देशलाई बचाउनु छ भने राजाको अभिभावकीय भूमिका आवश्यक : सन्तोषानन्द महाराज

अन्तर्वार्ता

सन्तोषानन्द महाराज, अध्यक्ष, नेपालका लागि नेपाली पार्टी

० हिन्दू राष्ट्र पुनःस्थापनाको अभियान चलाउँदै गर्दा अहिले नेपालका लागि नेपाली पार्टीको अध्यक्ष बन्नुभएको छ । राजनीतिक दलमा किन लाग्नुभयो ?

— धार्मिक र सामाजिक कार्य गर्दै सनातन हिन्दू राष्ट्र स्थापनाका लागि विभिन्न कार्यहरू गर्दै आएका थियौं । तर, धार्मिक संघसंस्थाले जति कार्य गरेपनि हरेक चीजको नीति निर्माण गर्ने थलो राजनीति नै हो । राजनीतिक दलका नेताहरूले नै संसदमा नीति निर्माण गर्छन् । हरेक चीजमा राजनीति जोडिएको छ । सनातन हिन्दू राष्ट्र कायम गराउनका लागि पनि राजनीतिक माध्यम नै चाहिन्छ । संसदको दुई तिहाइले चाह्यो भने आजको आज हिन्दू राष्ट्र हुनसक्छ । हामी हिन्दू राष्ट्रका लागि अभियान चलाउँदै गर्दा हिन्दूहरूको एउटा सशक्त वैकल्पिक राजनीतिक शक्ति हुनुपर्छ भन्ने हाम्रो योजना थियो । परिस्थितिवश हामी अलि चाँडै राजनीतिमा लाग्यौं । हिन्दू परिषद् नेपालमा विभिन्न पार्टी र संघसंस्थामा संलग्न व्यक्तहरूको साझा संगठन हो ।

० नेपालका लागि नेपाली पार्टीको मुख्य एजेण्डाहरू के–के छन् ?

— हाम्रा मुख्य एजेण्डाहरूमध्ये पृथ्वीनारायण शाहले जसरी नेपाललाई एकीकरण गर्नु भएको थियो, त्यो पृथ्वीपथ, नेपालीपन, भ्रष्टाचारको अन्त्य र यो देशमा अभिभावकको रूपमा राजा हुनुपर्छ भन्ने हाम्रो बटमलाइन हो । राष्ट्रियताको सवालमा कुनै पनि देशसँग नझुक्ने, देश हितविपरीत कुनै पनि दलले कार्य गर्नु हुँदैन ।

० तपाइँहरू अब राजतन्त्र पुनः फर्काउन लाग्नु हुन्छ ?

— राजतन्त्र फर्किनुपर्छ भन्ने एजेण्डा होइन, यो देशमा अभिभावकको खाँचो छ, अभिभावक चाहिएको हो । अहिले अभिभावकको रूपमा राष्ट्रपति त छ तर कुनै दलको हुनुहुन्छ । सबै नेपाली जनताले उहाँलाई स्वीकार गरेको छैन । त्यसैले, यो देशमा समग्ररूपमा नेपालीहरूको एकताको प्रतीक अभिभावकको आवश्यकता छ । राजालाई नेताहरूले राजगद्दीबाट हटाएको १८ वर्ष भयो तर, उहाँले देशलाई जहिले माया गर्नुभएको छ । नेताहरूले विभिन्न राष्ट्रघाती काम गरेका छन् । नागरिकताको सवालमा कडा कानून ल्याइएको छैन । त्यसैले समग्रमा देशलाई एउटा अभिभावकको आवश्यकता छ । राजालाई जति दुःख पर्दा पनि नेपाल र नेपालीलाई छोडेर भागेनन् । राजा आज पनि नेपाली जनताको बीचमै हुनुहुन्छ । अहिलेसम्म नेपालमा तीन जना राष्ट्रपति भए तर नेपाली जनताले अभिभावकको महसुस गर्न पाएनन् । राष्ट्रपति पार्टीभन्दा माथि उठ्न सकेनन् । त्यसैले देशको अभिभावकको रूपमा राजा हुनुपर्छ र जनताबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।

० तपाइँहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधी हो ?

— हो, हामी यो व्यवस्थाको विरूद्धमा छौं । अहिले नेपालमा गणतन्त्र ल्याएर बर्बाद बनाउँदैछन् । धर्मनिरपेक्षता ल्याएर देशलाई झन् बर्बाद बनाइयो । त्यसैले यो व्यवस्था परिमार्जन हुनु अतिआवश्यक छ ।

० कस्तो व्यवस्था खोज्दै हुनुहुन्छ ?

— हामीले अभिभावकीय राजा र जनताबाट निर्वाचित प्रधानमन्त्रीसहितको व्यवस्था चाहेका छौं । अभिभावकले समग्र रूपमा नेपाल र नेपालीको हितमा काम गर्ने, राष्ट्र हितविपरीत कुनै काममा रोक लगाउन सक्ने अधिकार हुनुपर्छ । राजसंस्था हुँदा राजाले गरेका हरेक काम नेपाल र नेपालीको हितमा थियो । गणतन्त्रको नाममा हजारौं नेपालीको हत्या गरियो, आजसम्म नेपालमा एउटा पनि नयाँ उद्योग स्थापना भएको छैन । राजाले स्थापना गरेको कतिपय उद्योगहरू पनि बन्द भएका छन् । राजनीतिक दलहरूले राजालाई गाली गरेर आफ्नो दुनो सोझ्याउने काम गरेका छन् । त्यसैले यो देशमा अभिभावकको रूपमा राजा हुनुपर्छ ।

० राप्रपा र नेपालका लागि नेपाली पार्टीको एजेण्डामा के भिन्नता छ ?

— राप्रपाको एजेण्डा आफ्नो ठाउँमा छ । राप्रपाले विगतदेखि नै राजा र धर्मको मुद्दा उठाउँदै आएको छ । तर राप्रपाले के–के ग¥यो सबैलाई थाहा छ । धर्ममाथि आघात हुँदा राप्रपाले बोल्दैन, राजाको विरोधमा कसैले बोल्छ भने राप्रपा केही बोल्दैन । जब जुन पार्टीको बटमलाइनविरूद्ध यदि कसैले बोल्छ भने त्यसको प्रतिकार गर्नुप¥यो नि । राप्रपासँग संसदनमा अहिले १४ सांसद छन्, तर राजा र धर्मको विरूद्धमा आवाज उठ्दा उहाँहरू केही बोल्नुहुन्न । त्यसैले अहिले नेपाली जनताले एउटा सशक्त राजसंस्था बोकेको र धर्मलाई रक्षा गर्न सक्ने नेपालीपन बोकेको पार्टी खोजेको छ । त्यसका लागि नेपालको लागि नेपाली पार्टी एउटा धार्मिक दलको रूपमा अगाडि बढेको छ । हामी आफ्नो एजेण्डामा इमान्दार छौं । हामी दास मानसिकता बोकेका होइनौं । कुनैपनि छिमेकीले यदि नेपालको विरूद्धमा कुनै गतिविधि गर्छ भने हामी प्रतिकार गर्छौं ।

० अभिभावकको रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई खोज्नुभएको हो ?

— हाम्रो स्पष्ट धारणा छ कि यो देशको अभिभावक राजा ज्ञानेन्द्र हुनुपर्छ ।

० तर, उहाँको चाहना बुझ्नुभएको छ ?

— उहाँ जहिले राजगद्दी छोड्नुभो, त्यो दिनको सम्बोधन र आज पनि विभिन्न ठाउँहरूमा नेपाली जनताले स्वस्फूर्तरूपमा नागरिक अभिनन्दन गरिरहँदा दिनुभएको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । विभिन्न घटना–परिघटना हुँदा उहाँबाट जारी भएका प्रेस विज्ञप्तिमा भन्दै आउनुभएको छ कि नेपाली जनताले चाहेको खण्डमा म यो देशको अभिभावक बनेर सेवा गर्न तयार छु । उहाँबाट बारम्बार त्यस्तो अभिव्यक्ति आइरहेकोले हामी सहजै बुझ्न सक्छौं ।

० पूर्वराजालाई राजगद्दीमा फर्काउन चाहनुभएको छ, उहाँसँग भेटघाट भएको छ ?

— सनातन हिन्दू राष्ट्र र राजाको अभिभावकीय भूमिका हाम्रो पार्टीको एजेण्डा हो । हाम्रो यो एजेण्डा हुने बित्तिकै राजालाई भेट्नैपर्छ भन्ने छैन । अहिलेसम्म उहाँसँग मेरो भेट भएको छैन । हामी धर्म मान्ने व्यक्ति हौं र धर्ममा विश्वास गर्छौं । मेरो भाग्यमा जहिले लेखेको होला, त्यो दिन भेट होला । राजालाई भेट्न मलाई कुनै हतारो छैन । किनभने उहाँलाई यो देशको आवश्यकता छ । यो देशलाई बचाउनु छ भने राजसंस्था हुनुपर्छ ।

० राजसंस्थाको वकालत गरिरहँदा गइसकेको व्यवस्था पुनः फर्किने सम्भावना छ ?

— सम्भावना त कहिल्यै पनि मर्दैन । विदेशीलाई खुस गर्नका लागि नेताहरूले नेपालमा धर्म निरपेक्षता ल्याए । आज पनि राजाप्रति नेपाली जनताको उतिनै उत्साह छ । राजाप्रति आकर्षण नभएको भए नागरिक अभिनन्दनमा हजारौं हजार नेपाली किन आउँथे ? नागरिक अभिनन्दनमा जाने सबै नेपाली हुन् । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता प्रायोजितरूपमा ल्याइएको हो । नेपाली जनताले विस्तारै बुझ्दैछन् । राजामाथि जतिसुकै संकट पर्दा पनि उहाँले कहिल्यै विचलित हुनुभएन र आवेगमा आएर कुनै अप्रिय निर्णय पनि लिनुभएन । जसरी नेताहरूले यहाँ विदेशी संस्कृति लाद्न खोजेका छन्, त्यसलाई नेपाली जनताले नियालिरहेका छन् । अब नेपाली जनता सुतेर बसे भने देशलाई टुक्रा गर्ने तत्वहरू सक्रिय हुन थालेका छन् । त्यसैले अब चाँडै नै यो देशमा अभिभावकीय हिसावले राजासंस्था पुनस्र्थापना हुने हामीले शुभ संकेत देखिरहेका छौं । हरेक राजनीतिक दलहरू पनि यो बहस सुरू भइसकेको छ । अब छलफलको विषय रहेको कि राजालाई कुन हिसावले स्थापित गर्ने । किनभने जो नेताहरूले राजालाई हटाए, अब उनीहरूलाई पछुतो भइरहेको छ । किनभने यो राष्ट्र बचाउनु छ भने राजाबाहेक अर्को विकल्प छैन । अब उहाँलाई कसरी ल्याउने भन्ने कुरा हरेक राजनीतिक दलमा बहसको विषय बनेको छ । हाम्रा छिमेकी राष्ट्रहरू पनि राजाप्रति सकारात्मक रहेको हामी बुझेका छांै ।

० प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जाँदा महाकालेश्वर मन्दिरमा भगवाधारी वस्त धारण गरेर पुजापाठ गर्नुभयो, यसलाई कसरी लिनुहुन्छ ?

— नेपालका हरेक राजनीतिक दलहरूको एजेण्डा जे भएपनि भित्री मनले नेताहरू राजसंस्था र धर्मलाई सम्मान गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको क्रममा त्यो प्रमाणित गरिसक्नुभयो । हिजोसम्म पशुपतिनाथ मन्दिर जान उहाँलाई लाज लाग्थ्यो ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ