मधेशमा पार्टीभित्रै अन्तर्घात भयो : नेता सिंह

अन्तर्वार्ता

रामसिंह यादव, केन्द्रीय सदस्य, नेकपा (माओवादी केन्द्र)

० स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा माओवादी केन्द्रको अवस्थालाई कसरी हेर्नुभएको छ ?

— स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा माओवादी केन्द्रको अवस्था उत्साहजनक नै रहेको छ तर, मधेश प्रदेशमा हामीले त्यति राम्रो परिणाम ल्याउन सकेनौं । विगतको भन्दा यस पटकको चुनावमा हामी अलि खस्केका छौं । यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ । यसका विभिन्न कारणहरू छन् । यसको प्रमुख कारण पार्टीभित्रको अन्तर्विरोध, अन्तर्कलह, नेताहरूले आफ्नो ध्यानलाई चुनावकेन्द्रित गर्न सकेनन् । माओवादी केन्द्रका मधेशका नेताहरू आ–आफैमा विभाजित रहे र चुनावमा त्यति सक्रियपूर्वक भूमिका निर्वाह गर्न सकेनन् । जसले गर्दा स्थानीय चुनावमा मधेशको नतिजा माओवादी केन्द्रको हकमा राम्रो आएको छैन ।

० मधेश प्रदेशबाट माओवादी केन्द्र आफ्नो पकड गुमाउँदैछ ?

— माओवादीले मधेश प्रदेशबाट आफ्नो पकड गुमाउँदैछ भन्ने अर्थमा लिन मिल्दैन । अन्य दलभन्दा पनि माओवादीप्रति जनताको आस्था र विश्वास छ । प्राविधिक कारण, उम्मेद्वार छनौटका कुराहरू, पार्टीभित्र नेताहरूको सन्तुलित व्यवहार नभएकोले अहिले यस्तो नतिजा आएको हो । समग्रमा मधेशमा पार्टी खस्किँदो अवस्थामा छैन । किनकि मधेशी जनताले माओवादीप्रति आशा राखेको छ । माओवादीले नै मधेशी लगायत उत्पीडनमा परेका जनताको मुद्दालाई उठान गरेको छ ।

० अब फेरि प्रदेश र संघको चुनाव आउँदैछ, के–के कुरा सुधार गर्नुपर्ने हो ?

— खासगरी मधेश प्रदेशमा माओवादी केन्द्रलाई अलि कति सुदृढ गर्नुपर्ने छ । पार्टीभित्रका अन्तर्विरोधहरूलाई नेतृत्वले समायोजन गर्नुपर्ने अवस्था छ । नेताहरू आ–आफ्नै हिसावले हिंड्ने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने छ । हाम्रा पार्टीका नेतृत्वपंक्तिमा रहेका नेताहरूले यी कुराहरूलाई ध्यान पु¥याएर दोस्रो तहका नेताहरूलाई सन्तुलित गर्ने, एकआपसमा सामञ्जस्यता ल्याउनुपर्ने स्थितिको सिर्जना गर्नुपर्ने पार्टीलाई चुनौती छ । ती कुराहरूलाई ध्यान पु¥याएर गयो भने आगामी चुनावहरूमा राम्रो परिणाम ल्याउन सकिन्छ । मधेश प्रदेशका जनता आशावादी छन् ।

० भनेपछि, पार्टीभित्रको घातअन्तर्घातका कारण माओवादीले मधेशमा राम्रो परिणाम ल्याउन सकेन ?

— पार्टीभित्रका नेताहरूको एक आपसमा विचार मिलेन, सक्रियरूपले आफ्नो भूमिका निर्वाह गर्न सकेन जसले गर्दा अन्तर्घात भयो भन्न सकिन्छ । पार्टीभित्रको अन्तर्घातकै कारण यस्तो स्थिति आएको हो । यी कुराहरूलाई आगामी चुनावमा ध्यान दिनुपर्ने आवश्यकता छ । पार्टीका नेताहरूले उम्मेद्वार चयन गर्दा विशेष ध्यान पु¥याउनुपर्ने हो ।

० माओवादीका अध्यक्ष प्रचण्ड मधेशमा जाँदा मधेशसँग लभ परेको भन्नुहुन्छ, तर त्यो कुरा व्यवहारमा देखिँदैन नि ?

— अध्यक्ष प्रचण्डले मधेशसँग लभ परेको कुरा भन्नु सार्थक हो । किनभने नेपालले अहिले प्राप्त गरेका उपलब्धिहरू गणतन्त्र, कानूनी राज्य, संघीयता, समानुपातिक समावेशिता छन् । यसले के देखाउँछ भने मधेशीलगायत पिछडिएका, उत्पीडनमा परेका जनताप्रति माओवादी केन्द्रको ठूलो भूमिका रहेको छ । यी उपलब्धिहरू ल्याउन माओवादीकै विशेष भूमिका रहेको छ । यो कुरा जनताले बुझेका छन् । त्यसकारण उपलब्धिहरूलाई हेर्दा समग्र नेपाली जनताप्रति नै माओवादी पार्टीले माया गरेको देखिन्छ ।

० तर, माओवादी एउटा क्रान्तिकारी र परिवर्तनकारी शक्तिको रूपमा आएको थियो । व्यवहारतः कांग्रेस, एमालेभन्दा भिन्न देखिएन नि ?

— अहिले नेकपा माओवादी केन्द्र विभिन्न विचारधाराका पार्टीहरूको गठजोरमा छ । गठबन्धनको सरकारमा माओवादी रहेको छ र यो गठबन्धनको निर्माण एउटा विशेष परिस्थितिवश जन्मिएको हो । यो गठबन्धनले माओवादीको विचार र नीतिअनुसार काम गरेको छैन । त्यसकारणले माओवादी आफ्नो विचार र नीतिअनुसार काम गर्न सक्ने स्थिति छैन । जसले गर्दा त्यस खालका प्रगतिशील योजना र कामहरू नभइरहेको छ । जसबाट जनताले कांग्रेस, एमालेभन्दा माओवादी फरक देखिएन भन्न सकिन्छ । त्यसकारणले जनताले माओवादीप्रति राखेको आशाअनुसार उपलब्धि नभएको हो ।

० माओवादी अध्यक्ष प्रधानमन्त्री हुँदा मधेश/थरूहट आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि जाँचबुझ आयोग बनाएको थियो, त्यसको प्रतिवेदन सार्वजनिकका लागि उहाँको कुनै पहल देखिएको छैन ?

— लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सांसद रेशम लाल चौधरीलाई रिहा गर्नुपर्ने कुरामा माओवादी केन्द्रको फरक मत छैन । मधेश/थरूहट आन्दोलनका क्रममा भएका घटना र लगाइएका मुद्दाहरू राजनीतिक मुद्दा हो । यस विषयमा सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हो । माओवादीले यो राजनीतिक मुद्दा हो, यसलाई समाधान गर्नुपर्छ भन्ने कुरा पटक–पटक राखेकै हो । यो राजनीतिक मुद्दा भएकोले सरकारले एउटा उचित निकास दिने कुरामा माओवादी केन्द्रले चासो देखाएको छ ।

० अहिले पनि माओवादी केन्द्र यो गठबन्धन सरकारको एउटा प्रमुख घटक दल हो, दल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा प्रयास देखिएको छैन नि ?

— लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट छ । किनभने माओवादीकै नेतृत्वमा सरकार हुँदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको थियो । माओवादी नेतृत्वको सरकारले छानबिनका लागि आयोग गठन गर्नुलाई सकारात्मक रूपमा लिऔं । जसले यो समस्याको समाधान होस् भन्ने चाहन्छ, उसले नै आयोग गठन गर्छ । आयोगले आफ्नो रिपोर्ट बुझाइसकेको छ । मैले अघि पनि भने कि यो गठबन्धनको सरकार हो । विभिन्न विचारधाराका पार्टीहरू यसमा सम्मिलित छन्, माओवादीले मात्रै चाहेर यो समस्या समाधान हुँदैन । तर माओवादी निरन्तर प्रयासमा छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ र आयोगको प्रतिवेदनअनुसार कामकारबाही अगाडि बढाउनुपर्ने सरकारको दायित्व हो ।

० भनेपछि, लाल आयोग सार्वजनिक गर्न गठबन्धनका अन्य दलहरू सकारात्मक छैन ?

— गठबन्धन सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेस हो, कांग्रेस पनि बाधक हो जस्तो लाग्दैन । किनभने कांग्रेसका नेताहरू बाहिर बोल्दा सकारात्मक कुरा नै गर्नुहुन्छ । गठबन्धनका अन्य दलहरूले यसलाई प्राथमिकता दिएर अलि छिटो प्रयास गरिदिएको भए हुन्थ्यो । सार्वजनिक गर्ने कुरामा अलिकति ढिलाई देखिएको हो ।

० आगामी चुनावमा माओवादी केन्द्र यही गठबन्धनसँग चुनावमा जानुपर्छ कि वाम गठबन्धनको पक्षमा छ ?

— अहिलेसम्म पार्टीको धारणा भनेको यहीं गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिने । तर मेरो व्यक्तिगत विचार भनेको यो गठबन्धन एकखालको परिस्थितिको आवश्यकता थियो । त्यो कोर्स समाप्त भएको छ । तर अहिले म कम्युनिष्ट पार्टीको एउटा कार्यकर्ताको नाताले त्यो कोर्स समाप्त भएपछि आगामी चुनावमा प्रगतिशील गठबन्धन अर्थात् वाम गठबन्धनको आवश्यकता छ । वाम गठबन्धनले मात्रै यो देशलाई समृद्ध बनाउन सक्छ । यो कुरा नेपाली जनतालाई पनि अनुभूति भएको छ । त्यसकारण अब वाम गठबन्धनको आवश्यकता छ ।

० नेकपा एमाले वा दलसँग वाम गठबन्धन हुनुपर्ने हो ?

— एमालेले गरेका कमी कमजोरीहरूलाई सुधार गरेर जाने प्रतिबद्धता जाहेर ग¥यो भने एमालेसहित अन्य प्रगतिशील पार्टीहरूबीच वाम गठबन्धन हुनसक्छ ।

० तर एमाले अध्यक्ष केपी शर्मा ओलीले कमी कमजोरी तपाइँहरूको तर्फबाट भएको भन्नुहुन्छ, तपाइँहरूमाथि विभिन्न आरोपहरू लगाउनुहुन्छ नि ?

— आफूले गरेको कमी कमजोरीलाई स्वीकार गर्नुपर्ने स्थितिमा एमाले गइसकेको छ । किनकि एमालेका शीर्ष नेताहरूको भनाइ र गराइलाई हामीले महसुस गरिरहेका छौं कि गल्ती त दुवै पक्षबाट हुन्छ । वाम गठबन्धन हुँदा गत निर्वाचनमा करिब दुई तिहाइको मतको संघमा सरकार, ६ प्रदेशमा सरकार बनेको थियो । पछि हामीले नेकपा नै निर्माण गरेका थियौं । नेपाली जनताले कम्युनिष्टलाई विश्वास गरेका थिए । तर, नेताहरू सहिष्णु भएनन् । ‘आफ्नो गोरूको बाह्रै टक्का’ भन्नेझैं एक आपसमा विवाद गरे, टुक्रा–टुक्रामा विभाजित भए । कम्युनिष्टहरू कमजोर भएका छन् । यसमा प्रमुखरूपले गल्ती भन्ने हो नेतृत्वको हो र त्यतिखेरको नेतृत्व एमालेले गरेको थियो । ती कुराहरूमा एमालेले सच्याउने हो भने त्यतिखेरको अभिभावकत्व एमालेकै थियो । अभिभावकले अलिकति नरमपना नदेखाएकोले कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहो¥यो । त्यसलाई समीक्षा गरेर आगामी चुनावमा वाम गठबन्धन गरियो भने फेरि जनताले विश्वास गर्नेछन् । आमजनता, शुभचिन्तक र कार्यकर्ताहरूको धारणा पनि यही रहेको छ ।

० अर्कोतिर माधव नेपाल, बाबुराम–उपेन्द्र र प्रचण्ड नेतृत्वसहितको समाजवादी केन्द्रको पनि चर्चा चलिरहेको छ नि ?

— यो बाहिरी चर्चा होला, अहिले आधिकारिकरूपले पार्टीभित्र त्यस्ता कुराहरू आइसकेको छैन । त्यस्तो आएको खण्डमा समाजवादी केन्द्र बनाउनु उचित नै होला । किनभने माओवादी आफैमा एउटा प्रगतिशील पार्टी हो । मधेशवादीभित्र उपेन्द्र यादवको पार्टी पनि एउटा आन्दोलनबाट आएको पार्टी हो । माधव नेपालजी पनि कम्युनिष्ट आन्दोलनकै नेता हुनुहुन्छ । त्यसकारणले यी सबै प्रगतिशील विचारधारा कै नेताहरू हुनुहुन्छ । समय–बेलामा यता–उता चिप्लेको होला । तर समग्रमा हेर्दा कम्याुनिष्ट आन्दोलनमा उहाँहरूको अहम् भूमिका रहेकोले सबै एक ठाउँमा आयो भने सकारात्मक हुन्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ