मधेशका जनताको चाहना ‘अब कि बार सीके सरकार’

अन्तर्वार्ता

ललित मल्लिक “शानु”, केन्द्रीय सदस्य, जनमत पार्टी

० तपाइँ पहिलोपटक संसदको चुनावी प्रतिस्पर्धामा भाग लिनुभयो, अनुभव कस्तो रह्यो ?

— हाम्रो पार्टी नै पहिलोपटक आमचुनावमा भाग लिएको थियो । तुलनात्मकरुपमा हामीसँग चुनावी अनुभव दिएन, त्यो अनुभव बटुल्ने काम भयो । हामीले अपेक्षा गरेअनुसार जनताले मत दिएका छन् । जनताले हामीलाई परिवर्तनको नेतृत्व प्रदान गरेका छन् । निर्वाचनका विभिन्न पाटाहरु हुन्छन्, ती कुराहरुको अनुभव हामीलाई थिएन । अर्को कुरा, दुईटा गठबन्धनद्वारा हामीलाई एउटा ठूलो घेराबन्दी गरिएको थियो । त्यस्तो अवस्थामा चुनावमा होमिँदा ती घेराबन्दीलाई चिर्ने प्रयास ग¥यौं । त्यसअनुसार केही ठाउँमा हामी सफल पनि भयौं । हामीविरुद्ध त्यत्रो घेराबन्दी नभइदिएको भए परिणाम योभन्दा पनि राम्रो आउने थियो । आगामी निर्वाचन हाम्रो लागि सहज हुनेछ ।

० तपाइँ रौतहट १ (क) मा प्रदेशसभा सदस्यको उम्मेद्वार हुनुहुन्थ्यो, तपाइँले पाएको मतबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

— मेरो राजनीतिक संघर्षको यात्रा लामो भएपनि म पहिलोपटक चुनावी प्रतिस्पर्धामा आएको थिएँ । त्यो हिसवले म सम्मानजनक मत प्राप्त गरेको छु । जनताले मलाई एउटा सम्भावनाको रुपमा हेरेका छन् । यत्रो ठूलो घेराबन्दीका बाबजुद पनि मेरा क्षेत्रका मतदाताले जुन सम्मान दिएका छन्, त्यसप्रति आभारी छु र धन्यवाद पनि दिएको छु । मतदाताबाट पाएको मत मेरो लागि ठूलो आशिर्वाद हो र त्यसलाई उच्च सम्मान गर्छु । उहाँहरुले मलाई एउटा सम्भावनाको रुपमा देख्नुभएको छ । आगामी दिनमा अवश्य नै म निर्वाचित हुनेछु ।

० आगामी चुनावमा तपाइँले के–के कुरामा विशेष ध्यान दिनुपर्छ ?

— सबभन्दा पहिला त यो चुनाव हाम्रो लागि नयाँ थियो । चुनावी अभियानका जाँदा चाहिने आवश्यक कुराहरुबारे हामी त्यति अनुभवी दिएनौं । सबभन्दा पहिला आफ्नो संगठनलाई चुस्तदुरुस्त बनाउनुपर्ने हुन्छ । यो निर्वाचनबाट प्राप्त अनुभवको आधारमा संगठन निर्माण, जनसम्पर्क अझ बाक्लो बनाउनुपर्ने, जनजीविकासँग जोडिएका सवालहरु अझ थप प्रभावकारी तरिकाले उठाउनेछु । अहिले मैले पाएको मत भनेको निर्वाचित प्रतिनिधिलाई खबरदारी गर्ने प्रतिपक्षीको भूमिका निर्वाह गर्ने हो ।

० गठबन्धनहरु नभएको जनमत पार्टीले मधेशमा क्लिनस्वीप गथ्र्यो त ?

— दुईटा गठबन्धनहरुको बीच त्यत्रो मतादेश पाउने कुराले पनि देखाएको छ । हामी कोहीसँग गठबन्धन नगरी एक्लै चुनावमा होमिएका थियौं । अहिले पनि मधेश प्रदेशमा समानुपातिक मत हेर्ने हो भने तेस्रो ठूलो दलको रुपमा जनताले मत दिएका छन् । एक्ला–एक्लै चुनावमा गएको भए निश्चितरुपमा मधेश प्रदेशमा सबभन्दा ठूलो दल हुन्थ्यो र सरकार बनाउने हैसियतमा पुगिन्थ्यो ।

० मधेश प्रदेशमा जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी जम्मा १३ सिट प्राप्त गरेको छ । मतादेश के पाउनुभएको छ ?

— जनमत पार्टीलाई प्राप्त जनादेशको विश्लेषण गर्दा जनमतकै नेतृत्वमा सरकार बनाउन भनिएको छ । अन्य दलहरु जो हामीभन्दा बढी मत पाएका छन्, तिनीहरु प्राविधिकरुपमा जनतालाई भ्रमित गरी विभिन्न गठबन्धन गरेर हामीभन्दा बढी मत पाएका छन् । त्यसैले मधेश प्रदेशका जनताले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मतादेश दिएको हो । वास्तविक रुपमा हेर्ने हो भने जनमत पार्टी सबभन्दा ठूलो दलको रुपमा आएका छन् । मधेश प्रदेशका जनताको चाहना छ कि ‘अब कि बार सीके सरकार’ । यो चाहनाअनुरुप जनताले हामीलाई मत दिएका छन् । हामी पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा छौं । हाम्रा अध्यक्ष डा.सीके राउतले जुन भिजन प्रस्तुत गर्नुभएको छ, त्यसतर्फ हामी अग्रसर भएका छौं । जनमतकै नेतृत्वमा सरकार बनाउने हाम्रो प्रयास हुन्छ ।

० १३ सिटे जनमतलाई अन्य दलहरुले मधेश प्रदेश सरकारको नेतृत्व दिन तयार हुन्छन् त ?

— यो निर्वाचनबाट यस्तो परिस्थिति निर्माण भएको छ कि जनमत पार्टीबिना सरकार नै बन्न सक्दैन । हाम्रो स्पष्ट धारणा छ कि जनमत पार्टीकै नेतृत्वमा सरकार निर्माण हुनुपर्छ । हाम्रो नेतृत्वमा सरकार बनाउन जसरी पनि सहमत गराउने प्रयासमा हामी लागेका छौं । सबै दलहरुलाई आह्वान पनि गरेका छौं कि जनादेशलाई सम्मान गरौं । जनमत एक्लैले लडेर पनि यत्रो मत ल्याएको छ । त्यसअनुरुप हाम्रो राजनीतिक छलफलहरु पनि भइरहेका छन् ।

० अन्य दलहरुले जनमतलाई नेतृत्व दिन तयार भएनन् भने जनमत पार्टी प्रतिपक्षमा बस्छ कि अन्य दलको नेतृत्वमा सरकारमा सहभागी हुने ?

— अहिले त्यस्तो परिस्थिति बनिसकेको छैन कि अन्य दलहरु जनमत पार्टी नेतृत्वको सरकार स्वीकार गर्दैन । सबै दलहरुसँग छलफल जारी छ । अन्य दलहरुलाई पनि सहमत गराउने प्रयासमा छौं । जनजीविकासँग जोडिएका सवालहरु सम्बोधन गराउनका लागि पनि जनमत पार्टी नेतृत्वको सरकार आवश्यक छ । हाम्रो पहिलो प्राथमिकता भनेको जनमत पार्टीकै नेतृत्वमा सरकार बनोस् । यदि हाम्रो नेतृत्वमा सरकार बन्ने परिस्थिति आएन भने त्यसपछि हामी छलफल गरौंला ।

० जनमत पार्टीबाट मुख्यमन्त्री को हुने त ?

— यदि हाम्रो नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने मुख्यमन्त्री को हुनेबारे सार्वजनिक गर्नेछौं । हाम्रा पार्टीका सबै सांसदहरु योग्य, सक्षम र सरकार चलाउने क्षमतावान हुनुहुन्छ । समानुपातिक सांसदको टुंगो लागिसकेपछि जनमत पार्टीको संसदीय दलको बैठक हुन्छ । सो बैठकबाट संसदीय दलको नेता चयन हुनेछ र जो व्यक्ति दलको नेता हुन्छन्, उनै मुख्यमन्त्रीका दाबेदार हुन्छन् ।

० संघीय संसदमा जनमत पार्टीलाई ६ सिट प्राप्त भएको छ । जनमत पार्टी संघमा कस्तो भूमिकामा रहन्छ ?

— मतादेश भनेको व्यवस्थापिका र कार्यपालिका दुवै जिम्मेवारी सुम्पिनु हो । हामीले उठाएको माग र राजनीतिक एजेण्डाहरु कसरी सम्बोधन गराउने हाम्रो प्रमुख जिम्मेवारी हो । हामीले उठाएका जनजीविकासँग जोडिएका एजेण्डाहरु सम्बोधन गर्ने ठाउँमा पुग्नुपर्छ । एजेण्डाहरु सम्बोधनका लागि पनि हामी त्यो भूमिकामा जानुपर्ने आवश्यकता छ र जनादेश पनि त्यस्तै प्राप्त भएको छ । जनताले हामीसँग गरेको अपेक्षालाई पूरा गराउने भूमिकामा हामी पुग्नुपर्छ ।

० संघीय सरकारमा पनि जनमत पार्टी सहभागी हुने तयारी अवस्थामा छ ?

— हामीले उठाएका माग पूरा गराउन सरकारमा जानैपर्ने हुन्छ । किनभने हामी सडकबाट धेरै दबाब दियौं, हामीलाई आश्वासन पनि आयो तर समस्या समाधान हुन सकेन । त्यसैले जनताका बीच हामीले प्रतिबद्धता गरेर आएका छौं कि हामी सरकारबाट समस्या समाधान गराउन सक्छौं । सोहीअनुसार जनताले हामीलाई मत दिएर पठाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ