भारतीयले नागरिकता पाउँछन् भन्ने कम्युनिष्टको ‘प्रोपागण्डा’ : मन्त्री सिंह

अन्तर्वार्ता

वीरेन्द्र प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री, मधेश प्रदेश

० मधेश प्रदेशका मुख्यमन्त्रीसहितको टोली स्वीट्जरल्याण्ड भ्रमणमा किन जाने लागेको हो ?

— स्वीट्जरल्याण्डमा रहेको संघीय प्रणालीको अवलोकनका लागि मधेश प्रदेश सरकारलाई त्यहाँबाट निमन्त्रणा आएको छ । त्यो निमन्त्रणालाई स्वीकार गरी त्यहाँ जाने प्रक्रियामा छौं । अहिलेसम्म जाने वा नजाने स्पष्ट भइसकेको छैन । मधेश प्रदेशको मन्त्रिपरिषद्ले स्वीट्जरल्याण्ड जाने निर्णय गरिसकेको छ । स्वीट्जरल्याण्डको संघीयता कार्यान्वयनको मोडल कस्तो छ, त्यसको अध्ययनका लागि जान मधेश सरकारको टोली जाने कार्यक्रम बनाएको छ ।

० तपाइँहरुको कार्यकालको अन्तिम समयमा संघीयताको मोडल अध्ययन गर्ने भनेर स्वीट्जरल्याण्ड जाने कतिको उपयुक्त हो ?

— हामी राजनीतिज्ञ हौं । मधेश प्रदेशसभामा रहेका सबै दलबाट प्रतिनिधित्व हुने गरी सर्वदलीय भ्रमण टोली बनाइएको छ । आगामी चुनावबाट अहिले भएकै दलहरुबाट सरकार निर्माण हुनेछ । भोलीका दिनमा संघीयता कार्यान्वयनका पक्षहरु, संघीयतालाई बलियो कसरी बनाउने त्यसको बारेमा अध्ययन गर्न आवश्यक ठानेर हामीले भ्रमण गर्ने कार्यक्रम अगाडि सारेका छौं । त्यहाँको संघीयता कुन मोडलमा सञ्चालन भएको छ, त्यो मोडल नेपालका लागि उपयुक्त हुन्छ कि हुन्न, ती कुराहरुको जानकारी लिन जानु औचित्यपूर्ण नै हो ।

० नेपालमा अहिले संघीयता कार्यान्वयनकै चरणमा छ, तर मधेश प्रदेश सबभन्दा बढी आलोचित भइरहेको छ नि ?

— हामीसँग विभिन्न अनुभव, जनशक्ति, साधनस्रोत, पूर्वाधारको कमी छ । त्यसका बाबजुद पनि संघीयता कार्यान्वयनको पक्षमा मधेश प्रदेश सरकार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसलाई केही पनि गरेन भन्न मिल्दैन । संघीयता कार्यान्वयनको चरणमा अन्य प्रदेशभन्दा बढी मधेश प्रदेश सरकारले विभिन्न ऐन कानूनहरु निर्माण गरिसकेको छ । भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्नका लागि जनलोकपाल बनाइएको छ । प्रदेश प्रहरीका लागि हामीले एक वर्ष अगाडि नै ऐन बनाइसकेका छौं । प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाइसकेका छौं । प्रदेशको प्रशासनिक स्थायी संरचना निर्माणका लागि जग्गाको स्वामित्व हस्तान्तरणका लागि प्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेताहरुसँग लिखित रुपमै आग्रह गरेका छौं । जनशक्ति र स्रोतको अभावका कारण हामीले सोचेजति गति लिएको अवस्था छैन । तर संघीयता कार्यान्वयनको पक्षमा अन्य प्रदेशभन्दा मधेश प्रदेश अगाडि छ ।

० भ्रष्टाचार, अनियमिततामा पनि त मधेश प्रदेश सरकार सबभन्दा अगाडि रहेको गुनासोहरु छन् नि ?

— भ्रष्टाचारको आरोप त जसले पनि लगाउन सक्छन् । अहिलेसम्म मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार कहीं पनि पुष्टि भएको छैन ।

० अख्तियारमा भ्रष्टाचारका फाइलहरु छन् ?

— ठिक छ, अख्तियारमा फाइलहरु गएको छ । मुख्यमन्त्री कार्यालयको कुरा छ, एक वर्ष हुन थाल्यो तर अख्तियारले अहिलेसम्म पनि प्रमाणित गर्न सकेको छैन । संघीयता, मधेश प्रदेश र सरकारलाई बदनाम गर्ने नियत पनि भ्रष्टाचारको आरोप लगाएको हुन सक्छ । यदि त्यसमा सत्यता हुन्छ भने त्यसलाई कानूनको दायरामा ल्याएर कानूनी कारबाही हुन्छ ।

० संघीय सरकारले नै संघीयतालाई सफल कार्यान्वयन हुन दिइरहेको छैन भन्ने गुनासो मुख्यमन्त्रीदेखि मन्त्रीहरुको छ । अहिले प्रदेश र संघमा गठबन्धनको सरकार छ, यसको दोषी को ?

— संविधानले दिएको अधिकारबाट संघीय सरकारले वञ्चित गर्नु हुँदैन भन्ने मानसिकताको विकास हुन जरुरी छ । हाम्रो संविधानले परिकल्पना गरेअनुसार अहिलेसम्म संघीय सरकारले जुन अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने हो, त्योअनुरुप अधिकार दिएको छैन । पहिलाकै सरकारको संघीयताविरोधी जुन गतिविधि थियो, जसले गर्दा ढिलाई भएको हो ।

० कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको पनि एक वर्ष भयो, प्रदेश र स्थानीय तहलाई संविधानअनुरुपको अधिकार हस्तान्तरण गर्न खोई पहल पनि भएको त ?

— प्रदेश र स्थानीय तहलाई संविधानअनुरुपको अधिकार हस्तान्तरणका लागि मधेश प्रदेश सरकारको टोलीले प्रधानमन्त्रीलगायत गठबन्धनका शीर्ष नेताहरुसँग छलफल र भेटघाट गरेको छ । उहाँहरु एकदम सकारात्मक हुनुहुन्छ । गठबन्धनकै सरकारले देशभरि एकै चरणमा स्थानीय तहको चुनाव सम्पन्न गरेको छ । आउँदो मंसिरमा प्रादेशिक र संघीय चुनावको तयारीमा छ । प्रदेश प्रहरी, प्रदेश सरकारको स्थायी संरचना, निजगढ विमानस्थल निर्माण लगायतको विषयमा मधेश प्रदेश सरकारले एउटा डेलिगेशन दिएको छ । त्यसमा प्रधानमन्त्रीज्यू एकदम सकारात्मक देखिनुभएको छ । आगामी चुनाव अगावै ती प्रक्रियाहरु सुरु हुने प्रधानमन्त्रीज्यूले प्रतिक्रिया दिनुभएको छ ।

० प्रदेश सरकारको स्थायी संरचना निर्माण जनकपुर चुरोट कारखानामै बनाउने हो ?

— अहिलेसम्म हामीले तीन ठाउँमा स्थायी संरचना निर्माणका लागि सुझाव दिएका छौं । जचुकालि, जिल्ला प्रशासनको छेउमा रहेको गुठीको जग्गा र अहिले प्रदेशसभा रहेको ठाउँलाई प्रदेश सरकारले प्रस्ताव सारेको छ ।

० प्रदेश सरकार आफ्नो कार्यकालको अन्तिम समयमा छ, यही कार्यकालमा प्रदेशले आफ्नो प्रहरी पाउँछ ?

— यस विषयमा प्रधानमन्त्रीज्यू सकारात्मक देखिनुभयो । प्रदेश प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा छ । सम्भव भयो भने चुनाव अगाडि नै प्रहरी समायोजन गर्छौं भन्ने कुरा आश्वासन दिनुभएको छ ।

० स्थानीय तहको चुनावमा मधेश प्रदेशमा नेपाली कांग्रेसको बढोत्तरी भएको छ, आगामी प्रदेश र संघको चुनावमा कस्तो परिणामको अपेक्षा छ ?

— मधेश नेपाली कांग्रेसको उर्वर भूमि हो । विगतमा केही राजनीतिक उथलपुथलले गर्दा अलि कमजोर देखिएको थियो । तर यसपटकको स्थानीय चुनावले फेरि पनि मधेश कांग्रेसको उर्बर भूमिको रुपमा स्थापित भइसकेको छ । आउँदो प्रादेशिक र संघीय चुनावमा मधेश सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्छ । संघीय चुनावमा पनि मधेशबाट सबभन्दा बढी प्रतिनिधित्व कांग्रेसले नै गर्छ ।

० आगामी चुनावबाट मधेश प्रदेशमा कांग्रेसले नै सरकार बनाउँछ त ?

— कांग्रेस जहिले पनि मधेशको पक्षमा छ । मधेशको सुख, दुःखमा साथ दिने पार्टी नै कांग्रेसले हो भन्ने कुरा बुझ्न एकदम जरुरी छ । विभिन्न नयाँ पार्टीहरु आए, विभिन्न नाराहरु दिए, विभिन्न आश्वासनहरु दिए तर कसैले पूरा गर्न सकेनन् । कांग्रेसकै कारणले नागरिकताविहीन लाखौं मधेशी जनताले नागरिकता पाउने भएका छन् । साढे तीन वर्ष कम्युनिष्टको करिब दुई तिहाइको सरकारले गर्न नसकेको काम कांग्रेस नेतृत्वको गठबन्धन सरकारले मधेशको पक्षमा ठूलो काम गरेर देखाइदिएको छ । मधेशको हितमा काम गर्ने पार्टी कुन हो, छर्लङ्ग छ ।

० नागरिकता विधेयककै विषय लिएर कांग्रेसको आलोचना भइरहेको छ नि ?

— नागरिकता विधेयक पारित भएपछि भारतका नागरिकले नागरिकता पाउँछन् भन्ने भ्रम फैलाइरहेको छ । सबै नेपालीले नागरिकता पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो विधेयक पारित भएपछि प्रष्ट भएको छ कि यसका विरुद्धमा को–को थिए, कसले नेपाली नागरिकलाई अनागरिक बनाएका थिए । मधेशसँग कसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा कसैसँग लुकेको छैन । अब भारतीयहरुले नागरिकता पाउँछन् भनेर कम्युनिष्टहरुले एउटा प्रोपोगण्डा गरिरहेका छन् । उनीहरुले झुठ्ठा राष्ट्रवादका खोक्रो नारा लगाएर मधेशलाई दबाउने काम गर्न खोजेका थिए । अब त्यो चल्दैन । कांग्रेस पहिलादेखि नै मधेशको हकहितमा सोच्दै आएको छ । अब कांग्रेसको दिन आउँदैछ । आगामी चुनावबाट प्रदेशदेखि संघसम्म कांग्रेसको सरकार सुनिश्चित छ । जसले जति जालझेल गरेपनि मधेशीले पाउने अधिकार कसैले खोस्न सक्दैन ।

० तपाइँ मधेश प्रदेश सरकारको मन्त्रीको हैसियतले नेपाल–भारतबीचको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

— हाम्रा पूर्वजहरुले भन्दै आउनुभएको छ कि नेपाल र भारतबीच बेटीरोटीको सम्बन्ध छ । नेपाल र भारतबीचको सम्बन्धलाई कसैले पनि टुटाउन सक्दैन । नेपाल र भारतबीच सांस्कृतिक, सामाजिक, भाषिक, धार्मिक लगायत नागरिक–नागरिकबीचको यस्तो सुमधुर सम्बन्ध आजको होइन । यो सम्बन्ध कुनै पार्टी वा सरकारले बनाएको हो । युगौंदेखिको हाम्रो सम्बन्ध रहिआएको छ । त्यो सम्बन्ध अझ पनि प्रगाढ हुँदै गइरहेको हामीले महसुस गरिरहेका छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ