‘नागरिकताजस्तो विधेयकलाई वर्षौंसम्म अड्काएर राख्नु राजनीतिक अपराध हो’

अन्तर्वार्ता

० तपाइँ मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता हुनुहुन्थ्यो, चुनावका बेला राजीनामा दिएर जसपा प्रवेश गरी महोत्तरी ३ (क)बाट प्रदेशसभामा चुनाव लड्नुभयो र पराजित हुनुभयो । त्यसपछि तपाइँले पुनः कानून व्यवसायमै फर्केको घोषणा गर्नुभएको थियो । अहिले तपाइँ राजनीतिकर्मी कि कानून व्यवसायी ?

— राजनीति भनेको समाज र स्वयम् सेवा होा । राजनीति भनेको ‘फुलटाइम जब’ हुँदैन । त्यो भनेको भ्रष्टाचारको स्रोत हो कि जनतालाई दिनभरि दलाली, ठेकेदारी गर्ने अनि आफू फुलटाइम छु भनी दाबी गर्ने । जति पनि विकसिक देशहरु छन्, ती देशहरुमा प्रायः प्रोफेसनलहरु राजनीतिज्ञ हुन्छन् । उनीहरुको आम्दानीको कुनै स्रोत हुन्छ । त्यो स्रोतबाट आफ्नो जीविकोपार्जन गर्छन् र राजनीतिलाई समाजसेवाको लिन्छ । म त्यहीं सिद्धान्तमा विश्वास गर्छु ।

० तपाइँको अहिले पोजिसन के हो ?

— म अहिले राजनीति र कानून व्यवसाय दुईटै कामलाई सन्तुलितरुपमा अगाडि बढाएको छु । म एउटा वकिलको रुपमा जिल्ला अदालत, सर्वोच्च अदालत, उच्च अदालत लगायत मेरो ल फर्ममा मुद्दाहरु हेरिरहेको छु । दैनिक अदालत गइरहेको छु र मैले हप्ताको शुक्रबार र शनिबार बिदा पारेर जनताको सेवा पनि गरिरहेको छु । जनताको बीचमा गएर आफूबाट हुनसक्ने विकास निर्माण, सुरक्षा लगायतका कामहरु उतिकै महत्वका साथ अगाडि बढाएको छु ।

० तपाइँ जनता समाजवादी पार्टी नेपालको नेता पनि हुनुहुन्छ ?

— जसपा प्रवेश गरेर चुनाव मैले लडेको हो । चुनावमा म १७३ मतले पराजित पनि भएँ । त्यसपछि पार्टीले मलाई कुनै पनि जिम्मेवारी वा भूमिकामा राखेको छैन । अब हेरौं पार्टीले के गर्छ ।

० तपाइँ जसपाको कुनै पदाधिकारी नभए पनि तपाइँको भूमिका र सहभागिता देखिँदैन आएको छ नि ?

— म एउटा वकिल हो । जसपाले अध्ययन, पढलेख लगायतका कामहरुमा मलाई जिम्मेवारी दिने गरेको छ । संसदीय दलको नेता छनोट, विधान मस्यौदा लगायतका कामहरु पार्टी अध्यक्षले अ¥हाउनु हुँदा मैले आफ्नो भूमिका निर्वाह गर्ने गर्दछु । म कुनै पनि पार्टीको सक्रिय सदस्य भएर लागेको छैन । लेखपढ गर्ने काममा जुन पार्टीले बोलाएपनि म सहयोग गर्ने गरेको छु । अस्ति जनमत पार्टीले नै संविधानको विज्ञको विषयमा एउटा प्रेजेन्टेसनका लागि बोलाएको थियो, त्यसमा म गएकै थिएँ । त्यसैले जुनसुकै पार्टीले पनि मेरो विद्वताबाट लिन सक्ने सल्लाह–सुझाव र मुद्दाको विषयमा मलाई बोलाउन सक्छन् । संवैधानिक कानून, फौजदारी कानून, मानव अधिकार कानूनमा म तीनवटा देशबाट मास्टर डिग्री गरेको छु । म निरन्तर यो क्षेत्रमा १०–१२ वर्षदेखि काम गरेको छु । त्यसकारणले मेरो अनुभव, शिक्षाबाट यदि कुनै पनि दललाई त्यसबाट सहयोग हुन्छ भने म जतिबेला पनि खुल्ला छु । म आफ्नो बौद्धिकतालाई लिमिटेशनमा राखेको छैन । अन्य दलहरुलाई पनि मेरो आग्रह छ कि कुनै दल विशेषको भनेर मलाई नहेरिदिनुस् । मेरो बौद्धिकताबाट हुनसक्ने सहयोग सबै पार्टी र सबैका लागि खुल्ला छ ।

० मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको रुपमा काम गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ?

— मैले आफ्नो कार्यावधिलाई एउटा ‘सुनौलो समय’को रुपमा लिएको छु । किनभने त्यो पहिलो कार्यकाल थियो, जहाँ टेबुल, कुर्सीदेखि निवाससमेत जोड्नुपर्ने, नयाँ गोरेटो कोर्नुपर्ने अवस्था थियो । घरको फाउण्डेशन बनाउने जुन जिम्मा हुन्छ, त्यो हामीले पाएका थियौं । घर बनाउन त पाएनौं, तर जग हाल्न पायौं । त्यो जग नै मूल विषय हो । जग कस्तो बनाउँछ, त्यसले घरको निर्धारण गर्छ । म कानून मस्यौदा समितिको संयोजक पनि थिएँ । मेरो पालामा ५०–५२ वटा विधेयकहरु त्यहाँको संसदमा गयो । ती ऐतिहासिक विधेयकहरु छन् । निजामती विधेयक, लोकसेवा, प्रहरी ऐन, दलित सशक्तिकरण ऐन, महिलालाई ५० प्रतिशत आरक्षण, जातीय जनसंख्याको आधारमा आरक्षण लगायत थुप्रै विधेयक र ऐनहरु सबभन्दा पहिले मधेश प्रदेशमै बन्यो । जतिबेला म कानून मस्यौया समितिको अध्यक्ष थिएँ, त्यो बेलामा थुप्रै कामहरु भएको थियो । त्यसकारण मैले फाउण्डेशन राम्रो बनाएँ भन्ने लागेको छ । अब मलाई कसैले कार्यकारी भूमिकासँग जोडेर हे¥यो भने त अर्कै तस्वीर देखिन्छ ।

० मधेश प्रदेशमा सबभन्दा बढी ऐन कानून बनेपनि परिणाम र कार्यान्वयनमा देखिएको छैन नि ?

— कार्यकारी भूमिकामा थिएन । बनेका ऐन कानूनहरुलाई कार्यकारीले प्रभावकारी हिसावले कार्यान्वयन गर्न नसकेको हो । सरकारी निकायहरु राम्रोसँग सञ्चालन हुन नसकेको कारणले त्यो भएको हो । जुन हिसावले कानूनहरु बनेका छन्, त्यसलाई दरिलो गरी टेकेर काम गर्ने हो भने मज्जाले परिवर्तनको महसुस हुन सकिन्छ ।

० मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरुले संघीय सरकारकै दोष देखाउँछन् त ?

— यसलाई म अर्धसत्य भन्छु । हो, केही हदसम्म संघको समन्वय र सहयोग नहुँदा काम गर्न सकेको हो । तर, जे छ त्यसैलाई राम्रोसँग काम गर्न नसकेको अवस्था छ । त्यसकारणले दुईटै पाटो हेर्नुपर्छ । जे स्रोत, साधन, प्रणाली छ, त्यसलाई अधिकतम् पनि प्रयोग गरियो भने जनताले महसुस हुने खालका कामहरु गर्न सकिन्छ ।

० तपाइँ मुख्य न्यायाधिवक्ता हुँदाखेरि नै प्रदेश सरकारले संघीय सरकारविरुद्ध विभिन्न मुद्दाहरु दिएको थियो । ती मुद्दाहरुको अवस्था के छ ?

— ती मुद्दाहरु अदालतमा विचाराधिन छन् । मैले यसबारे कुनै चासो पनि राखेको छैन । पदमा हुँदा मैले आफ्नो जिम्मेवारी पूरा गरेको हुँ । पदबाट हटिसकेपछि पनि मैले चासो राखिराख्नु राम्रो हुँदैन । ती मुद्दाहरु अहिले पनि अदालतमा विचाराधिन नै छन् ।

० तपाइँ एउटा सफल र प्रभावशाली कानून व्यवसायी हुनुहुन्थ्यो, मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पनि हुनुभयो । तर, राजनीतिमा लाग्नुको कारण थियो ?

— मैले समाजलाई सेवा दिँदै थिएँ, दिँदै छु र अहिले पनि प्रभावकारी नै छु । मसँग मुद्दाको कमी छैन । अहिले पनि दैनिक ३–४ वटा मुद्दा हेर्ने गरेको छु । त्यो नै मेरो ओरिजनालिटी हो । म आफ्नो ओरिजनालिटी गुमाउँदिन । तर मलाई कि देश विरामी छ, अर्थ व्यवस्था बिग्रेको छ, धेरै कुरा बिग्रेको छ । पढेलेखेका पुस्ताले आफ्नो ज्ञान, सीप, योग्यतालाई देश बनाउन प्रयोग गरेन भने अझ पछाडि धकेलिन्छ । व्यक्तिगत विकास त होला, व्यक्तिगत पैसा कमाउँला, व्यक्तिगत हिसावले अगाडि बढौंला । तर समाज र देशलाई अगाडि बढाउन सकिएन भने त्यो ठिक हुँदैन जस्तो मलाई लाग्यो । त्यो ठिक गर्न सबै कुराको जड राजनीति नै हो । त्यहीं भएर राजनीतिलाई ठिक गर्नुपर्छ भन्ने हिसावले प्रवेश गरेको हो ।

० तपाइँ जस्तो कानून विज्ञहरु त संघीय संसदमा आउनुपर्ने थियो, प्रदेशसभामा किन चुनाव लड्नुभयो त ?

— म संघीय सांसदमै लड्ने भनेर पार्टी प्रवेश गरेको थिएँ । टिकट दिने एक दिन अगाडि मैले टिकट नपाउने कुरा आयो । त्यसपछि म विकल्पहीन भएँ । नभए प्रदेशसभामा लड्ने मेरो कुनै रहर थिएन । म कुनै विकल्प नभएपछि अन्तिम क्षणमा बाध्यतावश प्रदेशसभामा चुनाव लड्न पुगे । एक महिना अगाडि मात्रै मैले पार्टी प्रवेश गरेको थिएँ, टिकट नपाउँदा अर्को पार्टी प्रवेश गरौं भन्ने कुरा पनि मलाई ठिक लागेन ।

० स्वतन्त्र उम्मेद्वारी दिन सकिन्थ्यो नि ?

— मैले पार्टी प्रवेश नगरी सुरुमै स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको भए राम्रो अवस्था हुन्थ्यो । एकचोटि पार्टी प्रवेश गरिसकेपछि टिकट नपाउँदा स्वतन्त्र उम्मेद्वारी दिएको भए राम्रो सन्देश जाँदैनथ्यो । टिकटकै लागिा पार्टी परिवर्तन गर्ने, विचलित हुने जस्ता कार्य राजनीतिमा राम्रो मानिँदैन । त्यसैले म प्रदेशसभामै चुनाव लडें । केही नभएपनि जनताले मलाई चिने । वास्तवमा म प्रदेशसभाका लागि कहिल्यै पनि तयार भएको थिएन । तर, मैले जनतामा जाने वाचा गरिसकेपछि जनतामा जान्छु भन्ने हिसावले गएको हुँ ।

० मधेशमा जातिवाद र पैसाले मात्र चुनाव जितिन्छ भन्ने ट्रेन्ड छ । तपाइँ पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्नुभयो । चुनावी अनुभव कस्तो रह्यो ?

— तपाइँले भनेको ठिकै हो । स्वर्णिम वाग्ले तनहुँबाट चुनाव जित्नुभयो । जो मान्छे कहिल्यै तनहुँमा बसेको छैन, गोर्खामा जन्मेको, काठमाडौंमा पढेको मान्छेको पर्सनालिटी र ब्याकग्राउण्डको आधारमा जनताले स्वर्णिम वाग्लेलाई मत दिए । म मधेश प्रदेशमा पाँच बसेको थिएँ, विकास निर्माणमा पनि संलग्न भएको थिएँ । मैले पनि बेलायत, अमेरिका, थाइल्याण्ड, नेपाल जस्ता देशहरुबाट पढेको छु । म न्यायिक क्षेत्रमा पनि जान सक्थे, त्यो कुरालाई पनि मैले त्याग गरें । समाजलाई अगाडि बढाउनुपर्छ भन्ने हिसावले म राजनीतिमा आएँ । तर, जनताले मलाई मत दिएका पनि हुन्, १०००० हजार मत मैले पाएँ । म पराजित हुनुको कारण मैले पैसा र माछा बाँड्न सकिन । त्यो स्तरसम्म जानु हुँदैन भन्ने मेरो मान्यता छ । मैले संसारको टप युनिभर्सिटीबाट पढेको छु, मधेश आन्दोलनमा जेनेभासम्म मुद्दा दर्ता गरेको छु, हजारौं मान्छेको नागरिकता मुद्दा हेरेको छु । ती सबै गरिसकेपछि मैले पैसा र माछा बाँड्न नैतिकताले मलाई दिएन । त्यसकारणले विभिन्न कारणहरुले म चुनाव हारे । तर जनताले मलाई धेरै माया गरेका छन् ।

० मधेशका जनतामा राजनीतिक चेतनाको कमी रहेको छ ?

— पहाड र मधेशमा भिन्नता छ । मधेशमा धर्म, जात, पैसा, षड्यन्त्र, धोका लगायतका कुराहरुले प्रभाव पार्छन् । त्यसमा पनि जनताले होइन, केही ब्रोकरहरुले प्रयोग गर्छन् । पहाडमा जनता सचेत छन् । मधेशका जनताहरु पनि सचेत छन्, तर केही समूहहरुले त्यसलाई मेनुप्लेट गर्छन् । तर यो धेरै दिन कायम रहँदैन । जुन हावा चितवन र तनहुँमा चलेको छ, त्यो हावा २०८४ को चुनावमा मधेशमा पनि पस्नेछ । जनताले आफ्ना प्रतिनिधि स्वतन्त्र र निष्पक्षरुपमा संसदमा खरोरुपमा आवाज उठाउन सक्ने पढेलेखेका उम्मेद्वारलाई जिताएर पठाउँछन् ।

० भनेपछि २०८४ मा हुने आमचुनावको तयारीमा लाग्नुभएको छ ?

— म तयारी गर्दैछु । आगामी चुनावमा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा चुनाव लड्छु ।

० त्यो बेला यदि पार्टीले तपाइँलाई टिकट दिएन भने ?

— जनता साथमा छन् भने पार्टीले कुनै फरक पर्दैन । तर, पार्टीले आगामी चुनावमा प्रतिनिधिसभा सदस्यका लागि टिकट मलाई दिन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।

० विगतमा दुई–दुई पटक नागरिकता विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष पठाइयो तर तत्कालीन राष्ट्रापतिले थन्काइदिनुभयो । अहिले फेरिक नागरिक विधेयकबारे चर्चा भइरहेको छ । नागरिकता समस्याको निकास के देख्नुहुन्छ ?

— नागरिकताजस्तो विधेयकलाई वर्षौंसम्म धन्क्याएर राख्नु राजनीतिक अपराध हो । त्यो अपरामा जो–जो सामेल छन्, तिनीहरुलाई जनतालो सजाय दिनेछन् । बाउआमा नेपाली हुने तर छोराछोरी विदेशी हुने कहीं हुन्छ ? हरिविजोग अवस्था बनाएको छ । दैनिक यस्तो मुद्दा मैले हेर्ने गर्छु, त्यहींभएर यसको वास्तविकता मलाई थाहा छ । फास्टट्रयाकबाट सरकारले त्यहीं नागरिकता विधेयक सदनमा दर्ता गराएर, मन्त्रिपरिषद्बाट पास गर्नुपर्छ । दुईटै सदनबाट दुईचोटि पास भइसकेकोले छलफल गराउनु पर्दैन । फास्टट्रयाकबाट पलेनरी हाउसमा एक दिन प्रस्तुत गरेर अर्को दिन सबैले हात उठाएर पास गरी राष्ट्रपति समक्ष प्रमाणीकरण गर्न पठाउनुपर्छ । यो नै एउटा उपाय हो र यहीं बाटोमा जानुपर्छ । अन्य भनेको भुलभुलैया हो ।

० तत्कालीन राष्ट्रपतिले आफ्नो अधिकारको दुरुपयोग गरी विधेयकलाई अड्काउनुभयो । त्यसको म्याद सकिसकेपछि, त्यो विधेयक स्वतः प्रमाणीकरण भएको मानी यसलाई कार्यान्वयनमा लानुपर्ने तर्कहरु पनि छन् नि ?

— प्रधानमन्त्रीले मलाई बोलाउँदा मैले नै त्यो सल्लाह दिएको हुँ । त्यो सल्लाहमा म अझै पनि अडिग छु । सदनबाट दुई–दुई पटक पारित गएको विधेयक राष्ट्रापति प्रमाणीकरण गरेन भने त्यो स्वतः प्रमाणीकरण हुने व्यवस्था अमेरिकामा छ, हाम्रो संविधानमा स्वतः लेखिएको छैन । दोस्रो पटक विधेयकलाई रोक्ने अधिकार राष्ट्रपतिलाई छैन । अब कानून मन्त्रालयले राजपत्रमा छाप्दा हुन्छ भनेर प्रधानमन्त्रीलाई हामीले सल्लाह दिएकै हो । तर त्यो त उतिबेलाको कुरा हो । अहिले त सदन नै नयाँ आइसक्यो, राष्ट्रापति पनि अर्को आइसक्यो ।

० तर त्यो विधेयकलाई राष्ट्रघाती भनेर संज्ञा दिँदैछन् ?

— राष्ट्रघाती भन्नेहरुले यो विधेयक पढ्नु पर्दैन ? एमाले आफैले त्यो विधेयक ल्याएको थियो । केपी ओाली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याउनुभएको थियो । त्यो अध्यादेश र यो विधेयकमा भिन्नता छ ? अनि आफैले ल्याएको कुरालाई आफेलो विरोध गर्ने ? जनतालाई कति झुक्याउने ? त्यो विधेयकमा जसको बाउआमा नेपाली छन्, तिनका सन्तानलाई नागरिकता दिने भनिएको छ ।

० विदेशबाट आएकी बुहारीको विषय अलि बढी विवादित छ ?

— विदेशी बुहारीका विषयमा त्यो विधेयकमा छँदैछैन । त्यो विषयमा अहिले कुरा नै नगरौं । त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु कि कन्फ्युजन क्रिएट नगर्नुस् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ