पूराना नेताहरूबाट जनता आजीत भइसकेका छन् : ई.कुशवाहा

अन्तर्वार्ता

ई.बसन्त कुशवाहा, राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी

० सप्तरी निर्वाचन क्षेत्र नं. २ मा सबैको ध्यान केन्द्रित भएको छ । सो क्षेत्रमा तपाइँको पार्टीका अध्यक्ष डा.सीके राउत, एमाले–जसपा गठबन्धनबाट उपेन्द्र यादव र सत्तारुढ गठबन्धनका जयप्रकाश ठाकुर प्रतिस्पर्धामा हुनुहुन्छ । ग्राउण्ड रियालिटी कस्तो छ ?

— सप्तरी २ मा हाम्रो तयारी धेरै राम्रो छ । यहाँका जनतामा पनि निकै नै उत्साहको वातावरण छ । सप्तरी २ मा डा.सीके राउतजीप्रति ठूलो क्रेज छ । यो हाम्रो सीके राउतजी अत्याधिक मतका साथ जित्नुहुन्छ । देशमा विभिन्न व्यवस्थाहरु परिवर्तन भयो तर यो क्षेत्रमा कुनै पनि प्रकारको विकास भएन । पूराना नेताहरुबाट यहाँका जनता आजीत भइसकेका छन् । विकल्पको रुपमा यहाँका जनताले सीके राउतलाई जिताउन लागिपरेका छन् । यसअघि यहाँबाट जित्नुभएको उपेन्द्र यादवप्रति जनता आक्रोशित छन् ।

० तर, उपेन्द्र यादवजीले यहाँका लागि फेरि पनि आफूलाई नै जिताउने छन्, कोही पनि प्रतिस्पर्धी छैन भनिरहनुभएको छ नि ?

— उपेन्द्र यादवजी हतोत्साहित भइसक्नुभएको छ । उहाँ पराजित हुने निश्चित नै हो । यहाँका जनताले जनमत पार्टीलाई नै जिताउन अगाडि बढिसकेका छन् । हर्न छाप जित्ने निश्चित भइसकेको छ । डा.सीके राउतजी करिब ५० हजारभन्दा बढी मतसहित जित्नुहुन्छ ।

० उपेन्द्र यादवजीले त यहाँ विकास निर्माणका धेरै काम गर्नुभएको छ नि ?

— उहाँले विकास निर्माण गरेको काम भनेको साइन बोर्डमा मात्रै देखिन्छ । सप्तरीमा एउटा विश्वविद्यालयको उद्घाटन गरिएको छ, त्यहाँ साइनबोर्ड बाहेक केही पनि छैन । खाली खेतमा बोर्ड झुण्ड्याउने बाहेक कुनै पनि काम भएको छैन । बोर्ड झुण्ड्याउनु नै विकास भने जनतालाई भ्रमित पार्नु बाहेक केही पनि होइन । स्वास्थ्य प्रतिष्ठान पनि गठन भएको छ तर त्यसको कुनै पनि पूर्वाधार छैन । अहिले भर्खरै मधेश कृषि विश्वविद्यालयमा भ्याकेन्सी खोल्नुभएको छ । त्यो विज्ञापन मात्रै हो, चुनावी एजेण्डा मात्रै हो । त्यहाँ कुनै किसिमको तयारी छैन ।

० डा.सीके राउत सप्तरी २ मा ५० हजार बढी मतसहित जित्ने आधारहरु के–के छन् ?

— हरेक बुथहरुबाट हाम्रा संगठनहरु मार्फत् रिपोर्टिङ्ग आइरहेका छन् । यहाँका ९० प्रतिशत मतदाताको घर–घरमा पर्चा, पम्पलेट र झण्डा भेटिन्छन् । साइकल वा छाता छापको झण्डा, पर्चा कहीं–कहीं मात्रै देखिन्छ । सबैको घरमा सीके राउतबाहेक अन्य कसैप्रति चाँसो छैन । यहाँ स्वतन्त्र सञ्चारकर्मी, अधिकारकर्मीहरुले पनि सर्वेक्षण गरेका छन् । उहाँहरुको सर्वे रिपोर्टहरुले पनि देखाइरहेको छ कि ८०–८५ प्रतिशत मत डा.सीके राउतलाई नै पर्छ ।

० स्थानीय तहको मत परिणामअनुसार सत्तारुढ गठबन्धनका उम्मेद्वार पहिलो, एमाले–जसपा दोस्रो र जनमतका सीके राउत धेरै पछाडि हुनुहुन्छ नि ?

— स्थानीय तहको मत परिणामसँग यो संघीय संसद र प्रदेशसभाको चुनावसँग कुनै पनि सम्बन्ध छैन । स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको अवधारणा एकदमै फरक विषय हो । हामीले स्थानीय चुनावमा अपेक्षाकृत मत पाएनौं, त्यो सही कुरा हो । प्रदेश तथा प्रतिनिधिसभाको चुनाव भनेको नीति निर्माण गर्नका लागि हो । यसका लागि को सक्षम छन्, कसले गर्न सक्छन् भन्ने कुरा जनताले बुझिरहेका छन् । त्यसैले जनताले हर्न छापमा मतदान गरी डा.सीके राउतलाई जिताउँछन् भनेर हामी पूर्ण विश्वस्त छौं ।

० डा.सीके राउतको कुनै पनि सभा, गोष्ठी वा रैलीमा जनलहर नै देखिन्छन्, तर त्यो जनलहर ब्यालेटमा देखिँदैन नि ?

— यो चुनावमा निश्चितरुपमा जनलहर ब्यालेटमार्फत् हर्न छापमा अभिव्यक्त हुन्छ । जनतामा सीके राउतप्रति एउटा क्रेज छ । सीके राउत नै मधेश र यो देशको विकल्प हो भनेर जनता भनिरहेका छन् । सीके राउतले मात्रै यो देशमा रोजगारी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य, कृषि लगायतमा आमूल परिवर्तन गर्ने आम विश्वास र आशा छन् । सीके राउतजी सप्तरीमै जन्मिनुभएको छ ।

० जनमतका मुख्य प्रतिस्पर्धी कुन पार्टी हो त ?

— हाम्रो प्रतिस्पर्धी कोही पनि छैन । हामीले विकास र समृद्धिका लागि आफ्नो एजेण्डा लिएर आएका छौं, घर–घरमा पुगेका छौं । जनता हाम्रो पक्षमा छन् । जनताको पहिलो रोजाइमा हामी पहिलो नम्बरमा छौं र हामी चुनाव जित्दैछौं । त्यसैले सप्तरी २ मा डा.सीके राउतको प्रतिस्पर्धी कोही पनि छैनन् ।

० जनमत पार्टीका नेता कार्यकर्ताहरुले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध भ्रम फैलाएको आरोप लागेको छ नि ?

— हामी कुनै पार्टी वा उम्मेद्वारको विरुद्धमा लागेको होइनौं, गलत तत्वको विरोध गरेका हौं । जसले जनताको मत लिएर विगतमा काम गरेनन्, जितेर गएपछि जनताको बीचमा नआउनेहरुको बारेमा मात्रै भण्डाफोर गरेका हौं । जनताको मत लिएर काठमाडौं जाने, मन्त्री बन्ने, विदेश घुम्ने तर जनताका लागि केही पनि गर्नेहरुको पर्दाफास गरेका हौं । उपेन्द्र यादवप्रति जनता आफै आक्रोशित छन् । जसले गर्दा यो क्षेत्रमा रहेको ३७ वटा वडामध्ये २० वटा वडामा जानु भएकै छैन । जनताले उहाँको प्रतिकार गरिरहेको अवस्था छ । हामीले उहाँको विरुद्धमा लागेको होइन, हामी आफ्नो एजेण्डा लिएर जनताको घर–घरमा पुगेका हौं ।

० हरेक घर रोजगारी, जनता राज लगायतका आश्वासन तपाइँहरुले बाँडिरहनुभएको छ । यो तपाइँहरुको चुनावी एजेण्डा मात्रै हो कि पूरा पनि गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?

— हामी आफ्ना एजेण्डाहरुप्रति एकदमै प्रतिबद्ध छौं । हाम्रा एजेण्डाहरु पूरा गर्नका लागि हामीसँग एउटा विज्ञ टोली छन्, हाम्रो रोडम्याप तयारी छ । जुन दिन हामी जुन जित्छौं, त्यो दिनदेखि नै प्राप्त साधनस्रोत प्रयोग गरेर जनतालाई त्यसको अनुभूति गराउँछौं । सीके राउतजी अमेरिकाको करोडौंको जागिर छोडेर यहाँ आउनुभएको छ । यदि उहाँ पैसा नै कमाउनुपर्ने थियो भने अमेरिकामै कमाइरहनुभएको थियो । उहाँ जस्तै हाम्रा पार्टीमा थुप्रै नेताहरुा छन् । आफ्नो देश र समाजमा परिवर्तन ल्याउनका लागि नै विदेशको ऐशआराम त्यागेर राजनीतिमा लाग्नुभएको छ । यहाँ त कतिपय यस्ता नेता छन्, जो साइकलमा हिंड्थे । आज उनीहरु काठमाडौंमा करोडौंको सम्पत्ति जोडेका छन्, महँगा–महँगा गाडीमा हिंड्छन् ।

० तपाइँहरु घर–घर रोजगारी भन्नुभएको छ, त्यसको रोडम्याप के हो त ?

— मधेशका अधिकांश युवाहरु खाडी मुलुकहरुमा रोजगारका लागि दिनहुँ गइरहेका छन् । जुन कामका लागि हाम्रा युवाशक्ति विदेशिन बाध्य हुन्छन्, त्यहीं कामको वातावरण यहाँ बनाउँछौं । हामीले औद्योगीकरणलाई बढी प्राथमिकता दिएका छौं । साना, मझौला र ठूला उद्योग, कलकारखाना स्थापना गर्ने हाम्रो उद्देश्य छ । नेपालमा हरेक आवश्यक वस्तुहरु आयात गर्नुपर्ने अवस्था छ । नेपालमै उपलब्ध स्रोतसाधनको उपयोग गर्न सकियौं भने हाम्रा युवाशक्ति वैदेशिक रोजगारीका लागि जाने बाध्यता नै हुँदैन ।

० तपाइँहरुले किसानको हकहितका लागि पनि आन्दोलन गर्नुभएको थियो । डा.सीके राउत यदि जित्नुभयो भनेका किसानका समस्याहरु समाधान हुन्छन् त ?

— हामीले किसानका समस्याहरु दीर्घकालीनरुपमा समाधानका लागि योजना बनाएका छौं । मुख्यगरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ । सबभन्दा पहिला हामीले किसानलाई सिंचाइको व्यवस्था मिलाउने, मलखाद, बीउबीजन समयमै उपलब्ध गराउने र सिंचाइका लागि प्रयोग बिजुली निःशुल्क दिने लगायतका रहेका छन् । जनमत पार्टीबाट दुई वटा जितेको पालिकामा किसानका लागि बिजुली निःशुल्क भइसकेको छ । यसैगरी, किसानले उत्पादन गरेको अन्नबालीको उचित मूल्य पाइरहेको हुँदैन, बजार व्यवस्थापन हुँदैन । त्यसका लागि पनि हामीले योजना बनाएर स्वदेशी उत्पादन कसरी बढाउने र निर्यात रोकेर आयात गर्ने अवस्थाको सिर्जना गर्ने छौं । तराई–मधेश अन्नको भण्डार हो । तर यहाँका किसानहरु आफ्नै भोक मेटाउन सकिरहेका छैनन् । कृषि क्षेत्रमा परनिर्भरतालाई पूर्ण रुपमा उन्मूलन गर्नेछौं । कृषिमा हामी आत्मनिर्भर बनाउँछौं भन्ने हाम्रो अठोट हो ।

० जनमत पार्टीले मधेश प्रदेशमा क्लिनस्वीप गर्छ त ?

— निश्चितरुपमा हुन सक्छ । मधेश प्रदेशमा जनमत पार्टीले सबैभन्दा बढी उम्मेद्वार खडा गरेको छ । मधेश प्रदेशको ६४ प्रदेशसभा सदस्यमध्ये ५८ उम्मेद्वार दिएको छ । जनमतप्रति जनलहर पनि छ । क्लिनस्वीन नभएपनि मधेश प्रदेशमा जनमतको सरकार बन्ने अवस्थामा हामी पुग्छौं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ