अब राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यक्ता छ : राजेन्द्र महतो

अन्तर्वार्ता

राजेन्द्र महतो, पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता

० हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट आएको परिणामलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कसरी लिएको छ ?

— निर्वाचन भएपछि एउटा परिणाम त आउने नै हो । त्यो परिणाम कति अपेक्षित वा अनपेक्षित छ भन्ने समीक्षाको विषय हो । पार्टीको सन्दर्भमा हामी प्रतिकूल अवस्थामा स्थानीय तहको निर्वाचनमा भाग लिएका थियौं । गत चार वर्षसम्म हामीले संगठनको काम पटक्कै गर्न सकेनौं । ६ वटा पार्टी मिलाएर हामी राजपा बनायौं, संगठनको कुनै काम अगाडि बढेन । त्यसपछि जसपा बनायौं, त्यहाँ पनि संगठनको काम भएन । अनि लोसपा बनायौं, यहाँ पनि संगठनको काम भएन । भनेपछि गत चार÷पाँच वर्षमा न त संगठनको काम अगाडि बढ्यो, न त आफ्ना संघर्षका लागि सडकमा नै जान सक्यौं । त्यस्तो अवस्थामा चुनावमा जाँदा बिना संगठन र संघर्षको परिणाम कस्तो हुन्छ ?
अर्को कुरा, यसपटकको निर्वाचन अलि भिन्न प्रकारको थियो । यो निर्वाचनमा नीति, सिद्धान्त, आदर्श, पार्टीको मूल्यमान्यता देखिएन । निर्वाचनलाई प्रभावित गर्ने अन्य उपायहरूबाट निर्वाचनलाई प्रभावित बनाइयो । सरकारी गठबन्धनले सत्ताको दुरूपयोग र व्यापकरूपमा पैसाको पनि चलखेल ग¥यो । जसकारणले यो निर्वाचन हाम्रो लागि बिल्कुल प्रतिकूल थियो । त्यो प्रतिकूलतामा साथीहरूले आफ्नै प्रयास र बलबुत्ताबाट जित्न सफल भए । त्यसैले, हाम्रो पक्षमा आएको परिणामलाई सामान्य रूपमा नै लिन्छौं ।

० भनेपछि तपाइँहरूले यो निर्वाचनबाट धेरै ठूलो अपेक्षा राख्नुभएको थिएन ?

— बिल्कुल । पार्टीले निर्वाचनको तयारी नै गरेको थिएन । निर्वाचनको तयारी नगर्ने अनि अपेक्षा गरेर हुन्छ त? हामीले गठबन्धन पनि गरेका थिएनौं, एक्लै चुनावमा गएका थियौं । त्यति मात्र होइन, पार्टी विभाजन र टुटफुटको असर पनि धेरै प¥यो । पार्टीको ब्यानर नै हामीबाट लिएर भाग्यो । त्यसैले हामी समीक्षा गरेका छौं कि हामीले चुनावको तयारी गरेकै थिएनौं । पार्टी विभाजनले मधेश र संगठनलाई धेरै नोक्सानी भएको छ ।

० तपाइँहरू आफैले निर्वाचनको तयारी गर्नुभएको थिएन भने धाँधली र राज्यशक्तिको दुरूपयोग भयो भनेर आरोप किन लगाउनुभएको छ ?

— हामीले तयारी गरेका थिएनौं भन्ने कुरा त ठिकै छ तर राज्यले धाँधली गरिहाल्नुपर्ने कुरा हुँदैन नि । सत्ताधारी गठबन्धनले ज्यादती गरेकै हो । अरू कमजोरी छ भनेर धाँधली गर्ने, राज्यशक्तिको दुरूपयोग गर्ने हो भने त्यसलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन मान्न सकिँदैन ।

० धाँधली वा राज्यशक्तिको दुरूपयोग भएको आधारहरू के–के छन् ?

— धाँधली भएको आरोप हामीले मात्रै लगाएका छैनौं, प्रमुख प्रतिपक्षीको पनि निष्कर्ष छ । कतिपय ठाउँमा आक्रमण भएका छन्, मान्छे पनि मारिएका छन्, बुथ कब्जा भयो । विभिन्न ठाउँहरूमा विभिन्न घटनाहरू भएका छन् । महोत्तरीमै सरकारी गठबन्धनले हाम्रा नेता र उम्मेद्वारमाथि कुटपिट र दुव्र्यवहार गरे । रौतहटमा मतपेटिका लुटेर भागे ।

० लोसपा गठन भएको एक वर्ष पुग्दैछ, तर संगठनहरू विस्तार हुन सकेको छैन, किन ?

— अहिलेकै अवस्थामा फेरि आगामी चुनावमा जाने हो भने स्थानीय तहकै जस्तो परिणाम आउने पनि निश्चित जस्तै छ । बिना संगठन र संघर्षले जनतामा के लिएर जाने त ? त्यसैले अब संगठनका कामहरू गर्नुपर्छ । हामी यस विषयमा चिन्तित र संवेदनशील छौं । हामी संगठन र संघर्षको काम युद्धस्तरमा गर्नुपर्छ । समयानुकूल तरिकाले हामीले जनताको आवाज उठाउनुपर्छ । हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दियौं । प्रधानमन्त्रीले हामीसँग प्रतिबद्धता गर्नुभएको थियो कि हाम्रा मागहरू पूरा गर्छौं भनेर । त्यहीं कुराको स्मरण गरायौं । त्यसैले हामी विगतमा संगठनका कामहरू गर्न सकेनौं तर अब गर्नुपर्छ ।

० संगठनका कामहरू कहिले गर्ने त ?

— वास्तवमा भन्ने हो भने अहिलेसम्म केन्द्रीय कार्यकारिणी समितिबाहेक अन्य संगठनहरू नै बनेको छैन । अब केन्द्रीय समिति, विभिन्न वर्गीय/भ्रातृ संगठनहरू, प्रदेश, जिल्ला, पालिका कमिटीहरू बनाउनुपर्छ र सक्रिय रूपमा परिचालन गर्नुपर्छ । पार्टीको जीवनका लागि नभई नहुने कामहरू हो । आगामी दिनमा हामी गर्छौं ।

० पार्टीको संगठनहरू निर्माण गर्न किन यतिको अप्ठ्यारो ?

— संगठनहरू नबनाएकोले समस्या हो, बनाएको भए केही समस्या हुने थिएन । विगतमा गर्न सकिएन, अब गर्नुपर्छ । पार्टीको साथीबीचमा गृहकार्य गर्ने, समझदारी बनाउने अनि संगठनको काम गर्नुपर्छ । विगतमा गर्न नसक्दा त्यसका थुप्रै कारणहरू होला । अब कार्तिक र मंसिरमा प्रदेश र संघको चुनाव आउँदैछ । त्यसैले, संगठन र संघर्षको काम हामीले चुनाव अगावै सम्पन्न गर्नुपर्ने हुन्छ । संगठनको काम नगरी स्थानीय चुनावमा जाँदा यस्तो परिणाम आयो, अहिले पनि गरिएन भने कस्तो परिणाम आउँछ ? त्यहीं त हो नि ।

० तपाइँहरूको पूर्वपार्टी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः एकतामा आउन आह्वान गर्नुभएको छ । के धारणा छ ?

— उपेन्द्र यादवको कुरालाई धेरै महत्व दिनुपर्ने आवश्यकता छैन । उहाँ विश्वसनीय पात्र नै होइन । किनभने जब–जब उहाँलाई पार्टीभित्र अप्ठ्यारो पर्छ वा उहाँको पार्टी विभाजनको संघारमा हुन्छ, त्यतिबेला एकताको कुरा गर्नुहुन्छ । एकता भइसकेपछि फेरि पार्टीलाई विभाजन गर्नुहुन्छ । विगतमा त्यहीं देखियो । एक वर्ष पहिले उहाँको पार्टी विभाजन भइरहेको थियो, अनि रातारात एकता गरेर त्यो पार्टीलाई जोगायौं । एकता भइसकेपछि विभिन्न बहाना बनाएर पार्टी विभाजन गर्न निर्वाचन आयोगमा दौडेर गइहाल्नुभो ।

० तर पार्टी विभाजन तपाइँहरूले गर्नुभयो भनेर उहाँले भनिरहनुभएको छ नि ?

— उहाँले पार्टी विभाजन गरिदेउ भनेर निर्वाचन आयोग पुग्नुभएको हो । अनि हामीलाई आरोप लगाउने ? पार्टीभित्र केही विवाद वा मतभिन्नता भयो, पार्टी भनेको विभिन्न विचार र मत हुन्छ । विचार र मत भिन्न हुँदैमा पार्टी विभाजन गर्नुपर्छ ? पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिने हो ? एकीकृत जसपालाई निर्वाचन आयोगमा गएर विभाजन गरेर जनताको भावनामाथि कुठाराघात गर्ने काम उपेन्द्रजीले गर्नुभो । फेरि पनि एकताको कुरा गर्नुभो रे सुन्दै छु । औपचारिक वा आधिकारिकरूपमा कुनै हाम्रो नेतृत्व तहमा संवाद छैन । तर मिडियामा उहाँ बोलिरहनुभएको छ । यसको मतलब फेरि उहाँको पार्टी फुट्नेवाला छ । त्यो नभएसम्म उहाँ एकताको कुरा गर्नुहुन्न । त्यसैले उपेन्द्रजी एकताको कुरा गर्नु बकम्फुसी हो । त्यो विश्वसनीय कुरै होइन ।

० उहाँले एकताका लागि तपाइँहरूसँग कुनै संवाद गर्नुभएको छैन ?

— पार्टीमा कुनै किसिमको संवाद वा जानकारी आएको छैन । उहाँ मिडियामा पब्लिक कन्जप्सनका लागि र पार्टीमा आफ्नो व्यवस्थापनका लागि मात्रै बोलेको बुझिन्छ । वास्तवमै एकता गर्ने अभिप्राय भएको भए उहाँको सन्देश आउँथ्यो वा उहाँ आफै आउनुहुन्थ्यो । यो मामिलामा उपेन्द्र यादव आफै विश्वसनीय पात्र होइनन् । उहाँले आफ्नो आचरण, व्यवहारमा सुधार गर्नुपर्छ ।

० एकताको लागि यदि उपेन्द्र यादवको प्रस्ताव आयो भने ?

— यो मामिलामा उपेन्द्रजी अविश्वसनीय पात्र भइसक्नुभएनछ । त्यसैले, अहिलेको अवस्थामा एकता त्यति सहज छैन । तर, राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । व्यक्तिको आचरण, व्यवहार, नेता कार्यकर्तालाई भरोसा विश्वास दिलाउन सकेको अवस्थामा एकताको कुरा अगाडि बढ्छ । नत्र अप्ठ्यारो छ नि ।

० तपाइँहरू बाटो बिराउनुभयो, पार्टी फोडेर मधेशलाई घाटा भयो भनेर उहाँले भन्नुभएको छ नि ?

— उहाँले भनेर हुँदैन, दुनियाँलाई थाहा छ कि निर्वाचन आयोगमा मुद्दा दिएर उहाँले पार्टी विभाजन गराउनुभएको हो । उहाँले जनताको भावनालाई ठेस पु¥याउनुभएको हो । अहिले पनि पार्टी एकताका लागि उहाँ इमान्दार छैन । अहिले उहाँको पार्टीभित्र संकट भएकै हो, त्यसैले एकताको कुरा गरेको हो । मधेशलाई शक्तिशाली बनाउने उहाँको नियत भएको भए २०६४ साल फागुन १६ गते हामीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनाएका थियौं, सरकारसँग आठबुँदे सम्झौता गरेका थियौं । सम्झौता गरेको भोलिपल्टै उहाँ अलगै हिंडिहाल्नुभयो, एकताबद्ध भएर चुनाव लड्नुभएन । २०७४ को चुनावमा पनि हाम्रा मागहरू पूरा नभएसम्म सहभागी नहुने हाम्रो सहमति भएको थियो । तर एकतर्फीरूपमा त्यो सम्झौतालाई तोडेर एक्लै चुनावमा गइदिनुभो । पटक–पटक उपेन्द्र यादवले आफ्नो चरित्र देखाएकै हो, मधेशलाई धोका दिएकै हो । मधेश बलियो होस् वा नहोस् उहाँलाई मतलब छैन, आफू कसरी बलियो हुने त्यो बाहेक उहाँले के गर्नुभएको छ ? त्यसैले, उहाँले जे भनेपनि कुनै मतलब छैन । जनताले सबै बुझिरहेका छन् । यस्ता आचरण, व्यवहार, गतिविधिले कतै पु¥याउँदैन ।

० आगामी प्रदेश र संघको चुनावमा लोसपा कोसँग गठबन्धन गर्दैछ ?

— गठबन्धन चाहिन्छ । देशै ध्रुवीकरणमा गएको अवस्थामा हामी पनि बाध्य भएर गठबन्धनमै जानुपर्छ । कुनै न कुनै गठबन्धनमा हामी जान्छौंं । अहिले पनि कांग्रेस र एमाले दुवैबाट प्रस्ताव आएको छ । दुवैसँग हाम्रो कुरा हुन्छ । पार्टीलाई कहाँ कम्फरटेबल कहाँ हुन्छ, त्यतिबेला पार्टीले निर्णय गर्छ ।

० कोसँग तपाइँहरूको कम्फरटेबल देख्नुहुन्छ ?

— पाँच दलीय गठबन्धनबाट कांग्रेस र अर्कोतिर एमालेले पनि प्रस्ताव पठाएको छ । जोसँग कुरा मिल्छ, त्योसँग गठबन्धन गरौंला ।

० तपाइँहरू एउटै मागपत्र सरकारलाई कतिपटक बुझाउने हो ?

— यो स्वाभाविक हो । कर्मकाण्डी हिसाव–किताबले गोलचक्करमा यो देश नै फँसिसकेको छ । त्यसमा हामी पनि फँसेका छौं । पचासौंवटा सरकार बन्यो, जनताले के पाए ? देश कहाँ पुग्यो ? अलि अर्कै ढंगले विश्लेषण गर्न आवश्यक छ । अहिले बजेट चलिरहेको छ संसदमा । बजेट बनाउने ७० वर्षदेखि संसदमा अभ्यास चलिरहेको छ । १५ वटा पञ्चवर्षीय योजना बनाइसक्यो, देशले कोल्टो फे¥यो त ? जब नेपालमा योजनाबद्ध विकासको प्रारम्भ भएको थियो, त्यतिबेला अमेरिका र युरोपबाहेक कतिपय देशलाई त्यसको बारे थाहा पनि थिएन । तर ती देशहरू अहिले कहाँ पुगे, समृद्ध राष्ट्र भइसके । नेपाल कहाँ पुग्यो ? नारामा सुखी नेपाली समृद्ध नेपाल, अनि दुःखी नेपाली विपन्न नेपाल भएर बाँच्नुपर्ने । यो देशमा विभिन्न परिवर्तनहरू भयो, सात वटा संविधान आइसक्यो तर जनताले के पाइरहेका छन् ? दुनियाँको कंगाल, गरिब देशको दर्जामा नेपाल पुगिसकेको छ । पचासौं लाख युवाहरू रोजीरोटीका लागि विदेशिनुपर्ने, यही हो शासन र सरकार ? यो समस्या हो देशको । आज नेपाली जनतालाई त्यसको समाधान चाहियो ।

यसको मुख्य कारण नेपाल देश नै बनेन । विकास, समृद्धि, अधिकार र पहिचानका लागि देश त बन्नुप¥यो नि । नेपाल नेशन बिल्डिङ्ग प्रोसेसमै छ । नेपाल तब नेपाल बन्छ जब सबै नेपालीको नेपाल बन्छ । हिमाल, पहाड, तराई–मधेशमा बस्ने सबै वर्ग, जाति, समुदाय, धर्मका नेपालीको जब नेपाल बन्छ, तब नेपाल हुन्छ । नेपाल त सबै नेपालीका लागि बन्दै बनेन । जुन कुरा सम्झेर नेपालको एकीकरण भएको थियो, त्यही कुरालाई यहाँका शासकले बिर्से । यहाँ बाइसे, चौबीसे साना–साना राज्यहरू थिए, ती सबैलाई राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर नेपाल बनाए । हामीले पनि पहिचान पायौं, नेपाली भयौं, सम्पूर्ण नेपालका लागि गौरवको विषय हो । त्यतिबेला पृथ्वीनारायण शाहले एउटा कुरा भनेका थिए, ‘नेपाल साझा फूलबारी हो’ । कुनै एउटा जाति, वर्ग, समुदायको यो देश होइन, सबैको देश हो, साँझा फूलबारी हो । तर साझा फूलबारी बनाइएन ।

बहुलता र विविधताले भरिएको देशमा बसोबास गर्ने सबै नेपाली हुन् । देश भनेको भूगोल मात्रै होइन नि । जनता र जमीन दुइटै मिलेर देश बन्छ । यहाँ माटो र मन मिलेकै छैन, मिलाइएन । यहाँको माटो नेपालको भयो र यहाँ बस्ने जनता नेपाली भएन । अनि नेपाल कसरी बन्छ त ? बहुल राष्ट्रिय राज्य भएको देशमा एकल जातीय, नश्लीय चिन्तनको तहत शासन चलाइयो । औपनिवेशिक चिन्तन, सोचबाट प्रेरित भएर शासन चलाइयो । नेपाल कहिल्यै पनि बाह्य उपनिवेशको शिकार भएन तर आन्तरिक उपनिवेशको शिकार भए । यहाँका शासकवर्ग औपनिवेशिक चिन्तन र सोचबाट प्रभावित भएर शासन गरे । मधेशी, थारू, पहाडका दलित, जनजातिलाई उपनिवेश बनाइयो । नेपालमा सातवटा संविधान बन्यो । संविधानले जनताको पहिचान, अधिकारको सुनिश्चित गर्छ । सातवटा संविधान बनेर पनि देश समृद्धितिर गएन । नेपालमा कस्तो संविधान बनाइन्छ भने जुन जनताका लागि संविधान बनाइन्छ, त्यहीं जनतालाई गोली ठोकिन्छ ।

त्यसैले शासक सम्भ्रान्तहरूले नेपाली जनतालाई गोलचक्करमा फँसाइएको छ । एकल जातीय चिन्तन सोच बोकेकाहरूले नेपाललाई बर्बाद गरे । सुखी नेपाली समृद्ध नेपाल होइन कि दुःखी नेपाली विपन्न नेपाल बनाएर राखियो । मधेशी–थारूले अधिकार माग्दा जेलमा कोचिदिने । रेशम चौधरीले थारूको अधिकार र पहिचानको कुरा गरेका थिए । जनताबाट निर्वाचित सांसदलाई जेलमा कोचेर राखिएको छ । अस्ति बर्दियामा एउटा किशोरीको गोली हानेर मारिएका छन् । यस्तो देश हो यो । नेपाल सबै नेपालीका लागि बनाउने उपाय गर्नुप¥यो । यसको लागि यो देश बहुल राष्ट्रिय राज्यको रूपमा शासन र संविधान बनाउनुपर्छ ।

यसका लागि जनता नै अब एकजुट हुनुपर्छ । यो देशमा अब राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता हो । अधिकार, पहिचान, सुशासन, समृद्धि चाहने हिमाल, पहाड, तराई–मधेशका सबै जनता मिल्नुपर्छ । एकल शासन चलाउने एक प्रतिशत मात्रै छन्, ९९ प्रतिशत जनता पीडित छन् । सबै एकजुट एकचोटि भएर भिड्नुपर्छ । देशमा राष्ट्रिय मुक्ति क्रान्ति गर्नुपर्छ । अनि मात्र सबै नेपालीको नेपाल निर्माण हुन्छ । प्रकृतिले त नेपाललाई बरदान दिएकै छ । जलस्रोतको दोस्रो ठूलो धनी देश हो नेपाल । ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता छ । यदि ४०/४५ मेगावाट मात्र बिजुली उत्पादन गरेर बेचेको भए देश स्वर्ग हुन्थ्यो । पर्यटनको पनि अपार सम्भावना छ ।

० लोसपा पनि देउवा सरकारमा जान लागेको हो ?

— त्यस्तो कुनै कुरा भएको छैन । यो हल्लाको देश हो । सरकारमा गए पनि केही हुँदैन । सरकार हाम्रो एजेण्डा नै होइन । कुनै प्रस्ताव पनि आएको छैन । प्रस्ताव आएपछि पार्टीले सोच्ने हो । 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ