० तपाइँ जनमत पार्टीको संस्थापक सदस्य हुनुहुन्छ तर स्वतन्त्र उम्मेद्वारी किन ?
— मेरो स्वतन्त्र उम्मेद्वारी रहरले होइन, बाध्यतावश हो । म स्वतन्त्र मधेश गठबन्धनको पनि एकजना संस्थापक हो र सरकारसँग सम्झौता गराउनेमध्ये म पनि एक हो । जनमत पार्टीको सुरुदेखि नै संगठन विस्तार लगायतका काम गर्दै आएको हुँ । अहिले हामीसँग बेइमानी गरियो । अन्तिम दिनसम्म मेरो नाउँमा टिकट आउँछ भनेर आश्वासन दिइयो । तर केही मान्छेहरु टिकट खरिद बिक्रीमा लागे । जसपाका नेतालाई टिकट बेचेपछि अन्तिम समयमा मैले स्वतन्त्र उम्मेद्वारी दिएको हुँ ।
० कसले टिकट बेच्यो ?
— टिकट बाँड्ने जिम्मा उपाध्यक्ष अब्दुल खानले पाउनुभएको थियो । अब्दुल खानमार्फत् यो सारा सेटिङ भएको हो । यसअघि पनि उहाँको अन्य पार्टीका नेताहरुसँग नाजायज सम्बन्ध थियो । त्यो कुरा मैले उजागर गर्दै आएको थिएँ । तर हाइकमाण्डले त्यो कुरामा विचार गरेन । उहाँ सुरुदेखि शंकास्पद गतिविधिमा संलग्न हुनुहुन्छ । उहाँ खास गरेर जसपाको नजिकका मान्छे हो । मसँग धोका भयो । अन्तिम समयमा बाध्यतावश जनताको इच्छानुसार मैले बाँकै २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएको हुँ । चार पाँच जनाको सिन्डिकेटबाट पार्टी चलिरहेको छ । त्यो पार्टीमा अब बस्नुको औचित्य छैन ।
० तपाइँमाथि आक्रमण पनि भएको भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ । कसले आक्रमण गराए ?
— मेरो उम्मेद्वारी रोक्नका लागि जसपा र जनमतको सेटिङमा ममाथि ज्यान मार्ने किसिमको आक्रमण गराइएको हो । जनमत पार्टीका खासगरेर अब्दुल खानको निर्देशनमा केही कार्यकर्ता, गुण्डा र प्रहरी प्रशासनबाट पनि आक्रमण भएको हो । म स्वतन्त्र उम्मेद्वारी दिनका लागि भित्र थिएँ । अन्तिम समयमा डा.सीके राउतजीसँग कुरो भयो । उहाँले तपाइँको टिकट ह्वाट्सएपमा पठाइदिँदै छु, प्रिन्ट गरेर ल्याउनुस् । म बाहिर जाँदा योजना बनाएर ममाथि आक्रमण गराइयो । मेरो परिवारका सदस्यहरुमाथि पनि आक्रमण भएको हो । जनमत पार्टीले मधेशको मुद्दा त्यागिसक्यो, मधेशीलाई धोका दिँदै आएको छ । अब पार्टी वा नेतालाई होइन, मधेशलाई बचाउनु छ ।
० पार्टी छोड्नेहरुले यस्ता आरोपहरु लगाउनु त स्वाभाविक नै हो नि ?
— हामीले आरोप लगाएको होइन, पार्टीभित्र हैकमवादी प्रवृत्ति छ । यसअघि पनि पार्टी छोड्नेहरुले त्यस्ता प्रवृत्तिको विरोध गरेका थिए । म पनि उहाँहरुको पक्षमा पार्टीभित्र आवाज उठाउने गरेको थिएँ । जनमत पार्टीलाई चार–पाँच जनाले कब्जा गरेका छन् । यही रबैया रह्यो भने जनमत पार्टीले एक सिट पनि जित्दैन । अब मधेशभरिबाट जनमत पार्टीबाट इमान्दार नेता कार्यकर्ताहरु परित्याग गर्नेछन् । मेरो दाबी छ यदि म सीके राउतभन्दा बढी मत ल्याएन भने राजनीतिबाट सन्यास लिन्छु । जनमत पार्टी बनाउन मधेशभरिका सबै युवाहरुको योगदान छ । तर इमान्दार नेता कार्यकर्ताहरुलाई टिक्नै दिँदैन । डा.सीके राउतजी एउटा मुद्दामा अडिग रहने नेता होइन ।
० तपाइँ बाँके २ बाट प्रतिनिधिसभा सदस्य स्वतन्त्रबाट जित्नुहुन्छ त ?
— निश्चितरुपमा म बाँके २ बाट जित्छु । ममाथि गराइएको आक्रमण ममाथि मात्र होइन, यहाँका जनतामाथिको आक्रमण हो । यहाँका जनता अवश्य जित्ने भन्ने मलाई विश्वास छ । म यहाँका जनताबीच सधैं रहने गरेको छु । यहाँका जनताले मलाई माया गरेका छन् । त्यसैले यहाँका जनताले मलाई जिताएर संघीय सदनमा पठाउँछ । डा.सीके राउतजीले पैसाको लेनदेन गर्ने नेता कार्यकर्ताहरुलाई कारबाही गरेर बाँकेबाट जनमत पार्टी पूर्णरुपमा सफाया हुन्छ । मैले यहाँका जनताका हक अधिकार र दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुराहरुलाई उठाउँदै आएको छु । अब संसदमा गए भने ती समस्याहरु सम्बोधन गराउन प्रयास गर्नेछु ।
तपाईको प्रतिक्रिया