गर्छन् । सर्वेक्षण गर्दा वा नगर्दा पनि चुनाव त हुन्छ तर त्यो चुनाव कस्तो भयो, कमी कमजोरी के–के रह्यो, अन्तर्राष्ट्रिय जगत्लाई नेपालको चुनावबारे कस्तो तथ्यांक दिने भन्ने कुराको अनुगमन गर्न पर्यवेक्षण आवश्यक छ । हामीले चुनावमा होमिएका दल, मतदाता, राज्यको निकायको भूमिका र निर्वाचन आयोगको क्रियाकलापलाई पनि नियालिरहेका हुन्छौं । निर्वाचनका बेला भएका कमीकमजोरी सुधार कसरी गर्ने भन्ने कुराको सल्लाह सुझाव पनि दिन्छौं । निर्वाचनबारे हामीले जुन रिपोर्ट दिन्छौं त्यही रिपोर्ट अन्तर्राष्ट्रिय जगतले बुझ्ने गर्दछन् । यसमा विश्व जगत्मा सन्देश जान्छ कि नेपालको निर्वाचन स्वच्छ, धाँधलीरहित र निष्पक्ष भएको छ कि छैन । विश्व जगत्ले यसबारे बुझ्ने भनेको पर्यवेक्षकको प्रतिवेदनबाट हो । पर्यवेक्षकले कुनै एक्सन गर्दैन तर, त्यसको सूक्ष्म निगरानी गरिरहेको हुन्छ । हामीले आफ्नो रिपोर्ट निर्वाचन आयोग, नेपाल सरकारलाई बुझाउने गर्छौं ।

० मधेशका नाममा थुप्रै संघसंस्थाहरू छन्, तर मधेशी नागरिक समाजले मात्रै किन पर्यवेक्षण गर्छ त ?

— लोकतन्त्रको एउटा स्तम्भ निर्वाचन हो भने अर्को स्तम्भ भनेको त्यसको निगरानी हो । निगरानी भने स्वच्छ र निष्पक्ष हुनुपर्छ । यो लोकतान्त्रिक मूल्य र मान्यता पनि हो । यहाँ त धेरै लोकतन्त्रको मर्म नै बुझेका छैनन् । नेपालको हरेक परिवर्तनमा मधेशको महत्वपूर्ण भूमिका रहँदै आएको छ । सत्य तथ्य कुरा विश्व समुदायले पनि थाहा पाओस् भनेर मधेशी नागरिक समाजले पर्यवेक्षण गर्न थालेको हो । जो यहाँ आफै स्वतन्त्र र निष्पक्ष छैन उसले के पर्यवेक्षण गर्छ वा कतिको विश्वसनीय हुन्छ ? मधेशी नागरिक समाज कहीं कतैबाट परिचालित र प्रभावित छैन । स्वतन्त्र रूपमा सञ्चालित संस्थाले नै स्वतन्त्र गतिविधि गर्न सक्छ । त्यसैले यो पर्यवेक्षण भनेको पूर्णरूपमा स्वतन्त्र, स्वच्छ, निष्पष, तटस्थ हुनुपर्छ ।

० स्थानीय चुनाव दलविहीन हुनुपर्ने कुरा पनि उठिरहेको छ नि?

— नयाँ संविधान बनि रहँदादेखि नै हामीले भनिरहेका छौं कि स्थानीय तहको निर्वाचन दलविहीन होस् । मान्छे जतिसुकै योग्य र इमान्दार भएपछि यो दलीय निर्वाचनले गर्दा राम्रा मान्छेहरू प्रतिस्पर्धाबाट वञ्चित हुन्छन् । अहिले कस्तो देखिएको छ भने कुनै दलको झण्डा बोक्ने, नेताको झोला बोक्ने, दादागिरी गर्ने मान्छेहरू नेता भइसकेका छन् । ब्याक बेन्चरहरू नेता भएर आउँदा फ्रन्ट बेन्चरहरू नेतृत्वमै पुग्न सक्दैनन् । योग्य र इमान्दार व्यक्तिहरू नेतृत्वमा नपुग्दा समाजको विकास हुनन सकेको हो । भिजनरी लिडरहरू नेतृत्वमा नपाउँदा २०६४ को भन्दापनि नराम्रो अवस्थामा हाम्रो देश पुगिसकेको छ । अहिले मधेशमा ३५ जना प्रतिघण्टा बेरोजगार भइरहेका छन् । त्यसलाई नै मध्यनजर गरेर हामीले मधेशमा औद्योगिकरण अभियान सुरू गरेका हौं । जसले गर्दा ठूला दलहरूले पनि आआफ्नो घोषणापत्रमा राख्न सुझाव दिएको थिएँ । यसमा मैले आफ्नो प्रष्ट सुझाव दिएको छु । २०८२ मा नेपालमा प्रजातन्त्र आएको ७५ वर्ष पुग्छ । प्रजातन्त्रको ७५औं वर्षमा हामीले नेपालबाट गरिबी र बेरोजगारी समाप्त गरौं भन्ने उद्देश्य लिएका छौं । गरिबी र बेरोजगारी समाप्त गर्नका लागि हरेक स्थानीय तहको वडामा कम्तीमा ७५ वटा साना तथा मझौला उद्योग खोलौं । उद्योग खोल्नेहरूलाई कम्तीमा सहज र सहुलियत ऋण दिने व्यवस्था गर्नुपर्छ । अर्को कुरा, अहिले जनप्रतिनिधिहरूले बैंकमा पैसा राख्नुभन्दा आफ्नो घरमा थुपारेर राखेका छन्, जसले देशमा आर्थिक तरलता आएको छ ।

० स्थानीय चुनावमा दलहरूको घोषणापत्रलाई कसरी हेर्नुभएको छ ?

— दलहरूले जारी गरेका चुनावी घोषणापत्रहरू झुठको पोको मात्रै हो । किनभने हामीले २०६४ देखिको चुनावका घोषणापत्रलाई हेर्ने भने पूरा गरेको अवस्था छैन । हरेक चुनावमा दलहरूले घोषणापत्र सार्वजनिक गर्छन् तर पछिल्लो चुनावमा गरिएको घोषणामा कति पूरा भयो त्यसको समीक्षा गर्दैनन् । दलहरूले हरेक चुनावमा नयाँ–नयाँ एजेण्डा उठाउँदै आएका छन् तर पूरा भएको वा नभएको कहिल्यै निगरानी गरेको छैन । त्यसैले दलहरूले पूरा गर्न नसक्ने प्रतिबद्धताहरू नगरिदिएको भए हुन्थ्यो ।

० दलहरूले जुन प्रतिबद्धता जनता सामु लिखित रूपमा ल्याउँछ र उसले सो प्रतिबद्धताहरू पूरा गरेन भने कानूनी रूपमा कारबाही हुने वातावरण किन छैन ?

— मधेशमा दलहरूले जुन एजेण्डा लिएर आन्दोलन गरेका थिए, अहिले ती सबै बिर्सिसकेका छन् । मधेशवादी दलहरूले समानुपातिक समावेशिता, एक मधेश एक प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतका थुप्रै एजेण्डाहरू उठाएका थिए । त्यसैले दलहरूको घोषणापत्र भनेको जनतालाई ठग्ने दस्तावेज मात्रै हो । ती दलहरूलाई लागिरहेको होला कि विगतमा हामीले प्रतिबद्धताहरू गरेकाअथियौं ती सबै कुराहरू जनताले बिर्सिसके तर हामीले सबैको घोषणापत्र संकलन गरेर राखेका छौं । हिजो उसले के बोलेको थियो, आज के बोलिरहेका छन् ती सबैको हिसाव जनताले लिन्छन् ।

० यो निर्वाचनमा मधेशी दलहरूको अवस्था कस्तो देख्नुहुन्छ ?

—२०६४ सालमा आन्दोलनको बलमा मधेशी दलहरूको राम्रो परिणाम आएको थियो । त्यसपछि मधेशीहरू सत्तामा गएपछि २०७० को चुनावमा धेरै नराम्रो अवस्था आयो । अहिलेसम्म पनि मधेशीदलहरू सत्तामै छन् । सत्ताको उपभोग गरिरहँदा यो चुनावमा पनि नराम्रो अवस्था नै आउने म देख्छु ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ