हामी सरकारमा रहेर पनि सरकारविरुद्ध संघर्ष गरिरहेका छौं

अन्तर्वार्ता

ई.दीपक कुमार साह, राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी

० भारतका विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणलाई कसरी हेरिरहनुभएको छ ?

— नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी बिहीबार नेपाल आउनुभएका भारतका विदेशमन्त्री डा.एस जयशंकरलाई हृदयदेखि स्वागत गर्न चाहन्छु । उहाँको यो भ्रमणले नेपालको समृद्धिमा कोशेढुंगा सावित होस् । यो भ्रमणको क्रममा नेपाललाई आर्थिक समृद्धि हुने खालका विभिन्न सम्झौताहरु पनि भएका छन् ।

० यो भ्रमणबाट के–कस्ता अपेक्षाहरु गर्न सकिन्छ ?

— नेपाल अहिले दिनप्रति दिन आर्थिक संकटबाट गुज्रिरहेको छ । नेपालका धेरै अपेक्षाहरु छन् । तर, उहाँको भ्रमणका एजेण्डाहरु पनि तय भएका छन् । सर्वप्रथम त नेपाल जलस्रोतको धनी देशको हो र जलस्रोतबाट धेरै सम्भाव्यताहरु पनि छन् । हामीले बेच्न सक्ने भनेको विद्युत हो । भारत सरकारले १० हजार मेगावाट विद्युत किन्ने भन्ने सहमति पनि भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्व सहमतिले हस्ताक्षरसँगै सार्थकता पाएको हो । भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् । यो सहमतिले निश्चितरुपमा नेपालको आर्थिक अवस्थामा फड्को मार्नेछ ।

० खासगरी मधेशको दृष्टिकोणबाट भन्नुपर्दा भारतले के गर्नुपर्ने हो ?

— कर्णाली प्रदेशभन्दा पनि मधेश प्रदेश पछाडि पर्दै गएको छ । मधेशको हुलाकी राजमार्ग अहिलेसम्म पनि बन्न सकेको छैन । नेपाल सरकारको लागि मधेशीहरु रेमिट्यान्स ल्याउने, कर तिर्ने मात्रै रहेका छन् । भारतको सीमासँग जोडिएका तराई–मधेशको जनजीवन दयनीय बन्दै गएको छ । यसलाई मध्यनजर गर्दै एउटा विशेष प्याकेज आउनुपर्ने आवश्यकता छ । भारत सरकारले मधेशलाई विशेष प्राथमिकतामा राखेर योजनाहरु ल्याउन म आग्रह गर्न चाहन्छु ।

० यो भ्रमणले नेपाल–भारत सम्बन्धमा कस्तो प्रभाव पार्छ ?

— भारतका विदेशमन्त्री डा.एस जयशंकरको यो नेपाल भ्रमणले निश्चितरुपमा नयाँ आयाम थप्नेछ । उहाँले नेपालको आवश्यकता र अवस्था राम्ररी बुझ्नुभएको छ । यस्ता उच्चस्तरीय भ्रमणहरुले सम्बन्ध सुमधुर र प्रगाढ हुँदै जान्छ ।

० जनमत पार्टीले चुनावका बेला धेरै सपनाहरु बाँडेको थियो । तपाइँहरु अहिले तीनै तहको सरकारमा हुनुहुन्छ । के परिवर्तन भयो त ?

— सबभन्दा पहिला त राजनीतिक दलहरुले जनतामा सकारात्मक आशा दिनुपर्ने हुन्छ । हामीले १० लाख रोजगारी दिने भनेका थियौं तर हामीले त्यो किसिमको मत पाएका छैनौं । प्रत्यक्षमा एउटा मात्र सांसद जितेका छौं । हामीसँग भिजन छ कि कसरी रोजगार सिर्जना गर्ने । हामीले रोजगारी सिर्जना गर्नका लागि प्रयास गरेका थियौं । कृषिमा आधारित उद्योगहरु पुनः सञ्चालन गर्नका लागि प्रयास ग¥यौं । कृषिमा आधारित चार वटा उद्योग सञ्चालन गरियो भने एक लाख रोजगार सिर्जना हुन सक्नेछ । आइटी हब बनायौं भने ४०–५० हजार रोजगार सिर्जना हुनसक्छ । हामीले जैविक मलका लागि उद्योग खोल्न लाग्दा जसपाका मुख्यमन्त्रीले हाम्रो कृषिमन्त्रीलाई हटाइदियो । भनेपछि हामीले बहुमत नपाउँदासम्म हामीले चाहेर पनि गर्न सकिरहेका छैनौं । हामसिँग स्पष्ट बहुमत भयो भने हामीले भनेका कुराहरु निश्चितरुपमा पूरा गर्नेछौं ।

० मधेश प्रदेश सरकार विकासका बाधक हो ?

— हामीले केही राम्रो काम गर्न खोज्यौं भने जसपाको मुख्यमन्त्री, अर्थमन्त्रीले गर्नै दिँदैन । हामीले कुनै योजना लग्न खोज्यौं भने प्रदेशका अर्थमन्त्रीले बजेट नै रोकेर राखेका हुन्छन् । योजना हाल्न पनि प्रदेशका मुख्यमन्त्रीले पहिला नै कमिशन माग्छन्, नत्र योजना नै हाल्दैन । अस्ति नै ३९ जना न्यायाधीश नियुक्त भए, जसमा एक जना मात्र मधेशी छन् । हामीभन्दा शक्ति जसपा छ तर पनि केही गराउन सकेको छैन ।

० तपाइँहरु सरकारमा हुँदा पनि केही गर्न सकिरहनुभएको छैन भने सरकारमा किन टाँसिरहने ?

— मधेश प्रदेशको सरकारमा जति बेला हाम्रो पार्टीबाट कृषिमन्त्री रहँदा मलखादको समस्या समाधान भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा हाम्रो पार्टीबाट नगर प्रमुख जित्नुभएको छ । त्यहाँ हामीले कृषि औजारका लागिा बैंक बनायौं । हामी यो सरकारको नराम्रा कामको साक्षी बनेर बसेका छैनौं । घरबाहिर बसेर हल्ला गर्नुभन्दा घरभित्रै बसेर विरोध गर्ने हो । सरकारमै बसेर सरकारविरुद्ध गर्ने हाम्रो नीति छ । जनमत पार्टी मात्रै एउटा यस्तो पार्टी हो जो सरकारमा भएर पनि सरकारका नराम्रा कामहरुको समर्थन गरेको छैन । हामी यो सरकारमा हुँदा पनि बजेटमा मतदान गरेनौं । त्यसैले, जनमत पार्टी सरकारमा बसेर पनि सरकारको गलत कामको गलत भन्ने आँट गरेका छौं । त्यो आँट अन्य पार्टीमा छैन ।

० जनमत पार्टीले संघीय सरकारमा पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा व्यापक भ्रष्टाचार भइरहेको कुराहरु आइरहेका छन् नि ?

— पहिलाका मन्त्रीहरु हुँदा मन्त्रालयमा दलालहरुको भीडभाड हुन्थ्यो, सुटकेश बोकेर आउने जाने काम हुन्थ्यो । तर, जतिबेला हाम्रो पार्टीबाट मन्त्री बन्नुभयो, हामीले पहिलो दिन नै निर्देशन दियौं कि सरुवा–बढुवा गर्नका लागि कसैलाई एक रुपैयाँ पनि नलिनु र नदिनु भनेर सार्वजनिक सूचना प्रकाशित गरेका छौं । बिचौलियाहरुलाई हटाउनका लागि हामीले सिसिटिभी क्यामेरा राखेका छौं । त्यसैले, हाम्रो मन्त्रीले कुनै किसिमको आर्थिक लेनदेन वा अनियमितता गर्नुभएको छैन ।

० तर, सुटकेश बिना कुनै काम हुँदैन भन्ने चर्चा किन भइरहेको छ ?

— हामीले भनेका छौं कि कुनै किसिमको अनियमितता वा भ्रष्टाचार भएको प्रमाण कसैले पनि लिएर आयो भने हामीले तुरुन्त पार्टीबाट कारबाही गर्छौं र फिर्ता बोलाउँछौं । तर यहाँ भयो के भने पहिलादेखि खाने बानी लागेकाहरुको बाटो नै बन्द भएपछि उनीहरुले नियोजित रुपमा यस्ता हल्ला चलाएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ