चुनौती र जिम्मेवारी दुवै थपिएको छ : डा.सीके राउत (अन्तर्वार्ता)

अन्तर्वार्ता

डा.सीके राउत, अध्यक्ष, जनमत पार्टी

० स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको समीक्षा कसरी गर्नुभएको छ ?

— जनमत पार्टीले अपेक्षा गरे जस्तो परिणाम आउन सकेन । हामीले ४० भन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्ने अपेक्षा गरेका थियौँ । त्यसअनुसारको परिणाम आएको छैन । यसका विविध कारणहरू छन् । निर्वाचन यतिको धाँधलीपूर्ण होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ । पैसाको दुरूपयोग, चलखेल र खरिद बिक्री होला भन्ने अपेक्षा पनि थिएन । त्यो आधारमा निर्वाचन बढी नै धाँधलीपूर्ण रह्यो । कर्मचारीहरूसँग मिलेमतो, प्रहरी प्रशासनसँग मिलेमतो र नगर प्रहरीहरूसँग मिलेमतो भएको हामीले पाएका छौँ ।

० भनेपछि स्थानीय तहको निर्वाचनमा धाँधली भयो ?

— हो, यो कुनै एउटा ठाउँ वा एउटा जिल्लामा मात्र नभएर धैरै ठाउँमा एकै प्रकृतिका घटनाहरू दोहोरिएका छन् । मचुल्कामा भन्दा बढी मतपत्र मतपेटिकामा भेटिनु, मतगणनामा धाँधली हुनु, कतिपय ठाउँमा बुथ नै कब्जा गरिनुलगायत घटनाहरू भएका छन् । त्यति मात्र होइन मृत्यु भइसकेका र वैदेशिक रोजगारमा गएकाहरूको पनि मत खसेको अवस्था छ । सत्ता पक्षले आचारसंहिताको व्यापक उल्लंघन ग¥यो । यस विषयमा भिडियो प्रमाणसहित हामीले खबर गर्दासमेत प्रहरी प्रशासनले वास्ता गरेन । चुनाव धाँधलीपूर्ण भयो भनेर हाम्रो पार्टीले आधिकारिक रूपमा प्रेस विज्ञप्ति निकालेर नै विरोध गरेको छ ।

० पैसाको चलखेल र सत्ताको दुरूपयोग भएको तपाईँको आरोप हो ?

— हो, जनमत पार्टीलाई परास्त गर्न सबै पार्टी एकजुट भएर जानुपर्छ भनेर मन्त्रिपरिषद्भित्र छलफल नै भएको कुरा मैले सुनेको थिएँ । गठबन्धन हाम्रो पार्टीप्रति लक्षित देखिएको अवस्था हो । हाम्रो मेयरकै उम्मेदवार कुटिँदासमेत प्रहरी प्रशासनले एक्सन लिएन । मतदाताहरूलाई धम्क्याउने काम भयो । मतदाताहरूलाई अवरोध श्रृजना गर्ने कामसमेत गरियो । हामीले जित्ने सम्भावना भएका ठाउँमा बुथ कब्जा भएको छ । त्यो ठाउँमा मतपेटिका लुटिएको छ । दर्जनौँ ठाउँमा मतदान स्थगित गर्न लगाएर फेरि पैसाको चलखेल गरी सत्ताको दुरूपयोग गरिएको अवस्था छ ।

० तर, काठमाडौँमा स्वतन्त्र उम्मेदवार नै अगाडि आएका छन् नि ? खोइ त त्यहाँ सत्ताको दुरूपयोगको कुरा ?

— काठमाडौँलाई अन्य ठाउँसँग तुलना गर्न मिल्दैन । त्यहाँको साक्षरता दर, जनचेतनाको स्तर, मिडियाको पहुँचलगायतका कुरा फरक छन् । तर, मधेशका गाउँमा कुनै मानिसको हत्या हुँदासमेत कुनै मिडिया आउँदैन । धनुषामै भोट नदिएको भन्दै एक बालकको बलात्कारको घटना सार्वजनिक भएको छ । गाउँघरमा फरक अवस्था छ । मत नदिएकै आधारमा त्यहाँ ठूलो विभेद हुन्छ । गाउँबाट निष्कासित गर्ने अवस्था आउँछ । गाउँमा नाकाबन्दी लगाइदिने, खोत जोत्न नदिने, विभिन्न यातना दिने, कुटपिट गर्नेलगायत कुरा सामान्य नै छन् । त्यसैले सत्ता शक्ति र पैसा भएकाहरूले नै प्रायः जित्नुको कारण पनि यही हो ।

० जनकपुरधाममा पनि त स्वतन्त्र उम्मेदवार जितेको अवस्था छ नि ?

— होइन, दिग्भ्रमित हुनुपर्दैन । जनकपुरधाममा विजयी भएका उम्मेदवार स्वतन्त्र होइनन् । कांग्रेस भनेरै उनलाई कांग्रेसजनले जिताएका हुन् । त्यसैले उनी स्वतन्त्र भएर उठेको भन्नै मिल्दैन । उनी प्राविधिक रूपमा मात्र स्वतन्त्र हुन् ।

० तपाईँहरू चुनावमा असफल हुनुभएको हो कि पैसाको चलखेल गरी असफल बनाइएको हो ?

— यो चुनाव जनतालाई र बाहिरी शक्तिहरूलाई देखाउने एउटा षड्यन्त्र मात्रै हो । यसको प्रतिकार पनि हुनेछ । विस्तारै जनता सचेत हुँदैछन् । यसपटक काठमाडौँका जनता सचेत भए । त्यसको प्रभाव पर्छ । मिडियाहरूले पनि यसमा आफ्नो सक्रिया भूमिका निर्वाह गर्छन् भन्ने हामीलाई लागेको छ । जनता नजागेसम्म र जनता आफै सचेत नभएसम्म यो प्रक्रिया दोहोरिइरहनेछ ।

० जनता सचेत भएका छैनन् ?

— कसरी भन्ने सचेत ? हजार रूपैयाँमा मत बेचिराखेका छन् । त्यो जनतालाई कसरी सचेत भन्ने ? पाँच वर्ष हाम्रो पार्टीमा बस्छन्, जहिले पनि सत्ताधारीलाई गाली गर्छन् । अनि ठयाक्कै भोट दिने बेलामा ती दललाई भोट दिन्छन् । त्यो जनतालाई कसरी सचेत भन्ने ?

० तर, तपाईँहरूले जनता जागिसकेका छन् भनेर भन्दै आउनुभएको थियो नि ?

— खोइ, जाग्यो भन्ने कि के भन्ने ? मौन अवधिमा पैसा समात्छन्, रक्सी समात्छन्, सुत्छन् अनि भोट त्यही दललाई हाल्छन्, जसलाई पाँच वर्षदेखि गाली गरिरहेका हुन्छन् ।

० अपेक्षाकृत नतिजा ल्याउन नसकेको अवस्थामा आगामी दिन कत्तिको चुनौतीपूर्ण छ तपाईँहरूका लागि ?

— व्यापक चुनौती छ । किन भने हामी नयाँ पार्टी हौँ । हामीसँग आर्थिक कुनै श्रोत र साधन छैन । हामी निष्पक्ष रूपमा एजेन्डाको राजनीति गर्ने हो । जनतामा चेतना अभिवृद्धि गरेर राजनीति गर्ने हो । तर, यसको सम्भावना विस्तारै कम हुँदै गएको छ । सम्भावना छोडेको अवस्था देखिँदैछ । यसलाई राज्यले नियन्त्रण गर्न सकेन भने केही हदसम्म क्रान्ति नै हुने सम्भावना म देख्दैछु । काठमाडौँमा यसपटक एउटा उभार त देखियो । ३० वर्षदेखि राज्य सत्तामा रहेका पार्टीहरू भ्रष्ट भए, अनियन्त्रित भए, मनपरी गरे भन्ने जनचेतना देखियो । भोलिका दिनमा स्वतन्त्र उम्मेदवार जितेर पनि काठमाडौँमा काम गर्न पाएनन् भने क्रान्ति नै हुन सक्ने सम्भावना पनि रहेको छ । पार्टीहरूको विरूद्धमा आन्दोलन हुन सक्छ ।

० तपाईँले अन्य दलसँग गठबन्धन गरेको भए परिणाम फरक आउँथ्यो कि ?

— निश्चित रूपमा परिणाम फरक आउँथ्यो । पहिलो चुनाव भएकाले पनि हामीले पहल गरेनौँ । आगामी चुनावमा गठबन्धनका लागि पहल हुन सक्छ । गठबन्धनले निश्चय नै फरक पार्छ ।

० एमालेबाट परिचालितको आरोप पनि लाग्ने गरेको छ नि ?

— एमालेसँग सत्तामा बस्ने अरू पार्टी, एमालेसँग १८ महिना सत्तामा अरू पार्टी, मन्त्री बन्ने तिनीहरू अनि दोष चाहिँ हामीलाई लगाएर भएन । यो भन्ने कुरा मात्र हो । स्थानीय चुनावका बेला पनि जनमत पार्टीले गठबन्धन ग¥यो भनेर समाचारहरू आउने गरेका थिए । तर, के हामीले कतै गठबन्धन ग¥यौँ त ? सबै ठाउँमा हामीले उम्मेदवार उठायौँ । कतिपय ठाउँमा टक्कर नै एमालेसँग भएको थियो ।

० अबको चुनावमा गठबन्धन हुन सक्ने भन्नुहुन्छ । अब हुने गठबन्धन सिद्धान्तका लागि हुन्छ कि चुनाव जित्न ?

— दुइटै कुरा छन् । नीति सिद्धान्त पनि अलिअलि मिल्नुप¥यो । जित्नका लागि उपयुक्त के हुन्छ त्यो पनि हेर्नुप¥यो ।

० प्रदेश र संघको चुनावको तयारी कसरी गरिरहनुभएको छ ?

— तयारी अहिले हामीले थालेका छैनौँ । विस्तारै उम्मेदवार छनौट प्रक्रियामा जान्छौँ । जनताबीचमा हामी गएकै छौँ । हामी गाउँगाउँसम्म पुगेका छौँ । यसपालि सशक्त उम्मेदवारहरू चयन गर्छौँ । स्थानीय चुनावमा हामी भावनात्मक रूपमा गयौँ । आदर्शवादी रूपमा गयौँ । कसले जित्न सक्छ भन्दा पनि कत्ति वर्षदेखि संगठनमा लागेका छन् भन्ने विषयलाई प्राथमिकतामा राख्यौँ । योगदान, त्याग र तपस्यालाई आधार बनाएर हामीले टिकट वितरण गर्यौँ । त्यो पनि हारको एउटा कारण हो । हामीले आर्थिक रूपले सबल उम्मेदवारलाई टिकट दिएनौँ । हामीसँग बाध्यता पनि थियो । कम्तिमा एकपटक त उहाँहरूलाई टिकट दिनुपर्छ । अब यसपाली यो बाध्यता हुने छैन । जित्ने सशक्त उम्मेदवार खडा गर्छौँ ।

० प्रदेश र संघको चुनावमा उम्मेदवार छनोट कसरी गर्नुहुन्छ ?

— सम्बन्धित क्षेत्रमा व्यक्तिगत रूपमा उनको पकड कस्तो छ त्यो कुरालाई प्राथमिकतामा राख्छौँ । साथै, आर्थिक रूपमा कत्तिको सबल छ भन्ने कुरा पनि हेर्छौँ । आर्थिक रूपमा सबल छ÷छैन भन्ने कुरा पनि हेर्नै पर्छ । बदनाम नभएका र भ्रष्टाचारमा नलागेका उम्मेदवारहरू छनौटमा पर्ने छन् । हाम्रो भिजनलाई अगाडि बढाउन सक्ने उम्मेदवार छनोट गर्छौँ ।

० मधेशकेन्द्रित दलहरू विस्तारै ओरालो लाग्दै छन् । यो चुनावले पनि यसलाई प्रमाणित गरेको छ । मधेश आन्दोलनको रापताप सकिँदै गएको हो ?

— मधेशकेन्द्रित दलहरूले आफूहरू मधेशी दल होइन भनेर भन्दै आएका छन् । राष्ट्रिय पार्टीका रूपमा स्थापित हुने चाहना यी दलहरूमा देखियो । यो स्वभाविक नै थियो एक हिसाबले । जनताले पनि के सोचे भन्दाखेरि यी दलहरूलाई छनोट गर्नुभन्दा कांंग्रेस र एमालेमा नै किन भोट नदिने ? यो सोच जनतामा देखियो । आफ्नो काम कांग्रेस एमालेबाटै गराउने हो भने सिधै यही दलहरूलाई चयन गरे भइहाल्यो नि भन्ने सोच जनतामा देखियो ।

० यो अवस्थाले तपाईँलाई चुनौती बढाएको छैन ?

— चुनौती हामीलाई पनि छ । राज्य पक्ष चाहिँ सबैसँग समान व्यवहार गरोस् । निष्पक्ष निर्वाचन गराओस् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ