० स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी तयारी कस्तो छ ?
— लामो समयपछि घोषणा भएको स्ववियु चुनावलाई लिएर हामी उत्साही छौं । स्ववियुको चुनावी तयारीमा हामी लागिसकेका छौं । हामी आफ्नो संगठनलाई विस्तार गर्दै अगाडि बढिरहेका छौं । हामी संगठन निर्माणसँगै चुनावको पनि तयारी गर्दैछौं । उत्साहपूर्वक चुनाव लड्नेतिर हामी उन्मुख भएका छौं ।
० लोकतान्त्रिक विद्यार्थी सघ अहिलेसम्म संगठन विस्तार गर्न सकेको छैन । कतिको चुनौतीहरु देख्नुहुन्छ ?
— चुनौतीका बाबजुद पनि हामी उत्साहपूर्वक चुनावको सामना गर्न तयारी अवस्थामा छौं । चुनातैसँगै अवसर पनि छ । नेपालमा जति पनि परिवर्तनहरु भएका छन्, ती सबै संघर्ष र आन्दोलनहरुमा विद्यार्थी संगठनहरुको ठूलो योगदान छ । विभिन्न परिवर्तनहरुको आन्दोलनमा विद्यार्थीहरु नै अग्रपंक्तिमा रहँदै आएका छन् । आजको दिनमा सांगठनिक हिसावले केही चुनौती छन् । विद्यार्थीहरुको हकहित र राष्ट्र निर्माणका लागि स्ववियु चुनाव एकदम आवश्यक छ । स्वयुविलाई मिनि पार्लियमेन्टको रुपमा पनि लिइन्छ । देशको कर्णधार भनेको युवा–विद्यार्थी नै हो ।
० तपाइँहरुको चुनावी एजेण्डाहरु के–के छन् ?
— हामीले विगतदेखि नै उठाउँदै आएको निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ । यसअघि हामीसँग त्रिभुवन विश्वविद्यालयले हामीसँग सम्झौता पनि गरेको थियो कि पूर्ण समानुपातिक समावेशमा जान्छौं । तथापि अहिलेसम्म त्यो सम्झौता कार्यान्वयन भएको छैन । त्यस्तै, हामीले समग्र मधेश शिक्षित प्रदेशको एजेण्डा ल्याएका थियौं । त्यसलाई पनि प्राथमिकताका साथ अगाडि बढाउँछौं । यसैगरी, विभिन्न कलेजहरुमा बेथितिहरु छन् । त्यसलाई हटाउनका लागि पनि स्ववियु चुनाव आवश्यक छ ।
० यो स्ववियु चुनावमा तपाइँहरु अन्य संगठनहरुसँग चुनावी सहकार्य वा मोर्चाबन्दी हुन्छ ?
— हामीसँग विचार मिल्ने संगठनहरुसँग चुनावी सहकार्य वा मोर्चाबन्दीका लागि हामी खुला छौं । सोहीअनुरुप विचार मिल्नेहरसँग वार्ता र सम्वाद पनि गरिरहेका छौं । हाम्रो विचार मिल्यो भने मोर्चाबन्दी पनि गर्न सक्छौं । तथापि, अहिले हामी एकल रुपमा पनि चुनावी तयारीमा जुटेका छौं । विचार मिल्नेहरुसँग सहकार्य गर्ने पक्षमा नै हामी छौं ।
० कुन–कुन विद्यार्थी संगठनहरुसँग मोर्चाबन्दीको सम्भावना छ ?
— हामीसँग विचार मिल्ने जसपाको विद्यार्थी संगठन, जनमत पार्टीको विद्यार्थी संगठन र नागरिक उन्मुक्तिको विद्यार्थी संगठन रहेको छ । यी सबैसँग हाम्रो चुनावी सहकार्य हुनैपर्छ भन्नेमा हाम्रो जोड छ । विगतमा पनि हामीबीच मोर्चाबन्दी भएकै थियो र आजको दिनमा पनि हामी तयार छौं । उहाँहरु मोर्चाबन्दीका लागि आउनुभयो भने हुनसक्छ । यसले मधेशमा एउटा राम्रो सन्देश पनि जानेछ । मधेशको आजको आवश्यकता पनि हो कि सबै संघर्षरत् पक्षहरु मिल्नुपर्छ ।
० तपाइँहरुबीच मोर्चाबन्दीका लागि पहल सुरु भएको हो ?
— विचार र मुद्दा मिल्ने विद्यार्थी संगठनहरुबीच चुनावी मोर्चाबन्दी हुनुपर्छ भनेर मैले पहल सुरु गरिसकेको छु । जसपाको समाजवादी विद्यार्थी संघका अध्यक्ष रमेश यादवजीसँग पनि मेरो कुरा भइरहेको छ । जनमत विद्यार्थी संघका साथीसँग पनि सम्वाद थालेका छौं । हामी छलफलमा छौं । उहाँहरु आफ्नो पनि गृहकार्यमा लाग्नुभएको छ । चुनावको समय अहिले बाँकी नै छ । यो बीचमा नै हामी मोर्चाबन्दीमा जान सक्छौं ।
० हालै सम्पन्न संघ र प्रदेशको चुनावमा मधेशकेन्द्रित शक्तिहरुबीच चुनावी सहकार्य वा मोर्चाबन्दी नहुँदा कमजोर अवस्थामा दलहरु देखिएका छन् । विद्यार्थी संगठनहरुबीच मोर्चाबन्दी हुन्छ त ?
— विगतका कमी कमजोरीबाट पाठ सिक्दै हामी अगाडि बढ्नुपर्छ । हामी जुन मुद्दा उठाएका छौं, त्यो पूरा गराउनका लागि विभाजित भएर अगाडि बढ्यौं भने कहिल्यै पनि लक्ष्यमा पुग्न सक्दैनौं । शासकवर्गले जहिलो पनि हामीलाई शोषण मात्रै गर्छन् । हामी सबै संघर्ष एउटै लक्ष्यका लागि छ भने मिल्नुको विकल्प छैन । हामी एक भएर अगाडि बढ्यौं भने सुखद पक्ष हुन्छ ।
० पटक–पटक स्ववियु चुनाव स्थगित हुँदै आएको छ । यसपटक तोकिएको मितिमा स्ववियु चुनाव हुन्छ त ?
— विद्यार्थी आन्दोलनको नेपालमा एउटा लामो इतिहास छ । विद्यार्थी आन्दोलनकै कारण यो देशमा विभिन्न अमूल्य परिवर्तनहरु आएका छन् । विद्यार्थी राजनीतिबाटै आज नेपालमा धेरै प्रभावशाली नेताहरु स्थापित हुनुभएको छ । तर, आजको दिनमा विद्यार्थी युवालाई उपेक्षा गरिएको छ । यसको प्रमुख कारण हो, स्ववियु चुनाव नहुनु, विद्यार्थी संगठनहरुको रचनात्मक कार्यहरु नहुनु । त्यसैले, सबै विद्यार्थी संगठनहरुमाथि एउटा ठूलो जिम्मेवारी आएको छ कि हामीले निकास दिने कि नदिने ? राष्ट्रप्रेमी नेता उत्पादन गर्ने थलो स्ववियु भएकोले सबै विद्यार्थी संगठनहरु यो तोकिएकै मितिमा चुनाव हुनुपर्छ भन्नेमा प्रतिबद्ध छन् । त्यसैले, यसपटक कुनै बहानाबाजीमा स्ववियु चुनाव रोकिनु हुँदैन ।
तपाईको प्रतिक्रिया