‘नेताका परिवारका सदस्य भएकै कारण पद पाएका होइनन्, उहाँहरुसँग क्षमता र योग्यता छ’

अन्तर्वार्ता

डा.आभाष लाभ, प्रवक्ता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको दुई वर्षपछि केन्द्रीय समिति गठन भयो, तर विवादरहित हुन सकेन । किन ?

— आम दृष्टिकोणमा यो पार्टी नयाँ होला तर पार्टी नेताहरु धेरै पूराना हुनुहुन्छ । यसका स्टेक होल्डरहरु पनि धेरै छन् । हाम्रा पार्टीका नेताहरुमाथि धेरै आशा, विश्वास गर्नेहरु छन् । निश्चितरुपमा कुनै कमिटी विस्तार हुँदा वा बनाइँदा आकांक्षा र इच्छाहरु त हुन्छन् । ती आकांक्षा र इच्छाहरु सम्बोधन गर्न नसकिएका होलान् । तर, मलाई विश्वास छ, आगामी दिनमा असन्तुष्टहरुलाई सन्तुष्ट बनाउने, हौसला बढाउने काम गरिन्छ । छिट्टै हाम्रो पदाधिकारीहरुको बैठका बस्न लागेको छ । केन्द्रीय समिति अझै विस्तार हुनेछ, असन्तोषहरुलाई समेट्ने प्रयास गर्छौं ।

० विभिन्न माध्यमहरुबाट असन्तुष्टि पोखिनेहरुलाई सम्बोधन हुनेछ ?

— मलाई आशा र विश्वास छ, जुन जायज असन्तुष्टिहरु छन्, त्यसलाई पदाधिकारी बैठकले सम्बोधन गर्ने कोशिष गर्नेछ । हामीले केन्द्रीय समितिलाई अझै विस्तार पनि गर्नेछौं ।

० लोसपाको विधानअनुसार केन्द्रीय समिति फेरि पनि विस्तार हुनेछ ?

— अहिले हाम्रो विधान संशोधनको क्रममै छ । पार्टी जब जुन–जुन प्रकारका विभिषिकाहरुसँग गुज्रिन्छ, संकटतिर बढ्छ त्यस हिसावले विधानलाई सन्तुलित बनाउने कोशिष गर्छौं । मूल हाम्रो विधान होइन, विधान केका लागि बनाइएको छ त ? हाम्रो पार्टीको स्वत्व के हो त ? त्योअनुसार विधानले कतिसम्म सहुलियत दिन्छ त ? त्यस हिसावले हामी विधानलाई परिमार्जित गर्ने जाने हो । विधान भनेको हाम्रो उद्देश्य पूर्तिका लागि बनाइएको हुन्छ । त्यो उद्देश्यमा जुन–जुन प्रकारका मोड र आवश्यकताहरु आउँदै जान्छन्, सोहीअनुसार अनुकूल बनाउँदे जान्छौं । दुनियाँमा कुनै पनि संविधान स्थायी हुँदैन ।

० लोसपा राष्ट्रिय पार्टीसमेत बन्न सकेन । अहिले नै जम्बो केन्द्रीय समिति बनिसकेको छ, अझै विस्तार हुन्छ ?

— लोसपालाई एउटा पार्टीको रुपमा मात्र नहेर्नुस्, यसले बोकेको उद्देश्यलाई हेर्नुस् । लोसपा भित्रका नेतृत्वहरु टावरिङ्ग पर्सनालिटीका हुनुहुन्छ । उहाँहरुसँग वर्षौंदेखि जुडेका, आशा राखेका, काम गर्न तम्सिएका नेताहरु हुनुहुन्छ । नेपालकै समकालीन नेताहरुमध्ये हाम्रो पार्टीमा हुनुहुन्छ । यस्तो विशाल टावरिङ्ग पर्सनालिटीहरु छन्, त्यति मान्छेहरुका जुडाव पनि होलान् । धेरै समयदेखि हामी केन्द्रीय कमिटी विस्तार गर्न पाएका थिएनौं । जति समय बित्दै गयो, नेताहरु पनि थन्किँदै गयो । ती नेताहरुको काम गर्ने आशा, अभिलासा र उर्जालाई पनि सम्बोधन गर्नुपर्नेछ । हाम्रो अहिले नीति नै हो कि कसैलाई असन्तुष्ट गर्ने बेला छैन । अहिले धेरै विभिषिकाहरुसँग सामना गर्नुपर्नेछ । हाम्रोा पार्टी राष्ट्रिय पार्टी बन्न सकेन, यो पनि हाम्रो लागि एक प्रकारको चुनौती ने हो । यसमा हामीले धेरैभन्दा धेरै मान्छेलाई सम्बोधन गरेर जोड्यौं भने ती मान्छेहरुका ऊर्जालाई सदुपयोग गर्न सक्छौं । वर्षौंदेखि काम गरेका, अभियानमा लागेका मान्छेहरु छन् । उहाँहरुलाई बेवास्ता गर्ने अहिले हाम्रो अवस्था छैन । सबैको काम गर्ने इच्छा, आकांक्षा र ऊर्जालाई हामी सञ्चित गर्ने उद्देश्यले यो केन्द्रीय कमिटी बनाइएको हो । केन्द्रीय कमिटीका पदाधिकारीहरुलाई लाभको पदको रुपमा नहेर्नुस् । यो एउटा मञ्च हो । यसमा एउटा युद्धको शंखनाद सुन्ने कोशिष गर्नुस् । हामी संघर्षमा छौं । हामी कोशिषमा छौं कि हामी कसरी मधेश र देशलाई अधिकार सम्पन्न बनाउने । त्यो संघर्षमा जति सेना भएपनि कमै छ ।

० तर लोसपामा पदका लागि मात्रै विरोध भइरहेका छन् नि ?

— कुनै पनि संस्थामा यदि पदाधिकारीको चयन हुन्छ भने केही असन्तोषहरु हुनु स्वाभाविक र प्राकृतिक हो । तर, त्यसलाई पनि हामी सम्बोधन गर्ने कोशिष गर्छौं । एउटै पदमा धेरै जना छन् । यसको अर्थ हामीसँग यति लायक मान्छेहरु छन् कि उहाँहरु त्यो पदका लागि उपयुक्त हुनुहुन्छ । हामीसँग पूराना मान्छेहरु पनि छन्, नयाँ पनि जोडिएका छन् । उहाँहरुको क्षमता हेर्दा तुलनात्मकरुपले हामी बेवास्ता गर्न सकेनौं । अहिले असन्तोषलाई बढाउने हाम्रो अवस्था छैन । हामी त बढीभन्दा बढी मान्छेलाई सन्तुष्ट गरेर आफूसँग राख्ने अवस्थामा छौं । अध्यक्षले पार्टीको हकमा यो सबभन्दा राम्रो निर्णय लिनुभएको छ । असन्तुष्टहरुलाई पनि हामी समेट्ने कोशिष गर्छौं । सबैलाई सन्तुष्ट गरेर हामी आफ्नो संघर्षका लागि ठूलो सेना तयार गरिरहेका छौं ।

० लोसपामा नेताहरुका आफन्तहरु नै हाबी भए, लोसपामा चरम परिवारवाद छ भन्ने आरोप लागेको छ त ?

— कुनै संस्थाका स्टेक होल्डरहरुको भूमिका पनि हेर्नुपर्छ । जुन मान्छेहरुलाई इंगित गर्न खोजिएको छ, ती मान्छेहरुको पार्टीप्रति भूमिका पनि हेर्नुपर्छ । उहाँहरु हाम्रो पार्टी र उद्देश्यप्रति कति समर्पित रहनुभएको छ । हामी आशा र विश्वास गरेका छौं कि आउने दिनमा पनि उहाँहरुले पाउनुभएको पदका अनुकूल काम गर्नुहुन्छ । लाभको पद बुझ्नेहरुले आरोप लगाउँछन् होला । तर युद्धमा अगाडि सरेर योगदान र त्याग गर्ने भावना राखेका छन् भने त्यसलाई अवमूल्यन गर्न मिल्दैन । पार्टी भनेको लाभको पद भनेर बुझ्नु हुन्न । पार्टी भनेको काम गर्ने, संघर्ष गर्ने थलो हो । त्यो संघर्षमा परिवारका सदस्यहरु पनि आउन सक्छन्, यदि यो लायक छ भने । भूमिका, निष्ठा र उसको लायकपनलाई ध्यानमा राख्नुपर्छ । आउने समयमा ती असन्तुष्ट मष्तिस्कहरुलाई थाहा हुन्छ कि उहाँहरुको भूमिका कति प्रखर र आवश्यक छ । त्यसलाई परिवारसँग जोडेर हेर्नु उनको भूमिकालाई नजरअन्दाज गर्नु हो ।

० नेताका आफन्तजन नाताकै कारण पद पाएका होइनन्, उहाँहरु योगदान छ ?

— निश्चितरुपमा कुनै नेताका परिवारका सदस्य भएकै कारण पद पाएका होइनन् । उहाँहरुसँग क्षमता र योग्यता छ । क्षमता र योग्यताको अवमूल्यन गर्नु राम्रो होइन । पार्टी त हाम्रो अहिले संघर्षमा छ । हाम्रो पार्टी संघर्षबाट सुरु भएको थियो, अझै पनि संघर्ष जारी छ । पार्टी अहिले सबैलाई लाभको पद दिने अवस्थामा छैन । अहिले जो पदमा छन्, उसलाई धेरै काम गर्नुपर्नेछ । सम्भाव्ययुक्त मान्छेहरुलाई हामी राख्छौं । विगतको भूमिका, कार्यशैली हेर्दा जुन–जुन मान्छेमा सम्भाव्य देखियो, काम गर्न सक्ने क्षमता छ, विगतको भूमिका प्रभावकारी छ, ती सबै केन्द्रीय कमिटीमा पर्नुभयो । यसमा नातागोता हेरिएन । किनभने यो लाभ लिनका लागि यो पद होइन । हाम्रो पार्टी अहिले संघर्षका लागि हो । हामी अहिले रणभूमिमा छौं, सबै संघर्षमा गर्नका लागि आएका छन् । जसले पार्टीको पदलाई लाभको बुझ्छ, उसले भन्छ कि आफ्नो मान्छेलाई राख्यो । संघर्षमा आफ्नो मान्छे पनि होमिने यो एउटा त्याग हो नि । हाम्रो अहिले राष्ट्रिय पार्टीसमेत छैन, कुन लाभ दिन सक्छौं । यो पद त संघर्षका लागि हो ।

० वर्षौंदेखि पार्टी, मधेश र देशका लागि योगदान पु¥याएका नेताहरु समेटिएन भन्ने गुनासो छ ?

— आउने सातामा हामी एउटा वृहत बैठक गरेर अझै व्यवस्थित गर्ने कोशिस गर्छौं, असन्तुष्टहरुलाई समेट्ने कोशिस गर्छौं । अर्को कुरा, छनौटमा धेरै आयामहरुले काम गर्छ । क्षमता, संघर्ष, मनोदशा, झुकाव, चरित्र, निष्ठा लगायतका आधारमा कुनै पनि पदमा छनौट गरिन्छ । यदि कोही परेनन् भने केही न केही उनको कमजोरी होला कि । यदि छैन भने निश्चितरुपमा हामी पार्टीको मूलधारमा ल्याउँछौं । कुनै पनि समिति विश्वमा आइडियल हुँदैन । जस्तोसुकै समिति बनाउँदा पनि कुनै न कुने कमजोरी हुन्छ नै । ते पनि हामी कोशिस गर्छौं कि कसैको चित्त नदुखोस् । काम गर्ने कसैको आशा र अभिलासा छ भने हामी वञ्चित गर्दैनौं । कुनै पनि पार्टी कुनै व्यक्ति विशेषको हुँदैन । यो सबैको साझा हो ।

० कुनै लाभको पद नभए असन्तुष्टिका कारणहरु के–के हुनसक्छ ?

— अहिले थुप्रै समिति, विभाग, जिम्मेवारीहरु बाँडफाँड हुन बाँकी छ । केन्द्रीय समितिमा परिएन भनेर अहिले नै आत्तिनु पर्दैन । अहिले धैर्यता राख्नुपर्छ  । समय अहिले बितिसकेको छैन । अझै धेरै काम छन्, जिम्मेवारी र विभागहरु छन् । म धैर्यता राख्न आग्रह गर्छु ।

० एउटा केन्द्रीय समिति गठन गर्न त दुई वर्षभन्दा बढी समय लाग्यो, अन्य विभाग र समितिहरु गठन गर्न कति समय लाग्ला ?

— छिट्टै नै अन्य समिति, विभागहरु गठन हुन्छ । कति संकटको बेलामा हामी पार्टी निर्माण ग¥यौं, त्यो सबैलाई थाहा नै छ । हाम्रो पार्टी जुन–जुन संकटबाट गुज्रेको छ, त्यसकारण मात्रै यत्रो समय लाग्यो । हामी अझै पनि संघर्षमै छौं । हामीमाथि धेरै ठूलो कार्यभार रहेको छ । हाम्रा माग र मुद्दा सम्बोधन गराउनुछ । अहिलेको समितिमा धेरै युवाहरुहरु समेटिएका छन् । सम्भावना बोकेका नेताहरु हुनुहुन्छ । प्रशंसायोग्य चीजहरु मान्छे छैनन् । यो केन्द्रीय समिति भनेको ऊर्जावान युवाहरुको ठूलो सम्मेलन हो ।

० लोसपाभित्र कतिको गुटबन्दी छ ?

— गुटबन्दी शब्दले पूर्णतया अभिप्राय सूचक छैन । गुट–उपगुट निर्माणको कारण मतभेद हुनु हो । सबै लोकतान्त्रिक पार्टीमा मतभेद हुन्छन् । मतभेदहरुको एउटा सीमा हुन्छ । तर, मतभेदले द्वन्द्वको अवस्था सिर्जना गर्नु हुँदैन । म यो पार्टीमा धेरै वर्षदेखि लागेको छु, मैले हेर्दा कुनै खास गुट–उपगुट छैन । ठूल–ठूला पार्टीहरुमा होला, त्यहाँ लाभका धेरै पदहरु छन् । तर, हाम्रो पार्टीमा त्यस्तो लाभका कुराहरु त छैनन् । हामी त संघर्षमा छौं र संघर्षमै रहन्छौं । हाम्रो पार्टीको स्वत्व यही हो कि हामीले संघर्षका लागि पार्टी बनाएका छौं । हाम्रा सबै नेताहरु सम्माननीय र महान हुनुहुन्छ ।

० लोसपाको आगामी योजनाहरु के–के छन् ?

— समाजको स्वर हुन्छ, त्यसलाई हेरेर हामीले योजना बनाउने हो । साजको अहिलेको आवश्यकता के हो, त्यो चिन्नु पर्छ । अन्तरजातीय द्वन्द्वले मधेशको समाजवाद फस्टिँदैन । त्यो अन्तरजातीय द्वन्द्व समाप्त होस् । हाम्रा सैद्धान्तिक एजेण्डाहरु छन् । हामीलाई कस्तो समाजवाद चाहिन्छ ? अन्तरजातीय र अन्तरधार्मिक द्वन्द्वयुक्त समाजवाद हाम्रो लागि घातक हुन्छ । हामी त्यसका लागि प्रयास गर्छौं । हामी छिट्टोभन्दा छिट्टो आफ्ना कार्यक्रमहरु ल्याउँदैछौं । हामीसँग एकदमै सशक्त र ऊर्जावान युवाहरु छन् । यो पार्टी ठूलो पार्टीमा विकसित हुँदैछ । किनभने संगठन ठूलो कामले हुन्छ । आगामी दिनमा यो पार्टी विशाल बनिसकेको हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ