लोसपामा पैसाको बोलबाला : रम्भा मिश्रा

अन्तर्वार्ता

रम्भा मिश्रा, नेतृ

० २०७४ सालको स्थानीय चुनावमा तत्कालीन राजपाबाट वीरगञ्ज महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनुभएको थियो । यसपालि पनि स्वतन्त्रमा उपमेयर पदमा उम्मेदवार दिनुभएको थियो । पार्टीबाट टिकट किन पाउनुभएन ?

— यो एउटा विडम्बना नै भन्नुपर्छ । यो मेरो लागि दुर्भाग्य हो । पाँच वर्षसम्म मैले तयारी गरेको थिएँ । पाँच वर्षमा मैले कहिल्यै पनि सांसद्को तयारी गर्दै छु भनेर भनेकी थिइनँ । मेरो फोकस उपमेयरकै लागि थियो र तयारी गरिरहेको थिएँ । वीरगञ्ज महानगरको लागि नै मेरो तयारी थियो । मैले वीरगञ्जवासीका हरेक किसिमका समस्या बुझ्ने काम गरे । भौतिक संरक्षण, नदी नियन्त्रण, सडक, नालादेखि लिएर मानवीय चेतना जुडेका कुरासम्म बुझ्ने काम गरे । मैले वृहत् रूपमा तयारी गरिरहेको थिएँ । यस पाँच वर्षमा मैल उपमेयरले गर्ने काम, कर्तव्य र अधिकारका कुराहरूको विषयमा पनि जानकारी लिँदै आएको थिएँ । वृहत् रूपमा अध्ययन नै गरेको थिएँ । मैले त्यति तयारी गर्दासमेत मेरो पार्टी (लोसपा)ले मेरो मूल्याङ्न गरेन । त्यसकारण मैले स्वतन्त्रमा उम्मेदवारी दिएँ ।

० तपाईँले स्वतन्त्र उम्मेदवारी दिनुभयो । तर, तपाईँले पाँच वर्षमा गरेको मिहिनेतअनुसारको मत आएन । किन होला ?

— वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडा छन् । ३२ मध्ये १६ वटा वडा शहरमा छन् । ग्रामीण क्षेत्रका वडामा शिक्षाको कमी छ । मलाई उहाँहरूले भोट त गर्नुभएको छ । तर तपाईलाई आश्चर्य लाग्न सक्छ । वीरगञ्ज महानगरपालिकामा करिब ५५ प्रतिशत मत बदर भएको छ । त्यो मत दिन नजानेर भएको हो । उपमेयरमा किन यतिको मत बदर भयो ? दिन खोजियो । तर, कुनैमा छाप र कुनैमा ल्याप्चे लगाइएको छ । जसले गर्दा मत बदर भयो । मानिसले जानेर होइन नजानेर यसो गरेका हुन् । काठमाडौँको कुरा गर्ने हो भने यहाँका मतदाताहरू सजग छन् । सुशिक्षित छन् । त्यसैले गर्दा आज बालेन साहले यतिको मत ल्याउनुभयो । तर, वीरगञ्ज महानगरको अवस्था अलि फरक छ । मैले मत चाहिँ ल्याएको छु । पढेलेखेका मानिसले दिएको भोट मलाई आएको छ ।

० बदर भएको मत तपाईँलाई नै आउने बाला थियो ?

— आउन पनि सक्थ्यो होला । किन भने त्यसको ५० देखि ६० प्रतिशत मेरो हकमा होला, यदि राम्रोसँग गणना गर्ने हो भने । गणनामा पनि अलि फरक भएको छ । मुख्य निर्वाचन अधिकृतले वाचन गरेर नै सुनाउनु भएको थियो । त्यसको हार्ड कपि पनि हामीलाई दिनुभएको छ । तर, त्यहाँ लेखिएको बुँदा बमोजिम मतगणना भएको छैन ।

० तपाईँ आफ्नो पार्टी लोसपाबाट टिकट पाएको भए जित्नुहुन्थ्यो ?

— मेरो जित सुनिश्चित थियो । मैले भन्ने कुरा होइन । वीरगञ्जको कुनै सर्वसाधारणसँग सोध्दा हुन्छ ।

० पार्टीले किन टिकट दिएन ?

— यसको उत्तर म दिन सक्दिनँ । यसको उत्तर सम्बन्धित मानिसले नै दिन सक्छन् । पार्टीले केही घण्टाअघिसम्म टिकट निश्चित छ भनेर भनेको थियो । तर, अन्तिम समयमा लिएको निर्णयको परिणाम उहाँहरूले भोग्दै छन् । यसमा मैले अगाडि भन्नुपर्ने केही छैन ।

० गठबन्धन अघि नै टिकट पाउने आश थियो ?

— गठबन्धनसँग मेरो केही सरोकार छैन । गठबन्धन भयो त्यसमा केही आपत्ति छैन । तर, गठबन्धनको उम्मेदवार उपयुक्त थिएन । जसले पाँच वर्ष संगठन बनायो । जो सक्रिय थियो । जसलाई जनताले रूचाएका थिए । जसलाई जनताले मन पराएका थिए । उसलाई उपयुक्त उम्मेदवार भन्ने कि ६ महिना पहिला ६ वटा पार्टी बदलेर आएका व्यक्तिलाई उपयुक्त भन्ने ? पार्टीको विडम्बना हो । त्यस्तो मानिसलाई छानियो, जो पाँच वर्ष कहीँ देखिएको थिएन । आउने बित्तिकै उसलाई जिल्ला अध्यक्ष पनि चाहिने । मेयर पनि उसैलाई चाहिने । मेयरको कारणले गर्दा एक जना उपयुक्त उम्मेदवार राजेशमान सिंह अर्को पार्टीमा गएर जित्नु भएको छ । उहाँसमेत यो पार्टी परित्याग गर्नुप¥यो । मैले आशा गरेको थिएँ । तर, गठबन्धनको नाममा जसरी नियम कानुन मिचेर पुरूषलाई उम्मेदवार बनाइयो । पुरूषमै पनि अन्य राम्रा व्यक्ति लोसपामा हुँदाहुँदै उनीहरूलाई टिकट दिइएन ।

० तपाईँको भनाइ अनुसार डिजर्भिङ उम्मेदवारलाई किन टिकट नदिइएको होला त ?

— मैले आँखाले देखेको चाहिँ केही छैन । तर, विगतमा पनि यस्तो देखिएको छ । नातावाद कृपावाद पार्टीहरूमा हाबी हुने गरेको छ । तर, मैले नदेखेको कुरामा केही भन्न सक्दिनँ ।

० तपाईँले लोसपा पूर्ण रूपमा त्याग गरिसक्नुभएको हो ?

— लोसपाबाट राजीनामा दिएको छैन । लोसपाले ममाथि कारबाही गरेको छैन । म अहिले न्यूट्रल छु । म लोसपामा छ पनि छैन पनि ।

० अब राजनीतिक यात्रा कसरी अगाडि बढाउनुहुन्छ ?

— राजनीति एक पटक सुरूवात गरिसकेपछि नशा जस्तो हुँदो रहेछ । थपक्क लगाएर घर पनि बस्न सकिँदैन । अहिले न्यूट्रल छु । सामाजिक कार्यहरू गरिरहेको छु । जनताकोबीचमा गइरहेको छु । जनताले मलाई माया गरिरहेका छन् । उहाँहरूले पनि अब तपाईँ के गर्नुहुन्छ भनेर सोधिरहनुभएको छ । उहाँहरूले तपाईँ जहाँ जानुहुन्छ त्यहाँ हामी जान्छौँ भनेर भनिरहेका छन् । मैले जुन दलमा सदस्यता लिएको थिएँ, त्यसलाई नै निरन्तरता दिँदै आएको थिएँ । मेरो लागि पार्टी परिवर्तन गर्नु ठूलो इस्यू हो । धेरैका लागि ठूलो इस्यू हुँदैन । आज यो पार्टीमा भोलि यो पार्टीमा नेताहरू जान्छन् । तर, मेरो लागि यो ठूलो इस्यू हो । म सोचबिचार गरेर अगाडि बढ्छु । म साथीभाइ, समर्थक र घरपरिवारको सबैको सुझावअनुसार नै कुनै निर्णय लिन्छु ।

० तपाईँ अर्को पार्टीमा जान लागेको चर्चा पनि चलिरहेको छ नि ?

— चर्चा गर्नेले चर्चा गरिरहन्छ । अर्को पार्टीमा गइरहेकै छु भन्ने कुरा मलाई नै थाहा छैन । मैले भनिहालेँ म अहिले न्यूट्रल छु ।

० स्वतन्त्र रूपमे जाने त होइन ?

— म अहिले स्वतन्त्र नै छु । मलाई पार्टीभन्दा पनि रम्भा मिश्रा भनेर चिन्नेहरू छन् । उहाँहरूले मलाई बोलाउनुहुन्छ । बालेन साह पनि स्वतन्त्र हुनुहुन्छ । उहाँको त कुनै पार्टी छैन । मेरो पनि चिनारी छ । रम्भा मिश्रा भनेरै चिनारी छ । त्यहीअनुसार म अहिले काम गरिरहेको छु ।

० पार्टीले आफ्नो निर्णय त्रुटिपूर्ण थियो भनेर स्वीकार गरेको छ ?

— हो । मैले जब उम्मेदवारी दिएँ । त्यतिबेलै पार्टीका नेताहरूबाट फोन आएको थियो । धेरैले यो दिन्छु, त्यो दिन्छु भनेर पनि भने । मैले भने अब विश्वास गर्न सक्ने आधार छैन । किनभने जुन कुरालाई फोकस गरेर यतिका वर्ष तयारी गरेँ, त्यसलाई बिना मेरो कुनै कमी कमजोरीले टिकट दिइएन । विगतमा पनि मैले चुनाव लडेको थिएँ । राम्रो मत ल्याएको थिएँ । आफ्नो तर्फबाट कुनै कमी कमजोरी भएको मलाई लाग्दैन । यति काम गर्दा पनि मूल्याङ्न गर्दैन भने विश्वसनीयता पार्टीले गुमाइसकेको छ । अब म कुनै प्रलोभनमा परेर अगाडि बढ्दिनँ । किनभने मलाई थाहा छ, पार्टीमा पैसाको बोलबाला हुन्छ । आफ्नो नातावाद कृपावादको बोलबाला हुन्छ । त्यसमा म शायद पर्दिनँ । त्यसैले मैले अहिले कुनै निर्णय लिएको छैन । 

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ