‘मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने मतादेश छ’

अन्तर्वार्ता

बीपी साह, नेता, जनमत पार्टी

० हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजालाई जनमत पार्टीले कसरी लिएको छ ?

— प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम हाम्रो लागि अपेक्षित हो । प्रतिनिधिसभामा अझै बढी सिट आउने हामीले आँकलन गरेका थियौं । तर, दुईटा महागठबन्धनहरुको बीचबाट निस्किन हामीलाई अलि गाह्रो भयो । जनताले हामीलाई दिएको समर्थन समानुपातिक मतमा देखिन्छ । त्यो आधारमा हेर्ने हो भने जनताले जनमत पार्टीलाई बहुत राम्रो तरिकाले समर्थन गरेको हो । यसबाट हामी खुशी छौं ।

० यो नतिजाबाट तपाइँहरु सन्तुष्ट हुनुहुन्छ ?

— अहिलेको लागि सन्तोषजक नै छ । अब हामी थप मिहिनेत गर्दै थप परिष्कृत गर्दै जाने हो भने आगामी दिनमा ठूलो पार्टी हुन्छौं ।

० खासगरी मधेश प्रदेशमा जनमत पार्टी अहिले निर्णायक अवस्थामा छ, जुन गठबन्धनलाई साथ दिन्छ उसको सरकार बन्ने सम्भावना छ । मधेश प्रदेशको सरकार निर्माणबारे जनमत पार्टीको रणनीति के छ ?

— मधेश प्रदेशको सवालमा अहिले हामी हाम्रै नेतृत्वमा सरकार बनाऔं भनेर पहल थालेका छौं । मधेश प्रदेशका जनताले सबभन्दा ठूलो पार्टी जनमत पार्टीलाई बनाएको हो । किनभने अरु पार्टीहरु गठबन्धन बनाएर प्राविधिकरुपमा हामीभन्दा बढी सिट ल्याएका छन् । तर हाम्रो पार्टी कोही कसैसँग कुनै किसिमको गठबन्धन नगरी एक्लै चुनाव लडेर त्यत्रो धेरै सिट ल्याएपछि जनताले हामीलाई अनुमोदन गारेको देखिन्छ । त्यस आधारमा हामी सबभन्दा ठूलो पार्टी हौं । त्यसको आधारमा हामीले सरकारको नेतृत्व गर्ने र सरकार निर्माणका लागि पहल गर्ने कुरा गरिरहेका छौं । यस्तो अवस्थामा कुन–कुन पार्टी हामीसँग सहकार्य गर्छ भन्ने विषयमा अब हामी छलफल सुरु गर्दैछौं । अहिले समानुपातिक तर्फको अन्तिम परिणाम आउने क्रम जारी रहेकोले ठोस छलफल वा सम्वाद हुन सकेको छैन । अब हामी विस्तारै त्यो सम्वादतर्फ अगाडि बढ्दै छौं ।

० मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ?

— जनताले मधेश प्रदेशमा सबभन्दा ठूलो पार्टी हामीलाई नै बनायो । अन्य दलहरु गठबन्धन गरेर गएका थिए । त्यसैले नैतिक दायित्व पनि हाम्रै नेतृत्वमा सरकार बनाउने हो । त्यसका लागि हामी पहल गर्दैछौं ।

० जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन कुन–कुन दलको सहयोग चाहिन्छ ?

— जनमत पार्टीकै नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउन अहिले हामी सबै दललाई आह्वान गरेका छौं । अहिले यो दल वा त्यो दल भनेर छुट्याएका छैनौं । अन्य दलहरु छुट्टाछुट्टै गठबन्धनहरुमा छन् । त्यसमध्ये कुन–कुन दल हामीसँग सहकार्य गर्न इच्छुक छन्, त्यसका लागि खुल्ला आह्वान गरेका छौं ।

० गठबन्धनका दलहरुबीच नै नेतृत्वका लागि खिचातानी हुने देखिन्छ, जनमतलाई कसरी स्वीकार गर्छ त ?

— उहाँहरुको बहुमत पुग्छ भने उहाँहरु नै सरकार बनाउँदा हुन्छ । उहाँहरुको बहुमत पुग्यो भने हामीलाई सोध्ने कुरा पनि आउँदैन । उहाँहरुको बहुमत नपुग्ने भएपछि त हाम्रो आवश्यकता देखिन्छ नि । उहाँहरुको बहुमत पुग्यो भने जनमतको आवश्यकता नै पर्दैन । त्यसैले उहाँहरुको पनि आवश्यकता छ र हाम्रो पनि आवश्यकता छ । बीचको बाटो निकाल्न सम्वाद र छलफलका लागि हामी आह्वान गरेका हौं ।

० मधेश प्रदेश सरकारको नेतृत्व गर्ने जनमत पार्टीको एउटा बार्गेनिङ्ग प्वाइन्ट मात्रै हो कि ?

— मधेश प्रदेश सरकारको नेतृत्व गर्ने यहाँका मतदाताले दिएको मतादेश हो । अन्य दलहरु गठबन्धन गरेर जाँदा पनि बहुमत ल्याउन सकेन तर जनमत पार्टी एक्लै चुनाव लड्दा राम्रो समर्थन दिएका छन् । त्यो आधारमा मधेश प्रदेशमा जनमत पार्टी सबभन्दा ठूलो पार्टी हो भनौं । जनताले हामीलाई समर्थन दिएपछि हाम्रै नेतृत्वमा सरकार बनाउन पहल गर्ने हाम्रो दायित्व पनि हो । त्यो आधारमा हामीले पहल थालेका हौं । त्यसैले यो बार्गेनिङ्ग गर्ने कुरै भएन नि । यो त जनताले हाम्रो पार्टी दिएको मतादेशको कुरा हो नि त । छलफलका लागि फ्लोर ओपेन भएपछि अन्य दलहरुबाट के प्रस्ताव आउँछ, त्यसपछि कुनै निष्कर्षमा पुगिन्छ । सरकारमा जानैपर्ने हाम्रो बाध्यता छैन । अर्को कुरा हामी आन्दोलनकारी शक्ति हौं । जनताका समस्यासँग जोडिएको जनमत पार्टी हो । जनताको जनजीविकालाई पहिलो प्राथमिकतामा राखेर उदय भएको पार्टी हो । सडक र सदनमा भएर पनि जनताको पक्षमा हामी काम गराउन सक्छौं ।

० यदि जनमत पार्टीको नेतृत्वलाई अन्य दलहरुले स्वीकार गरेन भने ?

— हामी अहिले कोहीसँग नेतृत्व माग्न गएका छैनौं । प्रष्ट पार्न चाहन्छौं कि हामीले नै आह्वान गरेका छौं । अन्य दलहरुले जनमत पार्टीलाई स्वीकार गर्छ वा गर्दैन त्यो पछिको कुरा हो । अन्य दलहरु कुन रुपमा हामीसँग सहकार्य गर्न चाहन्छ, त्यसपछि निष्कर्षमा पुगिन्छ । अन्य दलहरु आफैले बहुमत पु¥याएर यदि सरकार निर्माण गर्छ भने हामी प्रतिपक्षमै बसेर रचनात्मक सहयोग गर्न तयार हुन्छौं । तर अहिले हाम्रो पहिलो प्राथमिकता हाम्रै नेतृत्वमा सरकारमा निर्माण गर्न पहल गर्ने हो ।

० जनमत पार्टी भर्खर उदाउँदै गरेको एउटा वैकल्पिक शक्ति हो । मधेशबाट उदाउँदै गरेका शक्तिहरु सत्तामोह फँसेर सिद्धिदै गए । जनमतको पहिलो प्राथामिकता सत्ता नै किन ?

— संघमा सरकार बनाउने वा सरकारमा जाने जनादेश हामीलाई दिएको छैन । तर मधेश प्रदेशमा हेर्ने हो भने झण्डै १८–१९ प्रतिशत मत जनताले दिएको छ । यो आधारमा हेर्ने हो भने जनमत पार्टी सबभन्दा ठूलो पार्टी हो । त्यसकारण जनताले मधेश प्रदेशमा जनमत पार्टीले सरकार बनाउनुपर्छ भनेर मतादेश दिएको हो नि । हामीले सडकबाट जुन सवालहरु उठायौं, त्यो कार्यान्वयन गर्ने निकाय त सरकार नै हो । हामीले किसान आन्दोलन ग¥यौं, भ्रष्टाचार विरोधी आन्दोलन ग¥यौं, रोजगारी सिर्जना गर्ने भनेका छौं । ती सवालहरु कार्यान्वयन गराउन हामीलाई मतादेश आएको छ ।

० सडकमा हुँदा चर्को–चर्को नारा दिने तर सत्तामा गएपछि ती सबै कुरा बिर्सिने प्रवृत्ति नेपाली राजनीतिमा छ । यसबाट जनमत पार्टी कतिको अछुतो छ ?

— नेतृत्व सही भयो भने आफूले उठाएका सवालहरुलाई लागू गराउन सकिन्छ । यसको उदाहरण हामीले छिमेकी राष्ट्र भारतको दिल्ली सरकारलाई लिन सक्छौं । केजरीवाल नेतृत्वको आम आदमी पार्टीले सुरुमा दिल्लीमा सरकार बनायो र अब विस्तारै अन्य प्रदेशहरुमा पनि विस्तार हुँदैछ । भनेपछि असल र भिजनरी नेतृत्व भयो भने आफ्ना एजेण्डा लागू गराउन कठिन छैन । हामीले उठाएका मुद्दाहरु एउटा एजेण्डा मात्रै नभएर त्यसलाई लागू गराउनका लागि उठाएका हौं । जनमत पार्टी अहिलेसम्म यहाँ पुग्नुको कारण जनताको मत र नेतृत्वको सही निर्णयले गर्दा हो । अहिले हामी सय वर्षको रोडम्याप लिएर अगाडि बढिरहेका छौं । हामीले चरणबद्ध रुपमा आफ्ना योजनाहरु बनाएका छौं । विगतका सरकार वा पार्टीले जसरी भ्रष्टाचार गरे, त्यस्तो हाम्रो पार्टीका कुनै सांसद वा मन्त्रीले गरे भने त्यस्तालाई तत्कालै हामीले फिर्ता बोलाउने प्रावधान हाम्रो पार्टीमा छ ।

० जनमत पार्टीबाट मुख्यमन्त्रीका आकांक्षी को हुनुहुन्छ ?

— मधेश प्रदेशको मुख्यमन्त्रीका लागि हाम्रा पार्टीका सबै सांसदहरु योग्य र सक्षम छन् । यस विषयमा संसदीय दलको बैठक बसेपछि निष्कर्ष निकाल्ने हो । को संसदीय दलको नेता, सचेतक, प्रमुख सचेतक लगायतका विषयमा संसदीय दलको बैठकले टुंगो लगाउने हो । जो संसदीय दलको नेता हुन्छन् उहाँ नै मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । यस विषयमा अहिले हामी टुंगो लगाइसकेका छैनौं । चुनावको अन्तिम नतिजा आइसकेपछि त्यसपछि टुंगो लाग्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ