० बारा २ को उपनिर्वाचनलाई कसरी हेर्दै हुनुहुन्छ ?
— बारा २ बाट निर्वाचित सम्माननीय रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेपछि स्वाभाविक प्रक्रियाअनुसार उपनिर्वाचन हुन लागेको हो । बारा २ को चुनाव लिएर विभिन्न किसिमका जुन प्रोपोगण्डाहरु फैलाइरहेका छन् । तर, यसलाई हामीले सहजरुपमा लिएका छौं ।
० तपाइँको पार्टी अध्यक्ष उपेन्द्र यादव यसअघिको चुनावमा पराजित भइसक्नुभएको छ, तर उपचुनावमार्फत् संसद छिर्न चाहनुभएको छ । संसदमा उहाँको आवश्यकता किन महसुस गर्नुभयो ?
— चुनावमा पराजय वा विजय हुनु लोकतान्त्रिक प्रक्रिया हो । सप्तरीमा उपेन्द्र यादव पराजय हुनुका धेरै कारणहरु थिए । एक पटक निर्वाचनमा पराजय हुँदैमा पुनः चुनाव लड्नु हुँदैन भन्ने कुरा छैन । अहिले देशको परिस्थितिका कारण मधेशका जनता र नेता कार्यकर्ताहरुले संघीय संसदमा उहाँको उपस्थिति अपरिहार्य रहेको महसुस गरेका छन् । मधेशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन उहाँको महत्वपूर्ण योगदान छ । आज संघीयताको जननी मानिने मधेश प्रदेश नामाकरणमा हाम्रो पार्टीले अग्रणी भूमिका खेल्यो र जसको नेतृत्व उपेन्द्र यादवले गर्नुभएको हो । अहिलेको अवस्थामा मधेश लगायत सम्पूर्ण उत्पीडितहरुको आवाज बुलन्दरुपमा संसदमा उठाउन उपेन्द्र यादवको आवश्यकता महसुस भएको हो ।
० तर उपेन्द्र यादव संसदमा पुगेपछि मधेशका एजेण्डाहरु पूरा हुन्छ त ?
— निश्चितरुपमा संघीय संसदमा उपेन्द्रको उपस्थिति अपरिहार्य छ । मधेश आन्दोलनले उठाएका एजेण्डाहरु मधेशका लागि मात्र नभई मुलुक सम्पूर्ण उपेक्षित, अपहेलित र शोषित पीडित जनताको हितमा रहेका छन् । आज मधेश आन्दोलनकै कारण मुलुकमा संघीयता, समावेशिता लागू भएको हो । त्यसकारण मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत र बाँकी मुद्दाहरु लागू गराउन उपेन्द्र यादव संसदमा आउनुपर्ने अपरिहार्यता हो । उपेन्द्र यादव एउटा नेतृत्वदायी व्यक्तित्व, दूरदर्शी सोच भएको नेता हुनुहुन्छ ।
० सप्तरी २ मा जस्तै बारा २ मा पनि उपेन्द्र यादवलाई पराजित गरेर पठाउने दाबी जनमतका नेताहरु गरिरहेका छन् नि ?
— कसलाई जिताउने वा हराउने सम्पूर्ण अधिकार जनता जनार्दनमा हुन्छ । बारा २ का जनताले उपेन्द्र यादवको योगदान र दूरदर्शी सोचलाई बुझेका छन् । बारा जिल्लामाथि उपेन्द्र यादवले ठूलो गुण लगाउनुभएको छ । बाराकै नेतालाई उपेन्द्र यादवले मुख्यमन्त्री बनाउनुभएको छ, उपराष्ट्रपति जस्तो सम्मानित पदमा बाराकै नेतालाई पु¥याउनुभएको छ । कसैले भन्दैमा उपेन्द्र यादव पराजित हुने होइन ।
० मधेशमा जसपाको प्रमुख प्रतिस्पर्धी जनमत पार्टी हो ?
— जनमत पार्टीसँग जसपाको कुनै प्रतिस्पर्धा छैन । हाम्रो प्रतिस्पर्धा भनेको ठूला दलहरुसँग छ । जसपा मुद्दामा आधारित भएर राष्ट्रिय राजनीतिमा स्थापित पार्टी हो । अहिले जनमतका नेताहरुले जसरी जसपा र उपेन्द्र यादवविरुद्ध लागेका छन्, यसबाट प्रष्ट हुन्छ कि उनीहरु आत्तिएका छन् । जनमतका नेताहरुलाई भय भइरहेको छ कि जसपा बलियो भने हाम्रो अस्तित्व समाप्त हुन्छ । जनमतका नेताहरु पराजित मानसिकताबाट ग्रस्ट देखिन्छ ।
० उपेन्द्र यादवलाई बाहिरिया, फिरंगी भनिरहेका छन् नि ?
— हाम्रो अध्यक्ष उपेन्द्र यादवलाई फिरंगी भन्छन् भने फिरंगीको परिभाषा नै परिवर्तन गर्नुपर्ने हुन्छ । जो मधेश पुत्र हो, यस धर्तीको पुत्र हो, जसले यहाँसम्म मधेश आन्दोलन हाँकेर ल्यायो, जसले मधेशीको हकहितका लागि यति संघर्ष ग¥यो, त्यो यदि बाहिरिया हो भने हिजोअस्ति मात्रै बाहिरबाट आएर राजनीतिमा स्पेस बनाउँदै गरेकाहरुलाई भित्ररिया भन्न मिल्छ ? त्यो भए त हामीले बाहिरिया र भित्ररियाको परिभाषालाई नै एकचोटि पुनरावलोकन गर्नुपर्छ ।
० उपेन्द्र यादवलाई सत्तारुढ दलका प्रमुख पाँच दलको समर्थन रहेको छ, उहाँको जीत सुनिश्चित हो ?
— चुनावमा पहिले नै जीत सुनिश्चित भनेर भन्न मिल्दैन तर हामी विश्वस्त छौं । सबै प्रमुख दलहरुले पनि हामीलाई समर्थन गरेका छन् । लोकतन्त्रमा बहुमतकै विजय हुन्छ, बहुमत हामीसँग छ । त्यसकारणले हामी भन्न सक्छौं कि उहाँको विजय सुनिश्चित छ । बारा २ का सम्पूर्ण मतदातालाई आह्वान गर्न चाहन्छु कि उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजय गराउनुस् ।
० जसपामा यादवहरुको मात्रै बाहुल्यता छ भन्ने आरोप छ नि ?
— यस्ता आरोपहरुमा सत्यता छैन । जसपा मात्रै यस्तो पार्टी हो जसले समानुपातिक समावेशिता सिद्धान्तअनुसार सांगठनिक संरचना बनाएको छ । जसपाले सबै जातजाति, वर्ग र समुदायलाई प्रतिनिधित्व गराउँदै आएको छ ।
० तपाइँ लामो समयदेखि राजनीतिमा लाग्नुभएको छ, तर जसपामा कुनै अवसर पाउनु भएन नि ?
— हो, लामो समयदेखि राजनीतिमा सक्रिय छु । मैले लाभका पदहरु नपाएकै हो । तर, म कुनै लााभ वा अवसरका लागि राजनीतिमा लागेको होइन । म सेवा भावले राजनीतिमा लागेको हुँ । मेरो कार्यको मूल्यांकन गरेर पार्टीले जिम्मेवारी दिँदै आएको छ । आगामी दिनमा मेरो कार्यको मूल्यांकन गरेर अवसर दिनेछ भन्नेमा विश्वस्त छु ।
० तपाइँको राजनीतिक पृष्ठभूमि के हो ?
— म बाल्यकालदेखि नै स्व.गजेन्द्र नारायण सिंहले स्थापना गर्नुभएको नेपाल सद्भावना पार्टीप्रति मेरो झुकाव रहँदै आएको थियो । पहिचान र संघीयताको आवाज उठाउने सद्भावना पार्टीबाट जोडिएको थिएँ । मेरो पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो । त्यहींबाट विस्तारै राजनीतिमा मेरो झुकाव बढ्दै गयो र पहिचानको लडाइँमा अगाडि बढ्दै गएँ । पछि सद्भावना पार्टी एकीकरण हुँदै जसपा निर्माण हुँदा अहिले पनि यो पार्टीमा सक्रियरुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छु ।
० राजनीतिमा महिलालाई कतिको चुनौती छन् ?
— राजनीतिमा महिलाको उपस्थिति चुनौतीपूर्ण छ । राजनीतिमा मात्रै होइन, जागिरका क्षेत्रमा पनि चुनौती छन् । नेपालमा हरेक क्षेत्रमा महिलाको उपस्थिति न्यून छ । पहिलो कुरा त महिला विभिन्न बन्धनमा बाँधिएका हुन्छन् । त्यसमा पनि हाम्रो समाज पितृसत्तात्मक रहेको छ । पारिवारिक ढाँचाले पनि महिलालाई पछाडि पारेको छ । राजनीतिक आवश्यकता भनेको त पछिको हो । पहिला गास, बास, कपास चाहियो, त्यसपछि स्वास्थ्य, सुरक्षा, आत्मसम्मान चाहियो । त्यसपछि मात्रै राजनीति आउँछ । मधेशको महिलाको कुरा गर्दा मधेशको बन्द समाज हो । मधेशका महिलाले आफ्नै परिवारको सदस्यका बीचमा मुख खोलेर निर्धक्क बोल्न सक्ने वातावरण हामीले बनाउन सकेका छैनौं । यसको मुख्य कारण हो शिक्षा । जबसम्म हामीले छोरीलाई शिक्षित गर्दैनौं, जब बुहारीलाई आर्थिकरुपले निर्भर बनाउँदैनौं, तबसम्म राजनीतिमा आउन सक्ने सम्भावना छैन ।
० तपाइँलाई राजनीतिमा आउन कतिको सहज थियो ?
— मलाई राजनीतिमा आउन धेरै सहज थिएन तर असहज पनि थिएन । मेरो राजनीतिक पारिवारिक पृष्ठभूमि भएकोले राजनीतिसँग नजिक थिएँ । मैले मेरो बुवाको संरक्षणमा राजनीतिमा विस्तारै लाग्दै गएँ । मेरो बुवाले मलाई शिक्षामा धेरै प्रोत्साहन गर्नुभयो । मैले बोल्न, आफ्नो कुरा राख्न बुवाबाट प्रोत्साहन पाएको हुँ । जब म शिक्षित भएँ अनि अनुभव गरें कि जबसम्म महिलाको अधिकारलाई सुनिश्चित गरिँदैन, तबसम्म महिला अगाडि बढ्न सक्दैन । किनकि सबैले उतिकै सहज र खुला वातावरण नपाएको हुनसक्छ । त्यसरी मभित्र राजनीतिक चेतना माइतीबाट जाग्यो । विवाहपछि मलाई अलि असहज भयो । तर, विस्तारै मैले आफ्नो कुराहरु राख्न थालेपछि सहज हुनथाल्यो ।
तपाईको प्रतिक्रिया