० अहिले पाँच दलीय गठबन्धनमा जसपा रहेको छ तर सिट बाँडफाँटप्रति जसपाको असन्तुष्टि जस्तै देखिन्छ । जसपा यो गठबन्धनबाट बाहिर लागेको हो त ?
— यो पाँच दलीय गठबन्धनको सूत्रधार नै जनता समाजवादी पार्टी नेपाल हो । जतिबेला तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, संविधान मिच्न खोज्नुभो, मुलुकलाई प्रतिगमनतर्फ लानु खोज्नुभो त्यतिबेला सबभन्दा पहिला विरोध गर्ने र आन्दोलनमा जाने निर्णय जसपाले नै गरेको थियो । त्यसपछि अन्य दलहरु पनि संसद विघटनको विरोध गर्न थाले र त्यसपछि जसपाले ओलीको त्यो प्रतिगमनकारी कदमलाई रोक्न गठबन्धन बनाउन पहल गरेको थियो । तसर्थ, यो गठबन्धन हामीले बनाएका थियौं । यो गठबन्धनमा हाम्रो सम्मानजनक स्थान दिइएन भने बसेर कुनै अर्थ रहँदैन । अहिले सिट बाँडफाँटको प्रक्रियामा छ । हाम्रो अस्तित्वलाई स्वीकार गरिएन भने हामी एक्लै पनि चुनावमा जान तयार छौं ।
० भनेपछि, जसपा एक्लै चुनाव लड्ने हैसियत राख्छ त ?
— निश्चितरुपमा जसपा एक्लै चुनाव लड्ने हैसियत राख्छ । जसपालाई कसैको बैशाखीको आवश्यकता पर्दैन । संघीयताको संस्थागत, समानुपातिक समावेशिता, नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित, शोषित पीडितको अधिकारका लागि संघर्ष गर्दै आएको जसपालाई जनताको साथ छ । अहिले पनि जसपा मधेश प्रदेशको सबभन्दा ठूलो दलको रुपमा रहेको छ र सबै प्रदेशमा हाम्रो प्रतिनिधित्व रहेको छ । हामी एक्लै पनि चुनावमा जाँदा अहिलेभन्दा राम्रो अवस्थामा आउन सक्छौं । तर यो पाँच दलीय गठबन्धन आवश्यकता भनेको प्रतिगमनकारीलाई परास्त गर्ने उद्देश्यका लागि गठन भएको हो । फेरि त्यस्ता प्रतिगमनकारी शक्तिहरु संविधान मिच्ने कोशिस नगरोस् भनेर जसपा अहिलेसम्म गठबन्धनमा रहेको छ ।
० तपाइँहरु गठबन्धनमा रहँदा मधेशलाई के फाइदा हुन्छ ?
— यो गठबन्धनले मुलुकमा प्रतिगमनलाई परास्त गरेको छ । मधेश आन्दोलनको उपलब्धिहरु संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र लगायतको रक्षा यो गठबन्धनले गरेको छ । तसर्थ, यसले मधेश मात्र होइन, समग्र देशको हितमा रहेको छ । चुनावमा सिटमा केही तलमाथि हुनसक्छ । संघीय मधेश आन्दोलनकै देन हो र मधेश प्रदेश त्यसको आधारभूमि हो ।
० अहिले सिट बाँडफाँडमा जसपाले दाबी गरेको भन्दा धेरै कम सिट पाउने देखिन्छ, त्यसो भयो भने जसपा त अझ सानो दलको रुपमा आउँछ नि ?
— सिट बाँडफाँटमा जसपाको भागमा जति पनि सिट आउँछ, त्यो सबै हामी जित्ने अवस्था छौं । त्यसपछि देशभरबाट पनि जसपालाई समानुपातिक मत आउँछ, त्यसो भएको हुनाले जसपा अहिलेको भन्दा पनि संख्या बढ्छ । गठबन्धनमा रहेर पनि जसपालाई घाटा हुनेवाला छैन । किनभने आमजनताले जसपा र जसपाको नेतृत्वलाई विश्वास गरेको छ । जसपा नेतृत्वको मधेश प्रदेश सरकारले उल्लेखनीय कार्यहरु गरेको छ । आठ जिल्लाको मात्र भएपनि मधेशीहरुको पहिचान स्थापित गराउन मधेश प्रदेश स्थापना भएको छ । अब हामी मधेशका बाँकी जिल्लाहरुलाई मधेश प्रदेशमा ल्याउन आगामी दिनमा संघर्ष जारी रहेको छ ।
० गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच मधेशी गठबन्धन भएको थियो, यसपालिका कतिको सम्भावना छ ?
— मधेशी गठबन्धन बन्नुपर्छ भन्ने चाहना स्वाभाविक र आवश्यकता पनि हो । हामीले त पार्टी नै एकता गरी जसपा निर्माण गरेका थियौं । तर यो बीचमा केही कारणवश जसपाबाट हाम्रा नेताहरु अलग पार्टी नै बनाउनुभयो । निश्चितरुपमा हाम्रा माग र मुद्दाहरु एउटै छ । यो चुनावमा पनि यदि चुनावी सहकार्य वा गठबन्धन भयो भने झन राम्रो हुन्छ । त्यसका लागि दुवैतिरका नेताहरुबीच छलफल र वार्ता हुनुप¥यो । स्थानीय तहको चुनाव लगत्तै हाम्रा श्रद्धेय अध्यक्ष उपेन्द्र यादवले सार्वजनिकरुपमै आह्वान गर्नुभएको थियो । यसबारे सकारात्मक कुराकानी अगाडि बढ्नुपर्छ र विगतका तितामिठा कुराहरुलाई बिर्सेर अधिकार प्राप्तिको संघर्षमा सँगै हिंड्ने वातावरणमा बनाउनुप¥यो ।
० तपाइँ अहिले मधेश प्रदेशको सांसद हुनुहुन्छ, के–के गर्नुभयो त ?
— म सप्तरीबाट मधेश प्रदेशका लागि प्रदेशसभा सदस्य रहेको छ । मेरो निर्वाचन क्षेत्र सप्तरी २ पर्दछ । जसअन्तर्गत मेरो गृहनगर २ (क) मा पर्दछ । म प्रदेश सांसदको भूमिकामा रहेर मैले सप्तरीको २ (क) वा (ख) मात्रै होइन समग्र सप्तरी जिल्लाकै लागि काम गरेको छु । म अहिले मन्त्री पनि बनेको छैन तैपनि मैले आफ्नो व्यक्तिगत प्रयासमा प्रदेश सरकार र संघीय सरकारबाट विभिन्न शीर्षकमा बजेटहरु ल्याएर यहाँ उल्ल्ेखनीय कार्यहरु गरेको छु । त्यसैले यहाँ जनताले अब मलाई प्रत्यक्षतर्फ निर्वाचनमा आउनुपर्छ भन्ने सुझावहरु दिइरहनुभएको छ । तर, मैले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । मेरो पनि इच्छा त हो कि म प्रत्यक्ष निर्वाचनमा सहभागिता जनाउँ । तर पार्टीले मलाई जहाँ पठाउँछ, त्यहाँ जान तयार छु ।
० अझ के–के काम गर्ने भनेर जनताका बीच मत माग्न जानुहुन्छ ?
— हामीले यो पाँच वर्षमा धेरै नै कामहरु गरेका छौं । हाम्रा श्रद्धेय अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी २ बाटै जित्नुभएको छ । उहाँ यहाँबाट जितेकोले यहाँ धेरै नै उल्लेखनीय कार्यहरु भएको छ । दूरगामी प्रभाव पार्ने स्वास्थ्य, शिक्षा, सडक लगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरु भएका छन् । अझै पनि यस क्षेत्रको शिक्षा, स्वास्थ्यमा सबभन्दा बढी लगानी र काम गर्नुपर्ने आवश्यकता छ । अहिले पनि यहाँको मुख्यतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सेवाका लागि हामीले कार्यहरु गर्नुपर्ने छ । हाम्रा राष्ट्रिय एजेण्डाहरु त छँदैछ तर यहाँ जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई आगामी कार्यकालमा पूरा गर्ने प्रतिबद्धताका साथ जनताका बीचमा मत माग्न जान्छौं ।
० उपेन्द्र यादवजी फेरि सप्तरी २ बाटै चुनाव लड्नुहुन्छ त ?
— अहिले सप्तरी २ मा विभिन्न पार्टीका नेताहरुले आआफ्नो उम्मेद्वारीका सिफारिस भइरहेका छन् । सोही क्रममा हाम्रा श्रद्धेय अध्यक्ष उपेन्द्र यादवजीको पनि नाम सिफारिस भएको छ । उपेन्द्र यादवजी एउटा राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा पहिचान र प्रभावा बनाइसकेका नेता हुनुहुन्छ । उहाँ देशको जुनसुकै क्षेत्रबाट पनि उम्मेद्वारी दिनुभयो भने जित्नुहुन्छ । उहाँ संघीयताको पिता हुनुहुन्छ । अहिलेसम्म हामीले हेर्ने भने जुनसुकै क्षेत्रबाट पनि उहाँ जित्दै आउनुभएको छ । विभिन्न जिल्लाका १० भन्दा बढी ठाउँबाट उहाँको नाम सिफारिस भएको छ । उहाँले सप्तरीमा गर्नुभएको काम प्रशंसनीय छ । तसर्थ सप्तरी २ बाट उहाँ यदि पुनः उम्मेद्वार बन्नुभयो भने जनताले निश्चितरुपमा बहुमतका विजयी बनाउनु हुन्छ ।
० जसपा नेतृत्वमा रहेको मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयविरुद्ध करोडौं भ्रष्टाचार भएको भनि मुद्दा लागेको छ । यसबारे जसपा किन केही बोल्दैन ?
— संघीयता विरोधीहरुको यो षड्यन्त्र हुन सक्छ । यहाँ कसैले कोहीमाथि आरोप लगाउँदै त्यो सही नै प्रमाणित हुँदैन । यो मुद्दा अहिले अदालतमा छ, यसबारे छानबिन भइरहेको छ । अदालतमा विचाराधिन रहेको मुद्दामा कुनै वक्तव्य दिनु वा टिकाटिप्पणी गर्नु उचित होइन । जसपा पनि भ्रष्टाचारविरोधी पार्टी हो । जसपाले भ्रष्टाचारलाई प्रश्रय दिने काम गर्दैन । यदि साँच्चिकै भ्रष्टाचार भएकै छ भने त्यसमा दोषीहरुलाई कारबाही हुनुपर्छ । तर, यो एउटा षड्यन्त्र रहेको हामी बुझ्छौं । अहिले संघीयताविरोधीहरु सक्रिय भएका छन् । संघीयताको जननी मधेश प्रदेशलाई बदनाम गराउन यस्तो षड्यन्त्र भएको हुनुपर्छ । अर्को कुरो, विशेष अदालतमा दायर भएको मुद्दामा मुख्यमन्त्रीको कुनै संलग्न भएको देखिएको छैन । मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुले अनियमितता गरेको भनि मुद्दा दायर भएको छ । त्यसमा मुख्यमन्त्रीको कहींकतै नाम मुझिएको छैन । हामीले अदालतमा रहेको मुद्दालाई प्रभावित बनाउन चाहँदैनौं । अदालतबाट जे फैसला हुन्छ, त्यो त मान्नैपर्छ ।
तपाईको प्रतिक्रिया