मधेशको राजनीति अझै अपरिपक्व : मो.खालिद

अन्तर्वार्ता

मो.खालिद सिद्धिकी, राष्ट्रियसभा सदस्य, जनता समाजवादी पार्टी नेपाल

० जनता समाजवादी पार्टी नेपाल फेरि विभाजन हुन लागेको हो ?

— जसपा विभाजन हुन लागेका कुरा सञ्चार माध्यममा आउनु दुःखद हो । स्थानीय निर्वाचन अघि पनि यस्ता हल्ला–खल्ला चलेको थियो । हस्ताक्षर अभियान, गुट–उपगुटका कुराहरू बाहिर आएकै थियो । तर जब हामी पार्टीभित्र कुरा गर्दा त्यस्तो खालको विवादै थिएन । जसपा एउटा प्रजातान्त्रिक पार्टी हो । यसभित्र वैचारिक भिन्नता, वादविवाद र विचारको आदान–प्रदान, छलफल र बहस हुनु सामान्य हो । यो प्रजातन्त्रको सौन्दर्य पनि हो । विचारको विविधताका कारण पार्टी नै फुट्छ भन्ने दृष्टिकोणले हेर्नु हुँदैन । तसर्थ, जसपाको बारेमा जे जे कुरा बाहिर आएको छ, ती सबै गलत र अफवाह मात्र हुन् ।

० अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच दूरी बढिरहेको भन्ने कुराहरू बाहिरी हल्ला मात्रै हो ?

— पार्टी विभाजनको कुरा पक्कै पनि निराधार हो । कार्यशैली, व्यवस्थापन लगायतका विषयमा मतभिन्नता सबै पार्टीमा छन् । मधेशको पार्टीहरूमा अलिकति विवाद वा विचारको बहस हुँदा सञ्चारमाध्यमहरूले अलि बढी नै बढाई–चढाई प्रस्तुत गर्छन् । तर वास्तविकता त्यस्तो हुँदैन । वैचारिक विविधतालाई हामीले स्वीकार्नुपर्छ । वैचारिक विविधतालाई पार्टी विभाजनसँग जोडेर हेर्नु हुँदैन ।

० तर खासगरी मधेशी दलहरूमा यस्तै–यस्तै विवाद वा वैचारिक विविधताकै कारण विभाजनको ताजा उदाहरण छ । त्यसकारण अहिलेको विवादका कारण फेरि विभाजन नहोला कसरी भन्न सकिन्छ ?

— यो कुरा त ठूला पार्टीहरू कांग्रेस, एमालेको बारेमा पनि भन्न सकिँदैन । नेपालमा अहिलेसम्म कुनै पनि पार्टी छैन जुन विभाजन भएको छैन । अवश्य पनि मधेशी पार्टीहरू अलि बढी विभाजन भएका छन् । यो धेरै नै दुःखद कुरो हो । जुन पार्टी जनताको अधिकार, परिवर्तन र देशलाई अग्रगामी दिशा दिने उद्देश्यका साथ स्थापना भएको छ, त्यसमा साना–तिना कुरालाई लिएर विभाजनतिर उन्मुख हुन्छ त्यो अत्यन्तै दुखद् कुरा हो । यसबाट मधेशी जनता, कार्यकर्ता पनि धेरै निराश भएका छन् । यस्तो नहुनु पर्ने, नेताहरूले बुझ्नुपर्ने, एक–अर्कालाई स्वीकार गर्ने र आपसमा क्षमताको वृद्धि गर्नुपर्ने आवश्यकता छ ।

० भनेपछि, जसपाभित्र विवाद छ नि ?

— एउटा दलभित्र भिन्न–भिन्न विचार र मतभिन्नता हुनु राजनीतिक जीवनको एउटा अंग हो । विवाद त सधैं रहन्छ ।

० जसपाको बैठक हुन सकिरहेको छैन, विधान सम्मेलन स्थगित भयो, बहुमत पु¥याउने खेल भइरहेको छ भन्ने कुराहरू आइरहेको छ नि ?

— हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, अहिले संसद चलिरहेको छ । जसपा गठबन्धनको घटक रहेकोले पनि हाम्रा केही दायित्वहरू छन् । अब चाँडै नै विधान अधिवेशनको घोषणा हुन्छ र बैठक पनि बस्छ ।

० अहिले अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टीसँग एकताको कुरा गर्नुभएको छ, यसबारे पार्टीभित्र पनि छलफल भइरहेको छ त ?

— मधेशी शक्तिहरू एक हुनुपर्छ भन्ने आवाज उपेन्द्र यादवको मात्रै होइन, सम्पूर्ण मधेशी जनताको हो । मधेशका जुनसुकै शक्ति भएपनि सबैबीच एकीकरण हुनुपर्छ भन्ने मधेशी जनताको चाहना हो । यो चाहना पूरा हुनैपर्छ । मधेशी शक्तिहरू जसपा, लोसपा लगायत सबै एक ठाउँमा यदि आइदियो भने मधेशी जनता, कार्यकर्तामा एउटा उत्साह सिर्जना हुन्छ । होइन भने हाम्रो मुद्दा अहिले ओरालोतिर लागेको छ । २–३ प्रतिशत मत ल्याउने दलको आवाज यहाँ कसले सुन्छ ? हामीले आफ्नो अभिमत गुमाइरहेका छौं, यो यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ । त्यसकारण एकताको कुरा उपेन्द्र यादवको मात्र नभएर सबै मधेशी जनताको आवाज हो । लोसपाका नेताहरूको पनि आन्तरिक चाहना पनि यही होला । सबै एक भएर अगाडि बढौं र मधेशको मुक्तिका लागि संयुक्त रूपमा संघर्ष गरौं ।

० तर, जब–जब उपेन्द्र यादवजी संकटमा पर्नुहुन्छ वा पार्टी विभाजनको संघारमा पुग्छ अनि उहाँ एकताको कुरा गर्नुहुन्छ भन्ने आरोप लोसपाका शीर्ष नेताहरूको आरोप छ नि ?

— सबै जना एक ठाउँमा बस्नुहुन्छ भने यो आरोप हराउँछ । अहिले एक–आपसमा सम्वाद भएको छैन । सम्वादहीनताको कारणले पनि यस्ता कुराहरू आइरहेका हुन्छन् । सम्वादहीनताको अवस्थामा वैमन्स्यता, मनमुटाव हुन्छ र हामी मधेशीको चरित्र पनि यस्तै छ । यदि हामी सबै एक ठाउँमा बस्यौं भने धेरै कुरा स्पष्ट हुन्छ ।

० उपेन्द्र यादवले औपचारिक वा अनौपचारिक सम्वाद थाल्नुभएको छैन तर लोकप्रियताका लागि मात्रै यस्तो अभिव्यक्ति दिनुभएको देखिन्छ नि ?

—नेताहरू उपेन्द्र यादव वा महन्थ ठाकुर र राजेन्द्र महतोबीच सम्वाद भएको भए राम्रो हुन्थ्यो । यदि उपेन्द्र यादव वास्तवमै एकता चाहिरहनुभएको छ भने सम्वादको थाल्नु गर्नुपर्छ । सम्वाद भएपछि मात्रै कुनै निष्कर्षमा पुगिन्छ । मधेशी शक्तिबीच दूरी बढ्नु मधेशी जनताको चाहनाविपरीत हो । जनताको चाहना हो कि उपेन्द्र यादव र महन्थ ठाकुर मात्रै होइन, हृदयेश त्रिपाठी, डा.सीके राउत लगायत सबै एक ठाउँमा आओस् ।

० मधेशी जनताको चाहनाअनुसार नेताहरूले आजसम्म कहिल्यै हिंड्नुभएको देखिएन नि ?

— हामी अहिलेसम्म राजनीतिमा त्यति परिपक्व भएकै छैनौं । मधेशको राजनीतिमा अहिलेसम्म परिपक्वता आएको छैन । मधेशका शक्तिहरू मुद्दामा इमान्दार छैन भनेर भन्दिँन, पक्कै पनि इमान्दार छौं । किनभने हाम्रा नेताहरू ठूला–ठूला पार्टी र अवसरहरू छोडेर आएका हुन् । हैसियत भएका नेताहरू हुन् । तर व्यावहारिकरूपमा, व्यवस्थापन पक्षमा हामी कहीं न कहीं कमजोर देखिएका छौं । एक–अर्काको अस्तित्वलाई हामीले स्वीकार गर्न सकिरहेका छैनौं । कम्तीमा मधेशका मुद्दाहरू सम्बोधन नभएसम्म हामी एक ठाउँमा बसौं न ।

० जसपा गठबन्धन सरकारमा गएको ६ महिनाभन्दा बढी भइसक्यो, तर मधेशका माग र मुद्दा सम्बोधनका के–के ग¥यो त ?

— हामी अहिले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी भएका छौं । हामीले आफ्नो यो सरकार सामु नराखेको होइन । नागरिकता समस्या समाधानका लागि हामीले सरकारभित्र आवाज उठाइरहेकै छौं । ओलीको सरकारले जसरी देशमा निरंकुशता लाद्न खोजेको थियो त्यसलाई यो गठबन्धनले रोकेको छ । यो गठबन्धन नभइदिएको भए हामी यति आन्दोलन गरेर जुन व्यवस्था ल्याएका छौं, त्यसलाई समाप्त पार्ने षड्यन्त्र भएको थियो । त्यसकारण, यो सरकारको एउटा प्रमुख दायित्व पनि थियो कि आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने ।

० तर यो सरकारले कुनै पनि मुद्दा सम्बोधन गर्नेतर्फ अग्रसर देखिएको छैन नि ?

— सरकार र संसद दुवैमा पार्टीले आवाज उठाइरहेको छ र गठबन्धनमा पनि कुरा उठिरहेकै छ । आगामी आर्थिक वर्षको बजेटकै कुरा गर्ने हो भने संघीयतालाई बलियो बनाउने नीति कार्यक्रमहरू छन् । यो बजेटमा मधेशका लागि धेरै कुराहरू छुट्याइएको छ । हामीले आफ्नो अधिकार प्राप्तिका लागि सडक, सदन र सरकारमा संघर्ष गर्नुपर्छ । लामो समयसम्म एमालेले संसद नै चल्न दिएको थिएन । लामो समयपछि संसद सुचारू भएको छ ।

० यो सरकारले गर्ने नियुक्तिहरू पनि समानुपातिक समावेशी हुँदैन । तपाइँहरू केही बोल्नुभएको छैन ?

— समानुपातिक समावेशी हाम्रो मूल मुद्दा हो । यो लागू गराउन हामीले प्रयास गरेकै हौं । यसको प्रत्यक्ष उदाहरण म आफै छु । पछिल्लो राष्ट्रियसभामा एक जना पनि मुस्लिमको प्रतिनिधित्व थिएन । जसपाले समानुपातिक समावेशिताको सिद्धान्तअनुसार मलाई पठाएको छ । अहिले पनि मधेशीसँग विभेद भइरहेकै छ, यसमा दुईमत छैन । यो लडाइँमा हामी अवश्य नै कमजोर भएका छौं । त्यो कमजोरीलाई शक्तिमा परिवर्तन गर्न हामी सम्पूर्ण मधेशी शक्तिहरू एक ठाउँमा आउनै पर्छ ।

० आगामी चुनावमा जसपा र लोसपाबीच एकता वा सहकार्य हुनसक्छ ?

— आशा गरौं र सकारात्मक सोच राखौं । नकारात्मक कुरा गर्दा नकारात्मक सन्देश जान्छ । यदि हामी सकारात्मक सोचका मान्छे छौं भने सबै अस्तित्वलाई स्वीकार गर्ने मनस्थिति बनाउनुपर्छ । हामीले छात्ती चौडा गरेर एक–अर्कालाई स्वीकार गर्नैपर्छ । एक–अर्काको अस्तित्व स्वीकार गर्ने बानी हामीमा आइदियौं भने अवश्य नै हामी यो देशको वैकल्पिक शक्ति बन्न सक्छौं । राज्यसत्ता चलाउने क्षमता हामीसँग छ तर व्यक्तिगत अहंकारले गर्दा हामी असफल हुँदै आएका छौं ।

० तपाइँहरू पाँच दलीय गठबन्धनमा पनि हुनुहुन्छ, लोसपासँग कसरी गठबन्धन हुनसक्छ ?

— हाम्रो लागि मधेश, मधेशी, मधेशका मुद्दा, आदिवासी जनजाति, दलितहरूका मुद्दा प्राथमिकता राख्छ । बाँकी तपशीलका कुराहरू हुन् ।

० तपाइँ जमियत उलमाय नेपालका राष्ट्रिय अध्यक्ष पनि हुनुहुन्छ, के हो यो ?

— जमियत उलमाय नेपालको स्थापना १४–१५ वर्ष पहिले भएको थियो । यसको मूल उद्देश्य भनेको नेपाली मुस्लिमका समस्या समाधान गर्ने, जीवनस्तर उकास्ने र शिक्षाको स्तरमा वृद्धि गर्ने रहेको छ । नेपाली मुस्लिमको जीवनस्तर उकास्न र सँगसँगै मधेशको अधिकार प्राप्ति आन्दोलनमा यसले आफ्नो भूमिका खेलेको हो । अहिले पनि हामी मुस्लिम लगायत मधेशी, आदिवासी जनजातिका लागि आवाज पनि उठाइरहेको छौं । साथसाथै, हामीले जातजाति, समुदाय, वर्ग नहेरि मानव सेवाको भावले हामी काम गरिरहेका छौं ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ