२०८४ को चुनावमा जनमत पार्टी पहिलो पार्टी बन्छ

अन्तर्वार्ता

रामबाबु साह, मधेश प्रदेश समिति सदस्य, जनमत पार्टी

० तपाइँ एउटा मानव अधिकारकर्मी पनि हुनुहुन्छ, जनमत पार्टीमा किन लाग्नुभयो ?

— हाम्रो जनमत पार्टीका अध्यक्ष डा.सीके राउत जुन सेवाभावले मधेशमा आउनुभयो, त्यसबाट प्रेरित भएर म सक्रिय राजनीतिमा लाग्न जनमत पार्टी प्रवेश गरेको हुँ । वास्तविक राजनेतामा हुनुपर्ने गुण मैले डा.सीके राउतमा देखें । म राष्ट्रिय मानवअधिकार केन्द्रमा पनि लागेको हुँ, तर राजनीतिमा लागेर जनताको मुद्दाहरु उठाउन सकिन्छ र समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले जनमत पार्टी पहिलो रोजाइमा परेको हो । समाजसेवा गर्ने मेरो पहिलेदेखि नै उद्देश्य थियो र जनमत पार्टीको लक्ष्य र उद्देश्य पनि त्यहीं देखें ।

० समाजसेवा गर्न राजनीतिक दलमै लाग्नुपर्ने हो त ?

— हामी जुन मुद्दा लिएर अगाडि बढ्दैछौं, त्यसलाई सम्बोधन गराउन राजनीति नै माध्यम हो । हामी जतिसुकै अभियान चलाएपनि नीति निर्माण गर्ने थलो राजनिित नै हो । जनमत पार्टी एउटा राजनीतिक दल मात्रै होइन, यो एउटा अभियान पनि हो । जनमत पार्टीले मात्रै नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित र अधिकारबाट वञ्चित समुदायको अधिकार दिलाउन सक्छ । किनकि जनमत पार्टीको नेतृत्वकर्ता एउटा वैज्ञानिक र स्पष्ट रोडम्याप भएको नेता हुनुहुन्छ । जनमत पार्टी मधेशमा मात्रै होइन, हिमाल र पहाडमा पनि लोकप्रिय बन्दै गएको छ । जनमत पार्टीले आमजनताका माग र मुद्दा उठाउँदै आएको छ ।

० तपाइँ प्रदेशसभा चुनाव लड्नुभएको थियो तर जनताले पत्याएन नि ?

— जनताले मलाई पत्याएन भन्ने कुरा सही होइन । किनभने सबैलाई थाहा भएकै कुरा हो कि ठूला र पूराना राजनीतिक दलहरुले महागठबन्धनहरु नै बनाएर चुनाव लडेका थिए । तर जनमत पार्टी एक्लै चुनावमा होमियो । महागठबन्धनहरु हुँदाहुँदै पनि म धनुषा निर्वाचन क्षेत्र नं. ३ (ख) मा जनताले मलाई तेस्रो नम्बरमा पु¥याए । त्यो मत भनेको हाम्रो जीत नै हो । यदि ती दलहरुले गठबन्धन नगरेको भए जनमत पार्टी मधेश प्रदेशमा पहिलो पार्टी बन्ने थियो । तर, गत चुनावको रुझान हेर्ने हो भने जनताले जनमत पार्टीलाई नै मन पराएको छ ।

० मधेश प्रदेशको सरकारमा जनमत पार्टीका उपाध्यक्ष ई.बसन्त कुशवाहालाई अहिले मन्त्रालयविहीन बनाइएको छ नि ?

— ई.बसन्त कुशवाहा मन्त्री हुँदा उहाँले गर्नुभएको कामहरु देखेर अन्य सत्तारुढ दलहरु आत्तिएका छन् । उहाँ कृषि मन्त्री हुँदा दिनदिनै किसान र कृषि क्षेत्रका लागि राम्रा योजनाहरु ल्याउनु भएको थियो । किसानका मुद्दाहरु सम्बोधन भइरहेको थियो । तर, किसान र आमजनताको पक्षमा राम्रो काम भइरहेको देखेर सरकारको नेतृत्व गरिरहेको दलहरुलाई त्यो पचेन । दिनहुँ कृषिमन्त्री र जनमत पार्टीको बढ्दै गइरहेको लोकप्रियताबाट अन्य दलहरु तर्सिएका छन् । त्यसैले उहाँलाई अहिले मुख्यमन्त्रीले विनाविभागीय बनाएर राख्नुभएको छ । हामी जनताको समस्या समाधानका लागि राजनीतिमा आएका छौं । त्यसबाट हामी आत्तिएका छैनौं ।

० उहाँलाई विभागीय कहिलेसम्म बनाइराख्ने ?

— यसबारे हाम्रो अध्यक्ष डा.सीके राउतले गठबन्धनभित्र कुरा गरिरहनुभएको छ । हामी सरकारमै बसिरहनुपर्छा भन्ने छैन । जनताको पक्षमा काम गर्नका लागि हामी सरकारमा गएका हौं । सत्ता गठबन्धनले के निर्णय गर्छ, त्यसपछि हाम्रो पार्टीले उचित निर्णय गर्नेछ । जनताले हामीलाई जुन किसिमको मतादेश दिएको छ, त्यहींअनुसार हामी काम गरिरहेका छौं ।

० जनमत पार्टीले संघीय सरकारको बजेटमा विरोध जनाएको छ । बजेटको प्रतिलिपि पनि जनाएको छ । तपाइँहरुको असन्तुष्टि किन ?

— संघीय सरकारको बजेट पूर्णरुपमा मधेश विरोधी हो । बजेटले मधेशलाई उपेक्षा र विभेद गर्दै आएको छ । त्यसकै निरन्तरताको रुपमा यसपटकको पनि बजेट रहेको छ । हाम्रा अध्यक्षलगायत सांसदहरुले सदनमा बजेटलाई सच्याउन जतिसुकै आवाज उठाएपनि कुनै किसिमको संम्बोधन भएन । त्यसैकारण, जनमत पार्टीले बजेटमा मतदान गरेन । जनमत पार्टीले संघीय सरकारको बजेटलाई बहिष्कार गरेको छ । जनमत पार्टी आफ्नो नीति र सिद्धान्तमा अडिग रहेको पार्टी हो । अन्य पार्टीजस्तो कुनै प्रलोभनमा पर्दैन । संघीय सरकारको बजेटलाई सत्तारुढ गठबन्धनकै लगभग सबै पार्टीले विरोध गरेका थिए तर त्यसको विपक्षमा जान सकेन । तिनीहरु विभिन्न लोभ र प्रभावमा परेर मधेश र जनताविरोधी बजेटलाई बहुमतबाट पारित गराए ।

० मधेश प्रदेश सरकारले ल्याएको बजेटप्रति तपाइँहरुको धारणा के छ ?

— मधेश प्रदेश सरकारको बजेट पनि सन्तोषजनक छैन । त्यसमा पनि हाम्रा विभिन्न फरक मतहरु छन् । किनभने मधेश सरकारले अहिलेको अवस्थामा कस्तो बजेट ल्याउनुपर्दथ्यो त्यसको प्राथामिकतामा के–के हुनुपर्दथ्यो, त्यो स्पष्ट छैन । कृषिका धेरै कुराहरु गरिएको छ, तर जुन बजेट छुट्याइएको छ, त्यसप्रति हाम्रो विमति छ । विभिन्न शीर्षकमा बजेट छुट्याइएपनि त्यसको स्पष्ट मागचित्र छैन । मधेश सरकारले उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने खालका योजनाहरु ल्याउनुपर्ने थियो । मधेश सरकारको बजेट पनि वितरणमुखी नै देखिएको छ । मधेशमा कृषि, औद्योगीकर, रोजगारका आधारहरु प्रष्ट छन् । तर, त्यतिातिर मधेश सरकारको ध्यान जान सकेको छैन ।

० मधेश सरकारको बजेटमा जनमत पार्टीको एजेण्डाहरु समेटिएको छैन ?

— मधेश सरकारले ल्याएको बजेटले जनताको जनजीविकासँग सम्बन्धित मुद्दाहरुलाई छोएको छैन । अहिले पनि किसानहरु मलखाद पाउने अवस्था छैन । मधेशका किसानहरु आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । किसान र कृषिका कुराहरु त गरिएको छ तर जनता कसरी लाभान्वित हुने प्रष्ट छैन । अहिले सबभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । दिनहुँ युवाहरु विदेश पलायन भइरहेका छन् । तर मधेश सरकारले युवालाई प्राथामिकतामा राखेर रोजगारी कसरी सिर्जना गर्ने भन्ने कुराको सुनिश्चितता छैन । मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बजेटलाई बढी केन्द्रित गरेका छन् । त्यसैले हाम्रो विरोध हो । हामी जनताका मुद्दा उठाइरहेका छन् । जनताले हेरिरहेका छन् कि कुन पार्टी कस्तो छ । त्यसैले आगामी चुनावमा जनताले जनमत पार्टीलाई भारी मतसहित विजयी बनाउँछ र जनमत पार्टीको सरकार बन्छ ।

० आगामी चुनावमा जनमत पार्टी पहिलो पार्टी बन्छ ?

— निश्चितरुपमा आगामी चुनावमा जनमत पार्टीलाई जनताले विजयी बनाउँछन् । अस्ति भर्खरै सम्पन्न बारा २ को उपनिर्वाचनले प्रष्ट संकेत गरिसकेको छ । बारामा हाम्रो कमिटीहरुसमेत गठन भइसकेको थिएन, नगर कमिटीसमेत थिएन । तर, हाम्रो उम्मेद्वार शिवचन्द्र कुशवाहाले जुन मत ल्याउनुभएको छ, त्यो आफैमा एक प्रकार जीत हो । त्यहाँ सबै दलहरुले गठबन्धन गरेका थिए, सबै शक्ति लगाएका थिए तर पनि उपेन्द्र यादवलाई जित्न सकस परेको थियो । पाँच÷सात दलले गठबन्धन गरेर पनि हामीभन्दा थोरै मतले उपेन्द्र यादव विजयी भएका थिए । वास्तवमा भन्ने हो भने जनताले जनमत पार्टीलाई नै मन पराएका छन् । उपेन्द्र यादव एक्लै चुनावमा लड्न आएको भए हामीभन्दा दोब्बर–तेब्बरभन्दा बढी मतले पराजित हुनेथ्यो । त्यसैले आउने चुनावमा अन्य दलहरुले जतिसुकै गठबन्धन गरेपनि जनमत पार्टीलाई जिताउँछन् ।

० भनेपछि २०८४ को चुनावमा जनमत पार्टीले मधेश प्रदेशमा बहुमत ल्याउँछ ?

— हामी विश्वस्त छौं । पार्टी गठनको छोटो समयमा जनमत पार्टीप्रति जसरी जनताले विश्वास गरेका छन्, आगामी दिनमा झन् ठूलो मतान्तरले जनमत पार्टीलाई नै विजयी बनाउने छन् । किनकि जनमत पार्टी जनताको बीचबाट बनेको पार्टी हो । हाम्रो मूल नारा विकास, समृद्धि र शान्ति नै हो । जनमत पार्टीले जे भन्छ त्यहीं गर्छ । अन्य दलजस्तो ढुलमुले नीति लिएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ