० नेपालको संविधान जारी भएको दिन असोज ३ अर्थात संविधान दिवसलाई कसरी मनाउँदै हुनुहुन्छ ?
— असोज ३ संविधान दिवसभन्दा पनि कालो दिवस हो । किनभने हिन्दूहरुको पहिचान खोसिएको त्यो दिन हो । सम्पूर्ण हिन्दूहरुले असोज ३ लाई संविधान दिवस नभएर कालो दिनको रुपमा मनाउँछन् । सबै हिन्दूहरु कोही हातमा कालोपट्टी बाँधेर, कोही बत्ती निभाएर कालो दिनको रुपमा नै मनाउँछन् । विश्वमा नेपालीहरुको पहिचान भनेको हिन्दूराष्ट्र भनेर थियो । तर विधिवत्रुपमा वि.सं. २०७२ असोज ३ बाट नेपालीहरुको पहिचान खोसियो । त्यो दिन जबरजस्ती हामीमाथि धर्मनिरपेक्ष भन्ने शब्द लादियो र धर्मनिरपेक्षताको आडमा नै विभिन्न बदमासीहरु भइरहेका छन् । त्यसैले, सच्चा नेपालीका लागि असोज ३ संविधान दिवस होइन, कालो दिवस नै हो ।
० हिन्दू परिषद्ले संविधान दिवसमा के–कस्ता कार्यक्रमहरु गर्ने त ?
— त्यो दिन हामीले हात र टाउकोमा कालोपट्टी बाँध्ने, विरोधका विभिन्न कार्यक्रमहरु गर्ने, सामाजिक सञ्जालमा आआफ्नो प्रोफाइलमा कालो झण्डा लगाउने, साँझ घरको बत्ती निभाउने, अन्तरक्रिया र छलफल कार्यक्रमहरु गर्ने हाम्रो योजना रहेको छ । यो कुनै पार्टी वा खास संगठनको लागि कार्यक्रम होइन, नेपालका सम्पूर्ण हिन्दूहरुले गर्छन् र गर्नु पनि पर्छ । नेपाली हिन्दूहरु आफ्नो पहिचानको गुमेको विरोधमा पार्टीगत स्वार्थभन्दा माथि उठेर नेपाल पुनः हिन्दूराष्ट्र नभएसम्म विरोध गर्नुपर्छ । अब हामी सम्पूर्ण हिन्दूहरु एकजुट हुनैपर्छ । हाम्रा देशका नेताहरुलाई सद्बुद्धि आओस् भनेर हामी पुजापाठ पनि गर्छौं ।
० तर नेपाल सरकारले संविधान दिवसलाई भव्यरुपमा मनाउन आह्वान गरेको छ नि ?
— नेपाली जनताले बुझिसकेका छन् कि असोज ३ भनेको विश्वको एक मात्र हिन्दूराष्ट्रको परिचित नेपालको पहिचान खोसिएको त्यो दिन हो । नेपाल सरकारले घोषणा गर्दैमा जनतााले अब असोज ३ लाई उत्सवको रुपमा मनाउँदैनन् । जो सरकारी कर्मचारी छन् वा पार्टीका नेताहरु छन्, उनीहरुले पनि बाध्यतावश संविधान दिवस मनाउँछन् । ८० प्रतिशत नेपालका नागरिक अहिले पनि यो संविधानको विरोधमा छन् ।
० यो संविधानमा धर्मनिरपेक्षताप्रति मात्रै असन्तुष्टि हो तपाइँहरुको ?
— नेपालको संविधानमा अन्य पनि धेरै त्रुटिहरु छन् तर मूलतः धर्मनिरपेक्षता बनाएर नेपालीको पहिचान नै खोसिएको छ । हाम्रो मूल विरोध भनेको धर्मनिरपेक्षता नै हो । कुनै पनि देशको संविधान भनेको मूल कानून हुन्छ, जसमा सम्पूर्ण नागरिकको अपनत्व हुन्छ । तर यो संविधानले सबैलाई नसमेटेकोले यसप्रति असन्तुष्टि हुनु स्वाभाविक हो ।
० धर्मनिरपेक्षतालाई दलहरुले उपलब्धि मानेका छन्, तपाइँहरुले भन्दैमा नेपाल फेरि हिन्दू राष्ट्र हुन्छ त ?
— विश्वमा हिन्दू राष्ट्र भनेर चिनिने नेपालको पहिचान खोसिनुलाई उपलब्धि मान्न सकिँदैन । केही विदेशीका दलालहरुले धर्मनिरपेक्षतालाई उपलब्धि मान्न सक्छन् तर नेपालीजन यसबाट खुशी छैनन् । इसाई र इस्लामिक देशहरुले धर्मनिरपेक्षताका लागि यहाँ अर्बौं रुपैयाँ लगानी गरेका छन् । इसाई र इस्लामिक एजेण्टहरुले नेपाली हिन्दूहरुलाई नेपालमै अल्पसंख्यक देखाउन लागिपरेका छन् । विभिन्न पार्टीका नेताहरु एजेण्ट र तलबी कर्मचारीको रुपमा काम गरिरहेका छन् जसले धर्मनिरपेक्षतालाई उपलब्धि मानेका छन् । जति चाँडो नेपाल हिन्दू राष्ट्र हुन्छ त्यति चाँडो यो राष्ट्रलाई बचाउन सक्छौं । आज हरेक ठाउँमा हिन्दू राष्ट्रका लागि बहस भइरहेका छन् । हिमाल, पहाड, तराईका हिन्दूहरुले बुझिरहेका छन् र जागरुक भइरहेका छन् । अहिले देश हिन्दूराष्ट्रको बाटोमा गइरहेको छ ।
० इसाई र इस्लामिक राष्ट्रका एजेण्टहरु को–को छन्, भण्डाफोर गर्नुस् न ?
— जसले हिन्दूको मत लिएर चुनाव जित्छन्, लाभका पदमा पुग्छन्, तिनीहरुले हिन्दूका लागि के–के गरे त भन्ने कुरा बुझिरहेका छन् जनताले । आउँदो चुनावमा त्यस्ता एजेण्टहरुलाई जनताले निश्चितरुपमा चिनेका छन् र सजाय पनि दिनेछन् । त्यसैले हिन्दूराष्ट्रको एजेण्डा कुनै पार्टीविशेषको हुनुहुँदैन, सबैको साझा एजेण्डा हुनुपर्छ । हामीले त्यस्ता एजेण्टहरुको भण्डाफोर गर्नै पर्दैन, नेपाली जनताले चिनिसकेका छन् । ठूला भनाउँदा नेताहरु हिन्दूकै छोराछोरी छन्, तर आफ्नो पहिचान विरुद्ध किन लागेका छन् ? नेपाली जनताले सबै बुझिरहेका छन्, तिनीहरुलाई नेपाली जनताले नाङ्गेझार पार्ने स्थिति आउँदैछ ।
० इसाई र इस्लामिकहरुले नेपाललाई किन धर्मनिरपेक्ष बनाउ अर्बौं लगानी गरे ?
— विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र नेपाल थियो । नेपाल सुरुदेखि नै शान्त मुलुक थियो र यहाँ कुनै पनि किसिमको विदेशीको चलखेल थिएन । नेपाल भनेको देव भूमि हो, जहाँ भगवान जन्मिनुभएको ठाउँ हो । वेद र ग्रन्थहरुको अध्ययन र अनुसन्धान नेपालमै भएको हो । विश्वभरिका हिन्दूहरुको मनोवल कमजोर गर्न र समाप्त गर्नका लागि नेपाललाई धर्मनिरपेक्षता बनाइयो । बंगलादेश, पाकिस्तानमा हिन्दूहरुको अहिले दमन भइरहेका छन् । त्यसैले हिन्दूहरुको पहिचान मेटाउन पहिला यहाँ धर्मनिरपेक्षता लादियो । संविधानमा गाई नेपालको राष्ट्रिय जनावर भनेर लेखियो तर त्यहीं गाई हत्या भइरहेको छ । हाम्रा आस्थामाथि नै प्रहार भइरहेको छ । यसमा राज्यले नै सहयोगी भूमिका खेलिरहेको छ । मठमन्दिरका जग्गा कब्जा हुनु, साधुसन्तको हत्या हुनु, मठमन्दिरलाई भत्काएर चर्च र मस्जिद बनाउने कामहरु भइरहेका छन् । यस्था थुप्रै घटनाहरु छन्, तर सरकारले केही गरिरहेको छैन । आज नेपाल हिन्दूराष्ट्र भइदिएको भए धर्म परिवर्तन, हिन्दूको आस्थामाथि खेलवाड हुँदैनथ्यो । नेपाल हिन्दूराष्ट्र हुँदा पनि मुस्लिम र इसाई धर्मावलम्बीहरुलाई कुनै नोकसानी भइरहेको थिएन । आज ९४ प्रतिशत सनातन धर्म भएको देशमा ६ प्रतिशत मुस्लिम र इसाईहरुले दमन गरिरहेका छन् ।
० इस्लामिक र इसाईहरुले कसरी सनातन धर्ममाथि दमन गरिरहेका छन् ?
— अहिले इस्लामिक देशको एजेण्टको रुपमा नेपालमा मुस्लिम आयोग छ । मुस्लिम आयोगले गलत गतिविधिहरु रहेका छन् । तराई–मधेशमा हिन्दू मुस्लिम दंगा गराउनका लागि मुस्लिम आयोग सक्रिय रहेको छ । हरेक ठाउँमा मुस्लिम युवाहरुलाई मुस्लिम आयोगले उचाल्ने काम गरिरहेको छ । हिन्दूका पर्वहरुमा मुस्लिमहरुले जबरजस्ती बदमासी गरिरहेका छन् । त्यसैले तराईका जिल्लाहरुमा इस्लामिक गतिविधि उग्ररुपमा भइरहेका छन् । त्यतिकै मात्रामा हिन्दूका छोरी–चेलीहरुलाई लव जिहादको शिकार बनाइरहेका छन् । त्यसैगरी, हिमाल र पहाडमा क्रिष्चियन मेशिनरी हावी भइरहेका छन् । धर्मनिरपेक्षको नाममा यी समस्याहरु देखा परिरहेका छन् । हामीले नेपाल सरकारका प्रधानमन्त्रीलाई भेटेरै ज्ञापनपत्र दिएका थियौं कि जातीय र धार्मिक आयोगहरु खारेज गर्नुपर्छ । यो खारेज गरिएन भने भोलिका दिन यसले मुलुकलाई दुर्घटना गराउँछ । त्यसैले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा जोड्ने भनेकै सनातन हिन्दू राष्ट्र हो । हाम्रो लडाइँ भनेको मुस्लिम वा क्रिष्चियनसँग होइन, नेपाललाई धर्मनिरपेक्ष बनाउने नेताहरुसँग छ ।
० मुस्लिम आयोग खारेज हुनुपर्ने तपाइँहरुको माग हो ?
— निश्चितरुपमा नेपालमा कुनै जाति वा धर्मविशेषको आयोग हुनु नै हुँदैन । अस्ति भर्खरै मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले विदेशको कालोसूचिमा रहेका एक युवकलाई संरक्षण गरी भगाइदिए । मुस्लिम आयोगको गतिविधि नेपालमा आतंक फैलाउने खालका छन् । मुस्लिम आयोग सरकारको आयोगमा बदमासी गरिरहेको छ । त्यसैले, नेपालमा धार्मिक वा जातीय आयोगको आवश्यकता नै छैन । जातीय र धार्मिक आयोगले भोलि नेपाललाई विखण्डनतर्फ धकेल्छ ।
० नेपाल अब पुनः हिन्दू राष्ट्र सम्भव छ ?
— धर्मनिरपेक्षताले नेपाललाई दुर्घटनामा पु¥याउँछ । नेपाललाई बचाउनका लागि हामीले हिन्दूराष्ट्र हुनुपर्छ भनेर संघर्ष गर्दै आएका छौं । कुनै पनि संघर्ष एक–दुई दिनमा सफल हुँदैन । यसका लागि हामी निरन्तर संघर्ष गर्नुपर्छ र निकट भविष्यमै नेपाल पुनः हिन्दूराष्ट्र हुन्छ भन्नेमा विश्वस्त छौं ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया