० आसन्न उपनिर्वाचनलाई तपाइँहरु बहिष्कार गर्नुभएको हो ?
— हामीले यो उपनिर्वाचन बहिष्कार गरेको जस्तो देखिएको छ । किनभने हामी निर्वाचनमा भाग लिन्छौं भनेर निर्वाचन आयोगमा दर्ता गराएकै छैनौं । त्यो दर्ता गराउन समयको खर्च हुन्छ । पैसाको पनि खर्च हुन्छ । धेरै किसिमका आर्थिक व्यवभार पर्न जान्छ । खर्च गरेर पनि चुनाव भाग लिँदा जित्ने अवस्था त छैन । जनतामा सही कुरा, सैद्धान्तिक विचार दिएर हुँदो रहेनछ । यो कुरा विगतका सबै निर्वाचनले देखाएको छ नि ।
० तपाइँहरु जित्ने सम्भावना नदेखेर यो उपनिर्वाचन भाग लिनुभएन ?
— जित्ने सम्भावना मात्रै होइन कि हामी जित्न सक्दैनौं भन्ने कुरा प्रष्टरुपमा थाहा छ । किनभने यहाँ १०–१२ करोड खर्च गरेर जित्नेहरुको बाहुल्यता छ । चुनाव जित्नका लागि पैसाको खोलो बगाएर जो आएका हुन्छन्, त्यस्ताहरुसँग प्रतिस्पर्धा गर्नु भनेको मुर्ख बन्नु हो । निर्वाचन आयोगको निकम्मापनले गर्दा यो चुनावमा लड्न हामी स्वीकार गरेनौं । केही राम्रा उम्मेद्वारहरु रहन्छन् भने हामीले सहयोग गर्न सक्छौं ।
० अहिलेको चुनावी प्रणाली त यस्तै छ, भनेपछि तपाइँहरु चुनावमै भाग नलिने ?
— यो जनताले सोच्नुपर्ने कुरा हो । पैसाको खोला बगाउनेहरुलाई जनताले जसरी जिताएर पठाउँछन्, सोच्नुपर्ने कुरा हो । जनतालाई सोच्न बाध्य पार्छौं हामी । जनताले सही उम्मेद्वारलाई जिताउने वातावरण बनाउन सकियो भने हामी निर्वाचनबाट भाग्ने होइन । गत निर्वाचनहरुमा हामी भाग लिएकै हो नि । यो विचारको राजनीति नभएकोले जनताको पैसा लुटेकाहरु चुनावमा जित्छन् ।
० अहिलेको उपनिर्वाचनमा बारा २ एकदमै चर्चाको विषय बनेको छ । त्यहाँ जसपा र जनमत पार्टीबीच एक किसिमको वाकयुद्ध नै चलेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
— कसैले कसैलाई छेकवार लगाउने कुरा हुँदैन, जनताले गर्ने हो । २०६२÷६३ मा हामीले उपेन्द्र यादवलाई सहयोग गरेका थियौं । २०६४ को संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरमको ५३ वटा सिट आएको थियो । त्यतिबेला उपेन्द्रजी हिरो हुनुभएको थियो । त्यसपछि उहाँको मधेशविरुद्ध व्यवहार देखियो र राजनीतिलाई कमाउने धन्दा बनाउनुभयो । त्यसपछि सीके राउतको उदय भएको थियो । सीके राउतले पनि छुट्टै देशको नारा लगाएर मधेशलाई ठग्नुभयो । उहाँ रातारात केपी नेतृत्वको सरकारसँग सम्झौता गरेर आउनुभएको हो नि त । तिनले पनि त्यतिखेर मधेशलाई ठगे । सीके राउतबाट विक्षिप्त भएकाहरु अहिले राष्ट्रिय स्वराज पार्टी गठन गरेका छन् । त्यसैले यिनीहरु जसरी मधेश र मधेश आन्दोलनलाई ठगीको धन्दा बनाएका छन्, तिनीहरु एकआपसमा लडाइ गरिरहेका छन् । राम्रो काम गर्नेलाई हाम्रो नैतिक समर्थन र सहयोग रहनेछ ।
० बारा २ मा जनमत र जसपाबीच कसले बाजी मार्ला ?
— गत निर्वाचनमा शिवचन्द्र कुशवाहा पाँच दलीय गठबन्धनका उम्मेद्वार थिए । अहिले पाँच दलको साझा उम्मेद्वार उपेन्द्र यादव हुनुहुन्छ । ठगहरुको जमघटमा कुन ठग जित्छन्, हामीलाई खासै कुनै मतलब हुँदैन ।
० तपाइँहरुले नेपाल रक्षा मञ्च गठन गर्नुभएको छ । यो नेपाल रक्षा मञ्च के हो त ?
— नेपाल रक्षा मञ्च भनेको नेपाल आमालाई हरेक किसिमबाट रक्षा गर्ने उद्देश्यले गठन गरेका हौं । हाम्रो हिन्दू सनातनी परम्परामा केही विकृत्तिहरु छन् भने त्यसलाई छोडेर राम्रा कुराहरु अँगालेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने योजना छ । त्यसमा विकास, राजनीति, सामाजिक बेथिति, जातीय भेदभाव, रोजगारका विभेदीकरणहरुका विरुद्धमा नेपाल रक्षा मञ्च घोषणा गरेका छौं । हामी नेपालको परिप्रेक्ष्यमा राजनीति गर्नुभन्दा पनि राजनीति गर्नेहरुमाथि कसरी अंकुश लगाउन सक्छौं, विकृत्ति फैलाउनबाट नेपाललाई कसरी बचाउन सक्छौं, त्यो उद्देश्य लिएर हामीले नेपाल रक्षा मञ्च गठन गरेका छौं । हाम्रा छिमेकी राष्ट्रहरुसँग सम्बन्धलाई सुमधुर राख्दै नेपाल र नेपालीका लागि कसरी काम गर्न सक्छौं, त्यसमा हाम्रो जोड हुन्छ । चीनले नेपालको हितमा कुनै काम गर्न चाहन्छ भने उसलाई पनि स्वागत गर्छौं । नेपालको हितका लागि नेपाल रक्षा मञ्च खडा भएको छ भने भारतको हितका लागि खोलिएका भारत रक्षा मञ्चसँगै मिल्दोजुल्दो केही कुराहरु हामी गर्छौं । भारत रक्षा मञ्चका राष्ट्रिय संयोजक सूर्यकान्त केलकरसहितको टोली हालै नेपालका धार्मिकस्थलहरुको भ्रमण गरी फर्किनुभएको छ । उहाँहरुलाई हामीले लुम्बिनीमा स्वागत गरेका थियौं । त्यसपछि देवघाट त्रिवेणी हुँदै पशुपतिनाथ दर्शन गर्दै यहाँका सामाजिक एवं प्रतिष्ठित राजनीतिज्ञसँग पनि भेटघाट गराएका थियौं । नेपाल–भारतको संस्कृति, सभ्यता र धार्मिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
० नेपाल रक्षा मञ्चको मूल एजेण्डा हिन्दू राष्ट्र हो ?
— विकासका लागि हामी एकजुट हुनुपर्छ । एकजुटका लागि हामी बहुसंख्यक सनातनी धर्मावलम्बीहरु छौं । गणतान्त्रिक हिन्दू राष्ट्र स्थापनार्थ हामीले नेपाल रक्षा मञ्च घोषणा गरेका हौं । एउटा एकताको सूत्रमा बाँध्नका लागि एउटा यो मात्रै बाटो छ, जो नेपाललाई रक्षा गर्न सक्छ ।
० प्रायः हिन्दूवादी संगठनहरुको एजेण्डा राजसंस्था पनि हुन्छ । तपाइँहरुको एजेण्डामा राजसंस्था छ कि छैन ?
— गणतान्त्रिक हिन्दू राष्ट्र हाम्रो एजेण्डा हो । अहिलेको जनताको राज आइसकेकोले फेरि पनि वंशानुगत शासनसत्ता ल्याउन दिनु हुँदैन । हिन्दू राष्ट्रको नाममा धेरैले भजाउने काम गरेका छन् होला । तर, हामीले गणतान्त्रिक हिन्दू राष्ट्र हुनुपर्छ भनेर सैद्धान्तिकरुपमा अगाडि बढिरहेका छौं ।
० अहिले धेरै राजा हुँदा त नेपाल धर्मनिरपेक्ष भयो नि ?
— पहिला हिन्दू राष्ट्रको नाममा एउटा परिवारले जनतालाई शोषण गथ्र्यो । त्यो हामीलाई स्वीकार छैन । शासन जनताले गर्नुप¥यो, जनताद्वारा निर्वाचित हुनुप¥यो ।
० नेपाल पुनः हिन्दू राष्ट्र हुने सम्भावना छ ?
— बिल्कुल सम्भव छ । किनभने अहिले हामी देशैभर एउटा अभियान चलाइरहेका छौं । राजासहितको हिन्दू राष्ट्र भन्नेहरु पनि गणतान्त्रिक हिन्दू राष्ट्रलाई स्वीकार्ने वातावरण बन्दै गएको छ । विभिन्न हिन्दूवादी संघसंस्थाहरुले हामीसँग मिलेर काम गर्ने भनिरहेका छन् । हामीले हिन्दूको नाममा मागी खाने जस्तो काम गर्दैनौं । हामी सबैलाई मिलाएर अगाडि बढ्ने अठोट गरेका छौं । तीन करोड नेपाली जनताले स्वयम् आफै सोच्नुप¥यो कि आफैले आफैलाई कसरी सहयोग गर्न सक्छौं । हाम्रो नेपाल रक्षा मञ्चले रोजगारका कार्यक्रमहरु पनि ल्याउँदैछ । निकट भविष्यमा हामी एउटा परिणाम देखाउनेछौं ।
० अहिले राजावादी संघसंस्था र पूर्वराजा ज्ञानेन्द्र शाह आफै पनि सक्रिय देखिँदै हुनुहुन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?
— केही राजावादी संघसंस्थाहरु नाटक मञ्चन गरिरहेका छन् । ज्ञानेन्द्र शाहले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गरिसकेपछि, जनताको नासो जनतामा गइसकेपछि अब फेरि पनि त्यो नासो लिन्छु भनेर लाग्नु हुँदैन । नेपाल र नेपालीको हितका लागि पटक–पटक नेताहरुलाई पूर्वराजाले घच्घचाइरहनु सही कुरा हो । प्रधानमन्त्री प्रचण्डलाई नै हेर्नुस्, सय दिन पूरा गरिसक्यो तर जनताका लागि केही पनि काम गर्नुभएको छैन ।
तपाईको प्रतिक्रिया